कति खाएपछि अघाउलान् यी ‘भोका’ ?
काठमाडौं । पार्टी पंक्तिभित्र ‘कलाकार’ र पार्टीबाहिर ‘पानी ट्यांकी’ भन्नासाथ चिनिने एमाले नेता ईश्वर पोखरेलले अहिले पार्टीको विगत ४० वर्षको हिसाब–किताब सार्वजनिक गरिरहेका छन् । उनले गुटका भेलादेखि सार्वजनिक कार्यक्रमसम्म विगत ४० वर्षमा ३१ वर्ष झलनाथ खनाल र माधवकुमार नेपालले नेतृत्व गरेकाले अब ‘नयाँ’ लाई दिनुपर्ने भन्दै भागबन्डाको वकालत गरिरहेका छन् । तर, इतिहास केलाउने हो भने उनी स्वयम् एमालेमा सबभन्दा बढी सुविधा पाउने, नेतृत्वको छेउमा बसेर पार्टी सत्ताको दुरुपयोग गर्ने, एक नेताका विरुद्ध अर्को नेतालाई लडाउने र आफूले पाएको कुनै पनि जिम्मेवारी कुशलताका साथ निर्वाह गर्न नसक्ने नेताका रूपमा चिनिन्छन् ।
भर्खरै अनेक तिकडम गर्दा पनि लज्जास्पद रूपमा चुनाव हारेका पोखरेल मन्त्रिपरिषद्बाट मनोनीत हुने २६ जनामा पर्न न्वारनदेखिको बल लगाएर दौडिरहेका छन् । आफू मात्र होइन, त्यस काममा उनले आफू निकटका नातेदारहरूलाई समेत नेताको घरमा पठाएर लबिङ गरिरहेका छन् ।
विगतमा माधवकुमार नेपाल नेतृत्वमा हुँदा सबभन्दा बढी फाइदा लिने र केपी ओलीलाई ‘मुखको तरबार चलाउने’ भन्दै मानमर्दन गर्ने पोखरेल अहिले विद्या भण्डारी, कर्णबहादुर थापा, खगराज अधिकारीहरूलाई पनि माथ गरेर उनको प्रवक्ता जस्तो देखिनुका पछाडि अरूको भन्दा आफ्नै पीरले काम गरेकोमा एमाले पंक्तिमा कुनै शंका छैन । किनभने, अघिल्लो महाधिवेशनमा ओलीलाई अध्यक्ष बन्न नदिन अन्तिम घडीमा खलनायकको भूमिका खेलेका पोखरेललाई अहिले जुन पदमा उठे पनि हार्छु भन्नेमा पूरा विश्वास छ । आफ्नै पीए माओवादीमा जाँदा पनि थाहा नपाउने अध्यक्ष झलनाथ खनाललाई फस्ल्याङफुस्लुङ पारेर महाविधेशनपछि विधान संशोधन गरी अधिकार जति महासचिवमा राखेर हर्ताकर्ता भएका पोखरेलले यस पाँच वर्षको बीचमा के चाहिँ विशिष्ट काम गरे भन्ने प्रश्नको उनीसँग जवाफ छैन । नयाँको नारा उठिरहेको बेला पुन: त्यही पदमा आफू उठ्दा हारिन्छ भनेर उनलाई थाहा नहुने कुरै भएन । त्यही भएर अहिले उनी केही गरी जितिहालिन्छ कि भनेर दुनियाँलाई नै भद्दा लाग्ने गरी ओलीको चाकडीमा लागेका छन् । संसदीय दलको चुनावका बेला भएको १० बर्से सम्झौताबमोजिम यसबीचमा ओली र वामदेव गौतमको भाग पुर्याएर अर्को महाधिवेशनमा पोखरेललाई अध्यक्ष बनाउने सिन्डिकेटमा हस्ताक्षर भएको छ ।
राजनीतिमा हिसाब–किताब गर्न र ‘जता बल्खु उतै ढल्कु’ भन्ने उखान प्रयोग गर्न खप्पिस पोखरेलले एकातिर एउटै व्यक्ति लगातार कति नेतृत्वमा बसिरहने भन्ने नारा उठाइरहेका छन् भने अर्कातिर आफूलाई पनि अरू नेता बराबरीकै देखाउन ‘म पनि ३५ वर्षदेखि एउटै कमिटीमा छु’ भन्ने गरेका छन् । ०३५ मा नेकपा (माले) गठन हुनुभन्दा दुई वर्ष पहिला ०३३ मा तत्कालीन कोकेको केन्द्रमा तानिएका पोखरेलले त्यसयता केन्द्रीय कमिटीबाट तल झर्नुपरेको छैन । त्यो पनि नेताहरूलाई घुक्र्याएर रोजेको जिम्मेवारी लिने र त्यसमा असफलता पाएपछि अर्को जिम्मेवारीमा जाने गरेको उनको इतिहास छ । जस्तो ०६४ सालको निर्वाचनका बेला उपत्यका इन्चार्ज रहेका पोखरेलले आफूले त हारे नै, सिंगो उपत्यकामा एमालेलाई शून्यमा पुर्याए । उता, पार्टीले अपेक्षित सफलता नपाएको भन्दै महासचिव माधव नेपालले राजीनामा दिए । तर, पोखरेलले चाहिँ यता मुख देखाउन नसक्ने भएपछि रोजेर प्रचार विभाग लिए ।
जिम्मा लिएको काममा कहीँ पनि पोखरेललाई सफलता प्राप्त भएको देखिँदैन । ०६१ सालमा शेरबहादुर देउवाको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा उनले गरेको तेलको मूल्यवृद्धिभन्दा बढी चर्चित उनले त्यसका लागि प्रतिपादन गरेको ‘आत्महत्याको सिद्धान्त’ चर्चित थियो भने उपत्यकाको जिम्मा लिँदा पार्टीलाई शून्य सिटमा पुर्याएको कुरा त सबैलाई थाहै छ । महासचिव भएपछि उनले बल्खुमा केन्द्रीय कार्यालयको अर्को भवन बनाउने भन्दै जिम्मा लिए, जुन आजसम्म सिन्को पनि भाँचिएको छैन । कार्यकर्ता संरक्षण कोष बनाउने भन्दै त्यसको जिम्मा पनि लिए । तर, त्यसमा पनि केही काम भएन । एमालेका एक पोलिटब्युरो सदस्य भन्छन्– ‘उहाँ सबै कुरामा रहर गर्नुहुन्छ तर कुनै कुरामा पनि सफलता पाउन सक्नुहुन्न ।’
जनताबाट पटक–पटक अस्वीकृत र पराजित नेता हुनु नै उनको सबभन्दा ठूलो विशेषता भएको छ । पहिलो पटक ०४८ सालमा आफैंले रोजेको धनुषामा चुनाव लडेर उनी कांग्रेसका सामान्य कार्यकर्ता शिवधारी यादवसँग पराजित भएका थिए भने ०५१ मा एमालेको उर्लंदो जनलहर भएका बेलासमेत उनले चुनाव लड्ने हिम्मत गरेनन् । बरु, चुनाव पनि लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीका अलोकप्रिय सल्लाहकारका रूपमा उनले बालुवाटारमै डेराडन्डा जमाएर घरभाडा समेत लिन बाँकी राखेनन् । ०५४ मा राष्ट्रियसभाका सदस्य भएका उनी ०५६ मा अधिकारीको निधनपछि राष्ट्रियसभामा छँदाछँदै काठमाडौं–५ बाट चुनाव लडेर निर्वाचित भएका थिए । ०६१ मा ‘प्रतिगमन आधा सच्च्याउँदै’ मन्त्री बन्न पुगेका उनी त्यस समयमा सबभन्दा विवादास्पद, अलोकप्रिय र पार्टीलाई नै घाटा पुर्याउने मन्त्रीका रूपमा चिनिएका थिए । ०६१ माघ १९ को घटना हुँदा भरतमोहन अधिकारी र उनलाई पार्टीबाट निकाल्नुपर्ने भन्दै शंकर पोखरेल र प्रदीप ज्ञवालीले पार्टीमा लिखित प्रस्ताव नै दर्ता गराएका थिए ।
०६४ र ०७० सालका दुवै चुनावमा उनी आफैँले रोजेको र आफ्नो क्षेत्र भन्दै आएको काठमाडौं–५ बाट कांग्रेस नेता नरहरि आचार्यसँग पराजित भएका थिए । तर, पदमा जानबाट भने उनलाई कसैले रोक्न सक्दैन । सभासद् नभए पनि उनले बाबुराम भट्टराईको सरकारमा १३ दिनका लागि उपप्रधानमन्त्री हुनसमेत छोडेनन् । ०६३ देखि ०६४ सम्म शान्ति समितिका सदस्यका हैसियतमा मन्त्रीसरहको सुविधा लिएका उनले त्यसपछि लगातार चार वर्ष विशेष समितिको सदस्यका रूपमा मन्त्रीसरहकै सुविधा लिएका थिए । त्यतिबेला एकातिर गृह मन्त्रालयबाट गाडी सुविधा र अर्कोतिर प्रधानमन्त्री कार्यालयबाट यातायात खर्च भनेर मासिक १५ हजार लिन पनि उनले बाँकी राखेनन् ।
अरूलाई खसालेर कुरा गर्न, व्यक्तिगत टिप्पणी गर्न र आफूलाई सबभन्दा अब्बल देखाउन रुचाउने पोखरेलले एमालेमा संगठन विभाग, प्रचार विभाग, केन्द्रीय सचिवालय जस्ताको मात्र नेतृत्व गरेका छैनन्, सांसद हुँदा पनि रोजेर सार्वजनिक लेखा समिति र राज्य व्यवस्था समितिमा समेत बसेका छन् । खाँदाखाँदा जसको कहिल्यै मुख खाली छैन, उसैले केही पाइएन भन्दा एमालेका कार्यकर्ता आश्चर्यमा परेका छन् ।
ओली, गौतम र पोखरेलबीच रातारात निर्माण भएको एकतापछि उठेका प्रश्नबाट उत्तेजित भएर एमाले सचिव शंकर पोखरेलले त्यसलाई ‘भोकानांगाहरूको एकता हुँदा अघाएकाहरूको छटपटी’का रूपमा टिप्पणी गरेका थिए । तर, इतिहास हेर्दा ईश्वर पोखरेल जस्ता सधैंभरि खाइरहेकाहरूकै बाहुल्य भेटिन्छ । अनि उनको भनाइलाई आधार बनाउँदा भन्न करै लाग्छ– कति खाएपछि अघाउलान् यी भोका ?
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply