एउटा भित्ताको सदुपयोग
कुनै पनि माध्यम आफैंमा खराब हुँदैन । तर, त्यसलाई प्रयोग गर्नेहरूले सही ढंगले उपयोग गरिरहेका छ छन् कि चरम दुरुपयोग गरिरहेका छन्, भन्ने नै मुख्य प्रश्न हो । भन्नेहरूले त वर्तमान विश्वलाई एउटै धागोमा बाँध्ने माध्यमका रूपमा स्थापित सामाजिक सञ्जाल ‘फेसबुक’लाई आत्मप्रदर्शन गर्ने थलो हो, भनेका छन् । तर, त्यही माध्यमलाई सदुपयोग गर्न जान्नेहरूले बौद्धिक बहसको एउटा भरपर्दो मञ्चका रूपमा पनि उभ्याएका छन् । र, कतिपयले त्यही माध्यमको दुरुपयोग गरेर साइवर अपराधको सजाय पनि भोगिरहेका छन् ।
अहिले फेसबुक संसारका हरेक कुनाकाप्चाका व्यक्तिहरूलाई जोड्ने एउटा गतिलो सेतु बनेको छ । साथै, यसको सदुपयोग बौद्धिक मन्थन, विमर्श र छलफलमा सहभागिता जनाउनेहरूका लागि एउटा फराकिला मार्गको रूपमा पनि स्थापित भएको छ । केही समयपूर्व भारतीय साहित्यकार उदय प्रकाशले महान् अक्टोबर क्रान्तिको वर्ष–उत्सवलाई नजर लगाउँदै आफ्नो फेसबुकको भित्तामा यी शब्दहरू लेखे– ‘यो क्रान्तिले बीसौं शताब्दीको उत्पीडित वर्गको मुक्तिका लागि नयाँ सपना सुम्पियो । तथापि, हेर्दाहेर्दै ती स्वप्नको समाजका लुकेर बसेका छुद्र शक्ति–संरचनाहरूले अगुवाइ गर्यो र कार्ल माक्र्स र लेनिनको त्यो विचारधारा, त्यो दार्शनिक सैद्धान्तिकी, जुन संसारलाई बुझ्नका लागि होइन, यद्यपि त्यसलाई मानवताको पक्षमा बदल्नका लागि सक्षम हुनसक्थ्यो । तर, त्यसलाई निहित स्वार्थ, भ्रष्टाचार र ठगीको औजार बनाइयो । त्यो ईश्वर, जुन संसारका वञ्चित, उत्पीडित मनुष्यतालाई मुक्त गर्नका लागि अस्तित्वमा आएको थियो, त्यो असफल भयो ।’
भारतीय समाजका उपेक्षित, उत्पीडित समुदायमाथि कलम चलाउने उदय प्रकाशले तथाकथित कम्युनिस्ट, वामपन्थीहरूप्रति जुन शाब्दिक क्षोभ व्यक्त गरेका थिए, यो बहस यति धेरै तन्कियो कि, अन्तत: उदय प्रकाशलाई युवा चिन्तक कविता कृष्ण पल्लवीले भित्तैमा पुर्याउने तहले बहसमा उतारि छाड्यो । सन् २०१४ को सुरुआतमै समयान्तरमा ती दुई बौद्धिक व्यक्तित्वबीच फेसबुकको भित्ता चलेको तातो बहसले हिन्दीका प्रगतिशील, प्रगतिवादी तप्कामात्र होइन, अरू विचारधारा ग्रहण गर्नेहरुलाई पनि ती दुई चिन्तकबीचको बहसलै उत्तिकै आकर्षित गर्यो ।
उदय प्रकाशलाई जवाफ दिँदै पल्लवीले लेखे– ‘क्रान्तिको बारेमा उदय प्रकाशको दिलमा अझै पनि केही भावना बचेको छ, जानकारी पाएर राम्रो लाग्यो । तर पनि, उनलाई मोहभंग भएको छ । यस कारण मोहभंग भयो कि, उनी केवल एकातिर उत्तरआधुनिकतावाद, सबाल्र्टन स्कुल अफ हिस्ट्री र आइडेन्टिटी पोलिटिक्सको अनुगामी हुनपुगे, अर्कातिर उग्र हिन्दुत्ववादी योगी आदित्यनाथसँगै मञ्चमा आसिन भएर पुरस्कार लिन पनि गए ।’
व्यक्तिगत आक्षेपसँगसँगै दुवै चिन्तक गहन सैद्धान्तिक बहसमा उत्रिँदै गए । पल्लवीले उदय प्रकाशलाई गोरखपुर सहरमा नातामा भाइ पर्नेको स्मृतिसभामा जाँदा योगी आदित्यनाथको हातबाट एउटा पुरस्कार/सम्मान ग्रहण गरेको आरोप लगाए । आफूमाथि आरोप लागेपछि उदय प्रकाश क्षुब्ध नहुने कुरै थिएन । उनले लेखे– ‘तपाईले ममाथि मेरा भाइको मृत्यको शोकको अवसर पारेर पुरस्कार लिएको आरोप लगाउनुभयो । यो एउटा दु:खद् र कुत्सित आरोप हो । यसको सत्यता प्रमाणित गर्नका लागि तथ्य दिनुस् । माक्र्सवाद, एक वैज्ञानिक दर्शन हो । वस्तुपरक र तथ्यात्मक । झूट र अफवाहको प्रचार, फासीवादको एउटा परिचित निशानी हो, जो उनीहरू आफूभन्दा भिन्न, अन्य, जाति, नश्ल, धर्मका व्यक्तिहरूका बारेमा फैलाउँछन् र यसरी नै उनीहरूका विरुद्ध घृणा, सन्देह, अविश्वासको वातावरण तयार गर्दछन् ।’
उदय प्रकाशको लघुउपन्यास ‘मोहनदास’लाई भारतीय समाजमा व्याप्त जातीय विभेदमाथि लेखिएको उत्कृष्ट कृति मानिन्छ र जुन पुस्तकले साहित्य अकादेमी पुरस्कार पनि प्राप्त गरिसकेको छ । जसबारे पल्लवीसित बहस गर्ने क्रममा प्रकाशले लेखे– ‘के तपाई मान्नु हुन्छ, मोहनदासलाई साहित्य अकादेमी पुरस्कार मिल्नुको पछि योगी आदित्यनाथको दबाब थियो ? के तपाईंले मोहनदास पढ्नुभयो ? उक्त पुरस्कारको निर्णायक समितिमा अशोक वाजपेयी, चित्रा मुद्गल र तपाईका प्रिय आलोचक मैनेजर पाण्डेय थिए ।’
पल्लवी पनि किन पछि हट्थे र, बहसको संसारबाट ? उनले लेखे–‘मोहनदास कहानी मैले पढेँ, यहाँ उक्त कहानीमाथि मेरो रायको प्रश्न होइन । न त निर्णायक मण्डलमाथि मेरो रायको प्रश्न नै हो । निर्णायक मण्डलमा सिधै योगी आदित्यनाथ थिएन, अध्यक्ष विश्वप्रसाद तिवारीले त दबाब सिर्जना गर्न सक्दथ्यो र उनमा रहेको दक्षिणपन्थी रुझान सर्वज्ञात छ ।’
उदय प्रकाशले सन् २०१० मा उपन्यास ‘मोहनदास’का लागि साहित्य अकादेमी पुरस्कार ग्रहण गरेका थिए । तर, त्यसको ठीक चार वर्षअघि अर्का स्रष्टा अरुन्धती रायले उक्त पुरस्कार बहिष्कार गर्दा प्रकाशले अकादेमीमा दलाल, सम्झौतापरस्तहरू र निजी लाभका लागि व्यवस्थालाई लुट्नेहरूले भरिएको बताउँदै पुरस्कारको औचित्यमाथि नै प्रश्नचिन्ह उठाएका थिए । तर, चार वर्षपछि नै उनले सोही पुरस्कार ग्रहण गरेको सन्दर्भ उठाउँदै पल्लवीले उनलाई झपारेका छन्– ‘चार वर्षपछि जब तपाईं स्वयम्ले साहित्य अकादेमी पुरस्कार लिनुभयो, तब के त्यो सफासुग्घर र राज्यको अँठ्याइबाट मुक्त भइसकेको थियो ? के त्यहाँ दलाल र पद, पुरस्कारलोलुप मौकापरस्तहरूको सफाया भइसकेको थियो ? उक्त समय साहित्य अकादेमीको बारेमा तपाईंको राय बदलिएको थियो वा तपाईं बदलिनुभएको थियो । अथवा, अकादेमी तबसम्म भ्रष्ट थियो, जबसम्म तपाईं पुरस्कृत हुनुभएको थिएन ?’
उदय प्रकाश र पल्लवीबीचको बहस यति धेरै तन्कियो कि, दुवै पक्ष आफ्ना विचार प्रवाहमा तल्लीन भए । आफूमाथि उठेका प्रश्नहरूमा बचाउ गर्न पनि चुकेनन् । आश्चर्यको विषय होइन कि, यो बहस केवल एउटा फेसबुकको भित्तामा सम्भव भएको थियो । फेसबुकलाई आफ्नो कुण्ठा पोख्ने भाँडोको रूपमा प्रयोग गरिरहेकाहरूले एक पटक सोच्न बाध्य हुनैपर्छ, के फेसबुकलाई बौद्धिक विमर्श गर्ने थलोको रूपमा पनि प्रयोग गर्न सकिँदैन र ? उदय प्रकाश र पल्लवीबीचको बहसले के प्रमाणित गरेको छ भने, फेसबुकको भित्तालाई सदुपयोग गर्दा त्यसले बौद्धिक विमर्श सम्पन्न हुने र समाजमा तरंगसमेत ल्याउनेमा अब शंका रहेन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply