विघटनको बिन्दु–उन्मुख साझा
नेपाली प्रकाशन जगत्को धरोहरका रूपमा स्थापित साझा प्रकाशन यतिखेर चरदेखि नै उखेलिन थालेको एउटा जीर्ण, प्राचीन र अस्तित्व रक्षाका निम्ति संघर्षरत त्यस्तो घरजस्तो प्रतीत हुन्छ, जुन कुनै पनि समय ढल्न सक्छ । वर्तमान समयमा संस्थाको दीर्घायुका लागि चिन्तनशील हुनै र धराशायी तुल्याउनेबीच चलिरहेको द्वन्द्वले साझा प्रकाशनभित्रका बेथिति, विसंगतिहरू सतहमा उत्रिएका मात्र छैनन्, कर्मचारी र व्यवस्थापन पक्षबीचको अन्तहीन द्वन्द्व चर्किंदै जाँदा संस्था विघटनको बिन्दुतिर जाने निश्चितप्राय: देखिएको छ । अझ प्रकाशनलाई आर्थिक रूपले टिकाउने प्रमुख माध्यमको रूपमा रहेको जनक शिक्षा सामग्री केन्द्रको पुस्तक छपाइ र वितरणको बेला नजिकिँदै गएको समय साझाभित्र चुलिएको विवादले थप नोक्सानीको बाटो पछ्याइरहेको बोध हुन्छ । बाली भित्र्याउने बेला किसानहरूबीच द्वन्द्व चर्कियो भने के हुन्छ ? अहिले साझाको स्थिति लगभग त्यस्तै बन्न पुगेको छ ।
अहिले पनि साझाका कर्मचारी आन्दोलनमा छन् । मूलत: अध्यक्ष एवम् महाप्रबन्धक ममता झा र बोर्डमा सम्मिलित व्यक्तिहरूको गलत रबैयाको कारण नै साझाले बर्सेनि घाटा बेहोर्नुपर्ने र चुर्लुम्मै ऋणमा डुब्ने स्थिति उत्पन्न भएको कर्मचारीहरूको आरोप छ । यद्यपि, व्यवस्थापन पक्षले त्यसलाई स्वीकारेको छैन । तर पनि, बितेको चार वर्षको अवधिमा साझा कसरी ओरालो लाग्दै गइरह्यो ? व्यवस्थापन पक्षले साझालाई कसरी दुहुनो गाई बनाएर आर्थिक लाभ लिइरह्यो ? भ्रष्टाचारका हाँगाबिँगाहरू कसरी मौलाए ? साझाका कर्मचारीहरू अहिले पनि फेहरिस्त फिजाउँदै विघटनको संघारमा उभिएको साझा बचाउने अभियानमा निर्लिप्त छन् । तर, अहिलेसम्म दुवै पक्षबीच चुलिएको विवाद साम्य भइसकेको छैन । र, साझा प्रकाशन कुरुक्षेत्रमा रूपान्तरित भएको छ यतिखेर ।
अध्यक्ष झाविरुद्ध उभिएका कर्मचारीहरूले प्रश्न गरेका छन्– ‘साझा प्रकाशनमा कार्यरत अध्यक्ष तथा महाप्रबन्धक ममता झाको कार्यकाल कहिलेसम्म हो ? सरकारको तर्फबाट सहकारी विकास बोर्डले मनोनयन गर्दा समय तोकेन । सोही बोर्डले कारबाही गरेर हटायो तर सर्वोच्चले ‘स्टे अर्डर’ जारी गर्यो । अब उहाँले आफूलाई आजीवन अध्यक्ष घोषणा गरिसक्नुभएको छ र सोहीअनुरूप क्रियाकलाप देखाउनुहुन्छ ।’
साझाका कर्मचारीहरूले व्यवस्थापन पक्षलाई चार महिनाअघि नै संस्थागत सुधारका लागि केही सुझावहरू दिएका थिए । तर, त्यसलाई रद्दीको टोकरीमा फ्याँकेर आफूखुसी चल्ने व्यवस्थापन पक्षको गलत क्रियाकलाप हाबी भएपछि ती सुझावहरूले कार्यान्वयनको बाटै पहिल्याउन सकेनन् । कर्मचारीहरूले अत्यन्तै भावुक स्मरण–पत्र दिँदा त्यतिबेलै उल्लेख गरेका थिए– ‘लामो समयदेखि चलेको संस्थामा समय–समयमा उकाली–ओराली आउँछन्, सम्भावना र चुनौती पनि प्रशस्त भेटिन्छन्, तर संस्थाको वर्तमान स्थिति एकदमै संकटमा छ । संस्थाको यस्तो स्थितिले कर्मचारीको रोजीरोटी मात्र जाँदैन, एउटा लामो इतिहास ग्ुम्छ, हामीले यसमार्फत आर्जन गरेको इज्जत गुम्छ, यसमा जोडिएका संस्थागत प्रतिनिधि र पदाधिकारीको प्रतिष्ठा मात्र गुम्दैन, कलंकको टीका पनि लाग्छ ।’
अहिले साझा प्रकाशन ३० करोड ऋणमा डुबेको छ । तथापि, संस्थाले बिनाप्रयोजन ऋण लिएको र केमा खर्च भयो र कुन स्रोतबँट तिर्ने भन्ने सवालमा मौन रहेको कर्मचारीहरूको भनाइ छ । त्यसरी नै संस्थाले तिर्नुपर्नै दायित्वको दायरा पनि फराकिलो रहेको छ । जसमा, जनक शिक्षालाई मात्रै १४ करोड तिर्नुपर्नै उल्लेख छ–‘जनक शिक्षा सामग्री केन्द्रलाई भुक्तानी गर्नुपर्ने रकम कसरी १४ करोड पुग्यो ? सम्झौताबमोजिम जनक शिक्षाबाट किताब बिक्रीका लागि ल्याउने तर सो रकम उक्त संस्थालाई नतिरी मनोमानी खर्च गर्नै प्रवृत्ति रोक लगाउनु अत्यावश्यक भइसकेको छ ।’
त्यसो त, अनियमितामा अध्यक्ष झाले बाजी नै मारेको देखिएको छ । अध्यक्ष झाले पुस्तक प्रदर्शनी र शाखा निरीक्षणको नाममा अनियमित कार्य गर्ने गरेको कर्मचारीहरूको आरोप छ । भनिएको छ– ‘अध्यक्षको भ्रमण खर्चको हिसाब राखिँदैन । किनभने काठमाडौं–विराटनगर प्लेन खर्च, विराटनगर–राजविराज निजी गाडीको मात्र प्रतिट्रिप ९ हजार बुझाउने गरेको छ । त्यस्तै, संस्थाको गाडी, चालकको भत्ता, गाडीमा साथीको भत्ता, आफ्नो भत्ता हिसाब गरेर साध्य छैन भने आते–जाते क्रम पनि महिनामा दुई पटकसम्म हुने गरेको छ । यसरी अनावश्यक भ्रमण गरेर संस्थालाई आर्थिक रूपमा टाट पल्टाइँदै छ ।’
०७० असोजमा सम्पन्न पुस्तक प्रदर्शनीमा भ्रष्टाचार गरिएको पनि उल्लेख छ । प्रकाशकहरूबाट लिइएको पुस्तकको बिलमा १० थानलाई जिरो थपेर १ सय थान र १५ थानलाई १ सय ५ थान बनाएर घोटाला गरिएको खुलासा पनि कर्मचारीहरूले गरेका छन् । उक्त कार्यमा अध्यक्ष झा मात्र होइनन्, प्रदर्शनी आयोजक समितिका संयोजक हरिगोविन्द लुइँटेल र प्रदर्शनी व्यवस्थापन संयोजक प्रेमबहादुर कार्कीको पनि हात रहेको बताइएको छ ।
साझाभित्रका बेथितिहरू छताछुल्ल पोखिँदा र व्यवस्थापन र कर्मचारीबीच पानी बाराबारको स्थिति उत्पन्न हुँदा हजारौं व्यक्तिहरूको लगानी डुब्ने खतरा पनि उत्तिकै छ । किनकि, साझा प्रकाशन हजारौं सेयरधनीहरूको टेकोमा उभिएको संस्था हो । तर, अहिले व्यवस्थापन र कर्मचारीबीच विवाद चुलिँदै गइरहे पनि सेयरधनीहरूले बोल्ने थलो पाएका छैनन्, त्यो थलो भनेको साधारण सभा नै हो । तर, अब हुने साधारण सभाले नयाँ टिम छान्दा आफ्नो सर्वस्व गुम्ने मानसिकतामा अल्झिएको अहिलेको टोलीले तत्काल साधारण सभा बोलाएर समस्यालाई निप्टारा गर्ने दिशामा कदम चाल्ला भन्ने अपेक्षा राख्नु बेकार देखिन्छ ।
यद्यपि, एक शताब्दी लामो इतिहास बोकेको साझा अहिले निकै नै धर्मराउन पुगेको छ । लामो इतिहास बोकेको संस्था विवादको चौघेरामा मुछिँदै विघटन हुने हो कि भन्ने आशंका पनि उत्तिकै व्याप्त छ । यो आशंकालाई मेट्नका लागि सम्बन्धित निकायले कर्मचारीको आवाजलाई सम्बोधन गर्ने दिशातिर पाइला चालिनु अहिल्यै अत्यावश्यक भइसकेको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply