जताततै छन् गोरेबहादुर
नेपाली राजनीतिक परिदृश्यमा गोरेबहादुर खपांगी पुछ्रेताराझैं उदाए । सत्य के हो भने, पुछ्रेताराले क्षणिक चमक, चमत्कार र चहलपहल मात्रै गर्दछ । लामो र दीर्घकालीन प्रभाव–हेतु पुछ्रेताराको उदय भएको हुँदैन । सिंगो ब्रम्हाण्डमा स्थापित सत्य हो यो । अहिले गोरेबहादुर खपांगी राजनीतिक दृश्यपटबाट पूरै ओझेलमा छन् । कुनै बेला, वाम राजनीतिमा तदारुकता देखाउनेहरूका निम्ति एउटा प्रतीक–पुरुषका रूपमा स्थापित खपांगी राजनीतिक मैदानमा पछिल्लो अवधिमा यति नमज्जाले च्यूत भए कि, पञ्चायती व्यवस्थाले झुकाउन नसकेको उनको शिर दरबार हत्याकाण्डपछि प्रारम्भ भएको प्रतिगमनले ठाडै झुकाइदियो ।
तिनै खपांगी र बठ्याइँबीच सहोदर नाता पर्दथ्यो सायद । महोत्तरी जिल्लाको हात्तीलेटका बासिन्दा खपांगी तीसको दशकमा रामेछापस्थित गौरीशंकर हाइस्कुलका हेडमास्टर थिए । यातायातको सुविधा थिएन, त्यतिबेला । तराईको उपल्लो भाग हात्तीलेटबाट रामेछापसम्म पुग्न निकै कष्टप्रद यात्रा गर्नुपर्दथ्यो । बाइस जंघार तरेर सिन्धुली सदरमुकाम पुगेपछि उकाली–ओराली गर्दै दुई दिनको बसाइपछि रामेछाप डाँडामा पुगिन्थ्यो । त्यही डाँडाको पनि डाँडैमा थियो, स्कुल । रामेछाप जाँदा बाटोमा सिउरानी फेदी थियो । एक पटक रामेछाप जाने क्रममा उनले सिउरानी फेदीमा खाना खाने विचार सँगालेछन् । उनले होटलकी साहुनीलाई सोधेछन्–‘भात खाएको कति लाग्छ ?’ साहुनीले कुनै अंक तोकेर बताइदिइछन् । खपांगीले पुन: सोधेछन्–‘दाल खाएको नि ?’ सोझो मनक साहुनीले दाल खाएको पैसा नलाग्ने बताइछन् । बाठा खपांगीले दुई तीन बटुको दाल पिएछन् । र, साहुनीलाई पैसा दिनुको साटो धन्यवाद दिएर बाटो लाग्न चाहेछन् । त्यही बेला, साहुनीले पैसा माग्दा उनले साहुनीकै पूर्वभनाइ उप्काउँदै ‘दालको त पैसा नलाग्ने भन्नुभएको होइन ?’ भनेर उल्टै प्रश्न गरेछन् । साहुनी नाजवाफ भइछन् । किनकि, आफूले दालको पैसा नलाग्ने कुरा तिनै खपांगीलाई दाल पिउनुअघि सगर्व बताएकी थिइन् ।
अरूलाई मूर्ख, बेवकुफ र दब्बु बनाएर आफ्नो दुनो सोझ्याउने, स्वार्थको पगरी भिने प्रवृत्तिलाई ‘गोरेबहादुर प्रवृत्ति’ भन्दा सायदै अन्यथा ठहरिएला । कुतर्कको हाँगाबिगा छिमलेर अरूलाई पटमूर्ख बनाई आफ्नो टोकरी मात्र भर्ने प्रवृत्ति हरेक क्षेत्रमा व्याप्त छ । साहित्य, कला, संस्कृति, चलचित्रजस्ता सिर्जना फुल्ने क्षेत्रहरूमा पनि ‘गोरेबहादुर प्रवृत्ति’ले विस्तारै आफ्नो पैर दह्रो ढंगले जमाउँदै लगिरहेको छ । यो अत्यन्तै सर्मनाक तथा चिन्ताजन्य विषय हो ।
अहिले नेपाली साहित्य, कला, संस्कृतिको क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि, त्यस्ता व्यक्तिहरूका नाममा, जेजति पुरस्कार स्थापना भएका छन् । केही अपवादलाई छाडेर हेर्ने हो भने, प्राय: अधिकांश पुरस्कार आम जनसमुदायलाई बेवकुफ बनाउने ढर्राका छन् । सतही रूपमा हेर्दा कुनै स्रष्टा पुरस्कृत भएको देखिन्छ, जसले सिर्जनाको क्षेत्रमा आफ्नो हैसियतअनुरूप योगदान अर्पण गरेका छन् । र, आवरणमा पनि त्यस्तै तस्बिर टाँगिन्छन् । तर, नेपालमा स्थापित अधिकांश साहित्यिक पुरस्कारहरूको पछाडि विशुद्ध साहित्यिक व्यक्तित्वलाई पुरस्कृत गर्ने मनसाय टाँसिएको हुँदैन, कुनै न कुनै स्वार्थको पहाड स्वत: अग्लिएका हुन्छन् । सामाजिक, सांस्कृतिक हैसियत न्यून भएका तर आर्थिक रूपले समृद्ध र चलखेल गर्नसक्ने व्यक्तिका नाममा परिवारद्वारा स्थापित पुरस्कारको उद्देश्य नै कुनै शक्तिशाली व्यक्ति रिझाउनका लागि हो भन्नु अन्यथा ठहर्दैन । साहित्यिक पुरस्कारको नाममा आफ्नो स्वार्थको गोरेटोलाई चौडा तुल्याउने नियतवश यस्ता कार्यहरू विगतदेखि नै हुँदै आएका छन् । र, अहिले पनि यो क्रमले झन् चौडा रूप लिँदैछ । यस्तो प्रवृत्तिलाई ‘गोरेबहादुर प्रवृत्ति’ सित तुलना गर्दा केही फरक पर्दैन । किनकि, पुरस्कारको आडमा गरिने आर्थिक, राजनीतिकलगायतका चलखेल र त्यसकै आधारमा आफूलाई पदीय फाइदा पुग्ने हर्कतले आम व्यक्तिलाई मूर्ख बनाउने उद्देश्य मात्र सँगालिएको स्वत: स्पष्ट हुन्छ ।
‘गोरेबहादुर प्रवृत्ति’ नेपाली प्रकाशन क्षेत्रमा त झनै व्याप्त छ । यो क्षेत्रमा आम पाठकलाई बेवकुफ बनाएर मुनाफाको शिखर उक्लिने प्रवृत्ति विगत केही वर्षयता निकै चम्किएको छ । पाठकद्वारा खासै नरुचाइएका र बजारमा ‘जाम’मा परेका कृतिलाई समेत कथित ‘बेस्टसेलर’को ट्याग झुन्डाएर सर्वाधिक बिक्री भएको डंका पिट्ने कार्यमा पछिल्लो समय नेपाली प्रकाशकहरू तल्लीन छन् । यथार्थलाई सिधै गोली मारेर अफवाह फैलाई आफ्नो प्रकाशन संस्थाका कृतिलाई बढाइचढाई गर्ने प्रवृत्तिले आम पाठकलाई झुक्याउने नियत मात्रै प्रस्टिन्छ । पुस्तकको वजन तौलिने जिम्मा पाठककै हो । तर, प्रकाशकहरूले यति धेरै ‘पब्लिसिटी’ गरिरहेका छन् कि, आफ्नो वस्तुको वजन स्वयम् प्रकाशकले नै तौलिरहेका छन् र उनीहरूको ढक–तराजु नापतौल विभागले तोकेको मापदण्डभित्रै पर्दछ कि सर्वथा कारबाहीको दायराभित्र पर्दछ भन्ने कुराप्रति आम पाठक अनभिज्ञ छन् । नेपाली प्रकाशकहरूमा देखिएको यस्तो प्रवृत्तिलाई ‘गोरेबहादुर प्रवृत्ति’ भन्नु सान्दर्भिक ठहरिएला । अथवा, केही समयसम्म भुलभुलैयामा राखेर आफ्नो स्वार्थको भर्याङ उक्लिने प्रवृत्ति नेपाली प्रकाशकहरूमा देखिएको नितान्त नौलो प्रवृत्ति हो ।
अरूलाई पटमूर्ख बनाएर आफ्नो स्वार्थ पट्याउने प्रवृत्तिलाई ‘गोरेबहादुर प्रवृत्ति’ भनिनु कत्तिको सान्दर्भिक ठहरिएला । तर, गोरेबहादुर खपांगीले अर्को एउटा त्यस्तै प्रवृत्तिको पनि जन्म गराएका थिए, विगतमा । जनजाति समुदायका एक प्रखर बौद्धिक व्यक्तिका रूपमा स्थापित खपांगीले आफ्नो समुदायसामु दसैंको टीका बहिष्कार गर्नका लागि अभियान नै चलाए । उनको अभियानलाई जनजाति समुदायले सहर्ष स्वीकार गरे र दसैं बहिष्कार गरे पनि । तर, तिनै खपांगीले आफू मन्त्री भएको बेला भने तत्कालीन राजा ज्ञानेन्द्रको हातबाट टीका ग्रहण गरेर सिंगो समुदायलाई मूर्ख बनाए ।
नेपाली राजनीतिमा दोहोरो चरित्र अँगाल्ने व्यक्तिका रूपमा कसैलाई खोज्नुपर्यो भने तिनै खपांगीलाई खोजे पुग्छ । दोहोरो चरित्रले ग्रस्त नेपाली समाजमा अरूले गुपचुप रूपमा त्यस्तो चरित्र अँगाल्छन् तर खपांगीले भने खुला रूपमा अँगाले र आफ्नो समुदायबाट बहिष्कृतसमेत बन्न पुगे, कुनै समय । तथापि, यस्तो दोहोरो चरित्र त नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा पहिल्यैदेखि जरा गाडेर बसिरहेको छ । तसर्थ, दोहोरो चरित्रका सवालमा नेपाली साहित्य, कला र संस्कृति क्षेत्र ‘गोरेबहादुर प्रवृत्ति’भन्दा किमार्थ भिन्न छैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply