यसरी नै होला र सांस्कृतिक रूपान्तरण ?
राष्ट्रिय धान दिवसका दिन निवर्तमान कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले जुन उच्छृंखल व्यवहार प्रदर्शन गरे, आफ्नो कर्मको आंशिक ‘फल’ उनले भोगिसकेका छन् । अर्थात्, उनले मन्त्री पद गुमाएका छन्, सर्वत्र बेइज्जतको भागिदारसमेत बनेका छन् । र, अन्तत: उनको राजनीतिक भविष्य नै चौपट हुन पुगेको छ । कृषि प्रधान देशका किसानहरूले ठूलै उत्सवका रूपमा मान्ने धान दिवसलाई शोभायमान बनाउनुपर्नेमा उनको अशोभनीय व्यवहार र हर्कतले धान दिवसको औचित्यमाथि नै प्रश्नचिह्न पनि उठ्न पुगेको छ, यतिबेला । निवर्तमान मन्त्री पराजुलीले ‘धान दिवस’लाई ‘अंकमाल दिवस’का रूपमा रूपान्तरित गरेपछि अबका वर्षहरूमा यस्तै तरिकाका, मन्त्रीलाई निम्त्याएर धान दिवस मनाउन उचित होला वा नहोला ? अहिल्यैदेखि नै प्रश्नचिह्नसमेत खडा भइसकेको छ ।
निवर्तमान मन्त्री पराजुलीले नैतिक मूल्य र मान्यतालाई बेवास्ता गरेर मूलपानीका रोपाहार महिलाहरूमाथि अश्लील हर्कत देखाए पनि उनले नेपाली संस्कृतिले स्वीकारेको एउटा तथ्यलाई भने पटक–पटक उजागर चाहे । उनले भने पनि– ‘होली र रोपाइँ यस्तै रमाइलो गर्ने पर्व त हो नि ।’ उनको तर्कलाई काट्ने ठाउँ छैन । किनकि, होली र रोपाइँ रमाइलै गर्ने नेपाली चलन हो । होली त बस † एउटा उत्सव मात्रै हो, जुन पर्वलाई नेपाली समाजले एउटा सांस्कृतिक पर्वकै रूपमा स्वीकारे पनि त्यस पर्वले नेपाली समाजलाई जोड्ने, आत्मीयता प्रदान गर्ने कुनै विशेषता भने बोकेको पाइँदैन । तथापि, भारतीय समाजबाट भित्रिएको होलीजस्ता आगन्तुक पर्वलाई अहिले नेपाली समाजले पूर्णत: स्वीकारिसकेको छ, जसरी भ्यालेन्टाइन डे जस्ता पश्चिमी संस्कृतिलाई पुठ दिने पर्वहरूलाई पनि नेपालका किशोर र युवा वर्गले स्वत: स्वीकारिसकेका छन् ।
तर, असार १५ लाई नेपाली समाजले एउटा पर्वकै रूपमा मनाउने गरिए पनि यो केवल पर्वमा मात्र सीमित भने छैन । यसको बहुसामाजिक, बहुसांस्कृतिक मूल्य र मान्यताहरू रहेका छन् । यो पर्वसँगै नेपाली समाजका ग्रामीण स्तरका किसानहरूको श्रम प्रक्रिया पनि जोडिएका छन् । निवर्तमान मन्त्री पराजुलीले भनेजस्तै, रोपाइँ एउटा रोमान्टिक पर्व हो । अझै पनि ग्रामीण भेगमा रोपाइँ हुँदा बाउसे र रोपाहारहरूबीच हिलो छ्याप्ने, गीत/संगीतका माध्यमद्वारा मनोरन्जन बाँडचुँड गर्ने, एकै थलोमा बसेर मीठा–मीठा भोजनहरू गर्ने चलन कायम नै छ । सर्वविदितै कुरा हो, ग्रामीण भेगहरूमा भर्खरका यौवन र नवयौवनाहरूबीच प्रेमका अंकुरहरूलाई मलजल गर्ने माध्यम र औसरहरूमा रोपाइँ, जात्रा, रत्यौलीजस्ता क्षणहरू नै हुन्, तर आधुनिक नेपाली समाजमा यस्ता पक्षहरू मेटिँदै गएका छन् । आधुनिक प्रविधिले जोडेका नेपालीहरूका लागि अब माया–प्रेमका लागि रोपाइँ, जात्रा र रत्यौलीजस्ता क्षणहरू कुरेरै बस्नुपर्ने बाध्यता पनि छैन । समाज धेरै अघि बढिसकेको छ ।
निश्चय नै, मन्त्री पराजुलीले सार्वजनिक ठाउँमा आफूभन्दा माथि र तल, दुवै उमेर समूहका महिलालाई आलिंगन गरे, आफ्नो ज्यानमा लागेको हिलो तिनै महिलाहरूका कपडामा पुछे र आफ्नो पदीय मर्यादा भुलेर एउटा रोमान्टिक पात्र र चरित्रका रूपमा उभ्याए । निरन्तर उब्जिने यस्ता समस्याहरूलाई पन्छाउन सरकारको कुनै स्पष्ट नीतिको अभाव पनि देखिन्छ । सार्वजनिक थलोमा केकस्ता हर्कत गर्दा, कस्तो कानुन प्रभावकारी हुन्छ भन्नेमा स्पष्टता नभएकैले यस्तो समस्या उब्जिएको हो । हुन त, सार्वजनिक थलोमा महिलाहरूमाथि हातपात गर्दा कानुनी उपचार हुने त तोकिएको छ नै, तर त्यो उच्च पद र ओहदाहरूमा रहेकाका निम्ति नभएर साना र निमुखाहरूका लागि मात्र प्रभावी भएका छन् ।
अर्कोतिर, निवर्तमान मन्त्री पराजुली मात्र होइनन्, नेपालका हरेक राजनीतिज्ञ, समाजसेवी, समाजमा विशिष्ट हैसियत राख्ने जोकोहीले पनि नैतिक चेतनाको दिशासूचक बन्ने अभीष्ट राखेका देखिँदैनन् । सामाजिक जीवनमा विशिष्ट हैसियत राख्ने एकाध व्यक्तिलाई छाडेर प्राय: सबैजसो नैतिक रूपले हिन, दरिद्र र सामाजिक दृष्टिमा पतित छन् । तर, नेपाली समाज यति उदार छ कि, कतिपयका गलत हर्कतलाई पनि आँखा चिम्लनुमा नै सर्वोपरि ठान्छ । र, नेपाली समाजको स्मरणशीलता यति अल्प छ कि, एक दशकअघि कसैले मच्चाएको हर्कत, उद्दण्डता र अक्षम्य क्रियाकलापलाई समेत बिर्सिएर त्यसकै पक्षमा उभिने चाहना राख्छन् । यसलाई नेपाली समाजको उदार मनोवृत्तिको विकृत पक्ष हो भन्नु यथोचित होला ।
त्यसो त, निवर्तमान मन्त्री पराजुलीले राजीनामा दिनुमा नेकपा (एमाले)का सचेत जमातकै विरोधको हात रहेको स्पष्ट देखियो । सामाजिक सञ्जालहरूमा पनि पराजुलीलाई सबभन्दा धेरै लल्कार्ने एमालेकै चेतनशील अनुहारहरू देखिए । तर, एउटा रमाइलो पक्ष के देखियो भने आफ्नै पार्टीका एक मन्त्रीले महिलाहरूलाई झम्टी–झम्टी समात्ने, संवेदनशील अंगमा मुख जोत्नेजस्ता अत्यन्तै अश्लील र अमर्यादित क्रियाकलाप गर्दा भने सोही पार्टीको महिला संगठन भने मौन रह्यो । अरू बेला महिला अधिकारको पक्षमा सशक्त रूपमा उभिने अखिल नेपाल महिला संघले भने मन्त्री पराजुलीको प्रकरणमा भने चुपचाप नै बस्न उचित ठान्यो । हुन त, एमालेको महिला संघले पार्टीभित्र उब्जिने यस्ता झिना–मसिना सवालहरूमा औंला ठड्याउने फुर्सद अरू बेला पनि निकाल्ने गरेका छैनन् । नवौं महाधिवेशनताका महाधिवेशन हलमै बहुविवाह गर्नेलाई बहिष्कार गर्ने ब्यानर टाँगेका एमालेभित्रका महिला प्रतिनिधिहरूले कसको दबाबमा परेर हो कुन्नि, टाँगिएको केही समयपछि नै उक्त ब्यानर हटाएका थिए । र, अहिले पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले तीन–तीन वटी पत्नी भित्र्याउँदा र एउटी पत्नीका छोराले बबन्डर मच्चाउँदा पनि एमालेको महिला संघ यी घटनाहरूप्रति बेखबरजस्तै बन्न पुगेको छ । महिला संघको मौनता देख्दा यस्तो लाग्छ, कहीं कतै केही भएकै छैन, खाली बकबास मात्र हुन् ।
कम्युनिस्टहरूले बारम्बार भन्दै आएका छन्, सामाजिक वा सांस्कृतिक रूपान्तरणको सुरुआत आफैभित्रबाट गर्नुपर्दछ । पहिला आफ्नो टाउकोमा आगो सल्काउने कुरा सांस्कृतिक रूपान्तरण आफैंबाट सुरु गर्ने प्रश्नसँग जोडिएको विषय हो । आफू रूपान्तरित नहुने र अरूलाई रूपान्तरण हुनमा जोडबल मात्रै गर्दा त्यसले तानाशाहीकरणलाई जन्म दिन्छ । तर, एमालेका महिला संघ र त्यसको नेतृत्व गर्नेहरूले भने पार्टीभित्र, महिला अधिकार र सवालसँग जोडिएका घटना र विषयहरूमा भने बारम्बार मौनता साँध्दै आइरहेका छन् । मन्त्री पराजुलीले सार्वजनिक थलोमै महिलाहरूको इज्जतमाथि खुलेआम हमला बोल्दा महिला संघ मौन रहेको प्रसंगले अहिले चर्चा पाएको हो । तर, एमालेभित्र बहुविवाह, घरेलु हिंसा, उत्पीडनजस्ता पक्षलाई आत्मसात् गर्ने थुप्रै नेताहरू छन्, कार्यकर्ताहरू छन् र त्यस्ता नेता/कार्यकर्ताहरू पार्टीको माथिल्लो निकायसम्मै छन् । तर, महिलाहरूको अधिकार र इज्जतमाथि ख्याल नगर्ने त्यस्ता नेता/कार्यकर्तालाई कारबाही गर्नुपर्ने कुरा अहिलेसम्म एमालेको महिला संघले उठाएको छैन । सम्भवत: त्यस्ता नेता/कार्यकर्ताहरूलाई कारबाहीको दायरामा ल्याउने प्रयत्न गर्दा आफूले ओगटिरहेको स्थान कतै डग्मगाउने त होइन ? भन्ने प्रश्न स्वभावत: उब्जिन पुगेको छ ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply