सर्जकमाथि सर्जक–दृष्टि
आफ्ना प्रिय सर्जकले जीवनका अन्तिम क्षणहरू कष्टप्रद रूपमा गुजारिरहेको दृश्यले अर्का सर्जकलाई कति पीडा दिलाउँदो हो ? कुनै समय स्थापित कवि भूपि शेरचनसँग नेपाली कविता लेखनमा भर्खरै बामे सर्दै गरेका श्यामल अत्यन्तै नजिक थिए । वामपन्थी चिन्तन धरातलबाट अलग रहेर आफ्नै साधनामा तल्लिन भूपिसँग श्यामलले जीवनको उत्तराद्र्धतिर सान्निध्य बढाएका थिए । भूपिसँग केही वर्ष निकट रहेका र उनको काव्य मैदानलाई राम्ररी पछ्याएका श्यामलले आफ्ना प्रिय कविमाथि लेखे– ‘एउटा बम हानिएको सृष्टिमाथि/आज/मौन कोठामा बसिरहेछ/मौन टेलिफोन/र, सिरानीसँगै बसिरहेछ/तिम्रो अन्तिम मित्र, अक्सिजन सिलिन्डर/कामुको पात्रझैं/यातना ग्रहण गरिरहेको/अस्ताचलको प्यारो सूर्य/जति बमहरू परे पनि/कहाँ मर्छन् ती/कविताका किताबहरू ।’
कवि श्यामलको यो कविताले भूपिका जीवनका अन्तिम स्थिति स्पष्ट पार्छ । मृत्युसित सम्झौता गर्ने तहसम्मै ओर्लिएका भूपिप्रति उनले लेखेका काव्य पंक्तिले के प्रस्ट पार्दछ भने कुनै पनि सर्जक वा स्रष्टामाथि काव्य सिर्जना गर्नु रोमाञ्चक र कठिन दुवै छ । किनकि, व्यक्तिबारे आख्यान लेख्न जति सहज छ, कविता लेख्न कयौं गुणा कठिन र दु:साध्यसमेत छ ।
श्यामलले आफ्ना प्रिय कवि भूपिमाथि कविता रचे पनि स्वयं भूपिले पनि विश्वविख्यात नेता र देशभित्रकै जनतालाई समर्पण गर्दै कविता कोरेका थिए । जब भियतनाम युद्धको बेला अमेरिकी सेनाले राजधानी हनोईमाथि भीषण बम वर्षा गरे, हजारौं भियतनामीलाई मृत्युतिर धकेले र लाखौं परिवार आश्रयहीन हुन पुगे । एउटा शक्तिराष्ट्रले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको युद्ध लडिरहेको एउटा देश, कम्युनिस्ट देशमाथि अनावश्यक युद्ध थोपर्ने कृत्य गर्यो । ‘हो ची मिन्हलाई चिठी’ लेखेर भूपिले सद्भाव प्रकट गरेका थिए, यसरी–‘तिम्रो प्रत्येक घरको भत्काइमा म बेघर भएको छु/तिम्रो प्रत्येक पलको टुटाइमा म टुटेको छु/तिम्रो प्रत्येक गोलगोल मंगोल अनुहार भएकी/आइमाईको बेइज्जतीमा/मैले आफ्नी पत्नी र दिदी–बहिनीहरूलाई/बाटोमा निर्वस्त्र देखेकी छु ।’
कवि कृष्णभूषण बल बितेको केही वर्ष भयो । तर, उनीद्वारा नेपाली गीत–संगीत क्षेत्रका एक सक्रिय प्रतिभा गणेश रसिकमाथि लेखिएको कविता अत्यन्तै सुन्दर छ । सुन्दर, मीठास र सुललित भाषा, शैलीमा लेख्ने बलले रसिकमाथि यस्ता रसिला शब्दहरू कोरेका छन्–‘तल ब्याँसीतिर फुल्ने पहाडझैं बादलहरू उनको सरगम हो/घरैमुनि रोइरहने न्याउली उनको संगीतको सुर हो/लाग्छ, सल्लाको सुसाहट र एकजोर कुर्ले ढुकुर उनको एकान्त हो/निर्जन एक्लै र परको सानो बजार उनको दिनचर्या हो ।’
जीवनको मध्याह्नमै अस्ताएका प्रतिभा हुन्– जीवन आचार्य । झापाका चर्चित स्रष्टा कमल जंगली उनै आचार्यका श्रद्धेय पिता । स्रष्टा अझ त्यसमा पनि आफ्नै पितालाई विम्बको मैदानमा उभ्याउनु त्यति सजिलो विषय हुन सक्दैनथ्यो । तर, भावनाले अँठ्याएपछि कसको के लाग्छ र ? ‘कमल जंगली’ शीर्षक कवितामा जीवनले आफ्ना पितालाई यसरी उभ्याएका थिए, कुनै बेला–‘कमल जंगली धुजाधुजा भएर फाटेको छ/हाकिमको निरीक्षणमा आदेशका दान र तोकका धर्म आवाजले/कमल जंगली झुत्रोझाम्रो र हजारौं वर्षको इतिहास जीर्ण छ/उसको घर दुईपट्टि अग्ला ढुंगाघरको बीचमा/तरुल भएर चेप्टिएकाले ।’
विजय सुब्बा, एक राजनीतिककर्मी र सर्जक पनि हुन् । पञ्चायतकालीन कठोर दिनहरूदेखि गणतन्त्र स्थापना भएका क्षणसम्म उनले आफ्नो सिर्जना संसारलाई फराकिलो र घनीभूत तुल्याउँदै आए र अहिले पनि उनी सिर्जना र राजनीतिक कर्ममै निर्लिप्त छन् । अर्का सर्जक राम विनयले उनीमाथि पोखेका काव्य अनुभूतिले बेग्लै स्वाद दिन्छ– ‘म विजय सुब्बा/मैले म्याङलुङ बजार/जलिरहेको हेरिरहें/संवेदनाहीनको आँखाले टोलाइरहें/म विजय सुब्बा/निर्वाचित सांसद/निवर्तमान भएर उभिइरहें/विनासंसद्/विनासंविधान/विनानिर्वाचन/विनाआचारसंहिता/विना बारुणयन्त्र/हुरुरु आगोमा सल्किएको/देश जलिरहेको हेरिरहें ।’
कलाकर्मी थिए, मञ्जु कुँवर । सानी र छरिती । माओवादी जनयुद्ध चम्किरहेका बेला हातमा गितार बोक्दै गाउँबस्ती चहार्थिन् उनी र आफ्ना सुरिलो आवाजले जनयुद्धका गीतहरू गाउँथिन् । तर, युद्धकालमै राज्यसत्ताको सिकार बनिन् उनी । अनेकोटमा मारिएकी ती कलाकारप्रति कवि पूर्णविरामको यस्तो खरो काव्यानुभूति जन्मिएको थियो– ‘खु्रस्चेभको मुर्दा शरीरबाट निस्केका कीराहरू दौडेर/मलाई अनेकोटमा जिउँदै पोलेको तिमीले देख्यौ कि देखेनौ ?/अनेकोटमा मलाई जिउँदै जलाएको/तिमीले देख्यौ कि देखेनौ ?/म झ्वाँलामा उफ्रिरहेको समयमा/मेरो शरीरमा जालन्धरको इसारामार्फत/बर्सेका गोलीका आवाजहरू/तिमीले सुन्यौ कि सुनेनौ ?’
भारतका जनवादी कवि नागार्जुनले जीवनभर सत्ताको विरोधमा आफूलाई उतारिरहे । सत्ता विरोधी कविको पहिचान बनाएका उनले ग्रामीण क्षेत्रका किसानहरूको दयनीय अवस्थाका साथै किसानहरूले उठाएको आन्दोलनका पक्षमा पनि थुप्रै कविता लेखे । यायावर जिन्दगी बिताएका तिनै कवि नागार्जुनलाई नेपालका कवि राजकुमार केसीले भने विशिष्ट मूल्यांकन गरेका छन् । केसी लेख्छन्– ‘कहिले नझुकेको/विशाल पर्वतजस्तै अटल तिम्रो शिर/नील सागरजस्ता गहिरा तिम्रा आँखाहरू/निस्तब्ध आकाश हेरेर टोलाइरहेझैं लाग्यो/तिमी टाढा कतै टाढा भए पनि/ नागार्जुन ! म तिमीसँगै भएजस्तो लाग्थ्यो ।’ मनु मञ्जिल, अहिलेका सशक्त हस्ताक्षर हुन् । पछिल्लो समयका प्रभावशाली कविका रूपमा गनिन्छन् पनि । उनले अग्रज कवि मोहन कोइरालालाई विम्बको क्षितिजमा यसरी टाँग्न रुचाएका छन् :
भर्खरै समयले
यौटा तारा
एस्ट्रेमा निभाएर गएको छ ।
बगैंचाको
नौलो यौटा फूल खसेर
पत्थर भएको छ
अहिले शून्यले
लिएको छ
नदी किनाराको माझीको गाउँ
पतझर
अब सुरु भएको छ ।’
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply