गाउँ–गाउँमा बैंकका पक्षपाति
दस वर्षअघि त्रिवेणी विकास बैंक स्थापना हुँदा त्यसले छरिएर रहेको साना–साना पुँजीलाई एकत्रित गरी विशेषत: कृषि क्षेत्रमा कर्जा प्रवाह गर्ने उद्देश्य लिएको थियो । उक्त बैंक अहिलेसम्म पनि आफ्नो उद्देश्यमा अडिग छ । बैंकका प्रमुख कार्यकारी–अधिकृत सागरकुमार घिमिरे भन्छन्–‘यस बैंकको उद्देश्य खासगरी बैंक तथा वित्तीय संस्थाहरुका शाखा नपुगेको स्थानमा शाखा सञ्चालन गरी सर्वसाधारण जनताबीच वित्तीय पहुँच पुर्याउनु रहेको छ । र, कृषि, ऊर्जा, पर्यटन र घरेलु तथा साना उद्योगजस्ता उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्नु पनि यस बैंकको मुख्य उद्देश्य हो ।’
२०६१ सालमा स्थापित उक्त बैंक, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ लागु भइसकेपछि स्थापना हुने पहिलो विकास बैंक पनि हो । बैंकका तत्कालीन अध्यक्ष प्रा. डा. भीमप्रसाद न्यौपाने तथा सञ्चालक समितिको पहलमै त्यतिबेला डेभलपमेण्ट बैंकर्स एसोसियसन स्थापनासमेत भएको थियो । एसोसियसनको संस्थापक अध्यक्ष उक्त बैंकका अध्यक्ष प्रा. डा. न्यौपाने नै हुनुहुन्थ्यो । त्यसो त, घिमिरेले उक्त बैंकलाई अग्रगति दिएको पनि आठ वर्ष बितिसकेको छ । आफ्नो कार्यकालमा बैंकले गरेका प्रगतितर्फ संकेत गर्दै उनी भन्छन्–‘हामीले यो बैंक २ करोड पचास लाखको पुँजीबाट सुरु गरेको थियौं । तर बैंकको पुँजी अहिले ३७ करोड १ लाख पुगेको छ । बैंकको व्यवसायमा उल्लेख्य वृद्धि गरी साधारण शेयर निष्कासनपश्चात् प्रत्येक वर्ष औसतमा २० प्रतिशतका दरले प्रतिफल दिन सफल भएका छौं । हाम्रो उद्देश्य निक्षेपकर्ताको हित सुरक्षा गरी लगानी गर्ने तथा संस्थागत सुशासन कायम गरी संस्थालाई थप बलियो बनाउने हो ।’
एक दसक लामो यात्रा छिचोलेको उक्त बैंकको अवस्था अत्यन्तै सबल रहेको प्रमुख कार्यकारी–अधिकृत घिमिरे बताउँछन् । हुन पनि, उक्त बैंकको अहिले चुक्ता पुँजी ३७ करोड १ लाख पुगेको छ । घिमिरे भन्छन्–‘बैंकको व्यवसाय वृद्धि हुँदै जाँदा पुँजी वृद्धि अपरिहार्य रहेकोले निरन्तर पुँजी वृद्धिलाई हामीले प्राथमिकतामा राखेका हौं ।’ यही असार मसान्तसम्म बैंकको कुल निक्षेप ४ अर्ब १० करोड रुपियाँ र कर्जा प्रवाह ३ अर्ब १४ करोड रहेको छ । बैंकको सञ्चालन मुनाफा १४ करोडभन्दा बढि नै रहेको छ । ‘गएको आर्थिक वर्षको तुलनामा यस वर्ष निक्षेपमा ४२ प्रतिशत र कर्जा लगानी ३४ प्रतिशतले बढेको छ, जुन बैंकिङ क्षेत्रको औसत वृद्धिदरभन्दा निकै माथि हो । यस बैंकले निरन्तर रुपमा औसतमा २० प्रतिशतका दरले लगानीकर्ताहरुलाई प्रतिफल दिइरहेको छ ।’ घिमिरे बताउँछन् ।
गाउँकै साधारण स्कुलबाट अध्ययन सुरु गरेका उनले शारदा माध्यमिक विद्यालय, शारदानगर, चितवनबाट एसएलसी, पीपुल्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह, सरस्वती क्याम्पसबाट बीकम र शंकरदेव क्याम्पसबाट एमबीए गरेका हुन् । तर, त्रिवेणीमा सिइओ भएर आउनुअघि भने उनी पर्यटन क्षेत्रसित सम्बद्ध थिए । व्यवस्थापन विषयमा अध्ययन गरेका कारण र व्यावसायिक हिसाबले पनि सेवा क्षेत्रमा काम गर्ने इच्छाले उनी बैंकिङ क्षेत्रतिर डोहोरिएका हुन् । त्रिवेणीको सिइओ हुनुअघि भने उनले नेपाल एसबीआई बैंकमा करिब १२ वर्षको अनुभव बटुलिसकेका थिए । तथापि, बैंकिङ क्षेत्रमा नआएका भए आफू पर्यटन क्षेत्रमा नै रमाउने उनको भनाइ छ ।
उक्त बैंकले एउटा मुल नारा नै तय गरेको छ–‘कृषि क्षेत्रको विकासमा किसानको सहयात्री ।’ हुन पनि बैंकले आफ्नो मूलनारा र नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम उत्पादनशील क्षेत्र जस्तै: कृषि, ऊर्जा, पर्यटन र घरेलु तथा साना उद्योगतर्फ लगानी केन्द्रित तुल्याएको छ । पुस मसान्तसम्ममा कुल कर्जाको ५३ प्रतिशत कर्जा तिनै क्षेत्रहरुमा प्रवाह गरेको उक्त बैंकले घर निर्माण, हायरपर्चेज तथा उद्यमशीलता विकास गर्ने खालका उद्यम तथा परियोजनाहरुमा समेत लगानी गरिरहेको घिमिरे बताउँछन् ।
के लगानी अनुरुपको प्रतिफल बटुल्न बैंक सफल भएको छ त ? घिमिरे प्रस्ट शब्दमा उल्लेख गर्छन्–‘हाम्रो उद्देश्य नाफा कमाउनुमा मात्र केन्द्रित छैन । तथापि बैंकले हालसम्म सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सम्पूर्ण लगानीकर्तालाई सन्तुष्ट बनाउन सकेको छ । हामी यसैमा गौरवान्वित छौं ।’ त्यसो त, थुप्रै वित्तीय संस्थाहरु खुले पनि त्यसमा ग्रामीण तहका जनताको पहुँच न्यून रहेको कुरा बेलाबखत उठ्ने गर्दछन् । सो कुरालाई स्वीकार्दै घिमिरे भन्छन्–‘समग्रमा कुरा गर्ने हो भने अझ धेरै जनता बैंकिङ पहुँचभन्दा बाहिर छन् । तर हाम्रो बैंकको हकमा हेर्ने हो भने हाम्रा धेरैजसो शाखा ग्रामीण क्षेत्रमा नै केन्द्रित छन् ।’ उक्त बैंकले अहिलेसम्म पनि विद्युतीय सेवाबाट वञ्चित चितवन जिल्लाको माडीमा एबीबीएस सुविधासहितको शाखा सञ्चालन गरिरहेको छ । ‘शाखा विस्तार गर्दा पनि हाम्रो प्राथमिकता ग्रामीण क्षेत्र नै पर्दछ । ग्रामीण तहका जनताको पहुँच विस्तारलाई नै मध्यनजर गरी बैंकले हालसम्म बैंकिङ सुविधा नपुगेका पाल्पा, अर्घाखाँची, चितवन तथा रुपन्देहीका विभिन्न ७ स्थानमा सीमित बैंकिङ इकाई विस्तार गर्दैछ ।’ घिमिरे बताउँछन् ।
अहिले अधिकांश वित्तीय संस्थाहरु मर्जरको दिशातिर अग्रसर छन् । र, निकट समयमा नै त्रिवेणी विकास बैंकका साथै पब्लिक डेभलपमेन्ट बैंक र ब्राइट डेभलपमेन्ट बैंक पनि मर्ज भई राष्ट्रिय स्तरको विकास बैंक बन्ने प्रक्रियामा रहेको छ । घिमिरे नेपाल राष्ट्र बैंकको मर्जरको नीतिलाई बैंक तथा वित्तीय संस्थाहरुमा वित्तीय स्थिरता कायम गराउने आधारशिला ठान्छन् । भन्छन्–‘हामी नियमनकारी निकायले निर्दिष्ट गरेको निर्देशनबमोजिम जतिसक्दो धेरै पुँजीलाई एकत्रित गरी एक सक्षम वित्तीय संस्था बन्ने लक्ष्यका साथ अघि बढेका छौं ।’
त्यसो त, धेरै बैंक र वित्तीय संस्थाका बावजुद पनि अझै ग्रामीण भेगका अधिकांश जनता बैंकिङ पहँुचभन्दा बाहिरै छन् । त्यसको मुख्य जड बैंकिङ शिक्षाको अभाव रहेको घिमिरेको भनाइ छ–‘यसका लागि बैंकहरुले जनचेतना जगाउने खालका कार्यक्रमहरु गर्ने र आम जनमानसलाई बैंकिङ शिक्षाको बारेमा जानकारी गराउनुपर्ने देखिन्छ । तर हालैका दिनमा यसमा क्रमश: सुधार भने भएको देखिन्छ । बैंकहरु क्रमश: ग्रामीण इलाकामा जाने क्रमसँगै यसमा उल्लेख्य सुधार भएको देखिन्छ । साथै, बैंकहरु घरघरमा गई बैंकको आवश्यकता महसुस गराउने कार्य पनि गर्नुपर्दछ ।’
करिब दुई दसक बैंकिङ क्षेत्रको अनुभव सँगालिसकेका घिमिरे नेपालको समग्र वित्तीय क्षेत्रलाई कसरी मूल्यांकन गर्छन् त ? भन्छन्–‘नेपालको समग्र बैंकिङ क्षेत्रको मुल्याङ्कन गर्दा एकातर्फ बैंक, वित्तीय संस्थाहरुबीच स्वस्थ प्रतिस्पर्धा रहेको देखिन्छ, जसका कारण ग्राहकहरुले आधुनिक बैंक सुविधा प्राप्त गरिरहेका छन् । अर्काेतर्फ यस्तो समुदाय पनि छ, जसलाई बैंकको सुविधाको बारेमा सामान्य कुरा पनि थाहा छैन । र, त्यो वर्गले बैंकको सुविधा लिन सकिन्छ भनेर कल्पना पनि गर्दैन, जसका कारणले धनी र गरीबबीचको खाडल झन् झन् बढेको देखिन्छ । तसर्थ वित्तीय संस्थाहरुका लागि सम्पूर्ण जनतामा बैंकिङ सुविधा पुर्याउनु र अझै पनि गाउँगाउँमा बैंकका शाखाहरु विस्तार गर्नु आवश्यक देखिएको छ । त्यसै गरी अत्यधिक जनसंख्या कृषिमा निर्भर रहेको हुँदा व्यावसायिक कृषि विकास गर्ने कुरा गर्दछौं हामी । तर विभिन्न समस्याका कारण हाम्रा पुर्खाहरुको पालादेखि हुँदै आएको परम्परागत कृषिलाई निरन्तरता दिन पनि सकेका छैनौं । वैदेसिक रोजगारीबाट प्राप्त आय अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । अब यसलाई कम गर्दै लैजानुपर्दछ ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply