नेतृत्व हस्तान्तरणको बहस
देशको दोस्रो ठूलो राजनीतिक दल नेकपा (एमाले)को नवौं महाधिवेशन असार १९–२५ मा काठमाडांैमा सम्पन्न हुादैछ । निश्चय पनि एमालेको आगामी महाधिवेशनले कस्तो विचार पारित गर्नेछ र कसलाई नेता छान्नेछ भन्ने कुरा धेरैका लागि चासो र महत्त्वको विषय बनिरहेको छ । कस्तो विचार पारित गर्ने छ भन्ने कुरा चाहिँ करिब–करिब धेरैले अनुमान गर्न थाली पनि सकेका छन् अथवा अनुमान गर्न सक्ने अवस्था बनी पनि सकेको छ । तर, नेता को बन्लान् भन्ने कुरा धेरैका लागि अन्योलकै विषय हुन सक्छ ।
सिद्धान्तत: कम्युनिस्ट मान्यता र परम्परामा आधारित भएर कुरा गर्ने हो भने नवौं महाधिवेशनबाट एमालेको नेता को बन्ने भन्ने कुरा पनि टुंगिसकेको छ भन्दा फरक पर्दैन किनकि कम्युनिस्ट मान्यता र परम्पराले जसको विचार उसैको नेतृत्व बन्नुपर्छ भन्दछ र एमालेको नवौं महाधिवेशनबाट माधव नेपाल–झलनाथ खनाल समूहले अघि सारेको विचार पारित हुने निश्चित जस्तै भइसकेको छ र यस समूहले माधव नेपाललाई नै नेताको रूपमा अघि सारेको छ । माधव नेपाल–झलनाथ खनाल समूहले अघि सारेको विचार यस कारणले पारित हुने निश्चित जस्तै छ, उनीहरूको भन्दा फरक विचार राख्दै आएको केपी ओली समूहले आफ्ना फरक विचारलाई महाधिवेशनमा लिएर नजाने छाँटकाँट देखाइसकेको छ, प्रतिवेदन मस्यौदा समिति र केन्द्रीय कमिटीको बैठकमा त फरक विचार हापी नै सकेको छ ।
हो, कहिलेकाहीँ आरम्भमा फरक विचार बोक्ने नेतालाई पनि पछि पार्टीको नेतृत्व सुम्पन सकिएला अथवा त्यस्तो समय पनि आउला तर त्यस्तो नेताले कम्तीमा पनि पारित विचारलाई आत्मसात् गर्न र बोक्न तयार हुनुपर्छ र ऊ तुलनात्मक रूपमा अरूभन्दा योग्य, सक्षम, इमानदार, सक्रिय, क्रान्तिकारी भावना आदि भएको हुनुपर्दछ । विचारको विषयमा केपी ओलीले के भन्नुहोला थाहा हुँदै जाला तर ‘माधव नेपालभन्दा योग्य, सक्षम, इमानदार, सक्रिय, क्रान्तिकारी भावना भएको छु’ भन्ने दाबी गरेर मान्छे हँसाउने काम अहिलेसम्म गर्नुभएको छैन । त्यसैले अथवा यस कोणबाट पनि केपी ओलीलाई नेता बनाउने कुराको औचित्य पुष्टि हुँदैन ।
कम्युनिस्ट मान्यता र परम्परा जेसुकै भए पनि केपी ओलीले एमालेको आसन्न महाधिवेशनबाट पार्टी प्रमुख हुने मोह त्याग्नुभएको छैन भलै कुनै पनि खटाउ र बोझिलो जिम्मेवारी लिन उहाँको स्वास्थ्यले अनुमति नदिइरहेको किन नहोस् । सामान्यत: केपी ओलीले एमालेको प्रमुख हुने रहर राख्न पाउनुहुन्छ र औचित्य पुष्टि भयो भने उहाँ एमाले प्रमुख बन्नु पनि हुनेछ । तर, यतिबेला उहाँले आफू अध्यक्ष हुनका लागि जे तर्क सार्दै र विषय उठान गर्दै हुनुहुन्छ तिनीहरूमा खासै दम देखिँदैन । उहाँले सार्नुभएको तर्क र विषय मूलत: दुईवटा छन्, एक, आफूले अहिलेसम्म पार्टी प्रमुख हुने मौका नपाएकाले पाउनुपर्ने, दुई, नेतृत्व हस्तान्तरण हुनुपर्ने । उहाँका यी दुई तर्क एउटै सिक्काका दुई पाटा हुन्, पहिलो तर्कले सोझै आफूले पार्टी प्रमुख पाउनुपर्ने दाबी गर्छ भने दोस्रोले आफ्नो प्रतिद्वन्द्वितामा अघि सरेको, सारिएको माधव नेपाललाई कमजोर पारेर र नेतृत्व आफूमा ल्याउने कोसिस गर्दछ ।
अब यी दुई तर्कमा थोरै बहस गरौं :
वास्तवमा नेतृत्व हस्तान्तरण के हो ? एक नेताको हातबाट अर्को नेताको हातमा नेतृत्व जानु अथवा एकै पुस्ताका नेतामा नेतृत्व सर्नुलाई नेतृत्व हस्तान्तरण हो भनेर मान्ने हो भने त्यो त धेरै पटक भइसकेको छ र नवौं महाधिवेशनबाट पनि हुने निश्चित जस्तै छ । जस्तो, सीपी मैनालीबाट झलनाथ खनालमा, झलनाथ खनालबाट मदन भण्डारीमा, मदन भण्डारीपछि मनमोहन, मदन भण्डारीमा, त्यसपछि मनमोहन, माधव नेपालमा, त्यसपछि माधव नेपालमा, माधव नेपालपछि झलनाथ खनालमा नेतृत्व हस्तान्तरण भइसकेको छ र अब नवौं महाधिवेशनमा झलनाथ खनालले माधव नेपाललाई अघि सारेको हुनाले फेरि भलनाथ खनालबाट अरूमा नेतृत्व हस्तान्तरण हुने निश्चित जस्तै छ । यस्तो खालको नेतृत्व हस्तान्तरण रूपमा भए पनि सारमा होइन । त्यसैले झलनाथ खनालबाट केपी ओलीमा वा माधव नेपालमा नेतृत्व जानु सही अर्थमा नेतृत्व हस्तान्तरण होइन ।
खासमा एक पुस्ताबाट अर्को पुस्तामा नेतृत्व जाने कुरा नै सारमा नेतृत्व हस्तान्तरण हो । यसमा पनि पुरानोबाट नयाँ पुस्तामा नेतृत्व जाने कुरा स्वाभाविक र सुल्टो हस्तान्तरण हो भने नयाँबाट पुरानो पुस्तामा नेतृत्व जाने कुरा अस्वाभाविक र उल्टो हस्तान्तरण हो ।
केपी ओलीले साँचो अर्थको नेतृत्व हस्तान्तरण चाहनुभएको भए नयाँ पुस्तालाई नेतृत्व दिऔं किन भनिरहेको छैन, माधव नेपालले स्पष्ट शब्दमा र लिखित वक्तव्यमा नयाँ पुस्तालाई नेतृत्व दिने कुरामा म तयार छु भन्नुभएको छ, यही कुरा केपी ओलीले किन भन्नुहुन्न ? अझ आफूपछि आफूभन्दा बढी उमेरका वामदेव गौतममा र त्यसपछि करिब आफ्नै पुस्ताका र पालो आउँदा झन् बढी उमेरका भइसक्ने ईश्वर पोखरेलमा नेतृत्व जाने सम्झौता किन गर्नुभएको ?
उक्त तर्क र छलफलको आधारमा सहजै भन्न सकिन्छ, केपी ओली पार्टीमा वास्तविक खालको नेतृत्व हस्तान्तरण चाहनुहुन्न, आफू र आफनो गुटका मानिसहरूमा नेतृत्व आउने हस्तान्तरण चाहनुहुन्छ र यसै उद्देश्यमा सहयोग होस् भनेर नेतृत्व हस्तान्तरणका निरर्थक नारा अघि सारी राख्नुभएको छ ।
जहाँसम्म पार्टी प्रमुख हुने मौका अहिलेसम्म पाइनँ, त्यसैले मैले मौका पाउनुपर्छ भन्ने तर्क छ यो झन् बेठीक छ । एक त कसैलाई, सबैलाई नेता बनाउने उद्देश्यले कम्युनिस्ट पार्टी जन्मिएको होइन, त्यसैले कम्युनिस्ट पार्टीमा पालोको आधारमा नेता हुन पाइँदैन, विचार, योग्यता, इमानदारिता, सक्रियता आदिका आधारमा मात्र नेता हुन पाइन्छ, दोस्रो यस्ता गुण भएका मध्ये पनि सबैले नेता हुन सक्दैन, तेस्रो र महत्त्वपूर्ण कुरा अन्य उपयुक्त कारण र तर्कबिना मौकाको माग गर्नु अवसरवाद र पदलोलुपता हो, गैर कम्युनिस्ट चिन्तन हो ।
हो, सामान्यत: केपी ओलीजत्तिका नेताको अगाडि पार्टी प्रमुख बन्ने पालो आउनुपर्ने हो तर पालो किन आएन यो गम्भीर समीक्षाको विषय हो । यसरी पालो नआउनुमा अथवा पालो आएर पनि सदुपयोग गर्न नसक्नुमा आफ्ना पनि केही कमजोरीहरू पो छन् कि भनेर पनि कमरेड केपीले सोच्नु जरुरी छ । यस विषयमा उहाँले र उहाँका निकटस्थ र समकालीन सहयोद्धाहरूले धेरै कुरा भन्न सक्लान् तर सामान्य मानिस र कार्यकर्ताले समेत थाहा पाउने गरी उहाँले केही मौका गुमाउनुभएको छ । जस्तै, आठौं महाधिवेशनको हलमा माधव नेपाललाई उहाँले तीतो गाली नगरेको भए उहाँको जित हुने सम्भावना बढी थियो । तत्कालीन राजा ज्ञानेन्द्रको विरुद्धको आन्दोलनको बेला आन्दोलनको विपक्षमा नबोलेको भए, आन्दोलनमा निष्क्रिय नबसेको भए, तुलसी गिरीलाई भेट्ने कुरा अनुचित होइन भनेर कुतर्क गरी गोप्यमा भएको भेटबारे सबैलाई थाहा दिने काम नगरेको भए संविधानसभाको चुनावमा पार्टीले खराब नतिजा प्राप्त गरेपछि माधव नेपालले पार्टी प्रमुख छाड्दा सम्भवत: केपी ओलीलाई कार्यबाहक प्रमुख बनाइने थियो, नेताहरू बीचका पुराना सम्बन्ध, विभिन्न राजनीतिक घटना क्रममा को कता उभिएका थिए भन्ने तथ्यहरू, पार्टीभित्रको प्रभाव आदि सबैले यस्तै सम्भावना देखाउँछ, तर आन्दोलन विरोधमा बोल्नेलाई आन्दोलनका सफलताको केही समयमा नै पार्टी प्रमुख बनाउँदा गलत सन्देश जाने खतरा आदि कारणले केपी ओलीलाई कार्यबाहक पार्टी प्रमुख बनाउने स्थिति बनेन, यदि उहाँ कार्यबाहक प्रमुख बन्नुभएको भए पनि आठौं महाधिवेशनको नतिजा अर्कै हुने सम्भावना थियो ।
यो नवौं महाधिवेशनमा केपी ओली सर्वसम्मत पार्टी प्रमुख हुने सम्भावना एक समयमा देखिएको थियो । खासगरी झलनाथ खनालले प्रमबाट राजीनामा दिन बाध्य हुनुभएपछि उहाँको आलोचना सुरु भयो, कम्तीमा पनि आगामी महाधिवेशनपछि उहाँको विकल्प खोज्नुपर्छ भन्ने धारणा प्रबल बन्दै गयो, स्वयम् झलनाथ खनाल आफैंले पनि फेरि दोहोर्याएर पार्टी प्रमुख हुने इच्छा देखाउनुभएको थिएन । त्यसबेला र पछिल्लो समयसम्म पनि माधव नेपालले पार्टी प्रमुखमा फर्किने कुनै सोच बनाउनुभएको थिएन । यही अवस्था कायम रहेको भए केपी ओली नवौं महाधिवेशनबाट सर्वसम्मतिले पार्टी प्रमुख हुने निश्चित थियो । तर, उहाँले नै माधव नेपाल, झलनाथ खनाल र अन्य कमरेडहरूलाई चिढ्याउनुभयो अनेक ढंगले केपी ओली अध्यक्ष बन्दा पार्टी चल्दैन भन्ने ठाउँमा पुर्याउनुभयो । सम्भवत: सातौं महाधिवेशनमा पनि उहाँको पार्टी प्रमुख बन्ने मौका आउन सक्थ्यो होला । उहाँको दाबी अनुसार छैटौं महाधिवेशनपछिको नेतृत्वमा उहाँको भारी बहुमत थियो, बहुमत त कतै परीक्षण भएन तर पनि उहाँलाई माया गर्नेहरूको राम्रो उपस्थिति थियो । तर, सातौं महाधिवेशनसम्म पुग्दा स्थायी कमिटीमा एक्लै र केन्द्रीय कमिटीमा केही सदस्य मात्र आफ्नो पक्षमा हुने स्थिति बनाउनुभयो । आफ्नै बोली र व्यवहारले । यदि सातौं महाधिवेशनमा ठूलै संख्या उहाँको पक्षमा भएको भए माधव नेपालको स्वभाव अनुसार उहाँलाई पार्टी प्रमुख बनाउन तयार हुनुहुन्थ्यो होला । खासमा उहाँको छुद्र बोली, संकीर्ण, पूर्वाग्रही, रुखो व्यवहारका कारण उहाँले या त मौका आउने स्थिति नै बनाउनुभएको छैन या आएको मौकालाई गुमाउनुभएको छ ।
केपी ओलीलाई अब नेतृत्वको मौका दिँदा के होला भन्ने कोणबाट पनि छलफल गर्न सकिएला । पहिलो कुरा त, पार्टी प्रमुख हुन अब उहाँको स्वास्थ्यले पनि साथ दिँदैन, दौडधुप गर्ने त कुरै छाडौं केही मिनेट, घन्टा बैठकमा बस्न सक्ने अवस्थासमेत उहाँको छैन । थप कुरा गर्ने हो भने, उहाँको बोली, व्यवहारमा अझै पनि सुधार नआएकाले पार्टी राम्रोसँग चल्न सक्दैन, पार्टीमा न्यायपूर्ण जिम्मेवारी बाँडफाँटको अवस्था हुँदैन, पार्टीभित्र प्रवेश गरिरहेको विकृति, विसंगतिलाई उहाँ केही होइन भन्ने ठाउँमा हुनुभएकाले उहाँ नेता हुनुभयो भने पार्टीभित्र विकृति, विसंगति झन् बढ्नेछ, संस्थागत हुनेछ । निष्कर्षमा उहाँ र पार्टीको हितका लागि उहाँलाई पार्टी प्रमुख बनाउन उचित हुनेछैन ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply