शंकर र घनश्यामबीच टक्कर
काठमाडौं । नेकपा (एमाले)को आसन्न नवौं महाधिवेशनमा केन्द्रित भएर गरिने वैचारिक बहसको केन्द्रमा दुई नेता छन्– शंकर पोखरेल र घनश्याम भुसाल । पाँचौं महाधिवेशनमा मदन भण्डारीको अगुवाइमा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवादमा परिवर्तन गर्नु हुँदैन भन्ने धारको नेताका रूपमा पोखरेल र जबजलाई परिवर्तित समय अनुसार समृद्ध बनाउनुपर्छ भन्ने धारको नेताका रूपमा भुसालबीच देखा परेको यो टक्करले एमालेको भविष्यलाई प्रभाव पार्ने आँकलन पार्टी पंक्तिमा भइरहेको छ ।
गत महाधिवेशनबाट पहिलो पटक केन्द्रीय कमिटीमा आएका भुसालले अघि सारेको विचारलाई अध्यक्ष झलनाथ खनालले स्वीकार गर्दै आधिकारिक लाइनका रूपमा अघि सारेको प्रस्ताव मस्यौदा कमिटीबाट औपचारिक रूपमा पारित भएपछि भुसाल एकाएक एमाले कार्यकर्ताबीच छलफलको केन्द्रमा तानिएका छन् भने दुई पटक केन्द्रीय कमिटी सदस्य र अघिल्लो पटक सचिव भएका पोखरेल जनताको बहुदलीय जनवादको व्याख्या गर्ने मामिलामा कार्यकर्ताबीच लोकप्रिय छन् ।
खासगरी नेपाली समाजको चरित्रको विश्लेषण गर्ने सम्बन्धमा केही समयअघिसम्म एमालेमा दुई धारबीच मतान्तर थियो । नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामै रहेको विश्लेषण गर्ने पोखरेल र समाजमा अर्धसामन्तवाद–औपनिवेशिकता नरहेको र विस्तारै पुँजीवादी चरणमा प्रवेश गरेको विश्लेषण गर्ने भुसालबीचको वैचारिक संघर्ष अब सम्भवत: अन्त्य भए पनि यी दुई चिर प्रतिद्वन्द्वी नेताबीचको टक्कर भने नयाँ रूपमा अघि बढ्ने जानकारहरू बताउँछन् । आफ्नो विचारमा पार्टीभित्र सहमति जुटेकाले भुसाल थप उत्साहित छन् । यद्यपि, केन्द्रीय कमिटीमा त्यो मस्यौदा प्रस्तुत गर्ने र केन्द्रीय कमिटीले पारित गर्ने काम अझै बाँकी छ ।
यी दुई नेताबीच चलेको यो संघर्षको पृष्ठभूमिमा पार्टीका कार्यकर्ताले उनीहरूबीचको विगतको सम्बन्धलाई पनि नजिकबाट लेखाजोखा गरिरहेका छन् । पोखरेल र भुसाल दुवै विद्यार्थी फाँटबाट राजनीतिमा उदाएका हुन् । भुसाल ०३६ सालबाटै विद्यार्थी संगठनमा जोडिएका थिए भने पोखरेलले चाहिँ त्यही हाराहारीमै भारत प्रवासबाट पार्टीमा जोडिएका थिए । ०४३ मा पार्टीले काठमाडौं बोलाएर पोखरेललाई अखिलको बाग्मती अञ्चल कमिटीमा कामको जिम्मा दएको थियो । त्यही समय उनी त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियुका तर्फबाट स्ववियुको सभापति बनेपछि एकाएक विद्यार्थीबीच चर्चामा आएका थिए ।
उता, भुसाल चाहिँ ०३६ सालमा सम्पन्न पाँचौं सम्मेलनबाट अखिलको केन्द्रीय कमिटीमा आएका थिए । छैटौं सम्मेलनबाट टंक कार्की अध्यक्ष हुँदा भुसाल सदस्यमै चुनिए । पार्टीको निर्देशनपछि कार्की नेतृत्वको केन्द्रीय कमिटीले नै राजीनामा दियो र गौरी प्रधानलाई संयोजक बनाएर सातौं सम्मेलन गरियो । त्यस सम्मेलनमा पार्टीकै निर्देशन अनुरूप कार्की समूहलाई हटाइयो, जसमा भुसाल पनि परे । सातौं सम्मेलनबाट रामप्रसाद ज्ञवाली अध्यक्ष चुनिए भने भीमप्रसाद आचार्य महासचिव ।
आठौं सम्मेलनबाट दुवै पक्षलाई जोडेर चन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कमिटी बनाइयो, जसमा उदयराज पाण्डे महासचिव बने भने भुसाल पनि कमिटीमा आए । कमिटीगत रूपमा भुसाल र पोखरेलको भेट ०४७ मा भएको थियो, जतिबेला तुलबहादुर गुरुङको अध्यक्षतामा नवौं सम्मेलनबाट चुनिएको नेतृत्वमा भुसाल महासचिव र पोखरेल कोषाध्यक्ष बने । त्यसयता यी दुई नेताबीच वैचारिक रूपमा घाम–पानीको सम्बन्ध रहँदै आएको छ ।
०४६ को संयुक्त जनआन्दोलनताका भुसाल विद्यार्थी फाँटको नेतृत्वमा थिए । त्यसबेला अरू विद्यार्थी संगठनसँग एकता गरेर आन्दोलनमा नजाने हो भने उपलब्धि हासिल नहुन सक्छ भनेर पार्टी नेतृत्वलाई दबाब दिने काम उनकै नेतृत्वमा भएको बताइन्छ । ‘आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ति पञ्चायतको अन्त्य’ भन्ने त्यसबेलाको नाराको मस्यौदा भुसालले नै गरेका थिए । तर, पार्टी नेता र विद्यार्थी दुवैले मन पराउँदा पोखरेलले एकाएक उचाइ लिए भने त्यसपछि भुसाल किनारा लाग्दै गए ।
अखिलको दसौं सम्मेलनमा कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा ठूलो लफडा भयो । ‘पार्टीको भित्री आशय पोखरेललाई अध्यक्ष बनाउनुपर्छ भन्ने थियो भने मासमा लोकप्रिय भुसाल थिए’– त्यसबेलाको घटनाक्रम सम्झँदै अनेरास्ववियुका पूर्वअध्यक्ष योगेश भट्टराई भन्छन्– ‘खुला ढंगले चुनाव भएको भए भुसालले नै जित्थे तर अध्यक्षमा गुरुङलाई नै दोहोर्याउने, उपाध्यक्ष पोखरेललाई दिने र महासचिवमा भुसाल रहने गरी सम्झौता गरियो ।’
तत्कालीन माले र माक्र्सवादीबीच एकता भएपछि माक्र्सवादी विद्यार्थी संगठनलाई पनि मिलाउन गुरुङ र भुसाललाई अखिलबाट बिदा गरियो । एघारौं सम्मेलनबाट पोखरेल अध्यक्ष भए । अहिलेका एमाले केन्द्रीय सदस्य भट्टराई त्यसबेला पोखरेलनिकट थिए । कीर्तिपुर बस्दा यी दुई नेता झन्डै दुई वर्ष सँगै सुते पनि । ‘आफू सिद्धिएर पनि शंकरलाई स्थापित गर्नुपर्छ भनेर लागियो’– भट्टराई भन्छन्– ‘मदन भण्डारीको निधनपछि त हामीले शंकरजीलाई उहाँको क्षमताभन्दा बढ्ता प्रस्तुत गर्यौं । पार्टीभित्र पनि शंकर के–के न होलान् भन्ने भयो ।’
व्यक्तिगत टकरावले मान्छेलाई कता–कता पुर्याउँछ भन्ने उदाहरण हुन् भुसाल । सारा पार्टी मदन भण्डारीको विचारका पछि लाग्दा भुसालले त्यसमा सहमति जनाएनन् । सोभियत संघको विघटनपछि भुसालले ‘अदालतमा उभिएको समाजवाद’ शीर्षकमा लेखेको लेखको मदनले पनि खुबै प्रशंसा गरे । ०४७ मा ‘दृष्टि’ पत्रिकामा छापिएको त्यो लेखमा उनले ‘कम्युनिस्ट पार्टीले समाजवादी धार नै पक्रेर अगाडि बढ्नुपर्छ’ भन्ने निष्कर्ष निकालेका थिए ।
पार्टीभित्र भण्डारी र सीपी मैनालीबीच दूरी बढ्दै जाँदा भुसाल चाहिँ मैनालीको कित्तामा उभिए । जबकि, विचारमा उनी भण्डारीसँग नजिक थिए । पार्टी नेतृत्वको कार्यशैली र उनलाई हेर्ने दृष्टिकोणले पनि भुसाललाई मैनाली कित्तामा उभ्याएको थियो । मैनालीको कित्तामा उभिने भुसालको त्यसबेलाको निर्णय स्वयम् उनका लागि दुर्भाग्य भएको उनी निकटस्थहरू बताउँछन् । तर, त्यतिबेला एक ठाउँ उभिएका झलनाथ खनाल पार्टी सत्तामा आउनु र भुसाल पनि केन्द्रीय कमिटीमा आउनु संयोग नै परेको थियो ।
एमालेको छैटौं महाधिवेशनमा विचारमा एक भए पनि कार्यनीतिका सवालमा देखिएको भिन्नताले पार्टी विभाजन हुँदा पोखरेल मूल पार्टीमा रहे भने भुसालले वामदेव गौतमलाई साथ दिए । भुसाल चार वर्षपछि एमालेमा फर्किंदा पोखरेलले बेग्लै स्थान बनाइसकेका थिए ।
सातौं महाधिवेशनका बेला भर्खर पार्टी एकता भएको र विचारमा पनि भिन्नता नभएकाले गुटबन्दी भए पनि टक्कर चाहिँ भएन । तर, आठौंमा आइपुग्दा भुसाल नेतृत्वको टिमले जबजको समृद्धिको कुरा उठायो र महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव नै दर्ता गरेपछि बल्ल एमाले पंक्तिमा भुसालको नामले ध्यानाकर्षण गराएको पाइन्छ । त्यही महाधिवेशन थियो, जहाँबाट पोखरल एकल प्यानलमा भए पनि युवाहरूको नेतृत्व गर्दै सचिवमा निर्वाचित भए भने भुसाल पहिलो पटक केन्द्रीय कमिटीमा चुनिए ।
नवौं महाधिवेशनमा आइपुग्दा पार्टी भुसालले अघि सारेकै विचारमा आइपुगेको छ । त्यसका लागि आठौं महाधिवेशनयताका पाँच वर्षमा यो समूहले पाँच हजारभन्दा बढी अन्तक्र्रिया गरेको दाबी छ । युवा नेता भट्टराई भन्छन्– ‘अरूले जबजको व्यापार गरे, तत्कालको नाफा–घाटा हेरे तर हामीले उद्योग चलायौं ।’
अनेरास्ववियुका अर्का पूर्वअध्यक्ष ठाकुर गैरेका विचारमा ‘पोखरेललाई आजको यो स्थानमा पुर्याउने योगेशहरू नै हुन् ।’ ‘जबजलाई हेर्ने र व्याख्या गर्ने सन्दर्भमा पोखरेल यथास्थितिवादमा उभिए’– उनी भन्छन्– ‘भुसालले समयअनुसार परिवर्तित सम्बन्धलाई इतिहास, दर्शन आदि पक्षसँग जोडेर समृद्धिको कुरा उठाए ।’
तर, अर्काथरि नेताहरू यस कुरालाई स्वीकार गर्दैनन् । केन्द्रीय सदस्य भानुभक्त ढकाल भन्छन्– ‘अहिले पनि पार्टीले जबजलाई सिद्धान्त मान्ने र त्यसकै प्रकाशमा हिँड्ने कुरा मानेको छ ।’ समाजको चरित्र चित्रण गर्ने सवालमा पनि त्यस्तो नभएको उनको धारण छ । उनी भन्छन्– ‘सहमतिको दस्तावेज ल्याउनका लागि सामन्तवाद समाप्तिको डिलमा पुगेको कुरामा सहमति भएको छ । त्यहाँ पुँजीवादी क्रान्ति पूरा भयो भन्ने कुरा कहाँ छ र ?’
पार्टीको मूलधारमा उभिन नसक्नुलाई भुसालको कमजोरीका रूपमा लिइन्छ भने कार्यकर्तासँग बढी घुलमिल हुन नसक्नुलाई पोखरेलको कमजोरी मानिन्छ । भुसाल व्यक्तिगत विषयमा टीकाटिप्पणी गर्न त्यति रुचाउँदैनन् भने पोखरेल आफूलाई मन नपर्नेहरूप्रति चर्को टिप्पणी गर्न पछि पर्दैनन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply