तर पनि किन हुन्छ भारतको आलोचना ?
युवा मित्र विष्णु रिजालले सोध्नुभयो– ‘दाइ, मलाई भारतले यस महाभूकम्पका बेला सबैभन्दा बढी सहयोग गरे जस्तो लाग्छ । सरकारी मात्र होइन, गैरसरकारी क्षेत्रबाट पनि राहत सामग्रीहरू आएका छन् । उद्धार टिम पनि सबैभन्दा पहिले भूकम्प आएकै दिनदेखि आउन सुरु भएको थियो । नेपालको मन्त्रिपरिषद्को बैठकभन्दा पहिले भूकम्पलाई लिएर भारतमा नरेन्द्र मोदीले मन्त्रिपरिषद्को बैठक बसाले । हाम्रा प्रधानमन्त्रीलाई विदेशमा रहेकै बखत सबैभन्दा पहिले भूकम्पको सूचना पनि मोदीले नै दिएछन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले हाम्रो सीमासम्म आएर एक लाख त्रिपाल दिइन् । रामदेवले पाँच सय अनाथहरूको खाना र शिक्षाको व्यवस्था गर्छु भनेर गए । भारतीय दूतावासले पनि राहत पुर्याउन सक्रियता देखाएकै छ । तर पनि, अरू देशहरूको प्रशंसा हुँदा भारतलाई चाहिँ उल्टै अपजश छ । किन यस्तो भयो ?’
मैले हाँस्दै भनें– ‘त्यतिमात्र होइन, मैले फेसबुमा अम्बरिश पोखरेलको यो स्टाटस पढें– ‘सहयोग जापानको जस्तो हुनुपर्छ, काम चीनको जस्तो हुनुपर्छ, अनि बदनामी इन्डियाको जस्तो हुनुपर्छ ।’
विष्णु रिजालको कुरा ठीक हो– यसपटक भारतका सरकारी र गैरसरकारी संस्थाहरूले जति अरूले सहयोग गरेका छैनन् । तर, सुशील–वामदेवले चीन र बेलायतलाई सहिदकै दर्जामा उकालिदिए । अखबार र फेसबुक स्टाटसहरू हेर्नूस् त– तिनीहरूमा के छ ?
सबैभन्दा बढी पीडित जिल्ला सिन्धुपाल्चोकमा चीनले भोलिपल्टैदेखि ‘सर्च एन्ड रेस्क्यु’का लागि हेलिकोप्टर पठाउँछु भन्दा अनुमति दिइएन । सिन्धुपाल्चोक निवासी एमालेका वरिष्ठ नेता अमृत बोहरा, सभासद् शेरबहादुर तामाङ, झम्क नेपाल साथै एमाओवादीका नेता अग्नि सापकोटा र कांग्रेसका नेताहरूसमेत भई गृहमन्त्री वामदेव गौतमलाई सोध्न पुग्नुभयो– ‘चिनियाँ सहयोग रोक्न तपाईंमाथि कसैको दबाब छ ?’ त्यसदिन साँझबाट बल्ल चीनका २१ वटा एक्साभेटरसहित नेपाल पसेको चिनियाँ सैनिक टोलीले पाँच दिनमै रातदिन गरेर उक्त बाटो खुलाइदिएको छ । चिनियाँहरू बिनाकारण तीनदिन नाकामा रोकिनु नपरेको भए अझ छिटो बाटो खुल्ने थियो ।’ (बुधबार ६ जेठ) ‘नयाँ पत्रिका’दैनिकले पनि सम्पादकीयमा लेखिसकेको थियो– ‘चिनियाँ सहयोगका लागि लगाइएको अघोषित नियन्त्रण, सरकारका मन्त्रीहरूको समेत भारतीय प्रतिको लगाव ।’
‘अन्नपूर्ण पोस्ट’मा चूडामणि भट्टराईको यस विषयमा विस्तृत विवरण आएको थियो । अर्कोतिर ‘नयाँ पत्रिका’ले यो पनि लेखेको थियो– ‘एकातिर भारतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यसरी ओगट्यो कि अरू देशहरूका राहत सामग्री लिएर आएका हवाइजहाजहरू फर्केर जानुपर्यो ।’ अर्कोतिर नेपालका पत्रपत्रिकाहरूमा यो पनि छापियो– चिनियाँ हवाइजहाजहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री उतारेर दिनदिनै चीनकै केरुङ विमानस्थलमा फर्किहाल्थे । ‘जनआस्था’ले लेख्यो– ‘उनीहरू नेपाली जनतालाई व्यवहारले नै देखाइरहेका थिए कि हाम्रा जमाजहरू केवल तिमीहरूलाई राहत पुर्याउन आएका हुन् र तुरुन्तै काम सकेर एयरपोर्ट खाली गरेर गइहाल्छौं ।’ घुम्ती अस्पताल पनि चिनियाँ सेनाले नेपाली सेनालाई बुझाइसकेको छ ।
हिन्दीमा एउटा उखान छ– ‘बदसे बुरा बदनाम ।’ अर्थात् खराब हुन्छ भन्दा पनि चुत्था बदनाम हुनु हो । अनि भारतीय धार्मिक प्रवचन गर्ने स्वर्गीय रामसुखदास भन्थे– ‘राम से बढा रामनाम’ अर्थात् रामभन्दा पनि ठूलो रामको नाम हो । अर्थात् बदनामले राम्रो काम गर्दा पनि जस पाउन गाह्रो पर्छ भन्ने सुनाम भएकाले सानो काम गरे पनि ठूलो सद्भावना पाउँछ ।
हाम्रा शासकहरू पनि ऐन मौकामा कम मूर्खता प्रदर्शन गर्दैनन् । बेलायतका प्रधानन्त्री डेबिड क्यामरुनले आफैं टेलिफोन गर्दा पनि भारतको चन्डीगढ एयरपोर्टमा दुई हप्ता राहत सामग्री लिएर आएका तीनवटा ब्रिटिस हेलिकप्टर नेपाल आउन दिइएन । अखबारहरूमा आयो– ब्रिटिस दूतावासका सैनिक सहचारीले नेपालको जंगी अड्डा टुँडीखेल पुगेर भने– ‘हाम्रो दुई सय वर्ष पुरानो मित्रता तिमीहरूलाई भारत भएपछि नचाहिने भयो ।’त्यसको केही दिनअघि मात्र ब्रिटिस अभिनेत्री जोअन्ना लुम्लेले नेपालका भूकम्प पीडितहरूका ३ अर्ब उठाउँछु भनेकोमा त्यसभन्दा ५ अर्ब बढी अर्थात् ८ करोड राहत रकम उठाइन् भन्ने समाचारले खुसी कैयौं सय नेपालीले उनको भव्य स्वागत गरेका थिए ।
नेपालमा ५ वर्ष भारतका राजदूत रहिसकेका केभी राजन भन्दछन्– ‘विगत पाँच दशकहरूको भारत–नेपाल सम्बन्धमा कैयौं अवसरहरू गुमाइए, कैयौं एभोइड गर्न सकिने मिसअन्डरस्ट्यान्डिङहरू गरिए । हामीहरू माझ समान संस्कृति र १७५१ किलोमिटर खुला सिमाना, बलिया आर्थिक सम्बन्ध र सहयोग जलस्रोत, ऊर्जा व्यापार, लगानी र पर्यटनका साझा सम्बन्धहरू छन् । एउटा दक्षिण एसियाकै सबैभन्दा बढी प्रगति गर्न सक्ने सबरिजन अझै संसारको एउटा सबैभन्दा गरिब अवस्थामा छ ।’
केभी राजन भन्दछन्– ‘नेपालीहरूको स्वाभिमान, आत्मसम्मान, प्रतिष्ठा र अर्थतन्त्रमा चोट पुग्यो जब भारतीय प्लेन हाइज्याक भएको केही बेरमै नेपालका सारा उडानहरू रद्द गरियो । … एउटा नेपालीलाई गलत आइडेन्टीफिकेसन गर्दै हाइज्याकरमध्येका भनियो । यस्तो गर्दा निहित स्वार्थले हाइज्याकको बहानामा भारतले नाजायज फाइदा उठाउँदै नेपाल आतंकवादीहरूको अखडा हो भन्दै प्रचार गरेर आफ्नो गुप्त सुरक्षा उद्देश्य बढाउन खोज्दैछ भन्ने प्रचारलाई बल पुर्याइयो ।’ केभी राजनले यो पनि लेखे– ‘नेपालका विभिन्न सरकारले बारम्बार भन्दा पनि नेपालका माओवादीहरूलाई स्वतन्त्रतापूर्वक आवतजावत गर्न दिइयो । …’ (जेएन दीक्षित सम्पादित : एक्स्टरनल एफेयर्स : क्रस बोर्डर रिलेसन्स पेज ९६ देखि १००)
नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि पहिलोपटक नेपाल आउँदा उनले बोलेका कुराहरूका कारण धेरै नेपालीहरू प्रशंसा गरे । यहाँसम्म कि बराबर भारतीय व्यवहारका आलोचक रहँदै आएकाहरूले पनि मोदीको प्रशंसा थालिसकेका थिए । तर, फेरि दोस्रो पटक आउँदा नेपाली कांग्ेरसकै नेता र सांसदले समेत उनको कुराले माओवादी र मधेसवादीलाई उचालेको अभिव्यक्ति दिए । केभी राजनले लेखेझैं जुन दिनदेखि अवसरहरू गुमाउने साटो सहयोग गर्न थालिने छन्, त्यसै दिन देखिने नेपालको समुन्नति र भारतको पनि समृद्धिले फड्को मार्न थाल्नेछन् । मोदी प्रधानमन्त्री नहुँदैदेखि गत ५/६ वर्षहरूदेखि भारतीय थिंकटैंकहरूले समेत जोड दिएर भन्न थालेका छन् कि छिमेकको दलदलमा खुट्टा गाडेर भारतले प्रगतिको दौडमा बाजी मार्न सक्दैन । जुन दिनदेखि गुप्तचरहरू र सैन्य संयन्त्रहरूको साटो भारतका राजनीतिज्ञ र अर्थशास्त्रीहरूले छिमेक नीति बनाउन थाल्दछन्, त्यसै दिनदेखि यो सबरिजन एसिया र विश्वको नै एउटा धेरै उन्नत क्षेत्रमा परिणत हुन थाल्दछ । अनि भारतले पनि अपजसको साटो जस पाउन थाल्दछ ।
जसरी एउटा परिवारका सदस्यहरूलाई उनीहरूमाझ अरूले चलखेल गरेको साह्रै नराम्रो लाग्दछ, त्यसैगरी एउटा देशका जनतालाई पनि उनीहरूको आन्तरिक राजनीतिमा चलखेल गरेको साह्रै नराम्रो लाग्दछ । पहिलो काम भारतले नेपालको राजनीतिको ‘माइक्रो म्यानेजमेन्ट’ गरिरहेको छ भन्दै धेरै नेपाली पत्रकारहरूको भनाइतर्फ ध्यान दिनुपर्छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply