निबन्धले अपार सन्तुष्टि दिन्छ : रोदन
निबन्ध, लघुकथा र नियात्रा लेखनमा जमेका श्रीओम श्रेष्ठ ‘रोदन’ साहित्यिक पत्रकारितासँग पनि जोडिएका स्रष्टा हुन् । गोरखापत्र संस्थानद्वारा प्रकाशित साहित्यिक मासिक ‘मधुपर्क’ को सम्पादनको जिम्मेवारी सम्हालिरहेका रोदनले आफ्नो सातौं निबन्ध कृतिका रूपमा ‘भनौं कि नभनौं’ केही दिनअघि मात्रै निबन्धप्रेमी पाठकहरूका निम्ति सुम्पिएका छन् ।
नेपाली निबन्ध लेखनको समृद्ध परम्परालाई पछ्याउँदै गहन एवं तीव्र अनुभूतिहरूले भरिपूर्ण निबन्ध लेखनमा चिनिएका रोदनसँग निबन्ध लेखनमै केन्द्रित रहेर गरिएको संवाद यसपटक प्रस्तुत गर्ने ध्येय सँगालेको छु ।
० नेपाली निबन्ध लेखनलाई खडेरीले गाँजेको कुरा बेला–बेला उठ्ने गरेका छन् । तर, तपाईं भने निबन्ध लेखनमै समर्पित रूपले लाग्नुभएको छ । खडेरीका बीच पनि निबन्ध लेखनमै क्रियाशीलता जनाउनुको कारण के हो ?
– समग्रमा नेपाली निबन्ध लेखनको राम्रो विकास भएको छ । संस्मरण र यात्रा लेखनमा साहित्यिक स्रष्टाहरू मात्र नभएर अन्यका पनि पुस्तक प्रकाशन संख्या बढ्न थालेका छन् । तर, आत्मपरक निबन्ध लेखनमा भने खडेरी नै परेको छ । यो खडेरी अहिले आएर मात्र भएको होइन, इतिहासदेखि नै अभाव खटकिएको हो ।
मेरो पहिलो निबन्ध २०४६ सालमा प्रकाशित हुँदा त्यतिबेला मैले पाएको प्रोत्साहनले मलाई निरन्तर यसैमा लगाएको होला । २०५४ सालमा प्रकाशित मेरो निबन्धसङ्ग्रह ‘अर्थहीन अर्थहरू’ ले उत्तम शान्ति पुरस्कार पायो, जुन मेरो साहित्यिक जीवनको पहिलो र प्रतिष्ठित पुरस्कार थियो । लेख्न त अरू पनि लेख्छु, तर मलाई निबन्धले दिनेजस्तो अपार सन्तुष्टि अरूले दिन सकेको छैन । एउटा निबन्ध पूरा गरिसक्दा आमाले सन्तान जन्माउँँदाजस्तो खुसी, आनन्द र गर्वबोध हुन्छ मलाई ।
० निबन्ध लेखनमा स्रष्टाहरू आकर्षित नहुनुका कारणहरू के होलान् जस्तो लाग्छ ?
– यो जटिल लेखन नै हो । आफ्नो निजत्व बनाउन नसकेसम्म निबन्धले परिचय गराउँदैन । निर्बन्ध त हुन्छ, तर आफ्नो अनुभूतिलाई कलात्मक रूपमा अभिव्यक्त गर्न सक्नुपर्छ । आत्मपरक निबन्ध लेख्नु भनेको आफू हिँड्न आफैंले बाटो बनाएजस्तै हो ।
० पछिल्लो समय प्रायः स्रष्टाहरूले फिक्सन लेखनतिरै आफूलाई केन्द्रित तुल्याएका देखिन्छन् । फिक्सन लेखनमा देखिएको बढ्दो चापले निबन्धजस्ता विधालाई झनै खुम्च्याउँदै लैजालाजस्तो महसुस हुँदैन कहिलेकाहीँ ?
– मलाई त्यस्तो लाग्दैन । सबैका आ–आफ्ना पाठक हुन्छन् । लेखनमा चापको स्थायित्व हुन्छ जस्तो लाग्दैन मलाई । निबन्धको गम्भीरताले गर्दा फिक्सनले जस्तो छिटो चर्चा पाउँदैन ।
० नेपाली निबन्ध लेखनमा तपाईं कसका निबन्धबाट बढी प्रभावित हुनुहुन्छ ?
– म महाकवि देवकोटा, शंकर लामिछाने र कृष्णचन्द्रसिंह प्रधानको निबन्ध लेखनबाट प्रभावित भएको छु जस्तो लाग्छ ।
० तपाईंको निबन्ध लेखनमा त्यस्तो भिन्न शैली र विशेषता के छ, जसलाई पाठकले रुचिपूर्वक पढ्न चाहोस् ?
– काव्यात्मक रूपले सजिलोसँग प्रस्तुत गर्न खोज्छु । धेरैले अनुभूत गरेका विषयवस्तु नै मेरा निबन्धमा हुन्छन् । मेरा निबन्धहरू घुमिफिरी मान्छेमा नै केन्द्रित हुन्छन् । मान्छेको उत्खननको प्रयास हुने भएकाले पो होला कि ?
० गहन निबन्ध लेखनलाई अखबारी निबन्ध लेखनले पेल्दै आइरहेको छ, पछिल्लो समयमा । अब देवकोटा, प्रधान, लामिछाने, सिंहका समयका जस्तै गहिराइयुक्त निबन्ध लेखिने सम्भावना रहला ?
– निबन्ध लेख्नेहरू अहिले पनि हुनुहुन्छ । यति हो कि फिक्सनले पाउनेजस्तो चर्चाको अभाव छ । गम्भीर निबन्धको संख्या भने हिजोजस्तै भोलि पनि भइरहन्छ जस्तो लाग्छ ।
० तपाईंले अनुभूतिपरक, नियात्राजन्य र व्यक्तिकेन्द्रित निबन्धहरू लेख्नुभएको छ । यीमध्ये कुन चाहिँमा आफूलाई धेरैभन्दा धेरै र सफल रूपमा अभिव्यक्त गर्न सक्नुभएको छ ?
– कोसिस त मैले सबैमा नै आफूलाई बढीभन्दा बढी खन्याउने प्रयास गरेको छु । तर पनि अनुभूतिपरक निबन्ध लेखिसक्दा उकालोमा थाकेर हिँडिरहेका बेला चौतारीमा भारी बिसाउँदा जस्तै हलुंगो भएको महसुस हुन्छ मलाई ।
० निबन्धबाहेक लघुकथा, कविता पनि लेख्नुभएको छ । कुन विधा बढी प्रिय, रुचिकर र आफूलाई अभिव्यक्त गर्न सक्ने विधाका रूपमा स्विकार्नुहुन्छ ?
– आफूले लेख्ने सबै विधा नै उत्तिकै प्रिय लाग्छ । ठ्याक्कै भन्नलाई नापजोख गर्ने कुनै तराजु आजसम्म भेट्न सकेको छैन । तर, आफूलाई हलुंगो हुने गरेर अभिव्यक्त गर्ने त निबन्ध नै हो ।
० पहिलो निबन्धकृति ‘संवेदनाका स्वरहरू’ देखि ‘भनौं कि नभनौं’ सम्म आइपुग्दा तपार्इंको लेखनले क्रमशः विशिष्टता प्राप्त गर्दै गइरहेको छ । यस्तो अनुभूति हुन्छ तपाईंलाई ?
– आफूलाई लाग्नु त स्वाभाविक नै हो । अरुले पनि भनेपछि हो नै जस्तो लाग्छ । पहिले थोरै अध्ययन, थोरै अनुभव र थोरै अनुभूतिले निबन्ध लेखिन्थे । अहिले उमेरले धेरै अनुभवहरू बढाएको छ । अध्ययन पनि पहिलेभन्दा बुझ्ने गरेर गर्छु । त्योभन्दा पनि पहिले म एकै बसाइँमा लेख्थें । कहिले परिमार्जन पनि गर्दिनथें, तर अहिले लेखेपछि केही समयसम्म त्यसलाई बिर्सन्छु । आवश्यकता महसुुस भएपछि आफ्नो निबन्धलाई पाठकको आँखाले पढ्छु र चित्त बुभmेपछि मात्र प्रकाशनमा पठाउँछु । यो सचेतताले पक्कै पनि सुधार हुन्छ नै ।
० तपाईंले लघुकथा समाज गठन गरेर लघुकथाको विकास र विस्तारमा जति काम गर्नुभएको छ, निबन्धमा भने लेखनबाहेक खासै काम गर्नुभएको देखिएको छैन । निबन्धप्रति उपेक्षाभाव प्रकट गर्नुभएको त होइन ?
– त्यस्तो हुनै सक्दैन । लघुकथा शक्तिशाली लेखन भए पनि यसको प्रचार–प्रसार र उन्नयनका लागि अग्रसर भएर लाग्नेहरूको अभाव थियो । २०५४ सालमा पहिलोपटक राष्ट्रव्यापी लघुकथा प्रतियोगिताको संयोजक भएर काम गर्ने अवसर पाएकाले नै हुनुपर्छ, म यसका लागि उत्पे्ररित भएँ । लघुकथा समाजको स्थापना भएपछि लघुकथाको क्षेत्रमा भएका कामहरूप्रति धेरैले सन्तोष मान्ने गरेका छन् । यस्तो धापले काम गर्ने जाँगर बढाइरहँदो रहेछ । सामूहिक भावना र सहकार्यले लघुकथामा काम गर्न सजिलो पनि भइरहेको छ ।
निबन्ध आफैं समृद्ध विधा हो । यसका लागि लघुकथाको जस्तो इतिहास खोज्नुपर्ने, मानक र सैद्धान्तिक परिभाषाको कुनै आवश्यकता छैन । निबन्धको जे काम भने पनि निबन्ध नै लेख्ने हो । जति राम्रो निबन्ध लेख्न सकियो, त्यति नै निबन्धको काम भएजस्तो लाग्छ । मधुपर्कमा भएकाले राम्रा निबन्धहरू पाएसम्म छाप्ने गरेका छौं । पटक–पटक विशेषाङ्क पनि प्रकाशित गरेका छौं ।
२०३९ सालमा एकपटक सिसासले निबन्ध नै वाचन गरेर गोष्ठी गरेपछि त्यस्तो अहिलेसम्म हुन सकेको छैन । प्रज्ञा प्रतिष्ठानको गद्य आख्यान विभाग प्रमुख रमेश विकल हुनुहँुदा एकपटक महेन्द्रनगरमा बृहत् निबन्ध गोष्ठी भएको थियो । यस्ता कार्यहरू गर्नुपर्ने त प्रज्ञा प्रतिष्ठानजस्तो सरकारी निकायले नै हो ।
० नेपाली निबन्धलाई अझै पठनीय, आमपाठकको रुचिको विधा र समृद्ध तुल्याउनमा के–कस्ता पहल गर्दा उपयुक्त हुने ठान्नुहुन्छ ?
निबन्ध क्लिष्ट भयो भने पाठक बढाउन सकिँदैन । आम मान्छेले भोगेको जीवनलाई कलात्मक ढंगले सहजतापूर्वक निबन्ध लेख्न सकियो भने पाठकको अभिरुचि बढाउन मद्दत पु¥याउनेछ । इतिहासदेखि वर्तमानसम्म नै आत्मपरक निबन्ध लेख्नेहरूको संख्या बढ्न नसकिरहेको अवस्थालाई दृष्टिगत गरेर प्रज्ञा प्रतिष्ठानले यसतर्फ ध्यान पु¥याउनैपर्ने हो । तर, निबन्ध विधाको उन्नयनका लागि खासै कुनै काम हुन सकेको जस्तो लाग्दैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply