काठमाडौंको उत्तरी क्षेत्रको विकासको चिन्ता
असारको चटारो सबैलाई थाहा हुँदैन । खेतीपातिबाट नै जीवन गुजारा गर्ने नेपाली श्रमशील जनतालाई मात्र असारको महत्त्व कति हुन्छ भन्ने थाहा हुन्छ । र, अत्यन्तै व्यस्त रहनुपर्ने असारमा किसानहरूले कति चटारोपन महसुस गर्नुपर्छ, अहिले त्यत्तिकै चटारो काठमाडौं उपत्यकाको उत्तरी भेगको प्रसिद्ध धार्मिक, सांस्कृतिक र पर्यटकीय थलो बूढानीलकण्ठका बासिन्दाहरूलाई परेको छ । वर्षान्तका दिनहरूमा काठमाडौंको उत्तरी क्षेत्रको विकासमा क्रियाशील बूढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापालाई भने झनै चटारो परेको छ ।
हिन्दू र बौद्ध धर्मावलम्बीहरूले बराबरीजस्तै आस्थाको रूपमा ग्रहण गर्दै आइरहेको बूढानीलकण्ठ क्षेत्रमा पहिलो पटक हजारौं व्यक्तिलाई आकर्षित गर्ने उद्देश्यले आजको दुई दिनपछि प्रथम ‘बूढानीलकण्ठ महोत्सव’ आयोजना हुँदैछ । उपत्यकाबाट छोटो दूरीमा रहे पनि सधैँभरि उपेक्षितजस्तो महसुस हुँदै आइरहेको बूढानीलकण्ठको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासलाई थप टेवा पुगोस् भन्ने उद्देश्यले राखिएको चार दिने महोत्सव भव्य बनाउने तयारी त भई नै रहेको छ । तर, एनेकपा–माओवादी) सहित तीस दलीय मोर्चाले गरेको तीनदिने आमहड्तालको अन्तिम दिन महोत्सव प्रारम्भ हुने भए पनि अन्योल भने कायम नै छ । तर पनि महोत्सवलाई सफल बनाउने उद्देश्यमा ६ महिनाअघि मात्रै बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्त भएका थापा महोत्सवलाई सफल बनाउने दौडधुपमा अहिले दिनरातै व्यस्त छन् ।
बूढानीलकण्ठ, काठमाडौं उपत्यकाभित्रको एउटा यस्तो भूस्थलमा अवस्थित छ, जसका वरिपरि धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना प्रचुर रूपमा मौजुद छ । बूढानीलकण्ड क्षेत्रमा विश्वकै सबभन्दा ठूलो एउटै शिला रहेको भगवान् विष्णुको मूर्ति र मन्दिर त छ नै, जसले हरेक वर्ष लाखौं व्यक्तिलाई आकर्षित गरिरहेको छ । साथै, यो क्षेत्र वरिपरि रुद्रेश्वर महादेव, शिवपुरी महादेव, भद्रकालीको मन्दिर, उपत्यका छिचोल्दै तराईका समथर भूभाग चुम्दै बग्ने बागमती नदीको उद्गमस्थल वाग्द्वार, टोखा चण्डेश्वरी मन्दिर, प्रख्यात नागी गुम्बा पनि रहेका छन् । एउटै क्षेत्रमा यति धेरै धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाहरू हुनु कम चानचुने विषय होइन । तर पनि, यथोचित प्रचार–प्रसारलगायत अरू पक्षका कारण बूढानीलकण्ठ क्षेत्रको विकासमा जति प्रगति हुनुपर्ने हो, त्यति हुन सकिरहेको छैन ।
समितिका अध्यक्ष थापा भन्छन्– ‘मैले विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हालेपछि बूढानीलकण्ठ क्षेत्रलाई कसरी चिनाउन सकिन्छ भनेर सोचें र विभिन्न क्षेत्रका व्यक्तिहरूसँग सुझाव पनि लिएँ । त्यही क्रममा बूढानीलकण्ठ क्षेत्रको विकास गर्न र यसको चिनारी सर्वत्र फैलाउनका लागि महोत्सव गर्ने सोच पलायो र अहिले हामी त्यही महोत्सवको तयारीमा जुटिरहेका छौं ।’ हुन त, हरेक व्यक्तिले आफ्नो ठाउँको विकास र उन्नतिका लागि केही न केही सोच निश्चय नै बनाएका हुन्छन् । थापा पनि बूढानीलकण्ठ क्षेत्रकै बासिन्दा भएको हुँदा उनमा यो क्षेत्रको विकासका लागि के कसो गर्न सकिन्छ भन्ने पहिल्यैदेखि लागेको थियो । अझ, ०६३ सालमा समितिको सदस्यमा मनोनीत भएपछि त उनलाई कुनै दिन उक्त समितिको अध्यक्ष बनेर बूढानीलकण्ठ क्षेत्रको विकासमा उल्लेख्य कदम चाल्छु भन्ने भित्री आकांक्षा पलाएको थियो । उनको त्यो आकांक्षाले अहिले मूर्त रूप लिन खोजिरहेको छ ।
सरकारले पशुपतिनाथ मन्दिर, लुम्बिनी क्षेत्रजत्तिकै मान्यता दिएको छ, बूढानीलकण्ठ क्षेत्रलाई । अझ, हिन्दू र बौद्ध धर्म मान्नेहरूले बूढानीलकण्ठलाई साझा रूपमा पुज्दै आइरहेका छन् । एउटै देउतालाई दुई धर्मावलम्बीहरूले पुज्ने गरेको यो नै एउटा उदाहरण पनि हो । त्यसो त, महोत्सवको उद्देश्य धार्मिक आस्थासँग मात्र जोडिएको छैन । बूढानीलकण्ठ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने ध्येय पनि थापाले सँगालेका छन् । उनी भन्छन्–‘अहिले नेपाल विश्वकै १९औं गन्तव्यस्थलमा सूचीकृत भएको छ । नेपाल गन्तव्यस्थलमा यसरी अगाडि आउनुमा नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीय आधार नै हुन् ।’ थापाले बूढानीलकण्ठ क्षेत्रलाई विश्व सम्पदा सूचीमा पार्नका लागि आफूहरूले पहल गरिरहेको बताउँदै यो महोत्सवले बूढानीलकण्ठ क्षेत्रको विकास र महत्त्व झनै उजागर हुने पनि बताए ।
थापा त्यही क्षेत्रका रैथाने हुन् । ३७ वर्षअघि बूढानीलकण्ठ क्षेत्रमै पर्ने तत्कालीन चपली, भद्रकाली र अहिले भने बूढानीलकण्ठ नगरपालिका–३ मा जन्मिएका उनले लामो समय भने वकालत पेसामा बिताए । नेपाल ल क्याम्पसबाट स्नातकोत्तरसम्मको उपाधि पाएका उनले ०५६ सालको स्ववियु निर्वाचनमा सोही क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारी पनि सम्हाले । कानुनी अध्ययन र पेसासँगै उनले लिभरपुल इन्टरनेसनल कलेजको म्यानेजिङ डाइरेक्टरको जिम्मेवारी पनि सम्हालिरहेकै बेला छ महिनाअघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले बूढानीलकण्ठ क्षेत्रको विकासका लागि उनलाई जिम्मेवारी सुम्पिएपछि अहिले उनी अरू कामहरूमा कटौती गर्दै त्यही क्षेत्रको विकासका लागि दत्तचित्तपूर्वक लागिपरेका छन् । चार वर्षका लागि विकास समितिको अध्यक्ष नियुक्त भएका उनले आफ्नो कार्यकालमा उक्त क्षेत्रको विकासका लागि कुनै सम्झौता नगर्ने प्रणसमेत गरेका छन् ।
‘बूढानीलकण्ठ क्षेत्रको विकास अपरिहार्य रहेको छ’– थापा भन्छन्– ‘यही क्षेत्रमा नै अहिले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण भइरहेको छ । पहिला–पहिला यो क्षेत्रले धार्मिक तथा सांस्कृतिक महत्त्व मात्र बोकेको थियो । तर, अब भने खेलकुदका लागि पनि यो क्षेत्र चर्चित हुने क्रममा छ ।’ उनले स्पष्ट शब्दमा भने– ‘हामीले यो महोत्सव गर्नुको उद्देश्य के हो भने अब यो क्षेत्रलाई पर्यटकीय रूपले पनि विकास गर्न सकिन्छ र पर्यटकीय क्षेत्रमा लगानी गर्न लगाउने उद्देश्यले पनि यो महोत्सव आयोजना गरेका हौं ।’
त्यसो त, अध्यक्ष थापाले बूढानीलकण्ठ क्षेत्रको विकासका लागि एउटा बृहत् गुरुयोजना पनि अघि सारेका छन् । उक्त गुरुयोजना लागू गराएर बूढानीलकण्ठ क्षेत्रमा एउटा ठूलो धर्मशाला बनाउने, संस्कृत शिक्षा अध्ययन गर्न चाहनेहरूका निम्ति गुरुकुल स्थापना गरेर त्यसको भवन निर्माण गर्ने र पार्कहरू पनि बनाउने तयारीमा थापा जुटेका छन् । तर, यी सबै काम एउटा व्यक्ति र समितिले मात्र गर्न सकिने विषय होइन । उनले त्यस क्षेत्रका सबै राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय समुदाय र संघसंगठनलाई पनि उत्तिकै रूपमा हात लिइरहेका छन् । उनी भन्छन् पनि– ‘सबैको सहयोगबाट नै यो क्षेत्रको विकास हुनेमा म विश्वस्त छु ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply