खुसवन्तको खुबी: जो थिए भारतमा सबभन्दा बढी पढिने लेखक
राजा मिदासले जुन वस्तु छुन्थे, त्यो सुनमा परिणत हुन्थ्यो । ग्रिक मिथकका शक्तिशाली पात्र मिदासको स्पर्शमा जुन शक्ति र चमत्कार अन्तरनिहित थियो, सायद त्यस्तै चमत्कार खुसवन्त सिंहको लेखनमा पनि थियो । केही दिनअघि दिवंगत हुनपुगेका भारतका सर्वाधिक पढिने सिंहले जुन विषय, सन्दर्भ र घटनाक्रममाथि लेख्थे, त्यो पठनीय हुन्थ्यो, अन्तरवस्तुका हिसाबले कमजोर सावित भए पनि उनले लेख्ने हरेक लेख, रचना, चुट्किला र गफहरू पठनीय हुन्थे । यो नै उनको लेखकीय विशेषता थियो र जीवनको अन्तिम सास नफेरुन्जेलसम्म उनले आफूलाई एक सक्रिय लेखकका रूपमा उभ्याइरहे । उनको लेखनमा ‘अवकाश’ भन्ने शब्दले कुनै स्थान पाएन, कहिल्यै ।
उनको सरल र सहज भाषा शैलीले जोकोहीलाई तान्दथ्यो । उनको लेखनमा यस्तो जादुई भाषा शैली थियो, त्यसले देशका प्रवुद्ध वर्गदेखि एउटा सामान्य वर्गसम्मलाई आकर्षित गथ्र्यो । ‘पञ्जाब केसरी’मा उनको एउटा स्तम्भ छापिन्थ्यो–‘न कहु से वैर, न कहु से दोस्ती ।’ उक्त स्तम्भमा उनले राष्ट्रिय/अन्तर्राष्ट्रिय समसामयिक परिस्थितिदेखि, आफ्ना सम्पर्कमा आएका लेखक/लेखिकाहरूसितको सम्बन्ध र अन्तिममा एउटा बौद्धिक जोक्स लेख्दथे । यस्तै–यस्तै जोक्सहरू लेखेकै आधारमा होला, उनका जोक्सहरूको एउटा सँगालो नै निस्किएको छ– ‘खुसवन्त सिंहका जोक्स’ ।
प्राय: लेखकहरू ढोंगी हुन्छन् । किन ढोंगी हुन्छन् भने अरू सामान्य मानिसले आफ्नाबारे लेख्दैनन्, उनीहरूका जीवनकथा सतहमा आउँदैनन् । लेख्ने त लेखकले नै हो, जब उनीहरू आफ्नाबारेमा लेख्छन्, त्यसमा आफ्ना कमजोरीको पहाडलाई होच्याएर उपलब्धिका शिखरमा आबद्ध हुन चाहन्छन् । जुन व्यक्ति समाजको आलोचनाबाट भाग्न चाहन्छन्, त्यस्ता व्यक्तिहरूले आफूलाई कुनै पनि सन्दर्भ र सरोकारहरूमा अभिव्यक्त गर्न सक्दैनन् । तर, सिंहका लेखनले भने यी सबै मान्यताहरूलाई तिरस्कार गर्दै एउटा के मान्यता स्थापित गर्ने प्रयत्न गरेको थियो भने, लेखनमा ढोंगी, बनावटी र कस्मेटिक्स कुराहरू होइन, यथार्थको बाहुल्य हुन्छ ।
सिंहको जीवन बाँच्ने शैली आफ्नै प्रकारको थियो । तर, उनको बाँच्ने शैली भने अत्यन्तै मनोहर हुन्थ्यो । लेखनमा कुनै आलोचना बेहोर्नु नपरे पनि नारीहरूप्रतिको दृष्टिकोण र सम्बन्धका कारण उनी जीवनभर आलोचित रहे । तर, उनले कुनै पनि सम्बन्धलाई गुपचुप राख्न चाहेनन्, आफ्नो जीवनयात्रामा जो–जोसित सम्बन्ध स्थापित भयो, त्यसलाई उनले निस्फिक्री रूपले राख्न चाहे । सायद, यसैलाई खुसवन्त शैली भनिन्छ, जसले सामाजिक मर्यादाहरूबीच बाँच्ने तह र तप्काबीच विद्रोह बोलेको थियो ।
संसारका हरेक मिडियाको चरित्र विचित्रको हुँदोरहेछ । यही कुरा, सिंहका सन्दर्भमा पनि लागू भयो, यो अत्यन्तै दु:खद् पक्ष हो । केही नेपाली मिडियाहरूले उनका सन्दर्भमा त्यस्तै नानाभाँती कुराहरू छापे । सन् २००७ फरवरी ९ तारिखका दिन उनलाई भेट्न भारतका तत्कालीन राष्ट्रपति डा.एपीजे अब्दुल कलाम, दिल्लीस्थित सुजान सिंह पार्कमा पुगे, जहाँ सिंहको ठूलो क्षेत्रफलमा फैलिएको स्थानमा घर थियो । त्यो उनको जन्मदिन थियो र त्यही औसर छोपेर राष्ट्रपति डा.कलामले उनलाई भेट्न चाहेका थिए । देशका राष्ट्रपति र एक सामान्य लेखकबीच भेटघाटको सन्दर्भमा राष्ट्रपतिले लेखकलाई भेट्न जाँदा राष्ट्रपति भवन परिसरभित्र फुलिरहेका गुलाफका फूलहरू टिपेका थिए र त्यसमा एक सय गुलाफको फूल सजिएको थियो । सय थुंगा गुलाफको फूल उपहारको जवाफमा सिंहले राष्ट्रपति डा.कलामलाई आफ्ना दुई पुस्तक उपहारस्वरूप प्रदान गरेका थिए–नेचर वाच र टु्रथ लभ एन्ड ए लिटिल मैलिस ।
भद्र प्रवृत्तिका राष्ट्रपति डा.कलामले सिंहलाई सोधे–‘आपकी सलाह लेना चाहता था कि, अगले १५ वर्षोतक मुझे क्या करना चाहिए ?’
प्रत्युत्तरमा सिंहले भने– ‘आपको सलाह देना मेरा काम नही । मै जोकर हुँ । बस अपने जीवन का आनन्द उठाता हुँ ।’
तर, नेपाली मिडियाले यो प्रसंगलाई यसरी लेख्यो– ‘तपाईलाई सल्लाह दिने काम मेरो होइन । म एउटा जोकर हुँ । मेरो काम दुनियाँलाई हसाउने हो, सल्लाह दिने होइन ।’
खुसवन्त सिंहका बारेमा यति शब्दहरू खर्चिनुको पछाडि मेरो कुनै अभिप्राय छैन । उनी एक राम्रा लेखक हुन्, उनका लेखनले हरेक नयाँ पुस्तालाई अभिप्रेरित गर्दछ । तर, उनको लेखन शैली, शिल्प र अरू पक्षहरूलाई स्वीकार्दा स्वीकार्दै पनि उनका दृष्टिकोणहरूमा रहेका दुर्बल पक्षहरू भने विमर्शको तहमा छन् अझै ।
गएको बिहीबार एक नास्तिक व्यक्ति सिंह बिदा भए । नास्तिक भएको हुँदा उनी पञ्चत्वमा विलीन भए भन्नु सरासर अन्याय हुनेछ । तर, बाँचुन्जेलसम्म जिन्दगीका सम्पूर्ण आनन्द प्राप्त गर्ने ती साहित्यकार, पत्रकार र जीवनलाई अनेक आयाममा रूपान्तरित गर्दै जीवन बाँच्ने सार्थकता बुझेका सिंहप्रति हार्दिक श्रद्धासुमन । र, एउटा यथार्थ पक्ष के हो भने, खुसवन्त सिंहको कलमको निब सिर्जना गर्न भारतीय समाजले अझै धेरै वर्ष प्रतीक्षा गर्नुपर्नेछ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply