नभए टाँगिँदैनथे बब मार्ले बसका झ्याल र सिसाहरूमा
–एउटा उदासलाग्दो बिहान । अचानक बदलिएको मौसम र वातावरणपछि आकाश छ्याङ्गै उघ्रिएको थियो । त्यस्तै, सत्र–अठार वर्षकी एउटी युवती बिहानैदेखि शारीरिक श्रममा व्यस्त थिइन् । उनी डोको बोकिरहेकी थिइन् र उनकै उमेरजत्तिकै अर्की युवती उनले भिरिरहेको डोकोमा बालुवा भर्न व्यस्त थिइन् । निश्चय नै, उनीहरू आ–आफ्नै श्रममा निमग्न थिए । तर, डोको बोक्ने ती युवती भने मोबाइलमा गीत सुन्न व्यस्त थिइन् । कति राम्रो तालमेल मिलेको थियो । एकातिर श्रम र अर्कोतिर मनोरन्जन, दुवैलाई ती युवतीले उत्तिकै पछ्याइरहेको भान हुन्थ्यो । उनको मोबाइलमा गुन्जिरहेको थियो– ‘आउँछु भन्थ्यौ हिजोअस्तिमा, आजसम्म आएनौ, छिट्टै आऊँ क्षितिजवारि मेरो बस्तीमा…।’
–अहिलेका चर्चित गायिका अन्जु पन्तले एउटा सन्दर्भमा ‘मलेसियामा काम गर्ने एक जना श्रमजीवीले उनका प्राय: सबै गीतहरू संकलन गरेका छन्’ भनेर बताएकी छन् । विदेशी भूमिमा श्रम बेच्ने क्रममा उनलाई तिनै गायिकाको गीतहरूले आकर्षित गरिरहेको छ रे † उनले पन्तको करिब सात सय गीत संकलन गरेका रहेछन् ।
अचेल गीत–संगीतलाई श्रममा निर्लिप्त वर्गहरूले पछ्याइरहेको छ भन्ने कुराको पुष्टि यिनै घटनाक्रम र दृश्यहरूले सदृश्य बताउँछन् । हुन त, श्रम र संगीतबीच कहिल्यै पनि फाटो उत्पन्न भएन । यो शृंखला मानव सभ्यताको विकास क्रमसँगै सुरुआत भएको यथेष्ठ प्रमाणहरू छन् । आदिम समाजदेखि वर्तमान आधुनिक समाजसम्मका विकासका हरेक हाँगाबिँगा र पातहरू केलाउँदा के देखिन्छन् भने, गीत–संगीतप्रति मानव जातिको आदिम साइनो गाँसिएको छ र यो क्रम, यो धरतीमा श्रमको प्रक्रिया चलुन्जेलसम्म जारी रहन्छ ।
एउटा यथार्थ पक्ष के हो भने, कुनै पनि गीत–संगीत श्रमसित गाँसिएको छ भने त्यसले एउटा ठूलो वर्ग, तप्कालाई अवश्य नै सम्बोधन गर्दछ । यसको कुनै विकल्प छैन । यो संसार, यति धेरै झिलिमिली हुनुमा, यति धेरै समृद्ध र मानवोचित आधारबिन्दुहरू तयार हुनुमा पक्कै पनि श्रमजीवी वर्गहरूकै देन छ । भनिन्छ, मान्छेले श्रम नगरेका भए यो संसार यति भव्य, आधुनिक र गतिशील हुने थिएनन् ।
प्रसंग, गीत–संगीतमा श्रमशील वर्गको अनुहार प्रतिविम्बित छ वा छैन भन्ने हो । गीत–संगीत भनेको एउटा यस्तो शक्तिशाली माध्यम हो, जसले केही मिनेटमा नै व्यक्तिको मानसिक संसार परिवर्तन गरिदिन सक्छ । घन्टौं लगाएर अध्ययन गरेको एउटा उपन्यासले भन्दा केही मिनेट गुन्जिने गीत–संगीतले मान्छेको विचार, भावमा परिवर्तन गरिदिन सक्छ । गीत–संगीतको विशेषता नै त्यही हो, थोरै समय, सीमित शब्द र सांगीतिक गुन्जनले एउटा ठूलो परिवर्तन ल्याउन सक्छ । त्यसो नहुँदो हो त, यो संसारमा पिट सिगर, बब मार्ले, गदर र हाम्रै रामेश, रायन, जीवन शर्माहरूको अस्तिस्व अहिलेसम्म धूलोमा मिलिसक्थ्यो । उनीहरूले संसारलाई परिवर्तन गर्ने पक्षमा गीत गाए, परिवर्तनशील चेहराहरूका दु:ख, व्यथा र वेदनाहरूलाई आफ्नो सिर्जन–धरातलमा उतारे र उनीहरू तिनै वर्गहरूका निम्ति प्रिय बनेका छन् अहिलेसम्म पनि ।
एउटा के कुरा भुल्नु हुँदैन भने, सबै चिजको पक्षधरता भएजस्तै गीत–संगीत पनि पक्षधर हुन्छ । बालुवा बोक्ने ती युवती आफ्नै दु:ख, सुख र परिवेश दर्साउने गीत–संगीतको ‘फ्यान’ बन्नु कुनै अनौठो विषय भएन । किनकि, उनी जुन परिवेशमा जन्मिए, जुन माहोलमा हुर्किए, उनलाई त्यही परिवेशमा उपलब्ध वातावरण, विम्ब र अनुभूतिहरूले नै आकर्षित गर्दछ र त्यस्तै शब्द, भाव र बोधहरूको अपेक्षा राख्दछ । र, जो अभिजात्य वर्गको प्रतिनिधित्व गर्दछ, उसले त्यही परिवेश, सन्दर्भ र भावहरूले युक्त संगीतप्रति नै आफ्नो रुचि बाँड्ने हुन् । तसर्थ, गीत–संगीत वर्गहरूकै अनुभूति र उपस्थितिको एउटा सटिक एवम् कलात्मक विम्ब–शक्ति हो ।
केही हप्ताअघि दिवंगत भएका कवि क्षेत्रप्रताप अधिकारी नेपाली गीति–लेखन क्षेत्रका एक सशक्त हस्ताक्षर थिए । यसमा कुनै विमति छैन । उनले ग्रामीण भाषा, शैली र विम्बहरूलाई आफ्नो लेखनमा स्थान दिए । तर, यति हुँदाहुँदै पनि उनका गीतहरूलाई वर्गीय पक्षधरताका तराजुमा जोखिनु, कुनै अचम्मको कुरा हुँदैन । किनकि, उनले अधिकांश गीत एउटा वर्गको प्रशंसा, गुनगानमा लेखे । सीमान्त तहलाई सम्बोधन गर्ने गीत उनले कमै लेखे र दरबारियाहरूलाई प्रफुल्ल पार्ने गीति–लेखन नै उनको विशेषता रह्यो । तर, उनको लेखनको एउटा महत्वपूर्ण विशेषता के रह्यो भने, उनले दरबारियाहरूको प्रशंसामा शब्द खर्च गरे पनि त्यसमा ग्रामीण गन्ध र परिवेशको बाहुल्य रह्यो र राजा–रानीकै प्रशंसामा लेख्दा पनि उनले ग्रामीण परिवेशलाई भुलेनन्– ‘चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो…।’
गीत–संगीतलाई कोही कसैको प्रसंशा, चाकडीमा प्रयोग गर्न सकिन्छ र कसैको जीवनका दर्दनाक पक्षहरूमा केन्द्रित रहेर एउटा भावपूर्ण, सुमधुर र संसारलाई नै उत्तेजित तुल्याउने हिसाबले पनि प्रयोग गर्न सकिन्छ । यदि, संसारका हरेक वर्गलाई सम्बोधन गर्ने गीत नगाएका भए बब मार्लेलाई आज नेपालका कुनै पनि संगीतप्रेमीहरूले स्वीकार्ने थिएनन् र उनको तस्बिरलाई टि–सर्ट, बसका सिसा र झ्यालहरू वा सडकका भित्ताहरूमा स–सम्मान सजाउने थिएनन् । उनको शक्ति नै यिनै पक्षहरूमा निहित छ । र, पिट सिगरका शब्दहरूलाई कुनै पनि कम्युनिष्ट पार्टीले आफ्ना समारोहहरूमा गुन्जाउने आवश्यकता ठान्ने थिएन ।
तसर्थ, गीत–संगीत एउटा यस्तो शक्ति हो, जसले सबैको भावना, विचार र आत्मलाई सम्बोधन गर्दछ । अन्तत: त्यस्ता गीतहरू नै कालजयी सावित हुन्छन् । र, बालुवा बोक्ने एउटी युवतीदेखि सहरका सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्नेसम्मले त्यसमा आफ्नो आनन्दाभूति उठाउने हैसियत सँगाल्छन् । र, एउटा यथार्थ के हो भने, यदि गीत–संगीतमा शक्ति थिएन भने बब मार्ले बसका झ्याल र ढोकाहरूमा त्यसरी तस्बिरमा उपस्थित हुने थिएनन् होला !
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply