कुहिराको कागबाट दिशानिर्देशको अपेक्षा
धेरै दिनको अन्तरालपछि आज नयाँ सडक पुगियो । त्यसो त मोफसलका युवाहरूको रंगीन सपना फुल्ने, बाहिरबाट चिरिच्याट्ट देखिए पनि भित्र भने जुम्रा र उपियाँले केन्द्रीय कार्यालय खोलेको थोत्रो धुस्साजस्तो नेपाल खाल्डोभित्र नपसेको निकै समय भएको थियो । यो सडक पनि बूढो भएको हो कि तन्नेरी नै हो, बुझ्नै गाह्रो भयो । कतै सिँगारिएको, कतै बिगारिएको । नयाँ सडकको ऐतिहासिक पिपलबोट, जहाँ दिनमा एकपटक नपुगी हामीलाई चित्तै बुझ्दैनथ्यो । हाम्रो कामधन्दा पनि थिएन त्यतिबेला । हामी कलेज र डेराबीच ‘पेन्डुलम’ हुने थियौं, नयाँसडक र त्यसको नाभीस्थल पिपलबोट नभएको भए । हामीलाई जीवनको वैशिष्ट्य बचाइ हो भन्ने त्यसैले पाठ सिकायो, जिन्दगीका आयामहरू पढायो र अरूको भ¥याङ बन्न करङ थाप्दै आजीवन नउठ्ने गरी लडायो । तर, पिपलबोट केही समानता र केही भिन्नताको बीचमा अनवरत ठिंग उभिइरहेकै छ, आजपर्यन्त ।
यो पिपलबोट सायद राष्ट्र एकीकरणको श्रोता, राणाशाहीको साक्षी र पञ्चायती तानाशाहीको भोक्ता मात्र होइन, प्रजातन्त्र र लोकतन्त्रको पहरेदार र गणतन्त्रको न्यायाधीश पनि हो । विक्रमाब्द १९९० सालको विनाशकारी महाभूकम्पमा टसमस नभएको, ०७२ सालमा पनि आश्रय खोज्न नगएको यो ठेट पिपलबोटका समग्र पातहरू मदन भण्डारीका गर्जनहरूलाई हल्लीहल्ली स्वागत गर्दथे । सायद यसले मदनको आस्थालाई छामेको, विश्वासलाई सुम्सुम्याएको र दृढतालाई चुमेको हुनुपर्छ । ती पातहरू नझरेका मात्र भए विगतका घटना र दुर्घटनाहरूका गहकिला अध्याय बन्ने थिए ।
घटना र दुर्घटनाहरूको साक्षी भएर उभिएको यो बूढो पिपलबोट आज पनि म र मजस्ता धेरैको सूचनाको स्रोत, दृढताको अजस्र आधार एवं आस्थाको स्तम्भ बनेको छ । आजसम्म पनि मानिसहरू आफ्ना विचारहरू यही पस्किरहेका छन् । मलाई यो भीडमा मिसिएर कुरा सुन्न पाउँदा एकछिनका लागि जवानीको दुर्दान्त घोडा दौडाएको अनुभव भयो । मैले आफूलाई भीडको अंग बनाउँदै बहसमा उठेका विषयको रसस्वादनमा समाहित गरें ।
‘नग्नतामा वस्त्रावृत्त ठान्नु बादसाहको अनुभूति हुन सक्छ । सत्यसँग अनुभूतिको साइनो पानीभन्दा पातलो हुन्छ । निर्वस्त्र तथा निर्लज्ज बादशाह एउटा पात्र मात्र नभई एउटा प्रवृत्ति हो । प्रवृत्ति अजर अमर हुन्छ । त्यसको आवर्तन रतुवाको पाता कसाइमा, विद्युतीकृत सहरको देदिप्यमान आभामा र ग्यासोलिनको ऊर्जाबाट पाकेका फुरौलाको स्वादमा फक्रेको लाटा बुंगाको अनुहारमा त्यसलाई देख्न सकिन्छ । तर, स्वतन्त्र प्रमिथसझैं व्यंग्यको अट्टहाँसमा झापावासीका भाग्य र भविष्यका फाँटहरूलाई कतैबाट तान्दै र कतैबाट हान्दै बगिरहेको रतुवा देख्नु सायद कसैको दृष्टिदोष हुन सक्ला । आजसम्म पनि त्यो नांगो बादशाहले हामीलाई ललकारिरहेको छ । उसलाई लेस मात्र लज्जाबोध भएको भए लुगा फुकालेर समारोहमा निस्कने नै थिएन ।’
यी सबै कुरा मलाई उग्र दार्शनिक प्रतीत भएका थिए । मानौं, मैले राहुल सांकृत्यायनको ‘वाइसवीं सदी’का पात्रहरूलाई भेटेको थिएँ । आफ्नो पल्लामा केही नपरेपछि जर्ज बनार्ड सको सुतुवा पात्र उठेपछिझैं आफ्नै परिवेशको अनविज्ञता, आफ्नै भाषामा विकासले पारेको प्रभाव र आफ्नै परिधानमा देखिएको भिन्नताले ‘खै के खै के’ पारेको थियो । मैले छटाकभरको आफ्नो गिदीमा किलाको घन ठोकेर आफैंलाई बिथोल्न उचित ठानिनँ । भीड घनीभूत भए पनि बाटो तताउनु ठीक ठानेको थिएँ । यत्तिकैमा अलिक परको चर्काचर्की फेरि मेरा कानमा ठोक्किन थाल्यो ।
‘कुनै माइकालालले आजसम्म जारी गर्न नसकेको संविधान महाधिवेशन भएको चौध मैनामै जारी भएको छ ।’ म छक्क परें, झन् केही पल्ला परेन । एक मनमा लाग्यो, ‘छुचुन्द्रालाई चमेलीको तेल’ । वातावरणमा करतलध्वनि बुलन्द थियो । वक्ताको जोसिलो आवाजले चारै दिशा स्पन्दित थिए । क्याबातका स्वरहरू विशृङ्खलित झन्कार भएका थिए र राष्ट्र निर्माणको महाअभियानको गाथा गुन्जिएको प्रतीत हुन्थ्यो । नजिकैको अर्को समूहको छुट्टै जोड र कोण थियो । सायद विश्लेषण नै फरक थियो । किनभने, यो त पीपलबोट थियो । यहाँ अल्पमतमाथि बहुमतको लाठी बर्संदैनथ्यो, अपमानका नीलडाम सुम्सुम्याउनुपर्दैनथ्यो र लाग्दैनथे मानमर्दनका चोटहरू पनि । क्रियाको सम्पादनसँगै प्रतिक्रियाहरूको प्रार्दुभाव हुन्छ भन्ने धर्मको निर्वाह आजसम्म पनि पिपलबोटले गरिरहेको छ । अहिलेसम्म पनि यो ठाउँलाई कुनै जमिनदारले जालसाजीमा नामसारी गरी बेगारीमा दर्ता गरेको छैन । म यही द्विविधामा तल्लीन थिए“ । अर्को तर्फबाट झन् चर्को स्वरमा प्रतिक्रिया सुनिन थाल्यो– ‘चौध महिनाको सफलताको ढोल पिट्नेले दुई वर्ष बितिसक्दा पनि आफ्नै विभागहरू गठन किन भएनन् ? केले रोकेको थियो ? एउटा जीवन्त, सुदृढ र सशक्त संगठनका विभागहरू त्यसका ज्ञानेन्द्रीय हुन् । तिनैमार्फत प्रमुखले आफ्नो परिवेशको यावत् प्रकृति र प्रवृत्तिको सूचना संकलन, विश्लेषण र सम्प्रेषण गर्दछ, कार्ययोजना तर्जुमा गर्दछ र त्यसको कार्यान्वयनका लागि समग्र संगठन परिचालन गर्दछ । तर, यहाँ त कर्मेन्द्रिय मात्र चलायमान भए । खाने, स्वाद नजान्ने, हिँड्ने, गन्तव्यमा नपुग्ने र छुने, अनुभव गर्न नसक्ने । यही हो, त्यो पुरुषार्थ ?’
अन्योलको छिपछिपेमा म बाटो काट्ने तर्खरमा थिए । अर्को जंगियो– ‘सजिलो छ ? विपरीत तŒवहरूको यौगिक हो यो संसद् । यहाँ पूर्वराजाको लात, दक्षिणको बात र माओवादीको साथले लतारिएको नेपाली कांग्रेस छ, राजतन्त्रको पुनःस्थापन, हिन्दु राज्यको घोषणा र एकात्मक राज्यव्यवस्थाको पक्षमा उभिएको राप्रपा नेपाल छ । पञ्चायतकालीन मानसिकता, अभिजात्य चिन्तन धारा यथास्थितिवादी सामन्ती सोचले रुग्ण क्षेत्रीयतावादी समूहहरू एवं संघीयताको विपक्षमा दृढतापूर्वक खडा भएको राष्ट्रिय जनमोर्चा पनि यहीँ छ । त्यसैगरी, अन्य धार्मिक वैचारिक समूहका झिनाझाँक्रा तथा भुरेटाकुरेहरूका साथै ताक परे तिवारी नत्र गोतामे पनि यही संसद्को आसनमा कुण्डली जमाएर बसेको छ । तपाईंलाई खल्लो लागे हामीले के गर्ने ? नाकाबन्दी थियो नुन आएन ।’
अर्कोतर्फबाट धारा प्रवाह वाग्वाण चल्न थाले । म त हेरेको हे¥यै भएँ । कसको सुन्नु ? मुन्टो बटार्दाको हैरान ।
‘यो संविधान जारी हुँदाका बखत सही गर्ने सांसद संख्या ९० प्रतिशत छ । आफू बस्दा बाँस नुहेको कथा सुनाएर बालसखाहरूबीच आनन्द उठाउँदा आमाले सधैंभरि सुसे खुट्टा सुम्सुम्याएकी आमाले पत्याउलिन् ? गाली गरेर आफ्नै रगतको अपमान गर्नुभन्दा अर्कोतिर फर्केर ओठ लेप्य्राउँदै अविश्वास जाहेर गर्छिन् भन्ने कुरामा हेक्का राख्नुपर्छ । हामीलाई गोरुसँग खुर्पा र खुर्पासँग दही–चिउरा साटी खाने बुद्धिमानका उत्तराधिकारीको विद्वताबाट प्रशिक्षित हुनु छैन । सत्तासँग भत्ता साटी जनतासँग ठट्टा गर्न पाइँदैन । डंकाको चोटमा वीरता र बहादुरीको बखान गर्नेले देश र जनताको पक्षमा सिन्को सारेको देखिँदैन । पीडाग्रस्त भूकम्पपीडितहरू राहतको अनन्त पर्खाइमा छन् । बर्खा बित्यो, हिउँद बित्यो र बितिसके बूढापाका तथा लुतेलांग्राहरू । जनता हतास छन्, दाता निराश छन्, सिंगो पद्धति र प्रस्थापनाप्रति आक्रोशित छन् ।’
म आकर्षण र विकर्षणको दोसाँधमा उभिएको थिएँ । फेरि अर्को सुरु भयो– ‘यतिबेला नेपाली कांगे्रस अँधेरा कोठाहरूभित्र बसी शीघ्र सत्तारोहणको तानाबाना बुनिरहेको छ, दरबारियाहरू लुटका स्वर्गको समाप्ति र पुनः प्राप्तिको मानसिक तर्कनामा उल्झिएका छन् र माओवादीहरू सत्ता, सम्पत्ति र सुरक्षाको विषम स्थितिको व्याख्या विश्लेषण गरिरहेका छन् । र, ठीक यति नै बेला केही क्षेत्रीयतावादी शक्तिहरू धोबीको कुकुरको नियतिबाट बच्ने, बचाउने उपाय खोजिरहेका छन् । वर्तमान अवस्था भने एकापट्टि खाए पखाला चल्ने, अर्कापट्टि खाए रोकिने राजवृक्षको फलजस्तो छ । सम्भावना र चुनौतीहरू समान छन् ।
अग्रगामी फड्को मार्न ढिलो हुनै लागेको यो ऐतिहासिक घडीमा आफैं कुहिराको काग भएपछि अरूलाई दिशानिर्देश गर्न सकिन्न । वर्तमान संसद्को बनावट सबैलाई जानकारी छ, सरकार घैयाबारीको टेवाजस्तो छ र साझेदारहरू ढुंगा हान्न तयार छन्। यथास्थितिवादी, नवउदारवादी, उग्रवाम तथा उग्र दक्षिणपन्थ, संकीर्णतावादी, अनुदारवादी, क्षेत्रीयता तथा साम्प्रदायिकतावादीहरूको सक्रिय उपस्थितिलाई स्विकार्ने र वर्गीय, जातीय र लैंगिक विभेद पनि विद्यमान छ भन्ने ? दमन, उत्पीडन र शोषणहरू सामन्ती राज्य संरचनाका उपज हुन् र आजसम्म पनि कायम रहेका छन् भन्दाभन्दै जनताको बहुदलीय जनवादको आधारभूत कार्यभार पनि पूरा भएको ठान्ने यो कस्तो बुझाइ हो ?
एकातिर नेपाली कांगे्रससँग भद्र सहमति गरेर सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने, संविधान जारी भएपछि आफ्नो पालाको सुनिश्चितता प्रचार गर्ने र कथित भद्र सहमति गर्न गराउन पनि नसक्ने स्थिति रह्यो । यो के विडम्बना हो– मेरो कम्मरको खुकुरी कुन हुस्सुले उडाएछ भन्ने ? आधारभूत रूपमै जबजको कार्यक्रम पूरा भइसकेको भए माथिका अवस्थाहरू कसरी विद्यमान रहन सक्छन् ? ती शक्तिहरूको सशक्त विद्यमानतामा जवजको लक्ष्य धुम्बाराहीबाटै पूरा गर्ने कि सिंहदरबार, बालुवाटार र शीतल निवास चाहिने ? अर्थात्, सरकार छाड्नुपर्ने अवस्थामा प्रतिगमन भएको भन्ने वा सामान्य कोर्समै रहेको ठान्ने ? यो संवेदनशील संक्रमणको घडीमा जबजको लक्ष्य प्राप्ति भएको घुमाउरो अभिव्यक्ति दुर्भाग्यपूर्ण छ र बलि दिनुअघि बोकालाई पानी छ्यापेर पर्साउनेजत्तिकै कपटपूर्ण छ ।’ बहसहरू चलिरहेकै थिए । म अवाक् भएर हिँडिरहें । रूपमा खास अन्तर नदेखिए पनि सारमा पिपलबोट निकै परिपक्व भएछ । वक्ता तिखारिएछन्, श्रोता माझिएछन र सुरक्षाकर्मीहरूले पनि अर्कै जिम्मेवारी पाइसकेछन् भन्ने निष्कर्ष र पुन ‘खै के खै के’को धङधङी लिएर आफ्नै डेरातिर लागें । चराहरू गुँडतिर फर्कन थालेका थिएनन्, सुदूर क्षितिजमा पातला बादल तैरिरहेका थिए र आकाश निकै नै सफा थियो । अझै रात परेकै थिएन ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply