बल्खुमा ‘बांगा’ भन्दै बाझाबाझ
काठमाडौं । नेकपा (एमाले)को आज बस्ने स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीमा मनोनयनको एजेन्डालाई टुंगो लगाउने भएको छ । सोमबारको बैठकमा उक्त एजेन्डामा छलफल भए पनि १० पूर्ण र ५ वैकल्पिक गरी १५ जनाका लागि झन्डै डेढ सयको नाम प्रस्ताव भएपछि पाँच जना शीर्ष नेतालाई अन्तिम नाम छानेर आजको बैठकमा प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको थियो ।
मंगलबार अध्यक्ष केपी ओलीको निवास बाल्कोटमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलबीच मनोनयनका बारेमा छलफल भए पनि नेताहरू टुंगोमा पुग्न भने सकेनन् । ओलीका तर्फबाट अस्तिकै बैठकमा पेस गरिएका नामहरू नै अघि सारिएको थियो भने नेपाल पक्षले पनि आफ्ना तर्फका नामहरू अघि सारेको थियो । स्रोतका अनुसार, पूर्वकेन्द्रीय सदस्यहरू केदार न्यौपाने, देवराज घिमिरे, घनेन्द्र बस्नेत र कृष्णगोपाल श्रेष्ठका बारेमा मोटामोटी कुरा भए पनि बाँकीका विषयमा नेताहरूबीच एकमत हुन सकेन । अध्यक्ष ओलीका तर्फबाट प्रस्तुत ती नामहरूमा वरिष्ठ नेता नेपालले सहमति जनाए पनि नेपालले प्रस्तुत गरेका नाममा अर्को पक्षको टिप्पणी गरेकाले बैठक निष्कर्षमा पुग्न सकेन ।
स्रोतका अनुसार, बैठककै बीचमा उपाध्यक्ष विद्या भण्डारी पुगेका कारण वातावरण झन् बिग्रिएको थियो । कार्यदलमा पनि नभएकी उनले आफ्ना तर्फबाट भन्दै नाम प्रस्तुत गर्नुका साथै सहमतिका साथ कति जाने भन्ने प्रश्न गरेपछि वरिष्ठ नेता नेपाल चिढिएर ‘मेरो रौतहट जानु छ, एअरपोर्ट टाइम भयो’ भनेर निस्किनुभएको थियो । नेताहरूबीच सहमति नजुटे पनि अध्यक्ष ओलीले आज बस्ने बैठकमा नाम पेस गर्ने तयारी छ ।मनोनीत हुने केन्द्रीय सदस्यहरूको नाम सचिवालयमा छलफल गरेर स्थायी कमिटीमा प्रस्तावको रूपमा ल्याउनुपर्नेमा महासचिव पोखरेलले कतै छलफल नै नगरी सोमबार १० जना चाहिने पूर्णमा ७ र ५ जना चाहिने वैकल्पिकमा ६ जनाको नाम प्रस्तुत गरेपछि बैठकमा नेताहरूबीच विधि र प्रक्रिया मिचिएको भन्दै भनाभन भएको थियो ।
ओली र भुसालबीच जुहारी
सोमबारको बैठकको सुरुमै महासचिव पोखरेलले पूर्ण सदस्यका लागि केदार न्यौपाने, देवराज घिमिरे, घनेन्द्र बस्नेत, कृष्णगोपाल श्रेष्ठ, देवशंकर पौडेल, रामकुमार भट्टराई, सुमन प्याकुरेल र वैकल्पिकका लागि रूपनारायण श्रेष्ठ, जुली महतो, भीम राई, दिनेश सुवेदी र झपट रावलको नाम प्रस्ताव गरेका थिए । नाम प्रस्ताव हुनासाथ उपमहासचिव घनश्याम भुसालले आपत्ति जनाए– ‘पार्टीमा संस्थागत कुरा हुन्छ, यो प्रस्ताव कहाँ, क–कसका बीचमा बसेर छलफल भयो ? पार्टीलाई एकताबद्ध बनाउने भन्ने अनि व्यवहारमा चाहिँ गुटलाई प्रश्रय दिने प्रस्ताव ल्याउने ? अध्यक्षलगायतका नेताहरूको नियतमाथि नै शंका छ ।’ भुसालले यति भन्नासाथ अध्यक्ष ओली रन्किए– ‘तपार्इं जहिल्यै बांगा कुरा मात्र गर्नुहुन्छ ।’ भुसालले अध्यक्षलाई जवाफ फर्काए– ‘म होइन, तपाईं चाहिँ बांगा कुरा गर्नुहुन्छ ।’ फेरि अध्यक्ष ओलीले भने– ‘तपाई अलिक सम्हालिएर बोल्ने गर्नुस् ।’ भुसालले फेरि उस्तै तरिकाले जवाफ फर्काए– ‘तपाईं पनि सम्हालिएर बोल्ने गर्नुस् ।’ भनाभन बढ्दै गएपछि अरू नेताहरूले ‘यो कुरा यहीँ छाडौं, कसको प्रस्ताव के छ ? लौ ल्याआंै’ भनेपछि सबै नेताले भटाभट नाम प्रस्तुत गरेका थिए ।
झन्डै डेढ सयको नाम
सबैले नाम प्रस्तुत गर्दै जाँदा १५ जना चाहिने ठाउँमा झन्डै डेढ सयको नाम थुप्रिएका थिए । बैठकमा नेताहरूले महासचिव पोखरेलले प्रस्ताव गरेबाहेक कमल जगेबू, कल्याणी खड्का, रञ्जना सरकार, रामकुमार ज्ञवाली, लक्ष्मण लम्साल, सुधीर साह, तारा जोशी, तारा लामा, धनकुमारी सुनुवार, दिलु पन्त, टीकाराम खड्का, गोपाल बम, कोमल भट्टराई, पूर्णा जोशी, डा. गोविन्दबहादुर थापा, पीताम्बर भुसाल, शैलेन्द्र पिया, विष्णु रिजाल, रबीन्द्र अधिकारी, पुण्य पौडेल, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईं, भीम केसी, नन्दा शर्मा, बिचारी यादव, खेम नेपाली, मैना अछामी, खेमचन्द्र ढकाल, विनोद ढकाल, विजय सुब्बा, केशव स्थापित, हरि पराजुलीलगायतको नाम सुझाएका थिए । नाम राख्दाराख्दै रातको आठ बजेको थियो ।
धेरैको नाम आएपछि तिनै नाममध्येबाट १५ जनाको नाम ल्याउन अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल रहेको कार्यदललाई जिम्मा दिइएको थियो ।
हिस्साको कुरा आएपछि भट्टराई जंगिए
बैठकमा अध्यक्ष ओलीले ‘हिस्सा र भाग खोज्न नहुने र खोज्न थालियो भने पार्टी धरापमा पर्छ’ भनेपछि सचिव योगेश भट्टराईले आपत्ति व्यक्त गरेका थिए । ‘अध्यक्ष कमरेड, हामीले पार्टीभित्र निर्वाचनको जुन प्रणाली अवलम्बन गर्यौं, त्यसले हामीलाई वादविवाद गर्ने र प्रश्नको जवाफ खोज्ने अधिकार दिएको छ, तपाईं जुन प्रक्रियाबाट आउनुभएको हो, हामी पनि त्यही प्रक्रियाबाट आएका हौं । तपार्इंले मनोनीत गरेको भए हिस्सेदारी र साझेदारीको कुरा हुँदैनथ्यो होला तर एउटै प्रक्रियाबाट आएको हुनाले हामी हिस्सेदारी खोज्छौं, प्रश्न गर्छौं, तपाईंले उत्तेजित नभई जवाफ दिनुपर्छ’– बैठकमा भट्टराईले भनेका थिए ।
गौतमलाई विभाजनको चिन्ता
भट्टराईका कुरा गम्भीरतापूर्वक सुनिसकेपछि उपाध्यक्ष वामदेव गौतम बोलेका थिए । उनले पार्टीले अवलम्बन गरेको निर्वाचन प्रणाली नै बेठीक रहेको बताए । ‘मैले महाधिवेशनकै बेला यो निर्वाचन प्रणाली सच्याउनुपर्छ भनेको थिएँ तर मेरा कुरा कसैले सुनेनन्’– गौतमले भने– ‘यस्तो प्रणालीले पार्टी विभाजन हुने खतरा हुन्छ, मासबाट नेता छान्ने कुरा कम्युनिस्ट पार्टीमा हुँदैन, यसमा पुनर्विचार गर्नुपर्छ ।’ अध्यक्ष, माधवकुमार नेपाल कसैले पनि गुटका भेला गर्न नहुने भन्दै गौतमले आफू कुनै गुटका भेला, बैठकमा नजाने बताएका थिए ।
वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई परिपाटीबाट चलाउनुपर्ने बताएका थिए भने नेता नेपालले पार्टीमा सबैको योग्यता, क्षमताको कदर गर्दै सबैलाई मिलाएर लैजानुपर्ने बताउँदै पार्टीमा कसैले एकलौटी गर्न नसक्ने र गर्न खोजे दुर्भाग्य हुने धारणा राखेका थिए ।
कार्यविभाजनबारे आज छलफल
केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल गर्न आज बिहान साढे ८ बजे सचिवालयको बैठक डाकिएको छ । सचिवालयमा छलफल गरेर स्थायी कमिटीमा प्रस्ताव लैजाने जनाइएको छ । सोमबारको स्थायी कमिटी बैठकमा पनि कार्यविभाजनबारे सामान्य कुरा उठेको स्रोतले बतायो । कार्यविभाजनमाथि धारणा राख्ने क्रममा सचिव भट्टराईले अध्यक्षले कार्यविभाजनमा पनि एकलौटी गर्न खोजेको भन्दै आपत्ति जनाए । ‘एकलौटी गर्नुहुन्छ भने गर्नुस् मलाई कहाँ पठाउनुहुन्छ ? कालापानी पठाउनुहुन्छ ? साइबेरिया पठाउनुहुन्छ ?’ भन्दै उनले जहाँ पठाए पनि आफूले त्यहाँ अस्तित्व देखाएर आउने बताएका थिए । विगतमा पनि सबैले नरुचाएको स्वास्थ्य विभाग आफूलाई दिएको प्रसंग कोट्याउँदै उनले त्यहाँ पनि आफूले सबैभन्दा राम्रो र उदाहरणीय काम गरेर देखाएको बताएका थिए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply