सुन्निएको प्रकाशन व्यवसाय
‘जिउँदा आइन्स्टाइन’ भनिन्छ, स्टिफन हकिंगलाई । संसारकै प्रख्यात वैज्ञानिक हकिंगको बहुचर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ विश्वमै धेरै बिक्ने किताबको सूचीमा आबद्ध छ । तर, सोही पुस्तक भारतको एउटा प्रकाशन संस्थाले अनुवाद गरेर हिन्दीमा प्रकाशन गरेपछि हकिंगले सो प्रकाशन संस्थाको व्यवहारप्रति आपत्ति जनाए । उनको आफूलाई सो पुस्तकको पूरै रोयल्टी नदिएकोबारे आपत्ति थियो । तर, प्रकाशन संस्थाका मालिकले भने आफूले हकिंगलाई सबै रोयल्टी दिएको बताएर पन्छिन उपयुक्त ठाने ।
प्रकाशन गृह र लेखकबीच रोयल्टीको सवालमा विवाद उत्पन्न हुने क्रम विश्वव्यापी रूपमै चल्दै आएको छ । प्रायः लेखकहरू आरोप लगाउँछन् कि, ‘मलाई फलानो प्रकाशकले ठग्यो ।’ आफूसँग सम्झौता भएभन्दा धेरै पुस्तक छापेर प्रकाशकले आफूलाई ठगेको सिकायत गर्ने चलन नेपालमा पनि सुरु भइसकेको छ । पछिल्लो समय निजी प्रकाशन गृहहरू अपेक्षाकृत रूपमा खुलेका छन् र बजारको माग हेरेर साहित्य, गैरसाहित्य विधाका पुस्तकहरू प्रकाशन हुने क्रममा बढोत्तरी आएको छ । तर, प्रकाशन गृहहरूको विस्तार र पुस्तक प्रकाशनमा व्यापकता आएसँगै लेखक पंक्तिबाट समेत त्यस्ता प्रकाशकप्रति गुनासो पोख्ने क्रममा पनि बढोत्तरी आएको छ ।
हुन पनि, प्रकाशन गृहहरूको विस्तारसँगै एउटा प्रश्न निश्चित रूपमा उब्जिएको छ, के प्रकाशन गृहहरूले लेखकहरूलाई चित्त बुझाएरै रोयल्टी दिइरहेका छन् ? केही समयअघि, खगेन्द्र संग्रौलाले प्रकाशकहरूले आफूलाई दिएको सास्तीबारे एउटा लेख नै लेखेर गुनासो पोखेका थिए । पाण्डुलिपि हात पार्न प्रकाशकहरू लेखकलाई ‘देउता’ झैं पूजाआजा गर्ने तर प्रकाशन स्वामित्व पाएपछि भने बगरको ढुंगाजति पनि नगन्ने र गरुडको छायामा परेको सर्पझैं गुडुल्किने प्रवृत्ति नेपालका प्रकाशकहरूमा बिस्तारै मौलाउँदै गइरहेको छनक संग्रौलाजस्ता लेखकहरूले सतहमा बिसाएका गुनासोबाटै प्रस्ट हुन्छ ।
एकाध प्रकाशन संस्थाहरू मात्रै पारदर्शी छन् । जुन प्रकाशन संस्थाहरूले व्यावसायिक रूपमा काम गर्ने अठोट लिएका छन्, जसले प्रकाशन जगत्लाई व्यावसायिक र मर्यादित बनाउने संकल्प बोकेका छन् र जसले यही व्यवसायमा दीर्घकालसम्म टिक्ने सोच बनाएका छन्, त्यस्ता प्रकाशन संस्थाहरूले ‘लेखकलाई चुसेर’ आफू मोटाउने सपना सायदै देखेका होलान् । किनकि, नेपालको प्रकाशन क्षेत्र यति सानो र सीमित छ कि कुन प्रकाशन संस्थाले कुन लेखकलाई दुहुने काम ग¥यो, कसको कस्तो रवैया छ भन्ने कुरा थाहा पाउन चौबीस घण्टा कुर्नुपर्दैन । तत्काल थाहा पाइहालिन्छ । त्यसैले, कतिपय सचेत र व्यावसायिक प्रकाशन गृहका लगानीकर्ताहरूले पारदर्शिता अपनाउँदा नै यो क्षेत्रमा आफ्नो भलो हुने ठानेका छन् र त्यस्ता प्रकाशन गृहहरूले छापिने पुस्तकको संख्यादेखि रोयल्टीका सवालमा समेत लेखकहरूलाई सुरुमै स्पष्ट पारेर काम थाल्ने गरेका छन् ।
तर, केही यस्ता प्रकाशन संस्थाहरू पनि छन्, जसको व्यवहार ‘बगरे’ को भन्दा ताŒिवक रूपमा भिन्न देखिँदैन । त्यस्ता प्रकाशन संस्थाका हर्ताकर्ताहरूले लेखकहरूबाट पाण्डुलिपि उम्काउन हरेक प्रयत्न गर्छन्, आकर्षक रोयल्टीको लोभ देखाउँछन् । लेखकहरू पनि त्यस्तो लोभमा सजिलै फस्छन् । तर, त्यस्ता प्रकाशन संस्थाहरूले लेखकलाई कान फुकेभन्दा बढी नै संख्यामा किताबहरू छाप्छन्, आफ्नो माध्यम प्रयोग गरेर राम्रैसँग बिक्री पनि गर्छन् । तर, रोयल्टी दिने बेलामा भने लेखकहरूले फोन नै नगरिदिए हुन्थ्यो, हिसाब–किताब नखोजिदिए हुन्थ्यो भन्नेजस्ता व्यवहार प्रदर्शन गर्छन् ।
नेपालका लेखकहरू पनि गौप्राणीभन्दा किमार्थ भिन्न देखिँदैनन् । उनीहरूलाई थाहा हुन्छ, आफूलाई प्रकाशकले सोह्रै आना ठगिरहेका छन् । सम्झौता गरेभन्दा बढी नै संख्यामा पुस्तक छापेको आशंका पनि त्यस्ता लेखकहरूलाई नहुने होइन । तर, बोल्न सक्दैनन्, आवाज उठाउने तत्परता देखाउँदैनन् । किन त ? स्पष्ट उत्तर छ, प्रकाशकसँग सम्बन्ध बिग्रँदा फेरि अर्को पुस्तक प्रकाशन गर्न गाह्रो हुन्छ भन्ने मानसिकता लेखकहरूमा व्याप्त छ । बरु, जे छ, त्यसमै चित्त बुझाएर प्रकाशकको किर्ते धन्दामा ल्याप्चे हान्ने काम लेखकहरूबाट भइरहेको छ ।
नेपाली प्रकाशन जगत्ले व्यावसायिकता ग्रहण गरेको स्याल हुइयाँ फैलाउने गरिए पनि यथार्थ भने बेग्लै छ । नाम चलेका प्रकाशन गृहहरूले अझै पनि लेखकसँग पैसा लिएर पुस्तक छाप्ने कार्यलाई बन्द गरेका छैनन् । लेखकसँग पैसा लिने र पैसाबापतको पुस्तक दिने कार्य पछिल्लो समय झन् चम्किँदै गइरहेको छ । अझ, कतिपय प्रकाशकहरू त लेखकसँग सिधै प्रस्ताव राख्छन्, ‘तपाईंले ५ सय प्रति पुस्तक किनिदिने जिम्मा लिनु हुन्छ भने हामी प्रकाशन गर्न तयार छौं ।’ प्रकाशनमा आउन चाहने लेखकहरूले प्रकाशकको यस्तो अनुचित र गैरव्यावसायिक कदमलाई स्विकार्नुबाहेक अरू विकल्प देख्दैनन् र अन्ततः कुनै न कुनै सम्झौताको बिन्दुमा पुगेर आफ्नो पुस्तक प्रकाशन गर्न लेखकहरू राजी हुन्छन् । नेपाली प्रकाशन क्षेत्रमा मौलाउँदै गएको यस्तो प्रवृत्तिले प्रकाशन क्षेत्रले व्यावसायिकता ग्रहण नगर्नुलाई अनौठो मान्न सकिँदैन ।
सर्सर्ती हेर्दा, नेपाली प्रकाशन व्यवसाय पौष्टिक आहारविहार पाएर मोटाएको जस्तो प्रतीत हुन्छ । तर, टाढाबाट हेर्दा मात्र त्यस्तो लाग्छ । नजिकै गएर हे¥यो भने, स्वास्थ्य परीक्षण ग¥यो भने प्रकाशन व्यवसाय मोटाएको नभई सुन्निएको अवस्थामा रहेको छ । सुन्निएको प्रकाशन व्यवसायमा सुधार नल्याउने हो भने दीर्घकालसम्म टिक्ने सम्भावना कम नै देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply