बुढ्यौलीमा पनि उस्तै छ जोश
काठमाडौंका रैथाने लक्ष्मीदास मानन्धर अहिले ८६ वर्षमा हिँड्दै छन् । तर, उमेरको यो अवधिमा पनि उनको सक्रियतामा कुनै कमी आएको छैन । बुढ्यौलीका लक्षणहरू देखा परे पनि उनले आफ्नो क्रियाशीलताद्वारा त्यसलाई पन्छाउँदै आइरहेका छन् । उनको सक्रियतालाई देखेरै हुनुपर्छ, गत पुस ४ र ५ गते आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको पहिलो राष्ट्रिय महाधिवेशनले उनलाई अध्यक्षमा चयन गर्यो । हरेक राजनीतिक दलमा आबद्ध उद्योगी र व्यापारीहरूको आ–आफ्नै महासंघ भएजस्तै नेकपा (एमाले)सँग सम्बद्ध उद्योगपति र व्यापारीहरू सम्मिलित उक्त महासंघमा मानन्धरले तीन वर्षका लागि अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
तीन वर्षका लागि जिम्मेवारी पाएपछि उनले महासंघलाई कसरी गतिशील तुल्याउने भन्नेमा स्पष्ट खाका कोरिसकेका छन् । र, सरकारले राष्ट्रिय पुँजीपतिलाई प्रोत्साहन गर्न चुक्न नहुनेमा उनको विशेष जोड रहेको छ । उनले घोषणा नै गरेका छन्– ‘नेपालको अर्थव्यवस्था दिनानुदिन विदेशिइरहेको छ । यसतर्फ ध्यान नदिने हो भने नेपालको मौद्रिक स्थिति गम्भीर हुने देखिन्छ । यसको मूल कारण नेपालमा उद्योग, वाणिज्य, ठूला–ठूला व्यापार ९० प्रतिशत विदेशी लगानीको रहेको छ । जबसम्म यस्तो स्थिति रहनेछ, तबसम्म नेपालको अर्थव्यवस्था बिदेसिनेबाहेक अर्को विकल्प हामीसँग रहनेछैन ।’
नेपालीहरू आर्थिक उन्नतिको दिशामा लाग्नुको विकल्प नरहेको मानन्धर बताउँछन् । भन्छन्– ‘हामी आर्थिक उन्नतिको काममा लाग्नुपर्छ । आर्थिक उन्नति नभई देशको विकास सम्भव छैन । अहिले पनि विकास बजेट १५ प्रतिशत मात्र छुट्याइएको छ । छुट्याइएको बजेट पनि खर्च गर्न धौ–धौ छ ।’ उनले विकास निर्माणका लागि छुट्याइएको बजेटको पूरै खर्च नगरी र विकास बजेट ६० प्रतिशत नछुट्याई देशको विकास नहुने पनि बताए । ‘हामीकहाँ पैसा कमाएर विदेशमा थुपार्ने क्रम निकै नै बढेको छ’– मानन्धर भन्छन्– ‘भारत, भुटान र म्यान्मारजस्ता देशमा विदेशीलाई खुलेआम काम गर्न दिने र उनीहरूले कमाएको पैसा आफ्नै देशमा लैजाने सवालमा निकै नै कडाइ गरिने गरिएको छ । हामीकहाँ भने त्यस्तो छैन । त्यही भएर, नेपालमा आएर कमाउने र आफ्नो देशमा पैसा लैजाने क्रम अहिले झनै बढेको छ ।’
विदेशीहरूले नेपालको उद्योग/व्यापारमा नब्बे प्रतिशत हिस्सा ओगटेकोतिर इंगित गर्दै उनले भने– ‘राष्ट्रिय उद्योगपतिहरू र राष्ट्रिय भावनाले ओतप्रोत भएर आर्थिक उन्नतिमा लाग्नेहरूलाई सरकारले प्रोत्साहन गरिरहेको छैन । विदेशी उद्योगीहरू प्रोत्साहन गर्ने गरिएको हुँदा हामीबाट धेरै पुँजी दुई नम्बरी बाटो हुँदै बिदेसिइरहेको छ । त्यही भएर नै हामी आर्थिक उन्नतिमा चुत्थो बनेर बस्नु परिरहेका छौं ।’ अहिले नेपाली अर्थतन्त्रलाई टेको लगाउने काम रेमिट्यान्सले गरिरहेको छ । रेमिट्यान्सले देशको अर्थतन्त्रलाई नथेग्ने हो भने देशको अर्थतन्त्र नै धराशायी हुने स्थिति अझै मौजुद छ । रेमिट्यान्सको भर परेर नहुनेतिर औंल्याउँदै मानन्धर भन्छन्– ‘सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई प्रोत्साहित तुल्याएर उद्योग, कलकारखाना खोल्नतिर ध्यान दिनुपर्छ ।’ आफूले जहाँ–जहाँ पुगे पनि राष्ट्रिय उद्योगहरूकै पक्षमा आवाज उठाउँदै आइरहेको पनि उनले बताए ।
वि.सं.१९८५ सालमा काठमाडौंको ठहिटीमा जन्मिएका मानन्धरको पारिवारिक पृष्ठभूमि व्यापारिक भने थिएन । तर, समयक्रममा भने उनले व्यापारमा हात हाले । युवा उमेर टेक्दानटेक्दै टेलिफोन कार्यालयमा अप्रेटरका रूपमा काम थालेका उनले ००४ सालमै काठमाडौंको धान गोदाममा मुखियाको रूपमा काम सुरु गरे । त्यसको दुई वर्षपछि भने उनको त्यही कार्यालयमा खरिदारमा पदोन्नति भयो । त्यतिबेला खरिदार हाकिम तहकै व्यक्ति हुन्थ्यो । भन्छन्– ‘खरिदारको जागिरबाट मलाई घरव्यवहार चलाउन धेरै गाह्रो भयो । त्यसपछि मैले जागिर छोडेर नुनको व्यापार सुरु गरेँ ।’ ००६ सालमा उनले भारतबाट नुन ल्याएर काठमाडौंमा बेच्न थालेका हुन् । त्यो क्रम धेरै वर्षसम्म चल्यो । र, ०२० सालमा त उनले साल्ट ट्ेरडिङको सञ्चालककै जिम्मेवारी पाए । त्यही वर्ष खुलेको साल्ट ट्रेडिङले नेपालमा गुणस्तरीय नुन बेच्ने र बजारमा अभाव हुन नदिने नीतिअनुरूप काम थालेको थियो । उनी भन्छन्–‘त्यतिबेला नेपालमा नुनको व्यापार गर्ने मसहित सात जना मात्र थियौं । हामी सातै जनालाई वाणिज्य विभागका महानिर्देशकले बोलाएर सञ्चालकको जिम्मेवारी दिए ।’ आफू सञ्चालकमा नियुक्त भएपछि उनले जथाभावी नुन खाँदा सुस्त मनस्थितिको समस्या उत्पन्न हुने र गलगाँड आउने भएको हुँदा नुनमा आयोडिन मिसाएर बिक्री–वितरण गर्नका लागि साल्ट ट्ेरडिङलाई सुझाव दिएर त्यसलाई कार्यान्वयनमा ल्याउन पहलसमेत गरे । नुनको व्यापारमा दख्खल राख्ने उनले कालान्तरमा साल्ट ट्ेरडिङकै अध्यक्षको जिम्मेवारी पाए । विगत आठ वर्षदेखि उनी साल्ट ट्ेरडिङको अध्यक्षको जिम्मेवारीमा छन् । भन्छन्– ‘पहिला त भारतले नुनमा राम्रै सहयोग गरेको थियो तर अहिले भने सीमित मात्रामा सहयोग गर्दै आइरहेको छ ।’
नेपालमा नुन खानीको सम्भावना रहेको भए पनि त्यसको उत्खनन र प्रशोधनमा ठूलो लगानी लाग्ने भएकाले सरकारले त्यतातिर ध्यान नदिएको भन्ने मानन्धरलाई लागेको छ । उनी भन्छन्– ‘नेपालमा नुनको खानी नभएको होइन । जोमसोममा नुन खानीको सम्भावना रहेको छ । तर, हामीले त्यसबारे उत्खनन गर्नका लागि आर्थिक स्थितिकै कुरा आउँछ ।’ अहिले नेपालमा वार्षिक डेढदेखि दुई लाख टन नुन खपत हुने बताउँदै उनी भन्छन्–‘सरकारले सुन र तामा खानीको त उत्खनन गर्न सकेको छैन भने नुन खानीको उत्खनन कसरी गर्ला र ?’ तर, समुन्द्रमा पाइने नुन पहाडबाट बगेरै गएका नदीनालाबाट पाइने भएको हुँदा नेपालमा नुन पाइने सम्भावना प्रचुर रहेको उनले बताए ।
देश विकासका लागि पनि उनको स्पष्ट धारणा छ । राष्ट्रको विकासका लागि राष्ट्रिय उद्योगपतिहरूलाई प्रोत्साहित गरिनुपर्ने, सगरमाथालगायत अन्य सम्पदाहरूको विश्वसामु चिनारी गराउनुपर्ने र लुम्बिनीको विकासमा जोड दिनुपर्ने मानन्धरले बताए । उनी भन्छन्– ‘हामीले आफ्नै राष्ट्रिय स्रोत र साधनहरू एवम् सम्पदाहरूको प्रचार–प्रसार गरेर विदेशीहरूलाई भित्र्याउन सक्छौं र हामी खर्बौं कमाउन सक्छौं ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply