अब लेखकलाई पनि परिचय–पत्र
नेपाल प्रज्ञा–प्रतिष्ठानलाई बक्रदृष्टिले हेर्नेहरूका जमात नरहेको होइन । नेपाली भाषा, साहित्यको सेवा र श्रीवृद्धिका निम्ति स्थापित प्रज्ञा–प्रतिष्ठान सिंगो पञ्चायतकालभरि दरबारका भाट र स्तुति–लेखकहरूको अखडा बनेको यथार्थ रहँदारहँदै बहुदल र गणतन्त्र आएपछि सत्तारूढ दलहरूसँग निकट रहेका सर्जकहरूको अखडा बन्नबाट जोगिन सकेन । अरू क्षेत्रमा जस्तै प्रज्ञा–प्रतिष्ठानमा पनि राजनीतिक भागबन्डाका आधारमा प्राज्ञहरू नियुक्त हुने चलन नै बसिसक्यो । अझ, राजनीतिक भागबन्डाकै आधारमा गठन भएका सोही प्रकृतिका अरू दुई प्रज्ञा–प्रतिष्ठानमध्ये नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा त यतिबेला चरम विवाद उत्पन्न भएको छ । सो प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरू दुई कित्तामा विभाजित भएर एकअर्काप्रति दोषारोषण गर्ने कार्यलाई मलजल गरिरहेका छन् ।
करिब ६० वर्ष लामो इतिहास बोकेको नेपाल प्रज्ञा–प्रतिष्ठानप्रति भने निजी प्रयत्नबाट स्थापित अरू साहित्यिक संघ÷संस्थाहरूले बेलाबखत असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । राज्यको ढुकुटी खन्याउँदा पनि प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य र सिंगो वाङ्मयको क्षेत्रमा आशातीत कार्य गर्न सकेन भन्ने गुनासो बेलाबखत उठ्ने गर्दछ । यो स्वाभाविक पनि हो । सीमित बजेटबाट चल्दै आइरहेको प्रज्ञा–प्रतिष्ठानले असल र कामकाजी नेतृत्व पाउँदा नेपाली वाङ्मयलाई चुल्याउने केही उत्कृष्ट र सम्झनलायक कामहरू भने नगरेको होइन । तर, कहिलेकाही निजी साहित्यिक संस्थाहरूले नेपाली भाषा–साहित्यको विकास र स्तरवृद्धिमा अब्बल काम गर्दा भने प्रज्ञा–प्रतिष्ठान किन सेलाइरहेको छ भन्ने प्रश्नचाहिँ निश्चित रूपमा उठ्ने गर्दो रहेछ ।
प्रज्ञा–प्रतिष्ठानप्रति भाषा, साहित्यका सेवकहरूले बेलाबेलामा गुनासाका चाङहरू लगाउने गरे पनि अहिले भने प्रज्ञा–प्रतिष्ठानले एउटा प्रशंसनीय कार्य गर्न तत्परता देखाएको छ । त्यो हो, साहित्यकार परिचय–पत्र लागू गर्ने तयारी, जसका निम्ति प्रज्ञा–प्रतिष्ठानले एउटा कार्यविधि नै तयार पारेर अहिले सुझाव बटुल्ने क्रममा रहेको छ । सम्भवतः केही वर्षभित्र नै साहित्य साधनामा निरन्तर लागिरहेका स्रष्टाहरूलाई राज्यले साहित्यकारको परिचय–पत्र उपलब्ध गराउनुका साथै राज्यबाट सेवा–सुविधासमेत प्राप्त हुने अपेक्षा सँगाल्न सकिन्छ ।
कार्यविधिमा स्पष्ट रूपमा लेखिएको छ, ‘साहित्य सर्वजनीय विधा हो र साहित्यकारहरू राष्ट्रका निधि हुन् । यिनीहरूले साहित्यका माध्यमबाट जीवन र जगत्लाई केलाउँदै सफल जीवन जिउनका लागि मार्गनिर्दिष्ट गर्छन् । यसर्थ, नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रलगायतका क्षेत्रका लेखक, साहित्यकार, अनुसन्धानकर्ताहरूलाई उनीहरूले तत्तत् क्षेत्रमा रहेर राष्ट्रलाई पु¥याएकोे योगदानको समुचित कदर गर्न यस्ता साहित्यकार तथा स्रष्टाहरूलाई परिचय–पत्र प्रदान गरी सम्मान गर्न वाञ्छनीय देखिएकाले नेपाली भाषा र नेपालमा बोलिने सबै मातृभाषी लेखक तथा साहित्यकारहरूमा समेत यो कार्यविधि लागू हुने गरी नेपाल प्रज्ञा–प्रतिष्ठान नियमावली २०६७ को परिच्छेद १२ को नियम दफा ५५ अनुसार साहित्यकार परिचय–पत्र वितरणसम्बन्धी कार्यविधि २०७३ बनाइएको छ ।’ प्राज्ञ मातृका पोखरेलको संयोजकत्वमा गठित समितिले अहिले यो कामलाई तीव्रता दिइरहेको छ ।
लेखक–साहित्यकारहरूलाई परिचय–पत्र दिलाउनुका उद्देश्यहरूमा क्रमशः भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रमार्फत राष्ट्रमा पु¥याएको योगदानको कदरस्वरूप साहित्यकार परिचयपत्र वितरण गर्न, भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्र लेखन तथा अनुसन्धानमार्फत समाज, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा देशको पहिचान गराएबापत कदर गर्ने, भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र दर्शन क्षेत्रमा पु¥याएका योगदानको कदर गर्नका लागि राज्यका तर्फबाट सम्मान एवं सुविधा उपलब्ध गराउन सिफारिस गर्ने, लेखक र साहित्यकारहरूको विवरण अद्यावधिक गर्ने, सिफारिस समितिको सिफारिसका आधारमा साहित्यकारहरूको श्रेणी वर्गीकरणसहित परिचयपत्र जारी गर्ने र नवीकरण गर्ने, समितिको कामकारबाहीप्रति उल्लिखित क्षेत्रका लेखक साहित्यकार तथा अनुसन्धानकर्ताबाट आएका गुनासो सुन्ने, परिचय–पत्रको दुरुपयोग भएको पाइए जाँचबुझ गरी त्यस्तो परिचय–पत्र खारेज गर्ने, परिचय–पत्र प्राप्त साहित्यकारहरूलाई बिरामी भएमा औषधोपचार तथा राज्यका विभिन्न निकायहरूबाट प्राप्त हुन सक्ने सहुलियत सुविधा तथा राष्ट्रिय सम्मानको लागि सिफारिस गर्ने र परिचयपत्र प्राप्त साहित्यकारहरूलाई मरणोपरान्त राष्ट्रिय सम्मानका लागि मन्त्रालयसमक्ष सिफारिस गर्ने उद्देश्य सँगालिएका छन् ।
सो परिचयपत्र दुई श्रेणीमा विभाजित गर्ने जनाइएको छ । जसमा, भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनहरूमध्ये कुनै एक विधामा लेखक साहित्यकारहरूले कम्तीमा ४० वर्ष निरन्तर रूपमा साधना गरेको वा ६० वर्ष उमेर पुगेकाको हकमा विशिष्ट स्रष्टाका रूपमा परिचय–पत्र प्रदान गरिने जनाइएको छ भने ४० वर्षभन्दा कम र कम्तीमा २५ वर्ष साधनारत लेखक साहित्यकारहरूलाई लेखक÷साहित्यकारका रूपमा परिचय–पत्र प्रदान गरिने पनि जनाइएको छ ।
अहिले पनि प्रज्ञा–प्रतिष्ठानका पहलमा अघिल्लो पुस्ताका केही स्रष्टाहरूले राज्यबाट सुविधा पाउँदै आएका छन् । खासगरी, लामो समयसम्म साधनारत रहेका स्रष्टाहरूले राज्यबाटै मासिक रूपमा आर्थिक सहायता पाउँदै आएका छन् । तर, प्रज्ञा–प्रतिष्ठानको पहलमा लेखक र साहित्यकारहरूले परिचय–पत्र पाएपछि राज्यलाई आर्थिक भार पर्ने गरी सेवा–सुविधा उपलब्ध गराउन दबाब दिनु उचित नहोला । तर, आर्थिक रूपले संकटमा परेका वा उपचार गर्न नसक्ने हैसियतमा रहेका लेखक तथा साहित्यकारहरूका निम्ति भने राज्यले नजर लगाउने परिस्थिति भने परिचय–पत्र प्राप्त स्रष्टाहरूका हकमा भने बनाउनु उपयुक्त हुने देखिन्छ । त्यसो हुँदा मात्र लेखक–साहित्यकार परिचय–पत्रले अर्थबोध प्राप्त गर्ने अपेक्षा राख्न सकिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply