सल्यानटारको सम्झना
घाम दिनदिनै उदाउँछ । घाम दिनदिनै अस्ताउँछ । घामलाई यदाकदा बादलले छेक्छ पनि । घाम उदाउँदा आकाश रंगिन्छ, हामी पुलकित हुन्छौं । पाँच दशक हुन लागेको मेरो जीवनयात्रामा प्रत्येक दिन घाम उदाएको छ, प्रत्येक दिन घाम अस्ताएको छ । घाम उदाउँदा पनि रंगिन हुन्छ, अस्ताउँदा पनि । तर, विडम्बनाको कुरा, हामी प्रत्येक दिन घाममा आँखा लगाउन भ्याउँदैनौं । चन्द्रमाको पनि कुरा त्यही हो । उसको आकार पक्ष हेरी घटबढ भइरहन्छ । प्रति चन्द्र महिना ऊ शून्यदेखि पूर्ण आकारमा देखा पर्नेगर्छ ।
सधैं उदाउने घाम कहिलेकाहीँ विशेष मुद्रामा देखिन्छ । कहिलेकाहीँ घाम निकै मनोरम तवरले अस्ताउँछ । चन्द्रमा पनि त्यही गर्छ । ठाउँविशेष, यामविशेष तिनको चाल विशिष्ट देखापर्छ । त्यस्ता धेरै चालमध्ये धादिङको सल्यानटार जाने तथा फर्किने क्रममा मैले २ दिनमा ३ वटा विशिष्ट चाल देख्न पाएँ ।
धादिङ जिल्ला मात्र कार्यक्षेत्र भएको सिभिक डेभलपमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर उद्घाटनमा फागुपूर्णिमाको अघिल्लो दिन सल्यानटार जाँदा पहाडको काखमा अवस्थित त्यस रमणीय स्थानले हाम्रो चित्त मात्र हरेन, विकासको पोटिलो सम्भावना पनि देखाइदियो । करिब १३ किमी लम्बाइ तथा ३–४ किमी चौडाइ भएको सो रातोमाटे टारले कृषिको मात्र सम्भावना बोकेको देखिएन । प्रस्तावित बुढी गण्डकी विद्युत् परियोजनाको कलेजो इलाका हुने देखियो सल्यानटार । बूढीगण्डकी नदी र आँखु उपनदीले चारैतर्फ घेरेको उक्त टापुलाई प्रस्तावित परियोजनाको जोगाउन सक्छ ? कि क्रमिक रूपमा बगाएर लैजान्छ यसलाई ? प्रस्तावित परियोजनाको पानीको नित्य प्रकोप थेग्नसक्छ यस रातो माटोले ? बैंकका साथीहरूसहित सल्यानटारमा पुगी सम्भावित परियोजनातर्फ नजर डुलाउँदा मेरो मनमा केही पेचिला प्रश्नहरूले हिर्काइरहे । पहाडी विशाल टापु सल्यानटारको कौमार्यलाई मैले मनमनै सलाम गरें । यो टार मुलुकका लागि दुधालु गाई हुन सक्छ, गरिबीमा भिज्नेहरूका लागि ओत हुनसक्छ । बूढीगण्डकीको पानीलाई जलाशयमा संकलन गरी उपयोग गरिने एकीकृत परियोजनामार्फत सल्यानटारमा अति प्रखर सूर्योदय हुने सम्भावना देखियो । करिब एक दशकअघि हामी धादिङे मित्रहरूले बनाएको सरोकार समूहको औचित्य बल्ल देखियो । सुन्दा खुसी पनि लाग्यो, त्यस परियोजनालाई अवरोध होइन, सहयोगका हातहरू बढिरहेका रहेछन् ।
सल्यानटारको सूर्योदय अहिलेका लागि पानीमुनिको बिजुली हो । उचित विधि, प्रक्रिया र समयपश्चात त्यो प्रकट हुन्छ । सूर्योदय हुन समय लागे पनि पूर्णिमाको अघिल्लो साँझ त्यहाँबाट बिरलै देखिने सूर्यास्त देखियो । राताम्य घाम भोलि फर्किने वाचासहित मन्द हात हल्लाउँदै बिस्तारै डाँडापारि बास बस्न गयो । सधैं देखिइरहेको घाम त्यो साँझ निकै भावुक मुद्रामा अस्तायो । त्यो अस्ताइको ढाँचा नै सल्यानटारमा उदाउने सूर्योदयको संकेत थियो । पहिलो पटक सल्यानटार पुगेको मलाई त्यस दृश्यले मन्त्रमुग्ध बनायो । त्यस मन्त्रमुग्धताले बैंकका महाप्रबन्धक प्रकाशजीलाई छोएछ । उनले फागुपूर्णिमाको दिन भएको कार्यक्रमको स्वागतमा सो विम्बलाई उठाइहाले । उद्घाटन कार्यक्रममा मैले आफ्नो परिवार बचाउने र टिकाउने बाख्रा अर्थतन्त्र तथा किसान बाबुआमाको अथक परिश्रमको बारेमा कुरा उठाएँ । भरत ढकाल, नारायणजी तथा गजेन्द्रजीको मन्तव्यको सारभूत कुरा पनि सल्यानटारको उज्यालो भविष्यका लागि व्यावसायिकता विकास गर्ने नै थियो । बैंकको कार्यक्रमले त्यहाँका बासिन्दाको मनमा एक प्रकारको आशाको अग्निबिज रोप्यो ।
कार्यक्रम सकी आँखु विद्युत् परियोजना पुगी ठसठस कन्दै माथि उक्लिएको मोटर टोड्केबाट माथि लाग्ने बेलामा आकाश फेरि रगताम्य भयो । यसो पश्चिम हेरेको त सूर्य हिजोझंै बिदाइको क्रममा रहेका थिए । फागुपूर्णिमा त आकाशलाई पो लागेछ । सूर्यले पो अनुहारभरि अबिर दलेछन् । हामी छक्क पर्यौं । हामी सबैले बिदा मागिरहेका सूर्यलाई पुलुक्क हेरी बिदा दियौं । दुवै दिनको सूर्यास्त विशेष भयो हाम्रा लागि । के यो हाम्रो स्वागत थियो ? के यो विरल पदचाप थियो ? होइन । कञ्चन मौसमबाहेक सूर्यको यो नियमित प्रकृतिको उडान थियो । त्यसले कम्तीमा पनि हामी यायावरलाई रोमाञ्चित गर्यो । जबकि हामी भोक र थकानले पूरै थलिएका थियौं । पर्यटनमा खग्गु अरू व्यक्तिहरूलाई त्यहाँ लैजान सके पक्कै पनि सोबापत स्वदेशी, विदेशी पैसा दुर्गम गाउँ पुग्ने थियो ।
परियोजनामार्फत सल्यानटारको सूर्योदय तथा सल्यानटार तथा टोड्केको सूर्यास्त हेरेका हामीलाई जनजीविका होटलमा खाजा खाई काठमाडौं फर्किने बेला भैरवीस्थानको डाँडाबाट माथि–माथि चढेको जस्तो देखिने पूर्णचन्द्रको स्वागत प्राप्त भयो । सहरमा कमै चन्द्रोदयसँग साक्षात्कार हुने र असंख्य पटक चन्द्रोदय देखेको मलाई त्यस साँझको चन्द्रोदय अतिशय रोमाञ्चक लाग्यो । गाडी कुद्दै गर्दा मैले मित्र सन्तोषलाई फोटो लिने कि ? भनी सोधें पनि । खासमा हामीलाई जूनसँग फोटो लिने विरल मनसुवा पलाउँछ । त्यस क्षण मेरो मनमा त्यो कुरा पलायो । अर्थात्, कहिलेकाहीँ, कहीँ–कहीँबाट उदाउने वा अस्ताउने घाम–जून पनि हाम्रो सिर्जनात्मकतालाई चिमोट्ने खालका हुन्छन् । त्यही भयो यस पटक । दुई दिनको घाम अस्ताइ र एक साँझको जून उदाइले मेरो मनमा गहिरो रोमाञ्चता प्रदान गरिरह्यो । यो रोमाञ्चता जिल्लासँग जोडिएको छ, मौसमसँग जोडिएको छ र त्यहाँ प्रस्फुटन हुन लागेको विकासको कोपिलासँग पनि जोडिएको छ ।
आफन्तको सम्झना र माया प्राप्त गर्दा मन अझ प्रफुल्लित हुन्छ । त्यो त्यस क्षण पनि भयो । पुरुषार्थ(?)बस जिल्लाको सानो कार्यक्रममा तीन–तीन वटा हेलिकोप्टर उडाएको बारे आरुघाटमा सुनेको सूचनाले मन अलि खिन्न बनाए पनि यस वसन्तमा उदाएका जून, सल्यानटारमा उदाउँदै गरेको सूर्य तथा अस्ताएका घामले मेरो दिमागमा गहिरो टाटु खोपिदिएका छन् । मेरो दृढ आशा छ, बूढीगण्डकी परियोजनाको सफल एवम् गौरवशाली कार्यान्वयनबाट त्यो टाटु सधैंका लागि मेरो मन मस्तिष्कमा रहिरहनेछ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply