किन उदासीन नरेश शाक्यहरूप्रति ?
नेपाली राजनीतिमा भ्रष्ट, पतीत, सिद्धान्तहीन र धुन्धुकारी चरित्रले परिपूर्ण पात्रको खोजी गर्नुपर्दा पहिलो लहरमै उभिन आइपुग्छन्, खुमबहादुर खड्का । उनी नेपाली राजनीतिक वृत्तमा यति धेरै बदनाम कमाएका पात्र हुन्, जसले संसदीय राजनीतिक व्यवस्थाको धज्जी उडाउन यथेष्ट भूमिका निर्वाह गरे । राजनीति, विचार र सिद्धान्तका आधारमा सञ्चालित हुने होइन, पद, शक्ति र बाहुबलका आधारमा चल्ने गर्दछ भन्ने मान्यतालाई स्थापित गर्न उनले विगतमा त्यही प्रकृतिका क्रियाकलापहरू गरेका थिए । अर्थात्, राजनीतिमा मौलाएका विकृत, विसंगत र बेढंगे शैलीलाई स्थापित गर्ने सीमित खलनायकहरूको पंक्तिमा उनी सदैव अग्रस्थानमा नै रहे ।
एक प्रतिष्ठित कवि हुन्, नरेश शाक्य । तीसको सुरुवाती दशकदेखि नै वामपन्थी राजनीतिका खुट्किलाहरू आरोहण गर्दै पछिल्ला समय कविता कर्ममा निर्लिप्त रहेका शाक्यलाई प्रगतिशील वृत्तका सर्जकहरूले सम्मानित नजरले हेर्छन् र त्यही अनुरूपको व्यवहार पनि गर्दै आइरहेका छन् । जीवनका उर्वर कालखण्ड पूर्वको धरानमा रहेर साहित्य सिर्जना गरेका उनले पछिल्लो समय भने उपत्यकाभित्रै रहने टुंगो गरे र ललितपुरको एउटा विद्यालयमा सामान्य शिक्षकको जागिर खाँदै आफ्नो सिर्जना यात्रामा अविचलित रूपले अग्रसरता देखाइरहे । सदैव प्रगतिशील चेत, चिन्तन र मान्यताले भरिपूर्ण काव्य सिर्जना गरेका उनले कुनै बेला लेखेका थिए–
‘पग्लेर पनि तिम्रो मुटुबाट
मात्र ग्लेसियर बहन्छ
जमेर तिम्रो मुटु हिमशिला बन्छ
दुवै स्थितिमा तिम्रो उपस्थिति हाम्रा निम्ति
कति निरंकुश र क्रुर
विषाक्त र वेदनायुक्त छ ?’
खुमबहादुर खड्का र नरेश शाक्य, दुवै नेपाली नागरिक हुन् । तर, एउटाको क्षेत्र राजनीति पर्यो भने अर्कोको साहित्य । अझ त्यसमा पनि विपरीत विचार र आस्था बोक्ने राजनीतिक क्षेत्रका पात्रहरू परे, दुवै जना । निश्चय नै, यी दुई पात्र तुलनायोग्य छैनन् । एउटा, आफ्ना सिर्जनामार्फत समाजमा उज्यालामन अनगिन्ति जूनतारालाई आमन्त्रण गर्न चाहन्छन् भने अर्का पात्र त्यही समाजमा आफ्ना गलत कृत्यहरूमार्फत विसंगतिका धूमकेतुहरूको परेड खेलाउन रुचाउँछन् । बिल्कुलै मेल खाँदैन, ती दुई पात्रहरूबीचको चरित्र र कृत्यहरूमा । दुवैको फरकफरक भूगोल र आकांक्षाहरू छन् ।
भनिन्छ, अहिले नेपाली कांग्रेसबाट निर्वाचन जितेर पटकपटक मन्त्री भएका खड्का बिरामी छन् । र, कवि शाक्यलाई पनि अहिले शारीरिक अस्वस्थताले च्यापेको छ । अथवा, दुई फरक क्षेत्रको प्रतिनिधित्व गर्ने खड्का र शाक्य अहिले अस्वस्थ छन् । र, मान्नुपर्छ ती दुवै पात्रले राज्यको समुत्थानमा आ–आफ्नो क्षेत्र र कर्ममार्फत योगदान पुर्याएका पनि छन् ।
तर, नेपाली राजनीतिलाई दूषित तुल्याउने र फोहोरको डंगुरमाथि उभ्याउन मिहिन भूमिका खेल्ने खड्कालाई राज्यकोषबाट धुतेर ३५ लाख रुपैयाँ दिइयो भने शाक्यको भने केही शुभचिन्तकहरूको सहयोगमा काठमाडौंको एउटा अस्पतालमा उपचार गरियो । यी दुवै केही समयअघिका परिघटना हुन् । पूर्ववर्ती सरकारले सत्ता छाड्ने अन्तिम क्षणमा खड्कालाई ३५ लाखको थैली बुझाउन उपयुक्त ठाने पनि रोगले थिल्थिलो भएका शाक्यलाई भने उपचार खर्चका नाममा कौडीको समेत सहयोग गर्न आवश्यक ठानिएन ।
त्यसो त राज्यको नजरमा सत्ता र शक्तिको पहुँच भएकाहरू पहिलेदेखि नै पर्दै आएका हुन् । सत्ताको वरिपरि रिङ्ने, घुम्नेहरूलाई राज्यकोषको चरम दुरुपयोग गरेरै भए पनि पोस्ने प्रवृत्ति हरेक व्यवस्थामा हुँदै आएको कुरा नकार्न सकिँदैन । सत्ता निकटकाहरूले उपचार खर्चका नाममा बर्सेनि लाखौं कुम्ल्याइरहेका छन् र प्राय: सत्ता छाड्ने छाड्ने बेलामा आफ्ना आसेपासेहरूलाई पोस्ने काम सदैव भइरहेका छन् । सत्तामा पहुँच हुनेहरूले राज्यलाई कसरी दोइरहेका छन् भन्ने दृष्टान्त उपचार खर्चका नाममा एउटै व्यक्तिले ३५ लाखसम्म कुम्ल्याउने स्थिति सिर्जना हुनुले नै स्पष्ट पार्दछ ।
देशको कला, साहित्य, संस्कृतिको समुत्थानमा जीवनको लामो अवधि अर्पण गरेका सर्जकहरूको हकमा भने राज्य सधैंभरि उदासीन देखिँदै आएको छ । कुनै पनि सर्जक बिरामी हुँदा उसलाई उपचार खर्च बेहोर्नुपर्छ भन्ने कुरामा सरकार सचेत त देखिँदैन नै, कथंकदाचित त्यस्ता सर्जकहरूलाई उपचार खर्च दिनुपर्यो भने सरकारले दाँतबाट पसिना निकाल्ने खोजेको थुप्रै दृष्टान्तहरू छन् । अर्थात्, विरामी सर्जकहरूलाई उपचार गर्न सहयोग गर्नेबारे राज्यको स्पष्ट नीति नभएको हुँदा पनि समस्या उत्पन्न भएको हुन सक्छ । तर, सर्जकहरूकै हकमा कुरा गर्दा, सत्ताको पहुँच भएका बिरामी सर्जकहरूले राम्रै उपचार खर्च पाइरहेका छन् भने सत्ताको पहुँच बाहिर भएका नरेश शाक्यजस्ता सर्जकले भने उपचारका निम्ति केही शुभचिन्तककै मुख ताक्नुपर्ने विडम्बनापूर्ण स्थिति
जीवितै छ ।
हुन त, नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत स्रष्टाहरूको उपचारका लागि एउटा कोष नै स्थापना भएको छ । उक्त कोषले बिरामी स्रष्टाहरूलाई थोरबहुत रूपमै भए पनि आर्थिक सहयोग प्रदान गर्दै आएको छ । तर, उक्त कोषले दिने उपचार खर्च अत्यन्तै न्यून र सीमित हुने हुँदा त्यसलाई स्रष्टाहरूलाई बिटुल्याउने काम मात्रै गरेको छ । ‘पाइस्’ भन्दा ‘पाएँ’ भन्ने मात्रै उपचार खर्च एकेडेमीले स्रष्टाहरूलाई दिने गरेको हुँदा त्यसले स्वाभिमानी स्रष्टाहरूलाई भने लिऊँ कि नलिऊँको नैतिक बन्धन र दोधारमा पार्दै आएको छ ।
अहिलेसम्म राजनीतिका ख्यात/कुख्यात पात्रहरूलाई राज्यकोषबाट उपचारका नाममा पोस्ने कार्य बन्द गरी शुभचिन्तकहरूको भर परेर उपचार गर्न बाध्य स्रष्टाहरूतिर राज्यले नजर पोख्नुपर्ने नितान्त आवश्यक देखिएको छ । खुमबहादुरलाई बचाउन चाहने राज्यले नरेश शाक्यहरू अस्पतालको बेडमा छटपटाइरहेको दृश्य सहजै पचाउनतिर होइन, शाक्यहरूजस्ता स्रष्टाहरूलाई पनि बचाउने दिशातिर कदम चाल्नुपर्ने दायित्व राज्यको हुनुपर्ने देखिएको छ । तथापि, कम्तीमा पनि स्रष्टाहरूले राज्यको अस्तित्व, उपस्थिति र अनुभूति गर्न सकून् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply