यसकारण मारिए चरी
त्यो दिन मैले चरीलाई भनें, ‘त्यसरी हत्या गर्ने नै त संगठनको नीति छैन, हातखुट्टासम्म भने भाँच्न सकिन्छ । उनीहरूले हाम्रा साथीहरूका हातखुट्टा भाँचेका छन् । टिट फर ट्याट । यसका लागि तिमीले संगठनको सहयोग लिँदा पनि हुन्छ ।’मेरो उत्तर सुनेपछि चरीले भन्यो, ‘यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यकता पर्दैन, दाइ । म एक्लै काफी छु ।’
त्यसपछि ऊ उत्साहित हुँदै गयो ।
चरी निस्किएलगत्तै मेरो मनमा आशंका जन्मियो– कतै चरीले नराम्रो केही गरेर संगठनले आजसम्म पाएको इज्जत त सखाप पारिदिने हैन ?
मैले तत्कालै ऐनजीलाई फोन गरें, ‘त्यो चरीलाई वाच गर्दै गर्नू है । त्यसले नराम्रो काम गरेर पूरै संगठनको बदनाम गर्ला नि फेरि ।’
०००
तर, ऊ आफैं पनि माओवादीपीडित रहेछ । अर्कोतर्फ, हामीले जुन उद्देश्यका साथ युथ फोर्सलाई अगाडि बढाएका थियौं, त्यसका लागि चरीहरू पनि हाम्रा सहयात्री हुनु आवश्यक थियो । एकाध मान्छे त्यो पृष्ठभूमिका नभएसम्म हामीलाई वाईसीएलले पेलिरहने निश्चित थियो । चरीलाई युथ फोर्समा ल्याउनुको अर्थ मनोवैज्ञानिक हिसाबले वाईसीएललाई पछाडि धकेल्नु पनि थियो ।
त्यो दिन म बुटवलमा थिएँ । एमालेको महाधिवेशन चलिरहेको थियो । साँझ मोबाइलमा चरीको फोन आयो । उसले भन्यो, ‘दाइ, हामीले हान्दियौं त्यसलाई । सायद बाँच्दैन होला । अस्पताल भर्ना भएको छ । छातीमै गोली लागेको छ ।’
मैले कुनै प्रतिक्रिया जनाउन सकिनँ । चरीले त्यो हदसम्म गएर कसैलाई गोली हान्ला भनी मैले सोचेको पनि थिइनँ । हदैसम्म भए जोग भाइको खुट्टा काट्नेहरूको खुट्टा भाँचिदेला, सुशीलको हात काट्नेहरुको हात भाँचिदेला भन्ने मात्रै ठानेको थिएँ । युथ फोर्स र युवा संघका त्यसअघिका कारबाहीहरूमा त्यस्तो हतियारको प्रयोग भएको थिएन । तर, चरीले गर्नु गरेको थियो ।
त्यसले मलाई ठूलो समस्यामा पार्यो । महाधिवेशनको तनावमाथि अनपेक्षित झमेला थपियो । चरीले पार्टी प्रवेशपूर्व गर्दिनँ भनेको काम गरेको थियो । उसले गोली चलाएको घटनालाई हामीले आफ्नो जिम्मेवारीमा लिन सक्ने समय पनि थिएन त्यो । कुनै पनि आपराधिक क्रियाकलापलाई हामीले राजनीतिक संरक्षण दिनुहुँदैन भन्ने मेरो मान्यता थियो । त्यस्ता कामलाई राजनीतिक संरक्षण र प्रश्रय माओवादीले दिइरहेको थियो । हामी त्यही माओवादीविरुद्ध अभियानमा उभिएका थियौं । जुन कामको विरोधमा हामी थियौं, त्यही काम हामीबाट हुनु हुँदैन भन्नेमा म सचेत थिएँ ।
तर, नहुनु भइसकेको थियो । चिन्ता लिएर मात्र समस्या सल्टिने अवस्था थिएन । पाइला–पाइलामा सावधानी जरुरी थियो । समयको आवश्यकता थियो त्यो । यो समस्यालाई सावधानीपूर्वक समाधान गर्न नसके युथ फोर्स झन् भुमरीमा पर्ने निश्चित थियो । ‘हत्तेरिका, के गरेको त्यस्तो †’ मैले चरीलाई भनें ।
ऊ नाजवाफ भयो । घटना भइसकेपछि सायद उसको मनोबल कमजोर भएको थियो । फेरि त्यस्तो काम गर्न ऊ निरुत्साहित होस् भन्नका लागि मैले उसलाई कराउनैपर्ने थियो ।
‘अहिले त्यो मान्छेको अवस्था कस्तो छ त ?’ मैले सोधें ।
‘भन्न सकिँदैन, दाइ †’ चरीले आत्तिँदै भन्यो ।
म फेरि लामो समय चुप भएँ । त्यसपछि उसलाई सल्लाह दिएँ, ‘अब चुपचाप कत्तै बस्नू । केही दिन बाहिर ननिस्कनू ।’
केही दिन ऊ सम्भवत: कतै निस्किएन । मलाई प्रत्येक दिन फोन गरिरह्यो । तर, मैले उसका अधिकांश फोन इग्नोर गरें । त्यसो नगर्दा झन् नराम्रो हुन सक्थ्यो । ऊसँग कुरा हुँदा पनि आफू निकै व्यस्त छु भन्दै चुपचाप बस्न भन्ने गर्थें ।
०००
त्यो घटनाको केही समयपछि मैले र केही साथीले चरीसँग गम्भीर कुरा गर्यौं । उसले आफूले गल्ती गरेको सहजै स्वीकार्यो । त्यति हुँदा पनि, उसको काम क्षम्य थिएन । माओवादी विरुद्ध आक्रमण गरेकै भए पनि किन नहोस्, त्यो मेरो पनि एउटा गल्ती थियो ।
तर, त्यसले वाईसीएललाई अलि साइजमा ल्याइदियो । त्यो आक्रमण नभएको भए त्यो क्षेत्रमा वाईसीएल झन् कति उद्दण्ड हुने थियो होला, म कल्पनासम्म गर्न सक्दिनँ । त्यही घटनापछि युवा संघका साथीहरूलाई थ्ेरट आउन पनि छोड्दै गयो ।
युथ फोर्स गठन हुँदा माओवादीले यो कुनै शक्ति होला भन्ने आँकलन गरेकै थिएन । बालाजु घटनापछि भने ऊ हामीबाट त्रस्त हुन थाल्यो । काठमाडौं उपत्यकामा हामीलाई त्यस्तो समस्या हुन छोड्यो ।
०००
त्यही समय मैले चरीलाई पनि बारम्बार सम्झाएँ । मैले उसलाई दुईटा विकल्प दिने गरेको थिएँ– तँ जिन्दगीको यस्तो मोडमा आइपुगेको छस्, तेरो सामु दुई बाटा छन् । राजनीतिक बाटो हिँडे सामाजिक व्यक्तित्व बन्न सकिन्छ, दिनहुँ प्रहरीबाट डराएर हिँड्नुपर्ने अवस्था हट्दै जान्छ, अपराधकै बाटो समाते आफैंबाट समेत भागिरहनुपर्छ, समाजले कहिल्यै माया गर्दैन । उल्टो प्रहरीको सलाम खाने दिन पनि आउन सक्छ ।
एक पटक मैले भनें, ‘हेर् भाइ, हामी अहिले थप सहकार्य हुने–नहुने भन्ने एउटा मोडमा आइपुगेका छौं । तँ, पहिलो बाटो हिँडिस् भने हाम्रो सहकार्य हुन्छ । हैन, दोस्रो बाटो रोज्छस् भने सहकार्य आजकै मितिबाट टुंगिन्छ ।’
चरीसँग मेरो कैयौंचोटि भेट भइसकेको थियो । फोनमा कति कुरा भइसकेको थियो । तर, त्यो दिन मैले उसलाई आत्मीयतापूर्वक पहिलोपटक ‘तँ’ सम्बोधन गरेको थिएँ । यतिन्जेल युथ फोर्स विघटन भइसकेको थियो । देशको राजनीतिले फेरि परिवर्तन खोजिरहेको थियो । खासमा म उसलाई डर देखाएर भए पनि सही बाटोमा ल्याउन चाहन्थें । युथ फोर्समा लागेकाले ऊ सुध्रिएको हो भन्ने सन्देश जाँदा युवा संघका लागि मात्र हैन, एमालेका लागि पनि फाइदै हुन्थ्यो ।
त्यो दिन मैले उसलाई भनेको थिएँ, ‘हो, पहिले युथ फोर्स हुँदा केही हदसम्म तँलाई हामीले प्रयोग गरेका पनि थियौं । त्यो त्यतिबेलाको आवश्यकता पनि थियो । तर, अब त्यही कुरा दोहोरिएको छैन । तँ आफैंले निर्धारण गर्ने कुरा हो यो ।’
उसका दुष्कर्महरू बारम्बार दोहोरिँदै थिए । विभिन्न आपराधिक कार्यमा उसको संलग्नता अपृेक्षाकृत रूपमा घटेको थिएन । मैले जति सम्झाउँदा पनि उसमा खासै परिवर्तन आउनसकेको थिएन । गधालाई धोएर गाई बनाउन नसकिने निश्चित भएपछि म उसबाट टाढिँदै गएँ । फोन उठाउन कम गर्दै गएँ ।
त्यति हुँदा पनि आफूलाई अप्ठ्यारो पर्दा उसले मलाई फोन गर्न छोडेको थिएन ।
एक पटक दसैंताका उसलाई प्रहरीले गिरफ्तार गरेछ । थुनाबाटै उसले फोन गर्यो, सहयोगका लागि अनुनय विनय गर्यो । दसैंको बेला भनेर मैले प्रहरीलाई हुनेसम्म सहुलियत दिन अनुरोध गरें । उसले सुध्रिन्छु भन्दै आएको थियो । प्रहरीले छाडिदियो ।
केही समयपछि एसपी रमेश खरेलसँग सल्लाह गरेरै उसलाई चार–पाँच महिना थुनामा राखियो, सुध्रिन्छ कि भनेर । सुध्रिन्छ भने हिरासतमै राखेर ऊमाथि लागेका विभिन्न मुद्दा चलाउने सल्लाह खरेलसँग भएको थियो । ऊ चार महिना जेल बसेर निस्कियो ।
तर, लागेको बानी के छुट्थ्यो । हाम्रा सारा योजना र कामना तुहिँदै गए ।
मेरो मन मर्यो । अब चाहिँ साँच्चै उसलाई बेवास्ता गर्न थालें । लामो समयसम्म ऊसँग मेरो कुनै सम्पर्क थिएन ।
चरी २०७१ साल साउन २१ गते प्रहरी इन्काउन्टरमा मारियो । त्यसभन्दा केही अगाडि प्रहरीले उसलाई पक्राउ गर्न खोजिरहेको छ भन्ने मलाई थाहा थियो । उसलाई पक्राउ गरियोस् र केही समय थुनामा राखियोस् भन्ने मेरो चाहना थियो । त्यसो गर्दा उसमा सुधार आउला कि भन्ने मैले सोचेको थिएँ । तर, इन्काउन्टरमा पर्यो ।
– भर्खरै प्रकाशित पुस्तक ‘म महेश’बाट ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply