विख्यात शब्दशिल्पीको अन्त्य
बीसौं शताब्दीको विश्व अर्थतन्त्रको लगाम पुँजीवादको हातमा रह्यो । र, यसो भन्दा अतिशयोक्ति नहोला कि, बीसौं शताब्दीको आख्यानको लगाम चाहिँ ग्राबियल गार्सिया मार्खेजको लेखनमा रह्यो । उनको बहुचर्चित उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ सलिच्युड’का बारे गार्जियनले लेखेको थियो– ‘यथार्थ र कल्पनाको असाधारण संयोजन ।’ सो उपन्यासलाई एउटा विराट, बहुरूपदर्शी र रहस्यमय अनुभव पनि भनिएको छ ।
लेखनमा जादुई यथार्थवादका प्रबल पक्षधर मार्केज आफ्ना जीवन्त शब्दहरू छाडेर सदाका लागि बिदा भएका छन् । ८७ वर्षका यी ल्याटिन अमेरिकी स्रष्टा १८ अप्रिलमा बिते । उनको जीवन अन्त्यसँगै उनलाई सम्झिनेहरूले उही बहुचर्चित ‘वन हन्ड्रेड इयर्स अफ सलिच्युड’सँगै सम्झिए । नोबडी राइट्स टु द कर्नेलसँगै सम्झिए । र, सम्झिए लिफ स्टोर्मजस्ता शक्तिशाली कथासँगै । तर, उनलाई लेखनको शिखरवृत्तमा आरुढ तुल्याउने कृति चाहिँ वन हन्ड्रेड इयर्स अफ सलिच्युड नै रह्यो । सन् १९८२ मा नोबेल पुरस्कार पाउनुमा पनि यही कृतिकै भूमिका रहेको थियो । उक्त उपन्यासबारे सोन्या सुरभी गुप्ता लेख्छन्–‘यो एउटा यस्तो उपन्यास हो, जसले विभिन्न आयामहरूबीच एक द्वन्द्वात्मक तनाव बनाएर राख्ने गर्दछ । सर्वप्रथम त, यो एउटा हास्य उपन्यास हो, सम्पूर्ण मनोरञ्जन । जो साहित्यप्रति यस्तो अपमानकारी नीति अपनाउँछ, कि त्यो एउटा उम्दा खेलौना हो, तसर्थ यसलाई गम्भीरतापूर्वक लिनु उचित हुँदैन । साथै, यो एउटा धेरै गम्भीर र उच्चाकांक्षी पुस्तक पनि हो, जसले एकातिर ल्याटिन अमेरिकाको इतिहासको पुनर्लेखनको भार उठाउँछ र अर्कोतर्फ पाठकलाई सचेत गर्दछ कि, उपन्यास केवल एक कल्पित संरचना हो, एक सृजन, एक ऐना होइन, जसले वास्तविकताको सूक्ष्मतासित झल्किन्छ ।’
प्रायजसो बिहान लेख्ने मार्केज सुनसान ठाउँ नै लेखनका लागि उपयुक्त थलो बताउने गर्दथे । साथै, बेलुकीपख केही पेय लिँदै लेख्दा पनि लेखन ऊर्जा मिल्ने उनको अनुभव थियो । लेखनमा यथार्थलाई उतार्न उनी यति व्यग्र हुन्थे कि, एक पटक उनी एउटा उपन्यास लेख्न लागेका थिए । उपन्यासमा एउटा गर्मी ठाउँको बयान गर्नुपर्ने थियो । तर, उनले सोचेअनुरूप गर्मी मौसमको बयान उपन्यासमा हुन सकेन । त्यसपछि उनी सपरिवार क्यारेबियन क्षेत्रमा गए, जहाँ पर्याप्त गर्मीको अनुभव गर्न सकियोस् । क्यारेबियन क्षेत्रमा केही वर्ष बसेपछि उनी बार्सिलोना फर्किए र उपन्यास लेख्न थाले । त्यसरी लेखिएको उपन्यासमा गर्मी मौसम र थलोको पर्याप्त बयान आयो ।
प्रायजसो लेखकहरूका लेखनको कच्चा स्रोत आफू वरिपरिकै विषयवस्तु, घटनाक्रमहरू नै हुन् । आफूले भोगेको जीवनलाई कथ्य रूप दिन जति सहज र आत्मीय हुन्छ, त्यति सहज सुनेको वा कल्पना गरेको आधारमा हुँदैन । मार्खेजले पनि वन हन्ड्ेरड इयर्स अफ सलिच्युडमा एउटा वृद्ध पात्रलाई उभ्याएका छन्, त्यो पात्र अरू कोही नभएर उनकै हजुरबुबा थिए । घटना के भएको थियो भने, एक दिन उनलाई हजुरबुबाले स्थानीय बजारमा सर्कसको ऊँट देखाउन लगेका थिए र उनलाई हजुरबुबाले ऊँटसँगै बरफ देखाउने वाचा पनि गरेका थिए । तर, सर्कसमा बरफ नदेखेपछि उनी हजुरबुबासित रिसाए । र, हजुरबुबाले उनलाई एउटा केरा बिक्रीस्थलमा लगेर बरफको बाकसमा हात हालिदिए । यही विम्बबाट नै उक्त बहुचर्चित उपन्यास टुंगिन पुगेको थियो ।
एउटा आश्चर्यलाग्दो पक्ष, उक्त उपन्यास लेख्दा उनले आफ्नी हजुरआमाको शैली अपनाएका थिए । कुनै पनि अविश्वासिलो कहानी अत्यन्तै सहज र स्वाभाविक तरिकाले सुनाउने कलामा पारंगत उनकी हजुरआमाबाटै उनको लेखन कला विकास भएको थियो । उनले स्वीकारेका छन्– ‘स्वाभाविकता र विम्बको पर्याप्तताले जुनसुकै कथालाई विश्वास गर्नलायक बनाउँदो रहेछ भन्ने कुरा उहाँबाट सिकें ।’
कुनै पुस्तक लेख्न धेरै समय नलाग्ने भए पनि त्यसबारे विचार गर्न धेरै समय लाग्ने अनुभव सँगालेका मार्खेज ‘सत्यता’लाई उत्तम साहित्यिक सूत्र ठान्दथे । उनी लेखनका निम्ति सुख, सुविधायुक्त वातावरणको अपेक्षा पनि राख्दथे । एउटा सन्दर्भमा उनले भनेका छन्– ‘भोको र पागलपनको अवस्थामा मात्र लेखकहरू सिर्जनशील हुन्छन् भन्ने रोमान्टिक मिथकमा म विश्वास राख्दिनँ । तथापि, टन्न खाएर इलेक्ट्रोनिक टाइपराइटरअघि बस्दा राम्रोसित लेख्न सकिन्छ ।’
मार्खेज लेखनमा अत्यन्तै इमानदार थिए । उनी वास्तविक जीवनमा झूटो बोल्नुभन्दा साहित्यमा झूटो बोल्नुलाई अत्यन्तै खराब कार्य ठान्दथे । जथाभावी कल्पना गरेर लेख्दा सत्य छोपिने डरप्रति उनी सदैव सचेत रहन्थे र लेखनमा सदैव सत्यतालाई पछ्याइरहन चाहन्थे । साहित्य लेखनमा छिर्नुअघि मार्खेज पत्रकारितामा बाँधिएका थिए । सन् पचासको दशकमा कोलम्बियामा पत्रकारिता क्षेत्रको त्यति विकास नभए पनि उनले त्यसलाई पेसाका रूपमा अँगालिसकेका थिए । पत्रकारिताले आफ्नो लेखनमा सघाउ पुर्याएको उनको अनुभव थियो । पत्रकारिताले आफूलाई लेखनमा प्रामाणिकता झल्काउने तरिका सिकाएको बताउने मार्खेज भन्दथे–‘विषयले लेखकलाई र लेखकले विषयलाई घचेट्दै लैजान्छ ।’
बीसौं शताब्दीका विख्यात शब्दशिल्पी मार्खेजले जादुई यथार्थवादलाई अँगालेर विशिष्ट कृतिहरू विश्व साहित्यलाई जति दिएका छन्, ती सबै अनुपम साहित्यिक गहनाका रूपमा स्वीकार्य छन् र कालान्तरमा पनि स्वीकार्य नै रहनेछन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply