बूढा नेताले पदको लोभ किन गर्ने ?
बुझेर ल्याउने हो भने २०७२ साल वैशाखको भुइँचालोले नेपालका सबै राजनीतिक दलका नेताहरूलाई एक दर्जन शिक्षाको भारी बोकाएको छ । त्यसलाई बुझ्ने र त्यसबाट कसरी शिक्षा लिने भन्ने चाहिँ सम्बन्धित व्यक्तिको क्षमताको विषय हो । हाम्रा पाका नेताहरूको महानतम् योगदान हो– सामन्तवादको मध्ययुगीन शोषणबाट नेपाललाई मुक्त गर्ने र मात्रृभूमिलाई पुँजीवादको पहिलो खुट्किलोमा ल्याएर ठिङ्ग उभ्याइदिने । जानेदेखि हाम्रा पाका नेताहरूले नेपालको वर्तमानलाई युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने हो । सामन्ती निरंकुशतालाई ढालेर पुँजीवादमा ल्याई पुर्याउने काम सजिलो भने छैन कुनै हिसाबमा पनि । तर, त्यो काम हाम्रो पुस्ताले गर्यो । एउटै पुस्ताका नेताले राष्ट्रिय मुक्ति र नवनिर्माणको काम गर्छु भन्यो भने बुढेसकालमा गम्भीर गल्ती हुने सम्भावना बढी हुन्छ ।
नेपालीमा एउटा उखान छ । गोरु बूढो भए भीर खोज्छ, मान्छे बूढो भए निहुँ खोज्छ । उखान भनेको पुस्तौँ पुस्ताका अनुभवको सार हो । यतिबेलाको नेपालमा यो ठ्याक्क लागू भएको देखिन्छ ।
नेपालमा अर्ति दिने धेरै भेटिन्छन् । काम गर्ने थोरै हुन्छन् । डंगुर उदाहरण छन् हामीसित । दुई वर्षमा बनाउने भनिएको संविधान अहिले सातौं वर्षको निर्माण यात्रामा हिँडिरहेछ । चाँडो काम गरेको देखाउन अहिले असार मसान्तमै नयाँ संविधान आउँछ भनिएको छ । तर, व्यावहारिक हिसाबले भन्ने हो भने त्यो यही महिनामा नयाँ संविधान आउने सम्भावना देखिएको छैन । मतदाताको हातमा मस्यौदा आयो भने यो नै ठूलो काम हो भनेर बुझ्नुपर्छ हामीले ।
स्थानीय निकायको चुनाव छ महिनाभित्र गरिनेछ भनी भाका बोल्न कुनै नेताले छोडेका छैनन् । तर, त्यो छ महिना अहिलेसम्म आउन सकेको छैन । बित्न चाहिँ सात थान छ महिना बितिसकेका छन् । अझै कति छ महिना बित्ने हुन् कसैलाई थाहा छैन । स्थानीय निकायको चुनाव नभएको कारण यो भुइँचालो बढी विनाशकारी भयो भनेर मैले भनेको होइन । सबै ठूला नेताले गरेका छन् यस्तो भाषण । तर, भाषण गर्दा गर्दै पनि १६ बुँदे समझदारीमा ‘स्थानीय निकायको निर्वाचन यथाशक्य चाँडो गर्ने’ भनेर बिट मारिएको छ । यो ‘यथाशक्य चाँडो’ को परिभाषा कसैले गर्न सक्ने अवस्था छैन ।
स्थानीय निकायको चुनाव नभएकै कारण, समयमा जनता र प्रतिनिधिबीच भेट हुन सकेन । राहत सामग्री वितरणमा पनि ठूलै गोलमाल भयो । कसैले चार बोरा चामल पाए, कसैले चार किलोमा चित्त बुझाउनुपर्यो । कुनै घरमा व्यक्तिपिच्छे त्रिपाल पुगे । कुनै परिवारले एउटा पनि पाएन । यस्तो बेथितिलाई हाम्रो केन्द्रीय राजनीतिले सम्बोधन गर्न सकेन । भुइँचालोपछि हाम्रा पाका नेताहरूलाई पनि यो अभाव महसुस भएको छ । यही महसुसका कारण फेरि स्थानीय निकायको निर्वाचनको भाषण जताततै सुनिन थालेको छ । तर, हाम्रा वर्तमान नेताहरू छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउन सक्ने अवस्थामा छैनन् । अरूको त कुरै छाडौँ सरोकारवाला उपप्रधानमन्त्री प्रकाशमान सिंहले छ महिनाभित्र चुनाव गराइन्छ भनेर भाषण गर्नुभएको पोहोरको माघ महिनादेखि नै हो । उपप्रधानमन्त्रीको हतारो सुनेर निर्वाचन आयोगले सरकारले निर्णय दिएको मितिको १०० दिनमा चुनाव गराइसक्ने भनेर व्यापक तयारी पनि गर्यो । तर, चुनाव भने सरेको सर्यै भयो । प्रकाशमानजीको ठाउँमा कुनै युवालाई मन्त्री बनाइएको भए त्यसले भुइँचालो अघि नै स्थानीय निकायको निर्वाचन गराउन सक्ने थियो भन्ने सत्यलाई भुइँचालोपछिका गतिविधिले प्रस्ट पारेका छन् ।
भुइँचालो आएको लगत्तै पाका नेताहरू किंकर्तव्यविमुढ भए । युवाहरूले राहत बाँड्न थालेपछि मात्रै सरकारले एकद्वार प्रणालीको गीत गायो । तर, त्यो पनि सफल हुन सकेन । आफैँ काम गरौँ आफैँ नवनिर्माण गरौँ भन्ने समयमा अर्थमन्त्री आफ्नो धामतिर लागे । पश्चिमा उदारवादी र असफल पुँजीवादलाई जीवनको एक मात्र आदर्श मान्ने मुलुक र संस्थाहरूले नेपालका अर्थमन्त्रीलाई पत्याएनन् । दु:खी भएर फर्किएकै हुन् उतिबेला हाम्रा अर्थमन्त्री ।
अर्थमन्त्री पश्चिमबाट निराश भएर फर्किंदा यता नेपालका युवाहरू जागृत भइसकेका थिए । पुनर्निर्माण मात्र होइन, नवनिर्माण नै गर्नुपर्ने अवस्था देखिएपछि जागे युवाहरू । पुल्चोकमा आपत्कालीन घरका डिजाइन बने । काठमाडांैबाट ठूलै संख्यामा मानिसहरू बाहिर निस्किए भुइँचालो पीडितलाई सघाउन ।
काठमाडांै उपत्यकामै पनि युवाहरूले, काम नलाग्ने भनी सरकारले भत्काउन निर्देशन दिएका घरहरू भत्काउने काम गरे । नवनिर्माणका कर्मीहरू बाहिरबाट राजधानी उपत्यकामा आए । उपत्यकाबाट बाहिर गए । यो महाविपत्तिमा नेपाल राष्ट्रको सही परिचय देखापर्यो ।
अर्थात् संकटको समयमा नेपालीहरू एकजुट हुन सक्दा रहेछन् भन्ने शिक्षा पनि यो भुइँचालोले सबैलाई दियो । यो भुइँचालोको सबैभन्दा महत्त्वपूर्ण शिक्षा भनेको चाहिँ अब पाका नेताहरू, अनुभवी सल्लाहकारको भूमिका निर्वाह गर्ने र युवाहरूलाई, नेपालको नवनिर्माणको जिम्मा दिने नै रह्यो । पाका नेताहरू अलमलिइरहेकै समयमा युवाहरू पुनर्निर्माण र नवनिर्माणको काममा लागिसकेका थिए ।
यी युवाहरूमा पनि नेकपा (एमाले)कै युवाहरू सर्वोत्कृष्ट रहे । एमालेका युवा संघ, अनेरास्ववियु र जिफन्टले, जननेता मदन भण्डारीको – प्रतिस्पर्धामा आफूलाई श्रेष्ठ सावित गर– भन्ने आह्वानलाई पुष्टि गरेर देखाए । एमालेका मजदुर, युवा र विद्यार्थी अघिल्तिर अरू कुनै पनि पार्टीका जनसंगठनहरू टिक्न सकेनन् ।अबको राजनीतिक कार्यसूची भनेकै नवनिर्माण हो । अरू पार्टीसँग राजनीतिक सिद्धान्त नभएको हुनाले ती पार्टीका युवाहरूको सक्रियताको ग्यारेन्टी त लिन सकिँदैन । तर, एमालेका युवाहरूले जननेता मदन भण्डारीको सिद्धान्तलाई सुक्न दिने छैनन् । थकाइबिनाको काम, तीव्र प्रतिस्पर्धाको क्षमता, यही त हो मदन भण्डारीको शिक्षा !
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply