माधव नेपाल नै अध्यक्ष किन ?
आज हामी नवौं माधिवेशन गर्ने तयारी गरिरहेका छौं । हामी यहाँसम्म आइपुग्दा हामीले विगतमा एकपल्ट पछाडि फर्केर हेर्नुपर्छ र विगतका उपलब्धिहरूलाई जोगाउन र कमीकमजोरी परित्याग गर्न दृढ संकल्पित हुनुपर्दछ । छैटौं, सातौं र आठौं महाधिवेशनले जनताको बहुदलीय जनवादलाई विकास गर्न र थप समृद्ध पार्दै नयाँ उचाइमा उठाउन खेलेका महत्त्वपूर्ण भूमिकाहरूको सम्झना गर्नुपर्दछ । जबजको विकासलाई आजको अवस्थासम्म ल्याइपुर्याउन नेतृत्वकारी भूमिका खेल्ने नेताहरूको क्षमता, भूमिका र योगदानको उचित कदर गर्दै त्यो क्षमतालाई भावी दिनमा समेत उचित ढंगले प्रयोग गर्न आवश्यक दायित्वसमेत दिनुपर्दछ ।
०६४ सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा एनेकपा (माओवादी) किन तेस्रो हुनुपुग्यो र नेकपा (एमाले) तेस्रो शक्तिबाट किन दोस्रो शक्ति हुन आइपुग्यो भन्ने कुराको निष्पक्ष ढंगले गहिरो विश्लेषण गर्नुपर्दछ । विधिको शासनलाई समाप्त पार्ने गरी मुलुकमा माओवादीहरूको हाँकडाँक, त्रास र हैकम चलिरहेको अवस्थालाई नियन्त्रण गरी माओवादीको काठमाडौं कब्जा गर्ने आन्दोलनलाई पराजित गरेर र तराईका सशस्त्र समूहलाई समाप्त हुने अवस्थामा पुर्याएर देशमा शान्ति–सुरक्षा बलियो पार्ने र राष्ट्रिय गौरवका महत्त्वपूर्ण योजनाहरू अघि बढाउने काम माधव नेपाल नेतृत्वको सरकारले नगरेको भए के आज नेकपा (एमाले) दोस्रो ठूलो शक्तिका रूपमा उदाउन सक्थ्यो ? सक्दैन थियो ।
माधव नेपालको सरकारले देशभर माओवादी त्रासलाई निर्मूल पार्दै उनीहरूका धम्कीलाई रौं जति पनि नटेरेर काठमाडौंबाट भागेर जाने अवस्थामा पुर्याइदिएको थियो । मधेसका सशस्त्र अपराधी समूहलाई कमजोर पार्दै त्यहाँ शान्ति–सुरक्षा बलियो बनाएको थियो र विकास–निर्माणका ठूला योजनाहरू जस्तै काठमाडौं–निजगढ फास्ट ट्रयाक र तामाकोसी जलविद्युत् आयोजना जस्ता महत्त्वपूर्ण कामहरू अघि बढाएको थियो ।
तथ्य र सत्यमा आधारित भएर हेर्दा हामी प्रस्ट देख्छौं– जनताको बहुदलीय जनवादको विकास र समृद्धि र जनताको हितमा काम गर्ने प्रभावकारी सरकार सञ्चालनमा माधवकुमार नेपालको भूमिका निर्णायक र प्रभावकारी रहेको छ । नेकपा (एमाले)भित्र सबैलाई समेटेर लैजाने र आफ्ना आलोचकहरूलाई पनि महत्त्वपूर्ण भूमिका दिने काम माधव नेपालबाटै भएको छ । माधवकुमार नेपालको यही भूमिका र क्षमतालाई ध्यानमा राखेर नै उहाँलाई एकपल्ट पार्टी अध्यक्षको जिम्मेवारी दिनुपर्छ भन्ने भावना कार्यकर्तापंक्तिमा व्यापक हुँदै गएको छ ।
नेकपा (एमाले) आज संसद्मा दोस्रो शक्तिका रूपमा छ । आजसम्म नेकपा (एमाले)ले संसद्मा बहुमत प्राप्त गर्न सकेको छैन । बहुमत प्राप्त पहिलो शक्तिका रूपमा नेकपा (एमाले)लाई अघि बढाउन र देशको नेतृत्व गर्ने प्रमुख राजनीतिक शक्तिका रूपमा पार्टीलाई स्थापित गर्न खट्न सक्ने, सबैलाई समेट्न सक्ने र गतिशीलताका साथै सिंगो पार्टीपंक्तिलाई सञ्चालन गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।
अन्तर्राष्ट्रिय समुदायले चिनेको, विश्वास गरेको र देशभित्र पनि अरू राजनीतिक समूहले समेत सम्मान र विश्वास गर्नसक्ने नेतृत्व नेकपा (एमाले)को आजको आवश्यकता हो । भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने, स्वच्छ छवि भएको र पार्टीलाई सही ढंगले नेतृत्व गर्नसक्ने नेतृत्व आज चाहिएको हो । यो आवश्यकतालाई वर्तमान समयमा भएका नेतामध्ये सबैभन्दा राम्ररी पूरा गर्नसक्ने क्षमता भएकै कारणले माधव नेपाललाई अध्यक्षमा अघि सारिएको हो ।
पाँचौं महाधिवेशनको महत्त्व
पाँचौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित महासचिव कमरेड मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ हाम्रो पार्टीलाई आफ्नो दैनन्दिन जीवनमा निर्देशित गर्ने सिद्धान्त र मार्ग निर्देशक विचारधाराका रूपमा रहेको छ । कमरेड मदन भण्डारी हामीबीच नरहनु भएपछि ‘जनताको बहुदलीय जनवाद’लाई विकास र समृद्ध पार्ने काम मूलत: कमरेड माधवकुमार नेपालको नेतृत्वमा पार्टी केन्द्रले गर्दै आइरहेको छ ।
‘जनताको बहुदलीय जनवाद’ नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने विचारका साथसाथै नेपालको समग्र राष्ट्रिय राजनीतिलाई समेत लोकतान्त्रिकरणको कार्यदिशातर्फ प्रभावकारी ढंगले अग्रसर गराउने सिद्धान्त र विचारका रूपमा स्थापित छ । पाँचौं महाधिवेशनमा मदन भण्डारीको अगुवाइमा नेकपा (एमाले)ले गरेको लोकतान्त्रिक अभ्यासले देशका अरू राजनीतिक दलहरूमा समेत लोकतान्त्रिक प्रक्रियालाई आफ्नो पार्टी जीवनमा कार्यान्वयन गर्न दबाब परेको थियो । आज देशको राष्ट्रिय जीवनमा लोकतान्त्रिकरण एउटा महत्त्वपूर्ण कार्यसूचीका रूपमा स्थापित भएको छ र यसको प्रभाव आम जनजीवनमा समेत व्यापक हुँदै गएको छ ।
आज लोकतान्त्रिकरण देशको राजनीतिक प्रणालीमा मात्र सीमित छैन । यसको अभ्यास हाम्रो आर्थिक, साामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धहरूमा समेत विस्तार हुँदै गएको छ । मानव जीवनका समग्र पक्षहरूको लोकतान्त्रिकरण, मानव जीवनलाई पारदर्शी ढंगले अघि बढाउने, समृद्ध र सुसंस्कृत बनाउने एउटा अभ्यास हो । लोकतान्त्रिकरण भनेको निर्वाचन मात्र हो भनेर बुझ्न थालियो भने त्यो एकदमै अस्पष्ट र अधुरो बुझाइ हुन्छ ।
लोकताीन्त्रकरण गर्नु र लोकतान्त्रिक हुनु भनेको हाम्रो जीवनमा भिन्नताहरूलाई स्वीकार गर्नु, फरक–फरक विचारहरूबीच सहअस्तित्व र सम्मानको वातावरण बनाउनु र तिनलाई मित्रतापूर्ण ढंगले हल गर्दै जानु पनि हो । तथ्यबाट सत्य खोज्ने वैज्ञानिक विधिलाई पालना गर्दै हाम्रो समाज र जीवनलाई अझ उन्नत र समृद्ध बनाउने आधारहरूको निर्माण गर्नु हो ।
‘जनताको बहुदलीय जनवाद’ले प्रतिस्पर्धालाई स्वीकार गर्छ । यो प्रतिस्पर्धा पार्टी बाहिर र पार्टीभित्र दुवैतिर हामीले स्वीकार र अभ्यास गर्दै आएका छौं । माओले ‘सयौंथरी फूल फुल्न देऊ’ त्यसै भनेको होइन । जसरी अनेकौं थरी फूलहरू फुल्दा बगैंचा सुन्दर र मोहक देखिन्छ त्यसरी नै विचारका क्षेत्रमा पनि विभिन्न कोण र प्रतिकोणबाट आउने तर्क र विचारहरूले हाम्रो चिन्तन र चेतनालाई उन्नत र अझ समृद्ध बनाउन मद्दत पुर्याउँछ ।
नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशनको महत्त्व नेपालको राजनीतिमा ऐतिहासिक महत्त्वको हुन पुग्नुका पछाडि ‘जनताको बहुदलीय जनवाद’को ठूलो भूमिका छ । नेपालको राष्ट्रिय राजनीतिमा नेकपा (एमाले)लाई निर्णायक रूपले बलियो लोकतान्त्रिक शक्ति र दलका रूपमा स्थापित गराउने वैचारिक आधारको निर्माण जनताको बहुदलीय जनवादले नै गरेको हो । लोकतन्त्रको झन्डा नेकपा (एमाले)का हातमा आज जति दृढताका साथ फहराएको छ त्यसका पछाडि ‘जनताको बहुदलीय जनवाद’को सैद्धान्तिक–वैचारिक आधार निर्णायक शक्तिको रूपमा रहेको छ ।
पार्टी भनेको सिद्धान्त र विचारका साथै संगठन पनि हो । सिद्धान्त र विचारका साथसाथै बलियो संगठनात्मक शक्ति बनेपछि मात्रै पार्टी बन्छ । सारमा सिद्धान्त र संगठनको योग नै पार्टी हो । सिद्धान्त र संगठन भएको पार्टीले आफूलाई अघि बढाउन संघर्षमा सामेल हुनुपर्छ । संघर्षको नेतृत्व गर्नुपर्छ । यही भएर पुष्पलालले ‘तीन स’ अर्थात् सिद्धान्त, संगठन र संघर्ष भन्ने कुरामा जोड दिनुहुन्थ्यो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा पाँचौं महाधिवेशनले सैद्धान्तिक–वैचारिक रूपमा एउटा ठूलो फड्को मारेको थियो र नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूको चेतनास्तरलाई एउटा नयाँ उचाइमा पुर्याएको थियो । त्यही वैचारिक आलोकमा नयाँ जोशका साथ अघि बढेर जनतामा जाँदा नेकपा (एमाले)ले आफ्नो संगठन र आधारलाई जनस्तरमा समेत व्यापक बनाउँदै लान सफल भएको थियो । पार्टीको पुरानो र जड हुन थालेको सोच–विचारलाई ‘जनताको बहुदलीय जनवाद’ले झड्का दिएको थियो र नयाँ चेतनाको करेन्ट लगाएर झक्झकाएर जगाएको थियो ।
पाँचौं महाधिवेशनबाट पारित ‘जनताको बहुदलीय जनवाद’ र त्यसको वैचारिक तेजलाई बोकेर अघि बढेको नेकपा (एमाले)को नेतृत्वको बढ्दो संगठनात्मक क्रियाशीलता र जनआधारकै कारण २०५१ सालको मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दलका रूपमा नेकपा (एमाले) संसद्मा देखापर्यो । सबैभन्दा ठूलो दलको हैसियतमा यसले सरकार बनायो र नौ महिनाको अल्पावधिमा नै प्रगतिशील सुधार र लोककल्याणकारी कार्यक्रमहरू सञ्चालन गरेर लोकप्रिय बन्न पुग्यो । ०५४ सालको स्थानीय निकायको निर्वाचनमा पनि यसले उल्लेखनीय विजय हासिल गर्यो । विकासको लहरलाई गाउँ–गाउँसम्म पुर्याउन नेकपा (एमाले)को नौमहिने सरकारले महत्त्वपूर्ण भूमिका खेलेको थियो भने ०५४ सालको निर्वाचनपछि स्थानीय निकाय शक्ति र साधन सम्पन्न बनेर अघि बढ्नेक्रममा थियो । तर, यो क्रममा माओवादी उग्रवामपन्थीहरूबाट चालिएका अराजक र विध्वंशक क्रियाकलापले नराम्ररी आघात पुर्यायो ।
०५१……
जबजको विकासमा छैटौं महाधिवेशनको योगदान
कमरेड मदन भण्डारी पाँचौं महाधिवेशन सम्पन्न भएको केही समयपछि नै हामीबीच नरहनुभएपछि एकातिर पार्टीलाई एकताबद्ध र सक्रिय बनाउँदै राष्ट्रिय राजनीतिमा स्थापित गर्नुपर्ने चुनौती थियो भने अर्कोतिर ‘जनताको बहुदलीय जनवाद’माथि अन्य विभिन्न कम्युनिस्ट समूहबाट भइरहेको आक्रमणलाई परास्त गर्दै त्यसलाई समृद्ध बनाउँदै अघि बढाउनुपर्ने गम्भीर अभिभारा पनि थियो । माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एमाले)ले यो दायित्वलाई राम्रैसँग बोध गर्यो ।
माधवकुमार नेपालकै नेतृत्वमा सम्पन्न छैटौं महाधिवेशनले ‘जनताको बहुदलीय जनवाद’लाई अझ उन्नत र सामयिक ढंगबाट व्याख्या गर्दै अघि बढाउने काम गर्यो । त्यसले ‘जनताको बहुदलीय जनवाद’को सैद्धान्तिक र कार्यक्रमिक दुवै पक्षलाई अझ गहनताका साथ विश्लेषण गर्दै अघि बढाउन स्पष्ट मार्गनिर्देशन गर्यो । छैटौं महाधिवेशनले जबजको जुन सामयिक, विशिष्ट र महत्त्वपूर्ण व्याख्या र विश्लेषण गर्यो त्यसले नेकपा (एमाले)लाई सैद्धान्तिक रूपले अझ समृद्ध र सशक्त बनायो र परिवर्तित परिस्थितिलाई सामना गर्दै अघि बढ्न सक्षम साबित गर्यो ।
छैटौं महाधिवेशनद्वारा पारित प्रतिवेदनमा भनिएको छ– ‘जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको कार्यक्रमको रूपरेखा कोर्नुका साथै नेपाली क्रान्तिलाई निर्देशित गर्ने मौलिक विशेषतासहित सिद्धान्त र कार्यदिशाको समेत निरुपण गरेको छ ।
कुनै पनि राजनीतिक सिद्धान्त र विचारको निर्माण रातारात हुँदैन । सिद्धान्त निर्माणका लागि मुलुकको समग्र वस्तुस्थिति, इतिहास, सामाजिक, आर्थिक र सांस्कृतिक विशेषतालाई राम्ररी बुझ्नसक्नु पर्दछ । यस सँगसँगै माक्र्सवादको वैज्ञानिक चिन्तनको आधारमा सिद्धान्त, विचार र नीतिहरूको निर्माण गर्न सक्नुपर्दछ । जनताको बहुदलीय जनवादको निर्माण यसरी नै भएको हो । यिनै कारणहरूले गर्दा जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको सिद्धान्तको रूपमा स्थापित भएको छ र कार्यक्रम एवम् कार्यनीति निर्धारण गर्ने मूल आधार बनेको छ । यसै आधारमा हामीले पाँचौं महाधिवेशनमा यथास्थितिको परिवर्तनका निम्ति क्रान्तिकारी विकल्पको कार्यक्रम पारित गरेका हौं । जसमा राज्यसत्ता प्रजातान्त्रिक ढंगले सञ्चालन गर्ने निश्चित विधिहरूलाई आत्मसात् गरिएको छ । हामीले यही सिद्धान्तको प्रकाशमा पार्टीको रणनीति, कार्यनीति, पार्टी निर्माण र सञ्चालनको विधिसमेत निश्चित गरेका छौं । यसले हाम्रो दैनन्दिन चिन्तन प्रणाली, विचार र व्यवहारलाई समेत मार्गदर्शन गरिरहेको छ । (हेरौं, छैटौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनको ८८ र ८९ पृष्ठ)
यसरी छैटौं महाधिवेशनले ‘जनताको बहुदलीय जनवाद’लाई सैद्धान्तिक रूपमा समृद्ध पार्दै जबजकै आधारमा पार्टीको रणनीति, कार्यनीति, कार्यदिशा, पार्टी निर्माण र सञ्चालनको विधिसमेत तय गर्नुपर्ने कुरामा जोड दियो ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply