संंस्करणको आतंक
विवश वस्ती
कुनै समय, कुनै पुस्तक एक हजार प्रति छापियो भने त्यसको अर्को संस्करण निस्कन वर्षौं कुर्नुपर्ने बाध्यता थियो । पाठ्यपुस्तकमा राखिएका बाहेक अन्य उम्दा कृतिहरूमा दोस्रो संस्करण लेखिन वर्षौंको प्रतीक्षा चाहिन्थ्यो । सरकारी तवरका नेपाल प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशन र निजी क्षेत्रका रत्न पुस्तक भण्डारजस्ता प्रकाशन–संस्थाहरूले आम पाठकको अभिरुचिमा दरिएका पुस्तक हजार प्रति कटाउन कम्तीमा पनि एक वर्ष समयावधि पर्खनै पथ्र्यो । पठन–संस्कृतिको राम्रो विकास नभइसकेको पूर्ववर्ती कालमा दोस्रो संस्करणको खुट्किला उक्लिन धेरै राम्रा कृतिहरूलाई समेत हम्महम्मे नै पर्दथ्यो । तथापि, पुरस्कारको ट्याग लागेका पुस्तकहरू भने अपेक्षाकृत रूपमा बिक्री हुन्थ्यो र अरू पुस्तक जस्ता अर्को संस्करणका लागि वर्षौं–वर्ष कुर्नुपर्ने स्थिति थिएन ।
परिस्थिति बदलिएको छ अहिले । पठन–संस्कृतिको तीव्र विकाससँगै राम्रो प्रचारबाजी गरिएका पुस्तकहरूले छोटै अवधिमा ‘दोस्रो संस्करण’को भर्याङ चढ्ने परिस्थिति जन्मिएको छ । केही दिनअघिको एउटा प्रसंग उल्लेख गरिनु सान्दर्भिक होला । कथाकार दिलीप शाहको नवीनतम कथाकृति ‘बघिनी’को विमोचन समारोहमा उक्त कृतिको दोस्रो संस्करण बिक्री गरियो । तीन महिनाअघि नै प्रकाशित उक्त कृतिको पहिलो संस्करण सकिएको हवाला प्रकाशन संस्था याम्बुरी बुक प्वाइन्टका कुयाङ लामाले दिँदा बेग्लै तरंग उब्जिएको थियो । के यति छोटै अवधिमा दोस्रो संस्करण निस्किएको हो त ? वा, प्रकाशकले यथार्थलाई लुकाएर केवल प्रचारबाजीको मात्र सहारा लिइएको हो ? सन्देह उठ्नु स्वाभाविक थियो । र, समालोचक डा.राजेन्द्र सुवेदीले त सन्देह व्यक्त गरिहाले– ‘एक हजार वा दुई हजार प्रति छापिएको हो भने यो पुस्तकको दोस्रो संस्करण निस्किएको हुनसक्छ । तर, त्यसभन्दा बढी निस्किएको भए बेग्लै कुरा हो । म एक जना पुस्तक व्यवसायी पनि भएको हुँदा पुस्तक बिक्रीको अवस्था के छ र पठन–संस्कृतिको कस्तो विकास भइरहेको छ भन्ने मलाई राम्ररी थाहा छ ।’
तर, पछिल्लो समयमा निजी क्षेत्रका प्रकाशकहरूले यथार्थ पक्ष पस्किनुभन्दा पनि बठ्याइँको बाटो अपनाएर पुस्तक बिक्रीमा छलाङ मार्ने सोच बनाएको चाहिँ स्पष्ट हुन्छ । केही वर्षयता नेपाली प्रकाशन क्षेत्रमा देखिएको व्यापक प्रतिस्पर्धाका कारण पनि प्रकाशकहरूले कुन शैली र तौरतरिका अपनाउँदा बिक्रीमा तात्विक प्रभाव पर्दछ भन्ने कुरा राम्ररी ठम्याइसकेका छन् । कुनै पनि पुरस्कृत पुस्तकको बाहिरी आवरणमा ‘फलानो पुरस्कारद्वारा पुरस्कृत कृति’ लेखिनु सामान्य कुरा मानिए पनि एउटा असामान्य तरिका भने प्रकाशकहरूले अपनाउन थालेका छन्, त्यो हो– पुस्तकको आवरणमा संस्करणको स्टिकर टाँसिनु । यस्तो कार्यले केही पाठकलाई मूर्ख त बनाउन सकिएला तर आम पाठकले भने प्रकाशकको बठ्याइँको रूपमा अथ्र्याउन कन्जुस्याइँ नगर्लान् सायद ।
बिक्री बढाउनका लागि केही प्रकाशकले बठ्याइँपूर्ण कार्य गरे पनि केही प्रकाशकहरूले भने चाहिँ नेपाली पाठकहरूको मनोविज्ञान बुझेर त्यस्तै विषयवस्तुका पुस्तकहरू प्रकाशन गरी पाठकको स्नेह बटुल्न सफल भएका पनि छन् । मूलत: त्यस्ता प्रकाशकहरूले पाठकको मनोविज्ञान छाम्दै, बजारको आवश्यकताबोध गरी पुस्तक छनोटमा ध्यान दिने गरेका कारण पनि हजारौं संख्या कटाउन सफल भएकोमा सन्देह गर्ने ठाउँ छैन । बजार–रणनीति बुझेका प्रकाशकहरू नेपाली निजी प्रकाशन क्षेत्रमा भित्रिएका कारण पनि बिक्रीको सवालमा उनीहरूको दाबीप्रति विश्वास गर्न सकिने प्रशस्तै आधारहरू छन् ।
केही वर्षअघिसम्म निजी प्रकाशन संस्थाहरूको दरिद्रपन कायमै थियो । प्रायजसो प्रकाशन संस्थाहरूले लेखकहरूसितै रकम असुलेर प्रकाशन गर्दथे । लेखकको गोजी रित्याएर प्रकाशक भएको गर्व गर्ने प्रचलन विस्तारै हट्दै गयो र त्यसपछि लेखक र प्रकाशन संस्थाले लगानीमा ‘फिप्टी–फिप्टी’को अवधारणा ल्याए । यद्यपि, अहिले पनि नयाँ लेखकहरूका लागि केही प्रकाशन संस्थाहरूले यही अवधारणालाई नै पछ्याउन बाध्य तुल्याएका छन् । त्यसो त, कतिपय स्थापित प्रकाशन संस्थाहरूले त ‘लोगो’ बेच्ने दरिद्र कार्य पनि नगरेका होइनन् । लामो इतिहास बनाएका एकाध त्यस्ता प्रकाशन संस्थाले आफ्नो लोगो दिने र लेखकहरूसित पैसा असुल्ने कार्य पनि गरे र त्यो क्रम अझै चालू छ भन्ने हल्ला प्रकाशन क्षेत्रमा कहिलेकाहीँ सुनिनु आश्चर्यको कुरा होइन ।
यस्ता छिटपुट विसंगत पक्षहरूले नेपाली प्रकाशन क्षेत्र ढाकिए पनि व्यावसायिक र जिम्मेवार रूपले प्रकाशन क्षेत्रमा पाइला टेकेका केही स्थापित प्रकाशन संस्थाहरूले भने लेखकहरूलाई अग्रिम रूपमै पारिश्रमिक दिने र उत्कृष्ट कृति प्रकाशन गर्ने चाँजोपाँजोमा आफूलाई अग्रसर तुल्याउन थालेका छन् । यो निजी प्रकाशन संस्थाहरूको अत्यन्तै सह्रानीय र राम्रो प्रस्तुति हो । र, जिम्मेवार प्रकाशन संस्थाहरूले लेखकप्रति सदासयता देखाउने यस्तो क्रममा बढोत्तरी हुँदै जाने हो भने ‘लेखेर पनि बाँच्न सकिन्छ र ?’ भन्ने आशंका विस्तारै अन्त्य हुँदै जाने निश्चित देखिन्छ । कुनै बेला, निबन्धकार शंकर लामिछानेले नेपालमा लेखेर बाँच्न नसकिने तीतो यथार्थ पोखेका थिए । लामिछानेको अभिव्यक्तिको खण्डन हुने दिन नआउला भन्न सकिन्न । र, लेखकहरूको जीवनवृत्ति आफ्ने कृतिहरूले धानिने सम्भावनाको द्वार क्रमश: खुल्दै गएको पुष्टि हुन्छ ।
तसर्थ, संस्करणको आतंक फैलाएर पाठकहरूलाई मूर्ख बनाउने र यथार्थलाई छिपाउने प्रवृत्तिबाट भने नेपाली प्रकाशकहरू सर्वथा मुक्त हुनु अनिवार्य देखिन्छ । अनावश्यक प्रचारबाजीले प्रकाशकहरूलाई क्षणिक रूपमा फाइदा त पुग्ला । तर, त्यसले भर्खरै समृद्ध बन्दै गइरहेको नेपाली प्रकाशन क्षेत्रलाई अझ समृद्ध तुल्याउने होइन, धराशायी बनाउने खतरा पनि उत्तिकै देखिन्छ । त्यसैले, प्रकाशकहरूको गहन र सुझबुझपूर्ण कार्य एवम् जिम्मेवारीबोधबाट नै क्रमश: विकासको खुट्किला उक्लिँदै गरेको निजी क्षेत्रको प्रकाशन संस्थाहरू उँभो लाग्ने आधारबिन्दुहरू फेला पर्नेमा सन्देह नराखे हुन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply