यथार्थभन्दा काल्पनिक नै हावी
इतिहास रच्ने पुरुष होस् वा स्त्री, उनीहरूका प्रशंसायोग्य जीवन–संघर्ष र गाथालाई पर्दामा उतार्नु त्यति सहज कार्य होइन, यो अत्यन्तै कठिन र जटिल कला–साध्य हो । तर, यस्तो जटिल कार्यमा केही सिर्जनशील व्यक्तिहरूले दिलचस्पी लिँदै आएका छन् । उनीहरू आफ्नो कार्यमा कति कुशल प्रमाणित भए वा अकल्पनीय रूपमा विफलताको मार खेप्नुपर्यो, यो मूल्यांकनको विषय हो । तथापि, इतिहास–पुरुष र स्त्रीहरूका जीवनका संघर्षशील चरणलाई हरेक देशका फिल्मकर्मीहरूद्वारा फिल्मांकन गरिँदै आएका छन् । त्यस्ता चलचित्रहरूले देश–देशावरमा आ–आफ्नै स्थान र हैसियत कायम पनि गरेका छन् ।
नेपाली सन्दर्भमा हेर्दा, एकाध इतिहास पुरुषहरूलाई मात्र पर्दामा उतारिएका छन्, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सम्पूर्ण जीवनशक्ति, ऊर्जा र समर्पण अहोरात्र रूपमा अर्पण गरेका थिए । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर–व्यक्तित्व गणेशमान सिंहको संघर्ष–गाथा समेटिएको ‘वीर गणेशमान’ केही वर्षअघि नै निर्मित चलचित्र हो । व्यावसायिक हिसाबले त्यति सफल त भएन, उक्त चलचित्र । तर, एउटा ऐतिहासिक योद्धाको जीवन–संघर्षलाई पर्दामा ल्याइने कार्य भने निश्चित रूपमा भयो । साथै, उक्त चलचित्रमा प्रजातन्त्र प्राप्तिको लामो र अनवरत लडाइँमा शीर्ष स्थानमा रहेर संघर्षरत रहेको एउटा व्यक्तिको सम्पूर्ण चरित्र मात्र प्रकट हुँदैन, एउटा सिंगो युगको ध्वनिसमेत गुन्जित हुन्छ । ‘वीर गणेशमान’को जीवन संघर्ष चलचित्रको पर्दामा देखिए पनि नेपाली प्रजातान्त्रिक आन्दोलनका अरू शीर्षस्थ योद्धाहरूका जीवन–संघर्ष र चरित्रमा आधारित चलचित्रहरू भने अहिलेसम्म निर्माण भएका छैनन् । यद्यपि, केही राजनीतिक घटनाक्रमहरूमाथि भने चलचित्र निर्माण भएका छन् । केही वर्षअघि बनेको ‘दासढुंगा’ले कम्युनिस्ट आन्दोलनका प्रभावशाली व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दुर्घटनालाई पर्दाकरण गरिएको थियो भने ’५०को दशकमा निर्मित ‘बलिदान’ ०४६ सालको जनउभारको उत्कृष्ट प्रस्तुतीकरण बन्न पुगेको थियो । यसबाहेक, राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएका चलचित्रहरू नगन्य नै बनेका छन् । बन्न त माओवादी जनयुद्धमाथि पनि केही चलचित्रहरू बनेका हुन् तर त्यसमा कला पक्षलाई सर्वथा उपेक्षा गरिएको हुँदा त्यस्ता चलचित्रलाई चलचित्रको कोटीमा राख्ने कि नराख्ने भन्ने प्रश्न पनि उठ्न पुगेको छ । माओवादी जनयुद्धमाथि निर्मित चलचित्रहरू माओवादी कार्यकर्ताहरूकै लगानी र पहलमा निर्माण भएका हुँदा पनि कला पक्षलाई निमिट्यान्न पारिएको हुन सक्छ । तर, नेपाली चलचित्रका खारिएका निर्देशकहरूले जनयुद्धमाथि निर्माण गरेका चलचित्रहरू पनि खासै खरो रूपमा उत्रिन सकेनन् ।
त्यसो त, इतिहास पुरुषहरूका संघर्षशील यात्रामाथि विश्वमा धेरै चलचित्र निर्माण भएका छन् । खास गरी, क्रान्तिकारी पृष्ठभूमि भएका सफल राजनेताहरूमाथि अधिकांश फिल्मांकन गरिएका छन् भने क्रान्तिका रुमानी स्वप्न देख्नेहरूमाथि पनि उल्लेख्य मात्रामा फिल्मांकन गरिएका छन् । भारतीय फिल्म उद्योगमा धेरै इतिहास योद्धाहरूका बारेमा फिल्मांकन गरिएका छन् । तर, फिल्मकर्मीहरू यति चलाख र व्यावसायिक उद्देश्यपूर्तिमा माहिर हुन्छन् कि, कुन पात्र वा अनुहार पस्किँदा त्यसले व्यावसायिक रूपमा फड्को मार्न सक्छ भन्ने पक्षको राम्रोसँग हिसाब–किताब गरेर नै फिल्म निर्माण गर्छन् । किनभने, कोही पनि आफ्नो लगानी डुबाउन चाहँदैनन् ।
हिन्दी चलचित्र जगत्मा सर्वाधिक फिल्मांकन गान्धी र भगत सिंहका जीवन–चरित्र र संघर्षशील छविमा आधारित रहेर गरिएका छन् । भारतीय स्वतन्त्रता आन्दोलनका एक अहिंसावादी योद्धा महात्मा गान्धीमाथि दुवै कोणबाट चलचित्र बनेका छन् । उनका सकारात्मक पाटोलाई उघार्ने र आलोचनात्मक, दुवै किसिमका चलचित्र बने । त्यस्तै, अंग्रेजहरूसित अहिंसात्मक तरिकाले होइन, हतियार उठाएर लड्नुपर्छ भन्ने मान्यता राख्ने क्रान्तिकारी योद्धा भगत सिंहमाथि पनि उल्लेख्य संख्यामा चलचित्र बनेका छन् । अजय देवगनको मुख्य भूमिका रहेको ‘द लिजेन्ड अफ भगत सिंह’, ‘सहिद भगत सिंह’जस्ता चलचित्रले भगत सिंहले देशभक्तिपूर्ण लडाइँमा अर्पण गरेका पक्षहरूलाई चलचित्रको केन्द्रीय विषय बनाइएको थियो । केही वर्ष पहिले त भगत सिंहमाथि चलचित्र निर्माण गर्ने लहर नै चलेको थियो । तर, हिन्दी फिल्मका समीक्षकहरूले भगत सिंहमाथि बनेका अधिकांश फिल्ममा प्रामाणिक भन्दा काल्पनिक कुरा धेरै भएको र त्यस्ता चलचित्रहरूको उद्देश्य विशुद्ध मुनाफा कमाउनु रहेको टिप्पणी गरेका थिए । साथै, भगत सिंहमाथि बनाइएका केही चलचित्रले त गान्धीलाई नकारात्मक रूपमा प्रस्तुत गरेकामा विरोधसमेत हुन पुगेको थियो । गान्धी र भगत सिंह दुवैले लिएको बाटो फरक–फरक भए पनि उद्देश्य भने एउटै अर्थात् भारतीय भूमिबाट अंग्रेजहरूलाई सत्ताच्यूत गर्ने थियो भन्ने तर्क पनि उठेको थियो ।
हलिउडका निर्देशकहरूले विश्व कम्युनिस्ट आन्दोलनका अगुवा पात्र चे ग्वेभारामाथि धेरै नै उत्कृष्ट सिर्जना गरेका छन् । क्युबाली क्रान्तिका यी महान् नायकले साम्राज्यवादीहरूको चर्को दमन र प्रतिक्रान्तिलाई माथ खुवाउँदै विश्व कम्युनिस्ट आन्दोलनमा एउटा बेग्लै मानक स्थापित तुल्याएका थिए । तिनै योद्धामाथि बनेका चलचित्रहरू धेरैको रुचिको विषय बनेका थिए । चलचित्रमा मात्र होइन, चे त अहिले पनि टिसर्ट, स्टिकरहरूमा पनि उत्तिकै जीवित छन् ।
तत्कालीन पात्रलाई चरित्र–चित्रण गर्ने सवालमा अमेरिकी नायक चार्ली च्याप्लिन निकै खप्पिस थिए । उनले हिटलरमाथि बनाएको चलचित्रले निकै नै तहल्का पिटेको थियो । हिटलरले लाखौँ यहुदीहरूलाई ग्यासच्याम्बरमा राखेर समाप्त पारेको विषयपछि हिटलर विश्वको नजरमा अत्यन्तै क्रूर र नकारात्मक पात्रका रूपमा स्थापित थिए, त्यो बेला । तथापि, विश्वकै अत्यन्त बदनाम पात्रलाई च्याप्लिनले चलचित्रको पात्र बनाउँदा त्यसले प्रशंसा बटुल्नु स्वाभाविकै थियो ।
तथापि, ऐतिहासिक पात्रहरूमाथि चलचित्र बनाइँदा धेरै नै सावधानी अपनाउनु उत्तिकै आवश्यक पर्छ । किनभने, कुनै सानोभन्दा सानो तथ्यमा पनि ख्याल गरिएन भने सिंगो चलचित्र नै अप्रामाणिक हुने सम्भावना रहन्छ । त्यसैले, अरू चलचित्रहरूजस्तो सहज हिसाबमा ऐतिहासिक पात्रहरूमाथि चलचित्र बनाउन सकिँदैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply