महासचिव किस्तीमा राखेर दिइएको थियो र ?
हाम्रो पार्टीको नवौँ महाधिवेशन नजिक आइरहेको छ । यस्ता भेलाहरू विभिन्न तरिकाले आयोजना भइरहेका छन् । पार्टी एउटै छ तर भेलाहरू अलग–अलग छन् । यो कुनै अनौठो छैन, किनभने हामीले यस्तो अभ्यास पाँचौँ महाधिवेशनदेखि गर्दै आएका छौँ । नेकपा (एमाले)का नेता–कार्यकर्ताले यसलाई सहज रूपमा पचाइसकेका छन् । यी भेलाहरू केका निम्ति आयोजना भइरहेका छन्, के उद्देश्यका लागि भएका छन् र यस्ता भेलाले एमालेलाई कतातिर लैजाँदैछन् भन्ने चाहिँ महत्त्वपूर्ण विषय हो । आज जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौती नेकपा (एमाले)का सामुन्ने छन्, ती चुनौतीको सामना गर्न सक्ने विचार के हुन सक्छ, हामी कस्तो संगठन निर्माण गर्छौं र त्यो विचार र संगठनलाई अगुवाइ गर्ने नेतृत्व कस्तो हुन्छ ? सम्भवत: विश्वव्यापी रूपमा रहेका एमालेका सदस्यहरूले यसलाई गम्भीरताका साथ हेरेका छन् । नेपालको हित चिताउने, नेपालको लोकतान्त्रिक आन्दोलनलाई सहयोग पुर्याउने र एमालेलाई समेत सहानुभूति व्यक्त गर्ने हाम्रा मित्र राष्ट्रहरूले, हाम्रा मित्र पार्टीहरू र लाखौँलाख मानिसहरूले समेत हाम्रो यो महाधिवेशनलाई अत्यन्तै उत्सुकताका साथ हेरिरहेका छन् ।
समय प्रतिकूल छ । मध्य वर्षा छ । त्यसका बाबजुद हामी महाधिवेशन आयोजना गर्दैछौँ । हामी संविधान निर्माणको अन्तिम चरणमा पुगेका छौँ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने अन्तिम अवस्थामा पुगेका छौँ । यो गहन र ऐतिहासिक दायित्व नेकपा (एमाले)ले निर्वाह गर्नुपर्नेछ । एकातिर नेपाली कांग्रेस जस्तो यथास्थितिवादी पार्टी संसद्को सबैभन्दा ठूलो दलका रूपमा छ भने अर्कातिर आजको दुनियाँमा बाटो अलमलिएको, कहिले उग्रवामपन्थी अतिवादतिर त कहिले दक्षिणपन्थी अतिवादतिर मच्चिने एनेकपा माओवादी पनि संसद्मा छ । यस्तो बेलामा हामीलाई नेपाली जनताले अन्तिम अवसर दिएका छन् संविधान निर्माणका निम्ति । यो काम कसको नेतृत्वमा हुन सक्छ ? नेकपा (एमाले)ले अगुवाइ गर्नैपर्नेछ । नेकपा (एमाले) भित्र पनि कसले यसलाई सही ढंगले अगुवाइ गर्न सक्छ ? भन्ने गम्भीर चुनौती हाम्रा सामु खडा छ ।
खासगरी, माधवकुमार नेपाललाई अध्यक्षका रूपमा प्रस्तुत गर्न के विचारका साथ, कस्तो संगठन बनाउने उद्देश्यका साथ अघि बढ्ैछौँ भन्ने कुरा विकास क्षेत्रपिच्छे भेलामार्फत हामीले प्रस्ट्याउन चाहेका छौँ । सबै भेला सकिएपछि जेठ १७ गते प्रज्ञा–प्रतिष्ठानको विशाल हलमा हामी औपचारिक घोषणा गर्न गइरहेका छौँ । आजसम्म हामीले माधव नेपाललाई अनौपचारिक ढंगले अध्यक्षका रूपमा अगाडि सारेका थियौँ । जेठ १७ गते किन हामी माधव नेपाललाई अध्यक्ष बनाउन चाहन्छौँ, एमालेलाई कहाँ लैजान चाहन्छौँ भन्ने ऐतिहासिक घोषणा गर्दै छौँ ।
हामीले दैनिक रूपमा पत्रपत्रिकामा पढिरहेका छाँै, रेडियो टेलिभिजनमा सुनिरहेका छौँ– गत संविधानसभा निर्वाचनमा सम्भवत: कुनै राजनीतिक पार्टीले एक–अर्कालाई होच्याएर, गालीगलौज गरेर भोट मागेका थिएनन् तर हामीलाई आश्चर्य लागेको छ– नेकपा (एमाले)को महाधिवेशन आयोजना हुँदैछ, पार्टीका शीर्ष नेताहरू आफ्ना सीमा र मर्यादालाई समेत बिर्सेर एक–अर्कालाई गालीगलौज गर्ने कुरामा तल्लीन हुनुहुन्छ । सम्भवत: शत्रुलाई गाली गर्दा पनि त्यस्ता शब्द प्रयोग गरिँदैन होला । म घोषणा गर्न चाहन्छु– आज हामीले माधव नेपालको नेतृत्वमा महाधिवेशनमा प्रतिस्पर्धा गर्ने पार्टी संस्थापन पक्षको जुन टिम बनाउँदैछौँ, जस्तासुकै कठिन प्रतिस्पर्धामा पनि हाम्रो तर्फबाट पार्टीका कुनै पनि शीर्ष नेतालाई गालीगलौज र अपमानित गर्ने छैनौँ । कम्तीमा त्यो संस्कृति हामी दिन चाहन्छौँ । हामी सबैलाई थाहा छ– असार २५ गतेपछि यस्ता अलग–अलग भेला हुने छैनन् । त्यो बेला एउटै भेला हुन्छ, त्यसमा हामी सबै बस्नुपर्ने हुन्छ । असार २५ पछि सँगै बस्नु नपर्ने ढंगले आज जुन तहमा गालीगलौजका भाषा प्रयोग हुँदैछन्, त्यसप्रति हाम्रो खेद छ ।
यो पार्टी नेपालको लोकतान्त्रिक आन्दोलनको मात्र होइन, नेपालको गणतान्त्रिक आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक चुनौतीका बीचमा छ । हिजो उग्रवामपन्थीहरूले अलमल्याएको ठूलो जमात आज यताउता गइरहेको छ । ती सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्ने र यो देशमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने काम नवौँ महाधिवेशनबाट गर्दैछौँ । त्यो काम माधव नेपालको अध्यक्षतामा हामी सम्पन्न गर्नेछौँ । हामी एमालेका सदस्यहरूले बोकेको यो ऐतिहासिक दायित्व कोबाट सम्भव होला भन्ने कुरा हामीले ख्याल गर्नुपर्छ ।
कसले कति वर्ष पार्टीको प्रमुख चलायो, को कति वर्ष कुन पदमा बस्यो भन्ने कुराको हिसाब–किताबको अहिले खुबै प्रचार भइरहेको छ । हामीलाई यसो भन्नुमा कुनै अप्ठेरो छैन– २०५० जेठ महिनादेखि माधव नेपाल यो पार्टीको महासचिव बन्नुभएको हो । जतिबेला तत्कालीन महासचिव मदन भण्डारीको दु:खद् निधन भएको थियो । त्यो बेला पार्टीलाई शोकबाट शक्तिमा बदल्नका निम्ति र एमालेको वरपर गोलबन्द भएका कम्युनिस्टलाई छिन्नभिन्न हुन नदिनका निम्ति उहाँलाई हामी सबैले महासचिवका रूपमा सहयोग गरेका हौँ । त्यस पछाडिका कुनै पनि महाधिवेशनहरू नेतृत्वका हिसाबले सर्वसम्मत् भएका छैनन् । छैटाँै महाधिवेशन, जो पार्टी विभाजन भएर सम्पन्न भएको थियो, त्यो महाधिवेशनमा दुईटा विचार आएका थिए । एउटा विचारको प्रतिनिधित्व माधव नेपालले गर्नुभएको थियो भने अर्को विचारको वामदेव गौतमले । लुकाउनुपर्ने कुनै कुरा छैन, त्यसबेला म पनि वामदेव गौतमसँग थिएँ । त्यो महाधिवेशनमा हामीले वामदेव गौतमको अगुवाइमा जे विचार प्रस्तुत गरेका थियौँ, त्यो विचारलाई महाधिवेशनको हलले बहुमत दिएको भए त्यसबेला वामदेव गौतम नै महासचिव बन्नुहुन्थ्यो । संयोग भनौँ, माधव नेपालको अगुवाइको विचारमा बहुमत रह्यो, उहाँ महासचिव हुनुभयो । साताँै महाधिवेशनमा एउटा विचारको नेतृत्व माधव नेपालले गर्नुभयो, अर्को विचारको नेतृत्व केपी ओलीले । दुवै विचार महाधिवेशनको हलमा प्रस्तुत भए र माधव नेपालको विचार अनुमोदन भयो । स्वाभाविक थियो, त्यसपछि उहाँ महासचिव हुनुभयो । केपी ओलीको विचार अनुमोदन भएको भए उहाँ नै महासचिव बन्नुहुने थियो । त्यो बेला सायद केपी ओलीले माधव नेपाललाई दया गरेर महासचिव हुनुहोस् भन्नु हुन्थेन होला । महाधिवेशनमा आफ्ना विचार अनुमोदित भएरै माधव नेपाल महासचिव बन्नुभएको हो । सर्वसम्मत् तरिकाले उहाँलाई महासचिव चुनेको ०५० जेठमा मात्र हो । छैटौँ र सातौँ महाधिवेशनमा अरू कोही प्रतिस्पर्धी थिएनन्, सबै नेता मिलेर महासचिव पद किस्तीमा राखेर माधव नेपाललाई चढाइएको हो भन्ने जसरी आज जुन ढंगले प्रचार गरिँदैछ, यो गलत छ । कसैले किस्तीमा राखेर माधव नेपाललाई महासचिव पद सुम्पेको थिएन । प्रतिस्पर्धा भएकै हो, नसकेपछि छाडेको मात्र हो ।
हिजो एकातिर एनेकपा माओवादी र अर्कातिर एमाले–कांग्रेसबीच १२ बुँदे सहमति भएर शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो । उग्रवामपन्थी माओवादीलाई शान्ति प्रक्रियाको यो ठाउँसम्म ल्याउनका निम्ति संसदवादी पार्टीका तर्फबाट नेतृत्वदायी भूमिका खेल्ने प्रमुख दुई शीर्ष नेता माधव नेपाल र गिरिजाप्रसाद कोइराला हुनुहुन्छ । गिरिजाप्रसाद कोइराला आज छैनन् । एकातिर प्रचण्ड हुनुहुन्छ अर्कातिर शान्ति प्रक्रियाका लागि माओवादी नेताहरूसँग अन्तरकुन्तरमा वार्ता गर्ने जीवित नेता माधव नेपाल मात्र हुनुहुन्छ । यो शान्ति प्रक्रिया अझै टुंगिएको छैन । शान्ति प्रक्रियाबाट माओवादीलाई भाग्न नदिनका निम्ति, माओवादीको उग्रवादलाई फेरि पनि नेपाली समाजमा स्थापित हुन नदिनका निम्ति र एमाओवादीलाई टुप्पी समाएर संसद्भित्र राख्नका निम्ति यदि कसैले भूमिका खेल्न सक्छ भने एमालेले नै सक्छ । एमालेभित्र पनि माधव नेपालले नै सक्नुहुन्छ ।
यतिबेला हामी नयाँ संविधान निर्माणको चरणमा छौँ । ०४७ को संविधान हाम्रै नेतृत्वमा बनेको हो । यद्यपि, हाम्रा २७ बुँदे असहमति थिए । त्यो संविधान बनाउनका निम्ति हाम्रो पार्टीका तर्फबाट संविधान निर्माण आयोगमा माधव नेपालले नेतृत्व गर्नुभएको थियो । दुर्भाग्यवश त्यो संविधानले धेरै वर्ष काम गर्न सकेन, त्यो बेग्लै कुरा हो । तर, हामीले ०४६ को जनआन्दोलनलाई सही ढंगले त्यहाँ स्थापित गरेका थियौँ । त्यसको अगुवाइ माधव नेपालले गर्नुभएको थियो । आज संविधान बनाउने अन्तिम बिन्दुमा हामी प्रस्तुत भइरहँदा एमालेका तर्फबाट उत्तेजनात्मक र निराशाजनक अभिव्यक्ति वा कुनै विचारसँग आत्मसमर्पणवादी चिन्तनले होइन, एमालेको सन्तुलित भूमिकाले मात्र संविधान निर्माण सम्भव हुन्छ । संविधानसभाका कुनै पनि पार्टीको दुई तिहाइ बहुमत छैन । एमालेको सहमतिले मात्र यो संविधान बन्छ । तसर्थ, यो संविधान बनाउनका निम्ति एमालेका तर्फबाट सन्तुलित भूमिका माधव नेपालले नै प्रदर्शन गर्न सक्नुहुन्छ ।
आज माधव नेपालको दायाँ–बायाँ, अगाडि–पछाडि भविष्य भएका युवाहरूको ताँती छ । हाम्रो पार्टीमा लामो विगत र छोटो भविष्य भएको एउटा पंक्ति छ भने अर्को पंक्ति छोटो विगत र लामो भविष्य भएकाहरूको छ । आज हामी जो युवा साथीहरू माधव नेपाललाई यो टिमको नेताका रूपमा स्थापित गर्न खोजिरहेका छौँ, हामीले भनेका छौँ– हाम्रो पार्टीमा ०२७/२८ सालको झापा संघर्षबाट पुनर्गठित हुँदै आएको पार्टीको जुन नेतृत्व छ, खासगरी पार्टी अध्यक्ष झलनाथ खनाल, माधव नेपाल, केपी ओली, वामदेव गौतम, उहाँहरू समकालीन नेताका रूपमा हुनुहुन्छ । त्यसकारण हामीले माधव नेपाललाई भनेका छाँै– तपार्इंहरूको प्रशिक्षणबाट यो पार्टी चलाउन सक्ने मेचीदेखि महाकालीसम्म ठूलो जमात निर्माण भएको छ । ती युवालाई विश्वास गरेर तपार्इंहरूले पार्टीको सक्रिय नेतृत्वबाट अवकाश लिनुपर्छ । सल्लाहकारका रूपमा अभिभावकको भूमिकामा बस्नुपर्छ । माधव नेपालले यो प्रस्ताव स्वीकार्नुभएको छ । उहाँलाई त्यो पुस्ताको नेतृत्वको हिसाबले अन्तिम नेताका रूपमा हामीले अगाडि सारेका छौँ ।
हामी सुनिरहेका छाँै– २० वर्षको पालो लगाइएको छ । पालैपालो केपी ओली, वामदेव, विद्या भण्डारी, ईश्वर पोखरेल, विष्णुु पौडेल हुने † हामी चाहिँ के यो पार्टीका गोठाला मात्र हुने ? नयाँ पंक्ति के हुने ? किम इल सुङले जस्तै नातिसम्म हस्तान्तरण गर्दै जाने पार्टी बनाउन खोजेको हो हामीले ? कि स्टालिनले जस्तो आफ्नै समकर्मीको भौतिक सफाया गर्ने पार्टी बनाउन खोजेको हो ? होइन, हामी त्यस्तो पार्टीको पक्षमा छैनौँ । हामी जनताको बहुदलीय जनवादलाई आजको सन्दर्भमा सिर्जनात्मक ढंगले स्थापित गरेर समाजलाई समाजवादमा लैजाने आधार तयार गर्न चाहन्छौँ ।
कस्तो पार्टी बनाउने भन्ने चुनौती आज हाम्रासामु खडा छ । यो चुनौती सामना गर्न कोही पनि खुट्टा नकमाई उभिनुपर्छ । उतापट्टि त मोटामोटा मान्छे छन् तपार्इंहरूतिर त दुब्ला दुब्ला छन् नि ? भनेर मलाई धेरैले सोधेका छन् । मैले भन्ने गरेको छु– डोरी तान्ने खेलमा जतापट्टि भँुडीवालहरू जम्मा हुन्छन्, तिनीहरू ढल्छन् । हामी तान्छौँ नेकपा (एमाले)को डोरी । र, सबैलाई समेटेर एमालेलाई एकताबद्ध पार्टी बनाउन चाहन्छौँ ।
यहाँ धम्की दिइँदैछ । मन्त्रीकोमा कुनै कर्मचारीको सरुवाको काम लिएर गयो भने महाधिवेशनमा केपी ओलीलाई भोट दिने हो भने काम हुन्छ होइन भने हुँदैन भन्ने गरिएको छ । हाम्रा साथीहरूले भन्ने गर्नुभएको छ– हाल्दैनाँै, हामीलाई त्यस्तो सरुवा चाहिएको छैन । माओवादीले ०६४ को चुनावमा मतदातालाई धम्क्याएर चुनाव जितेको थियो, आज उनीहरूको हालत कहाँ पुगेको छ । एमालेभित्र पनि जनमतलाई कब्जा गर्न खोजिँदैछ । हामी जनमत कब्जा हुन दिँदैनौँ ।
(युवा नेता भट्टराईले आइतबार एमालेका पूर्वाञ्चल क्षेत्रका कार्यकर्ताबीच राजधानीमा व्यक्त विचारको सम्पादित अंश)
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply