नेपाल बैंकमा दौडधुप
काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत बन्ने दौडमा सात जना बैंकर सक्रिय छन् । सामेल हुनेहरूमा निजी क्षेत्रका ठूला बैंकको जिम्मेवारी सम्हालिसकेकादेखि विगतमा सोही बैंकमा पदोन्नति नभएर रिसमा जागिर छाडेकाहरूसमेत छन् ।
केही वर्षपूर्वसम्म वित्तीय जोखिममा परेको नेपालकै पुरानो बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि अन्तिम निवेदन दिने समय गत आइतबारसम्म तोकिएको थियो । उक्त पदका लागि निवेदन दिने सात जनामध्ये कृषि विकास बैंकमा महाप्रबन्धक रहिसकेका देवेन्द्रप्रताप शाह पनि छन् । अर्का प्रतिस्पर्धीमा नेपाल बैंककै वर्तमान उपमहाप्रबन्धक राजनाथ खनाल छन् । उनी नेपाली कांग्रेसको भ्रातृसंस्था वित्तीय संस्था कर्मचारी संघसँग निकट मानिन्छन् । आफू कांग्रेसको निकट रहेको हुँदा प्रमुख कार्यकारी अधिकृत बन्नेमा उनी ढुक्क रहेका देखिन्छन् ।
सोही बैंकका पूर्व वरिष्ठ प्रबन्धक कुलराज चालिसेले पनि आवेदन दिएका छन् । उनले बैंकको दसौं तहमा बढुवा नपाएपछि त्यही झोकमा
जागिर छाडेका थिए । अर्का प्रतिस्पर्धी समीरप्रसाद दाहालको बैंकिङ पृष्ठभूमिका बारेमा बैंक कर्मचारी नै अनभिज्ञ छन् । त्यस्तै, एसबीआई बैंकका कर्मचारी छपिराज पन्तले पनि निवेदन दिएका छन् ।
लामो समय बैंकिङ क्षेत्रमा बिताएका कुमार लम्साल पनि प्रतिस्पर्धीमा उभिएका छन् । विभिन्न बैंकिङ क्षेत्रको जिम्मेवारी सम्हालिसकेका उनी यसअघि किष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । किष्ट बैंक मर्ज भएर प्रभु बैंक स्थापना भएपछि उनले सो बैंक छाडेका थिए । त्यस्तै, अर्का प्रतिस्पर्धीमा नेपाल बैंकका पूर्व मुख्य प्रबन्धक अनलराज भट्टराई पनि छन् । नेपाल बैंकमा लामो समय काम गरेर उच्च तहमा पुगेका उनी पछिल्लो समय नेपाल कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंक मर्ज भई ग्लोबल आईएमई बैंकमा गाभिएपछि उनी बाहिरिएका थिए । नेपाल बैंकका वर्तमान महाप्रबन्धक दुर्गाराज शर्माले निवेदन दिने चर्चा चले पनि दिएनन् ।
यसअघि, बैंकले सञ्चालक समितिका सदस्य जनार्दन आचार्यको संयोजकत्वमा तीन सदस्यीय प्रमुख कार्यकारी अधिकृत छनोट समिति गठन गरेको थियो । उक्त समितिमा बोर्ड सदस्य सुरेन्द्रबहादुर सिंह र बोर्डका सचिव तथा बैंकका मुख्य प्रबन्धक अर्जुनलाल जोशी सदस्य छन् । अर्थमन्त्री डा.रामशरण महतले यसअघि नै बोर्ड सदस्यहरू पूर्ति गरिसकेका छन् । उनले नेपाली कांग्रेसका निकट रहेका मधुसूदन पोखरेललाई सञ्चालक समितिको अध्यक्ष बनाएका छन् भने सदस्यहरूमा डा.डम्बर भण्डारी, निश्चल प्रधान, आचार्य र सिंहलाई नियुक्त गरेका छन् ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply