असरफलाई मुक्त गर…
धार्मिक कट्टरता, असहिष्णुता र रूढिबद्ध चिन्तनले गाँजेको भूगोलभित्र अभिव्यक्ति स्वतन्त्रताका हातपाउहरूलाई कतिसम्म बाँधेर राखिन्छन् र स्वतन्त्र चेत र आवाजहरूलाई दबाउन त्यस्ता देशका शासकहरूले कसरी मृत्युका घन्ट बजाउँछन् ? यस्तो प्रश्नको सहज उत्तर खोज्न चाहनेहरूले यतिबेला साउदी अरबलाई हेरे पुग्छ, जहाँका मुस्लिम शासकले कविता लेखेकै आधारमा प्यालेस्टिनी कवि असरफ हयादलाई मृत्युदण्डको सजाय सुनाएको छ । कवि हयाद अल्लाहप्रति आदर दर्साउन नचाहेको र धर्मप्रति अनास्था फैलाएको आक्षेप बेहोर्दै मृत्युदण्डको सजाय–निकट छन् । जीवनका ३४ वर्षमा हिँडिरहेका हयादलाई मृत्युदण्ड दिने साउदी अरब त्यस्तो देश हो, जहाँ स्वतन्त्र अभिव्यक्तिलाई धार्मिक कट्टरताले शताब्दियौंदेखि घाँटी थिच्दै आएको छ । र, अहिले शक्तिशाली कविता लेखनमार्फत विश्व साहित्यमा बेग्लै तरंग र पहिचान फैलाउने हयादलाई मृत्युदण्ड दिएर अभिव्यक्तिका संवाहकहरू खतराको सूचकबाट टाढा छैनन् भन्ने सन्देश फैलाउन एउटा कट्टर मुस्लिम देशले अग्रसरता लिइरहेको भान हुन्छ ।
कवि फयाद एक्ला भने छैनन् । धर्मका ठेकेदार र पोषणकर्ताहरूले धर्मप्रति अनास्था फैलाएको आरोपको संगीन बर्साउँदै फयादलाई फाँसीको तख्तामा झुन्ड्याउने अमानवीय, क्रुर र एक्काइसौं शताब्दीमा एकदमै नसुहाउने कृत्य गर्न तत्परता देखाए पनि उनको पक्षमा विश्वका प्रबुद्ध वर्गहरू उभिएका छन् । उनको मृत्युदण्डको विरोधमा अहिले विश्वव्यापी लहर र प्रदर्शन उठेका छन । स्वतन्त्रताका पक्षधरहरूले फयादलाई ‘हिरो’ ठानेका छन् भने धर्मको आहालबाट उत्रिन नचाहने मुस्लिम राज्य र शासकहरूलाई उभ्याएका छन्, खलनायकको कोटीमा । फयादको जीवन रक्षा र धार्मिक कट्टरताको विरोधमा संसारभरिका कवि, लेखकहरू जागृत भइरहेका बेला नेपालका स्रष्टाहरूले पनि ऐक्यबद्धता जनाएका छन् । काठमाडौंदेखि मोफसलका स्रष्टाहरूले समवेत स्वरमा भनिरहेका छन्– ‘असरफलाई मुक्त गर ।’
धार्मिक कट्टरता र उन्मादले ग्रस्त मुलुकहरूमा नास्तिक, अनास्थावादी र धर्मविरोधी भनिनेहरूप्रति असहिष्णु व्यवहारको त कुरै छाडौं, जीवन नै समाप्त पार्ने नियम, कानुनलाई सर्वोच्चता प्रदान गरिएको हुन्छ । धर्मको आडमा राजनीति गर्ने त्यस्ता देशका शासक, सरकारहरूले धर्मभिरूहरूले भरिएको अदालतबाट भएको फैसलामा बोल्ने अधिकार राख्दैन । तसर्थ, अहिले फयादको जीवन रक्षाका लागि विश्वव्यापी रूपमै आवाज उठे पनि धार्मिक कट्टरतालाई सर्वोपरि ठान्ने र त्यसकै आधारमा सत्ता टिकाइरहने आफ्नो हठ, मताग्रह र मान्यताविरुद्ध उभिएला भनेर कल्पना गर्ने आधार सीमित मात्र छ । तर, पनि स्वतन्त्रता र न्यायका पक्षपातीहरूको एउटै स्वर हुनुपर्छ– ‘असरफलाई मुक्त गर ।’
नि:सन्देह, संसारमा विवेक र वैज्ञानिक चिन्तनको प्रमुख शत्रुका रूपमा विगतदेखि नै अन्धश्रद्धा रहँदै आयो । कुनै पनि धार्मिक वा निरंकुश सत्ताले अन्धश्रद्धाकै आधारमा आफ्नो राजकाज टिकाउँदै आएका छन् । र, त्यस्ता सत्ताहरू सबभन्दा बढी अभिव्यक्ति स्वतन्त्रतासँग त्रसित हुन्छन् र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिनेहरूलाई धर्मको पासो फैलाएर उपचार गर्न चाहन्छन् । त्यो उपचार, धम्कीदेखि मृत्युदण्डको तहसम्मै तन्किन्छ र कतिपय राष्ट्र र समाजमा त हत्याको रूपमा पनि प्रकट हुन्छ । यतिबेला फयादलाई एक कट्टर मुस्लिम राष्ट्रले मृत्युदण्डको भागिदार बनाउँदा त्यस्तो देश र समाजप्रति आँखा चिम्लिन मिल्दैन, जहाँ सत्ताको आड र भरोसामा रमेका कट्टरपन्थीहरूले अभिव्यक्तिका पुजारीहरूलाई दिनदहाडै हत्या गर्नु वाञ्छनीय ठान्दछ । पछिल्ला वर्षहरूमा भारतीय समाजमा स्रष्टा, बुद्धिजीवी र चिन्तकहरूको हत्या हुने शृंखला जुन रूपमा चल्यो, त्यसले बौद्धिक वर्ग र तप्कामा भयावह परिस्थिति जन्माइदियो । हिन्दू कट्टरपन्थीहरूको सरकारका रूपमा चिनिने भारतीय जनता पार्टीले सत्तारोहण गरेयता भारतमा थुप्रै सामाजिक अभियन्ता र स्रष्टाहरूले जीवन गुमाइसकेका छन् । उनीहरू धार्मिक, सामाजिक असहिष्णुताका सिकार बनेका छन् । जेल, नेल र कठोर यातना भोग्नेहरूको त लेखाजोखा नै छैन । कुनै पनि सामाजिक परिवर्तनका बाहक वा वैचारिक प्रतिबद्धताको कुरा गर्नेहरूका सामु बारम्बार मृत्युको घन्ट बज्न थालेपछि अभिव्यक्ति स्वतन्त्रताका पोषकहरूले सरकारप्रति रोष र क्षोभ व्यक्त गर्दै राज्यले दिएको पुरस्कार, सम्मानहरू फिर्ता गर्ने लहर पनि चलेको थियो । यद्यपि, अहिले पुरस्कार फिर्ता गर्नेहरूको लहर केही थामिएको छ तर उनीहरूमा व्याप्त संशय, त्रास र भयावहताको ग्राफ भने दिनानुदिन उकालो चढ्दैछ ।
एउटा प्रसंग । तत्कालीन जर्मनमा नाजीहरूले तीव्र रूपमा अत्याचार गर्ने, नरसंहार मच्चाउने र ग्यास च्याम्बरमा मानिसहरूलाई जलाउने कृत्य जारी राखेपछि त्यसको विरोधस्वरूप विश्व विख्यात कलाकार पाब्लो पिकासोले ‘गुएर्निका’ नामक चित्र सिर्जना गरेका थिए । एक जना नाजी नेताले उक्त चित्र हेरेपछि आफूभित्र उम्लिएको आक्रोश थाम्न सकेनन् र उनले तत्काल सोधे– ‘यस्तो चित्र कसले बनाएको हो ?’ नजिकै उभिइरहेका पिकासोले जवाफ दिएका थिए–‘यस्तो चित्र तपाईंहरू बाहेक अरू कसले बनाउन सक्छ ?’
नाजीहरूले मच्चाएको नरसंहारले नै ‘गुएर्निका’हरू जन्मिएका थिए । अहिले प्यालेस्टिनी कवि फयादलाई धर्मप्रति अनास्था फैलाउने कविता सिर्जना गर्न अरू कसैले उत्प्ेररित गरेका होइनन्, अरू कसैले उनलाई कविता लेख्न लगाएका होइनन् । लेख्न लगाएका हुन् त, धार्मिक कट्टरता र असहिष्णुताको जगमा उभिएका धर्मभिरूहरूले नै लगाएका हुन्, तिनै कट्टर शासकहरूले नै लगाएका हुन् । अन्त्यमा, कवि फयादको एउटा कवितांश :
‘गरिबीको मोसो पोतिदिनुसिवाय
त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन
जुन दिन अर्को तेलको कुवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ
जुन दिन जनताको उपयोगका लागि जीवन
तिम्रो मुटुमै घुस्छ तिम्रो हंसबाट अझै बेसी तेल निकाल्न
खासमा यो तेलले खाएको कसम हो
साँचो कसम’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply