एक्लो आवाज
जुन मानिस, अरुलाई ढाँट्न चाहँदैनन्, त्यस्ता मानिसको हृदय सफा र कञ्चन हुन्छ । त्यस्ता मानिसहरू जे कुरा व्यक्त गर्छन्, ती सबै स्वच्छ हुन्छ । उसका हरेक सिर्जना, कथन र माध्यमहरू पनि स्वच्छ नै हुन्छन् । राजेश जोशी, एक भारतीय कवि एवम् चिन्तक हुन् । उनका शब्द, भाव र हरेक सिर्जनाहरूमा कटु सत्य उद्बोधित हुन्छन् । मूलत: कविता लेख्ने उनले एउटा सन्दर्भमा भनेका छन्–‘कविता एउटा एक्लो आवाज हो, जसमा बजार र हिंसाको कुप्रभाव कमभन्दा कम परेको छ । गद्यको पाठक समुदाय ठूलो छ । बजार, गद्यलाई आफ्नो तरिकाले प्रभावित गरिरहेको छ । कविताका लागि सायद ठाउँ कम छ । मनुष्य आफ्नो संकटहरू वा निजी क्षणहरूमा सबभन्दा धेरै भरोसा कवितालाई नै गर्दछ ।’
आफ्नो समयका रागलाई कसरी अन्तरध्वनि प्रदान गर्नुपर्छ भन्ने कुरामा राम्रो हेक्का राख्ने कवि जोशीले एक पटक अमेरिकाको दादागिरी चल्दा एउटा चर्चित कविता लेखेर अमेरिकाको विश्व नीतिमाथि सटिक प्रहार गरेका थिए–‘म एउटा चुरोट सल्काउँछु/तर धम्क्याउँछ प्याकेटमा छापिएको चेतावनी/चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक छ/बाटोमा साथीहरू भेटिन्छन् र बिना सल्लाह दिन्छन्/धेरै सावधानी अपनाउनुपर्छ चालीस वर्षको उमेरपछि/गीतको स्थायीजस्तै दोहोर्याउन्छिन् श्रीमती/किन छोड्नु हुन्न चुरोट पिउनु, हेर्नुस् खोलमा लेखिएको छ, चुरोट पिउनु स्वास्थ्यका लागि हानीकारक छ/…म भन्दछु धेरै नै हानीकारक छ/व्यक्तिका लागि होइन, पूरै देशका लागि हानीकारक छ/दिनदिनै बढ्दै जानु अमेरिकाको दबाब/राष्ट्रवादका नयाँ उफान/वित्तीय पुँजीको प्रपञ्च/बजरंगियोको उत्पात/बहुर्राष्ट्रिय कम्पनीको निरन्तर फैलिँदो जाल/’
वास्तवमा, कविता प्रतिरोधको स्वर हो । प्रतिरोधबिनाको कविता प्राणविहीन प्राणीभन्दा तात्विक हिसाबमा फरक हुँदैन । र, संसारको काव्य आन्दोलनलाई प्रतिरोधी स्वर ओकल्ने सर्जकहरूले नै नेतृत्व गरिरहे र गरिरहेका छन् अहिले पनि । नेपालकै कविता आन्दोलन हेरे वा विश्व कविता आन्दोलनलाई नियाले सहजै अनुमान लगाउन सकिन्छ, आफ्नो समयका विकृत, विसंगत तस्वीरहरू, अमानवीय सत्ता, तमाम प्रकारका कुकृत्य र परिवर्तनको लहरलाई समात्न सक्ने सर्जकहरू नै अन्तत: सफल ठहरिएका छन् र उनीहरूका सिर्जनाले एउटा विशिष्ट स्थान ग्रहण गरेका छन् ।
कुनै बेलाको समाजवादी देश भियतनाम अहिले पुँजीवादीकरणको दिशातिर उन्मुख रहेको छ । चीनले अपनाएको नीति अर्थात् विदेशी लगानी भित्र्याउने कुरामा भियतनाम पनि अग्रसर छ । तर, एउटा विडम्बना, भियतनामले जुन देशसित सहकार्य गरिरहेको छ, त्यही देशले नै सत्तरीको दशकमा भियतनामलाई तहसनहस पारेको थियो । त्यो देश थियो– अमेरिका । र, भियतनाममा फस्टाउँदै गइरहेको समाजवादी सत्तालाई ध्वस्त पार्न अमेरिकाले भियतनामी बस्तीहरूमा बम मात्रै बर्साएन, हजारौं वृद्ध, केटाकेटी र महिलाहरूमाथि ज्यादतिको क्रूर रुपहरू पनि पस्किए । विडम्बना के छ भने, पुँजीवादले इतिहासका राम्रा/नराम्रा पक्षहरूलाई हेर्दैन, न त विगतमा ज्यादतिहरू नै उतार्दछ । मुनाफाको अन्धो दौडमा सामेल हुनु नै पुँजीवादको एक मात्र अभीष्ट हो । कुनै बेला, आफ्नो भूभागमाथि युद्ध थोपर्ने अमेरिकासित नै अहिले भियतनामले आर्थिक सहकार्य गरिरहेको छ । तर, सत्तरीको दशकमा भियतनाममाथि अमेरिकाले युद्ध थोपरेपछि त्यसको विश्वव्यापी रुपमै विरोधका स्वरलहरी गुन्जिएको थियो ।
नेपालका कवि भूपि शेरचनले भूगोलको परिधिलाई छिचोलेर भियतनामी राजनेता हो ची मिन्हलाई चिठी नै लेखेका थिए–‘भूगोलको परिधिले मलाई बाँधेता पनि/राष्ट्रहरूको बीचमा सीमारेखाहरूले/मलाई तिमीसँग बेग्ल्याए तापनि/यी सबभन्दा माथि जहाँ चेतन छ/यी सबभन्दा सच्चा जहाँ मुटुको ढुकढुकी छ/त्यहाँ म तिमीसँग छु/र युद्धमा परेको छु/तिम्रो प्रत्येक घरको भत्काइमा म बेघर भएको छु/तिम्रो प्रत्येक पुलको टुटाइमा म टुटेको छु/तिम्रो प्रत्येक गोल–गोल मंगोल अनुहार भएकी/आइमाईको बेइज्जतिमा/मैले आफ्नी पत्नी र दिदीबहिनीहरूलाई/बाटोमा निर्वस्त्र देखेको छु ।’
कविताको स्वर विश्वव्यापी रुपमै अनुगुन्जित हुन्छ । कुनै पनि भौगोलिक परिधिले कवितालाई बाँध्न सक्दैन । एउटा स्वतन्त्र पक्षीझै खुला आकाशमा विचरण गरेजस्तै विचरित हुन्छ कविता । अफ्रिकालाई स्वतन्त्रता प्रदान गर्ने महान् नेता नेल्सन मण्डेलालाई जेलको कोठरीमा थुनिँदा स्वतन्त्रता पक्षधर नेपाली कविहरूका साथै विश्वका प्रख्यात कविहरूले समेत उनलाई सम्बोधन गरेर थुप्रै सिर्जना जन्माएका थिए । इराकमाथि अमैरिकाले बमगोलाहरू बर्साउँदा कैयौ इराकी जनता मरे, कतिको बेघर भयो र कतिले आफन्तहरू गुमाउन पुगे । इराकी युद्धको दर्दनाम पक्षले संसारभरिका सर्जकहरू पनि विचलित भए र विश्वभरका सर्जकहरूले त्यो युद्धको प्रतिकार गर्दै कविताहरू कोरेका थिए । चाहे इराक युद्ध होस्, भियतनामको युद्ध होस् वा तेस्रो विश्वका मुलुकहरूमाथि शक्तिशाली राष्ट्रहरूले थुपार्दै आइरहेको ज्यादति, युद्ध वा अन्य किसिमका शोषणकै सन्दर्भहरू किन नहोऊन, सिर्जनाको माध्यमबाट त्यसको सशक्त प्रतिकार, प्रतिरोध गरिँदै आइरहेको छ । र, जबसम्म चेतनशील व्यक्तिहरू यो संसारमा रहन्छन्, तबसम्म यो क्रममा पूर्णविराम लाग्न सम्भव छैन ।
त्यसो त, कवितालाई विभिन्न सर्जकहरूले विभिन्न परिभाषामा बाँध्दै आएका छन् । तर, हिन्दी कवि रघुवीर सहायका यी पंक्तिहरू भने कम चोटिला छैनन्–‘म मान्दछु कि, रोटीको तुलनामा कविताको महत्व कम छैन । पेटका लागि रोटी, दमन वा शोषणका विरुद्ध कविता, दुवै जीवनको जरुरी सत्य हो । कविता नयाँ जीवनको खोजी गर्दै अगाडि बढ्दछ, अगाडि बढाउँदछ । मनुष्यको संवेदनात्मक स्तरमाथि विचलित गर्ने क्षमता कवितामा हुन्छ ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply