पोखराका फरक आवाज
पोखरा एउटा यस्तो सहर हो, जहाँ प्राकृतिक छटाको मात्र बखान हुँदैन । साहित्यिक/सांस्कृतिक छटाका साथै हिमाल, ताल, गहिरो नदीले यो सहर उत्तिकै सिंगारिएको छ । पोखराका केही सांस्कृतिकर्मीहरूले त ‘सांस्कृतिक सहर’को उपाधि दिनुपर्ने स्वर पनि अनुगुञ्जित तुल्याएका थिए । भलै, अहिलेसम्म त्यो स्वर कार्यान्वयन भइसकेको छैन । तर पनि पोखरा साहित्यिक/सांस्कृतिक जमघट हुने विरलै सहरमध्ये एक हो भन्नु अन्यथा नहोला । यही सहरमा साहित्य–वृत्तवरिपरि रम्दै, बौद्धिक विमर्शमा तल्लीन एक जना अधबैँसेले केही फरक क्रिया गर्दै आएका छन् । पृथ्वीनारायण क्याम्पसका अंग्रेजी विषयका प्राध्यापक राजेन्द्र चापागाईं ‘घायल’ले साढे तीन वर्षअघि पोखराका अध्ययनशील व्यक्तिहरूलाई समेटेर पठन–संस्कृतिलाई समृद्ध तुल्याउने एउटा अभियान चाले । अहिले त्यो अभियानले बयालीसौँ शृंखलामा टेकेको छ । तथापि, विद्यावारिधिको उपाधि लिने क्रममा रहेका कारण अहिले उनले त्यो शृंखला सञ्चालन गर्ने जिम्मा अरू नै व्यक्तिलाई सुम्पेका छन् । तर पनि र्यान्डम रिडर्स सोसाइटीमार्फत उनले कुनै पनि चर्चित पुस्तकमाथि कार्यपत्रसहित अन्तक्र्रिया गराउन आफ्नो सम्पूर्ण समय अर्पेका हुन् । सुरुमा त उनको सोच नै अर्कै थियो । सोसाइटी स्थापनाका सन्दर्भमा भने उनी भन्छन्– ‘एउटा अनौपचारिक क्लब खोलेर किताब बाँडेर अध्ययन गर्ने मेरो सोच थियो । तर, पहिलो दिन नै यति धेरै साथीहरू उपस्थित हुनुभयो कि, हामीले संगठन नै खोलेर अघि बढ्नुपर्ने परिस्थिति आइपर्यो ।’ उनको अनुभवमा, मानिसहरू पढ्छन् तर आफूले पढेको कुरा अरूलाई बाँड्न चाहँदैनन् । ‘मेरो सोचाइ नै किताबहरू बाँडेर पढ्ने र त्यसमा के लेखिएको छ, पढेकाहरूबाट बुझ्ने भन्ने थियो । त्यसो गर्दा, आफूले किताब नपढे पनि अरूबाट सुन्दा त्यस किताबबारे थाहा पाइन्छ’– उनी भन्छन् । सबै मानिसले सबै किताब पढेर नभ्याउने र किताबहरू बाँडेर पढ्दा र पढेकाहरूबाट ज्ञान लिँदा राम्रो हुने उनको तर्क छ । कृष्ण धरावासीको ‘टुँडाल’ नै र्यान्डम रिडर्स सोसाइटीको पहिलो छनोटमा पर्यो । काठमाडौँदेखि धरावासीलाई निम्त्याएर उनीहरूले भव्य विमर्श चलाए । त्यसयता, बुद्धिसागरको ‘कर्णाली ब्लुज’, नयनराज पाण्डेको ‘लू’, तारालाल श्रेष्ठको ‘सबाल्र्टन’, अमर न्यौपानेको ‘पानीको घाम’, सुधीर शर्माको ‘प्रयोगशाला’, सरोजराज अधिकारीको ‘चक्रव्यूहमा चन्द्रसूर्य’जस्ता केही चर्चित किताबमाथि छलफल चलाइसकेका छन् । तर, उनलाई एउटा कुराले भने निकै नै छोयो । बेलायतको क्याम्ब्रिजले प्रकाशन गरेको ‘ट्रान्जिसन इन नेपाल’ नामक पुस्तक भारतमा विमोचन भयो । आफ्नै देशको राजनीतिक समस्यामाथि लेखिएको पुस्तकबारे देशबासीहरू नै बेखबर हुनु उनका लागि सुखद पक्ष रहेन । त्यही भएर नै उनले काठमाडौँबाट पत्रकार युवराज घिमिरेलाई निम्त्याएर उक्त पुस्तकमाथि पोखरामा अन्तक्र्रिया चलाए । तर, मुक्तक सुन्न आउनेहरूलाई सशुल्क सुन्नका लागि बानी बसाउने पोखरेलीहरूको सिको गर्दै चापागाईंले पनि किताब–अन्तक्र्रियामा सहभागिता जनाउनेका लागि पनि ५० रुपियाँ लिन थाले । तर, त्यसरी उठाइएको रकम उनी खाजामा खर्च गर्छन् र हिँड्ने बेला सबैलाई एउटा कार्यपत्र पनि थमाइदिन्छन् । कस्तो पुस्तकमाथि बहस चलाउने भन्नेमा सोसाइटीका सदस्यहरू अत्यन्तै सचेत छन् । चापागार्इं भन्छन्– ‘हाम्रो एउटा पुस्तक छनोट समिति छ । त्यही समितिले छनोट गरेका किताबमाथि हामी छलफल चलाउँछौँ । हामी जुन पायो, त्यही किताबमाथि छलफल गर्दैनौँ ।’ र, पोखरेलीहरूबीच पठन–संस्कृतिको विकास होस् भन्ने चाहनाले नै यस्तो अभियानमा हात हालेको उनी गर्वसाथ बताउँछन् । ‘म अक्करबाट निस्किएको पीपल हुँ ।’ जीवनमा संघर्षका पलहरू मात्रै बेहोरेका, जीवनका आधा शताब्दी टेक्नै लागेका यी प्राध्यापकले आफूलाई यसरी मूल्यांकन गर्न रुचाउँछन् । हुन पनि, जीवनमा यी प्राध्यापकले नगरेका र नजानेका कुनै सीप बाँकी छैनन् होला सायद । पर्वतको पाखापानीमा शिक्षण पेसामा कार्यरत रहँदा उनले के गर्न सिकेनन् र ? गुरुङको बाक्लो बस्ती रहेको पाखापानीमा बस्दा रोदीघरमा रमाउनु, गीत गाउनु त सामान्य कुरा नै भयो । उनले त्यहीँ बस्दा घडी बनाउन सिके, फोटोग्राफी गरे । शिक्षण पेसाबाट आउने रकमसँगै उनले अरू कार्यहरूबाट पनि आर्थिक आर्जन गर्न सिके । परिवार सम्पन्न भए पनि आफ्नै कमाइमा बाँच्ने लालसाले उनलाई अनेक सीपहरू सिक्न बाध्य तुल्यायो । स्यांजाको आरुचौरमा जन्मिएर संघर्षका अनेक तहहरू छिचोलिसकेका यिनले अन्तत: पोखरालाई नै आफ्नो बौद्धिक र सिर्जनात्मक क्रियाकलाप गर्ने थलोका रूपमा भेट्टाए । हुन पनि, गाउँबाट एसएलसी उत्तीर्ण गरेपछि होटलमा भाँडा माझेरै भए पनि अध्ययन गर्छु भन्ने अठोट सँगालेर उनी पोखरातिर लम्किएका थिए । र, पोखरामा बस्दा आर्थिक अभाव झेल्नु नपरोस् भनेर उनले ट्युसन पढाए । ट्युसन पढाउँदा आएको रकमले उनले अध्ययनलाई गति दिए । त्यही गतिले नै अहिले उनी एक बौद्धिक विश्लेषकका रूपमा चिनिन्छन् । विचारका दृष्टिले कम्युनिस्ट भए पनि यी प्राध्यापक धेरैजसो फ्रायडको मनोविज्ञानसित निकटता राख्छन् । उनी फ्रायडको मनोविज्ञानको चर्चा गर्छन् । सिर्जनशीलतामा नै जीवनको मूल्य खोज्न सिकिसकेका चापागाईंले गजलको विकासका लागि ‘गजल सन्ध्या’ पनि सुरु गखुलेरै रे । कहिलेकाहीँ गजल लेख्ने उनले सहयोगीहरू दिलीप दोषी, गोविन्द पराजुलीसित मिलेर सन्ध्या सुरु गरेका थिए । तथापि, लेखनमा पनि उत्तिकै चासो राख्ने उनका अहिलेसम्म ‘द कोलाज’ कविताकृति र ‘आवरण’ नामक निबन्धकृति प्रकाशित छन् । उनले ‘आवरण’ निबन्धको सार खिच्दै भने–‘अचेलका मानिसहरू युनिफर्ममा बाँचेका छन् । आज कपडाले मान्छेको पहिचान दिइरहेको छ । आवरणले मान्छेको परिचय दिइरहेको छ ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply