कसरी उठ्ला प्रकाशन व्यवसाय ?
नेपाली प्रकाशन व्यवसाय निरन्तर ओरालोतिर उन्मुख छ । केही वर्षयता राम्ररी नै चम्किएको प्रकाशन व्यवसायले पछिल्लो समय देशभित्र उत्पन्न जटिल र संकटापन्न स्थितिका कारण चमक गुमाउन पुगेको छ । खासगरी, गएको वैशाख १२ गतेको भूकम्पले नेपाली जनजीवन त्रास र विपद्को भुमरीमा फस्न पुग्यो । भूकम्पले काठमाडौंको जनजीवनलाई नराम्ररी बिथोलेपछि प्रकाशन व्यवसायको एउटा प्रमुख र दरिलो स्तम्भको रूपमा रहेको काठमाडौं उपत्यकामा उक्त व्यवसायले लामै समय खुम्चिनुपर्यो । भूकम्पको त्रास र त्रिपालमुनि खुम्चिएको जिन्दगीका बीच ज्ञान, मनोरञ्जन र सूचनाको माध्यम मानिने पुस्तकलाई माया गर्नेहरू कति नै हुन्थे र ? जीवनभन्दा पुस्तक प्रिय नहुँदो रहेछ भन्ने तथ्य भूकम्पपछि खस्किएको प्रकाशन व्यवसायले स्वत: पुष्टि गर्यो ।
भूकम्पको त्रासमा डुबेको जनजीवन विस्तारै सतहमा उत्रिन थालिसकेको थियो । मानिसहरू सामान्य स्थितिमा फर्किने र तंग्रिएको मानसिकताबीच उठ्न खोजिरहेका थिए । आखिर, प्राकृतिक विपत्तिले निम्त्याएको दु:ख, कष्टलाई जसरी भए पनि सामना गर्नैपथ्र्यो । भूकम्पले खस्किएको प्रकाशन व्यवसायमा पनि विस्तारै चहलपहल बढ्न थालिसकेको थियो र पछिल्लो समय जोखिम र सम्भावना पहिल्याउँदै प्रकाशन व्यवसाय क्षेत्रमा समर्पित निजी प्रकाशन गृह र त्यसका चालकहरूले भूकम्पीय त्रासलाई बिर्संदै स्थगित यात्रा सुचारु ग्र्न लागिरहेको अवस्था थियो । तर, नयाँ संविधान आएपछि छिमेकी राष्ट्रका शासक वर्गमा व्याप्त असन्तोषले अर्कै विपत्ति निम्त्यायो । अर्थात् नयाँ संविधान आएको खुसियालीमा नेपालीजनहरूले उमंग साँचिरहेका बेला भारतले असन्तोषको पराकाष्ठा स्वरूप मानवीय संकट निम्त्याउने गरी नाकाबन्दी लगायो । तथापि, चार महिनाअघि अघोषित रूपमा लगाएको नाकाबन्दीलाई अघोषित रूपमै खुकुल्याउने कार्यमा दक्षिणको छिमेकीले यतिबेला तत्परता देखाएको छ । छिमेकीको यस्तो तत्परताले निरन्तरता र सार्थक रूप पाउने अपेक्षा राख्नु यतिबेला मनासिब होला ।
भूकम्प र त्यसपछिको लामो नाकाबन्दीले किनारामै धकेलिएको प्रकाशन व्यवसाय अहिलेसम्म शिथिल स्थितिमै छ । नाकाबन्दीले प्रकाशन व्यवसायलाई यति ठूलो धक्का लगाइदिएको छ कि, कागज, मसी र प्लेटजस्ता कच्चा पदार्थहरू भारत र तेस्रो मुलुकबाट नेपालमा भित्रिन्थ्यो । तर, नाकाबन्दीले भारतबाट आउने सामग्रीहरू पूर्णतया रोकिन पुग्यो भने भूपरिवेष्ठित मुलुकले पाउने पारवहन अधिकारमा समेत भारतीय पक्षले अल्झो हालेपछि तेस्रो मुलुकबाट आउने सामग्रीहरू पनि रोकिन पुग्यो । यसले एकातिर सामग्रीको अभाव र अर्कोतिर व्यापक मूल्यवृद्धिका कारण प्रकाशनगृहहरूले प्रकाशन गर्ने आँट गर्न नसक्नु स्वाभाविकै थियो । केही प्रकाशनगृहहरूले छपाइमा सस्तो पर्ने भएको कारण भारतबाटै छापेर पनि ल्याउने गरेका थिए, पुस्तकहरू । तर, नाकाबन्दीले उत्पन्न असहज परिस्थितिका कारण त्यो क्रममा पनि शिथिलता आयो ।
अहिलेसम्म पनि नेपाली प्रकाशन व्यवसाय उठ्न सकेको छैन । अझै केही समय उठ्न सक्ने स्थिति पनि छैन । बिग्रिएको वातावरण र परिस्थिति सहज हुन केही समय लाग्छ नै । नाकाबन्दी खुकुलो हुने दिशातिर बढे पनि जनजीवन सहज हुनलाई केही समय लाग्ने निश्चित भएको हँुदा अहिल्यै प्रकाशन व्यवसायले टाउको उठाउने अवस्था छैन । यस्तो स्थितिमा उज्यालो सम्भावना पहिल्याउँदै प्रकाशन व्यवसायमा उत्रिएका निजी प्रकाशनगृहहरू र त्यसका चालकहरू पलायन हुने स्थिति पनि उत्तिकै बढ्न पुगेको छ । यद्यपि, केही निजी प्रकाशनगृहहरूले भने प्रतिकूल परिस्थिति झेल्दाझेल्दै पनि एकाध संख्यामा पुस्तकहरू बजारमा ल्याउने र पाठकलाई पठनीयतातिर विस्तारै तान्ने काम भने नगरेका होइनन् । तर, त्यतिले मात्र पर्याप्त नहुनेमा स्वयम् प्रकाशकहरूले पनि बुझेका छन् ।
पछिल्लो समयमा युवा प्रकाशकहरूले नै नेपाली प्रकाशन व्यवसायलाई चम्काउने प्रयत्न गरेका छन् । साहित्यिक र साहित्यइतरका पुस्तकहरू मार्फत् पठन संस्कृतिको विकासमा समेत त्यस्ता प्रकाशनगृहहरूले अतुलनीय योगदान पुर्याएका छन् । निजी क्षेत्रका पुराना प्रकाशन संस्थाहरूले विगत केही वर्षयता प्रकाशन कार्यमा जागरुकता नदेखाए पनि पछिल्लो समय उदाएका नेपालय, फाइनप्रिन्ट, सांग्रिला, याम्बुरी, फिनिक्स, शब्दहार, विवेक सिर्जनशीलजस्ता निजी क्षेत्रका प्रकाशनगृहहरू युवा प्रकाशकहरूकै देन हुन् । स्वाभाविक रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले पुस्तक प्रकाशनमा पछिल्लो समय उदासीनता देखाएपछि र ती संस्थाहरूले पुस्तक प्रकाशन गर्ने तर बजारीकरणमा सुस्तता र गतिहीनता अँगालेपछि उदाएका निजी क्षेत्रका प्रकाशनगृहहरूले बाजी मार्न पुगेका हुन् । र, यो क्रम जारी छ ।
तथापि, अहिले संकट र अन्योलको वातावरण पैदा भए पनि स्थितिले सहज दिशा समात्नेबित्तिकै नेपाली प्रकाशन व्यवसाय उही पुरानै शैलीमा फर्किने र गति पनि लिने अपेक्षा राख्नु यतिबेला सान्दर्भिक ठहरिएला । अहिलेलाई यही अपेक्षा राख्नु उपयुक्त होला ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply