अर्गानिक विनिता
कुनै बेला, विनिता बरालको दिनचर्या ‘एक्सन’ र ‘कट’मा बित्ने गर्दथ्यो । तर, फेरिएको छ अचेल पूरै दिनचर्या । सखारैदेखि इलेक्ट्रोनिक तराजुमा आलु, सिमी, बोडी, करेला, गोलभेंडा जोख्न व्यस्त रहन्छिन् उनी । मौसमी तरकारीदेखि अर्गानिक खाद्य पदार्थहरूबाट आफ्ना ग्राहकलाई सन्तुष्ट तुल्याउनमा नै उनले अचेल समय खर्चिरहेकी छन् । यति हुँदाहुँदै पनि, केही साझेदारहरू सम्मिलित आफ्नै कृषि फार्ममा उत्पादित अर्गानिक तरकारीहरू ग्राहकलाई पुर्याउन सकिरहेकी छैनन् । भन्छिन्– ‘अर्गानिकको माग दिनदिनै बढिरहेको छ । तर, हामीले पुर्याउन सकिरहेका छैनौं ।’
सहरमा बस्नेहरू आफ्नो स्वास्थ्यप्रति निकै सचेत बन्न थालेका छन् । काठमाडौंमा बिक्री हुने अधिकांश तरकारी विषादीयुक्त रहेको खबर सञ्चारमाध्यमहरूबाट प्रसारण हुन्छन्, बेलाबखत । कालिमाटी तरकारी बजारमा त विषादीयुक्त तरकारी नष्ट गरिएको धेरै समय बितेको छैन । भान्सामा सिधै विष भित्र्याएर क्यान्सर जस्ता प्राणघातक रोग निम्त्याउने चाहना कसलाई हुन्छ र ? त्यही भएर नै, सहरमा बस्नेहरूको नजर अचेल अर्गानिक तरकारीतिर सोझिएको छ । सहरीयाहरूको मनोवृत्ति बुझेका यी ‘चपली हाइट’ नायिकाले एक वर्षअघि काठमाडौंको कुनै छेउभित्तातिर केही रोपनी जग्गा भाडामा लिएर अर्गानिक खेती गर्ने सोच उमारिन् । र, उनको अभियानलाई केही युवाहरूले पनि सहयोग गर्ने परिस्थिति बनेपछि उनले टोखामा २ रोपनी जग्गा भाडामा लिएर सुरु गरिन्, अर्गानिक फार्म ।
‘हामी युवाहरू किन कृषि कर्ममा नलाग्ने भन्ने लागेर मैले यो क्षेत्र रोजेकी हुँ’– उनी भन्छिन् । हुन पनि सबैले कृषि कर्मलाई हेय दृष्टिले हेर्न थालेपछि कलाकारितामा राम्ररी नै जम्दै गइरहेकी भारतीय गायिका श्रेया घोषालसित ठ्याक्कै अनुहार मिल्ने यी नायिकाले एकाध वर्ष कला क्षेत्रबाट विश्राम लिएरै भए पनि कृषि कर्ममा रमाउने सोच बनाइन् । भन्छिन्– ‘मैले एउटा चाइनिज पत्रिकामा संसारभरि भेजिटेबल कम हुँदैछ, अब कीरा–फट्याङ्ग्रा खान तयार हुनुस् भन्ने आशयको एउटा लेख पढेकी थिएँ, त्यही लेखबाट प्रभावित भएर मैले अर्गानिक खेतीमा लाग्ने प्रयत्न गरेकी हुँ ।’ कृषि पेसा अँगाल्दा कहिल्यै पनि घाटा बेहोर्नु नपर्ने अनुभव पनि उनले सँगालेकी छन् ।
दुई रोपनीबाट सुरु भएको अर्गानिक खेती अहिले १० रोपनीमा विस्तारित हुनपुगेको छ । लगानी चाहिँ १५ लाखजति टेकेको छ । भन्छिन्– ‘अब हामीलाई लगानीको प्रतिफल आउन थालेको छ ।’ अहिले उनको फार्ममा करेला, घिरौला, फर्सीको मुन्टा, गोलभेंडाहरू फलिरहेका छन् । हुन पनि, तरकारीहरूमा गाईभैंसीको मल, गँड्यौलाको मल र थाइल्यान्डबाट ल्याइएको अर्गानिक मल प्रयोग गरिरहेकी छन् । उत्पादित तरकारीहरूले बजार नपाउला भन्ने समस्या रत्तिभर छैन । किनकि, सामाखुसीस्थित टाउन प्लानिङमा उनको आउटस्टोरसमेत खुलिसकेको छ, पाँच/सात महिनाअघि । अचेल त्यही विनिदी अर्गानिक सपमा नै उनी ग्राहकहरूसित रमाइरहेकी छन् । शनिबार बिहान त्यही सपमा भेटिएकी बराल आफ्नो फार्ममा उत्पादित तरकारीहरू ग्राहकलाई दिन निकै चटारोमा थिइन् । केही ओइलाएका र अलिअलि कीराले मुख गाडेका तरकारीहरू भए पनि अर्गानिक भएको कारण ग्राहकहरू किन्न इच्छुक नै देखिन्थे ।
तीन वर्षअघि यी नायिका नेपाली रजतपटमा सर्वाधिक चम्किलो अनुहारका रूपमा उदाएकी थिइन् । उनको उत्कृष्ट अभिनयले सिँगारिएको चलचित्र ‘चपली हाइट’ ले उनलाई एकैपटक ‘हाइट’ मै पुर्यायो । खासगरी, उनले चलचित्रमा निर्वाह गरेको भूमिका र केही ‘सेक्सुअल’ दृश्यहरूले अधिक चर्चा बटुल्न पुगेको थियो । तर, चपली हाइटले दिलाएको सफलता भने दोस्रो चलचित्र ‘फुलस्टप’ले दिलाउन सकेन । कतिपय आलोचकहरूले ‘फुलस्टप’को असफलतासँगै बरालको कलायात्रामा पनि ‘फुलस्टप’ लागेको टिप्पणी गरे । तर, अब भने उनी आफ्नो कलायात्रालाई ‘फुलस्टप’ लगाउन दिनै पक्षमा छैनन् । उनको एउटा नयाँ चलचित्र चाँडै नै प्रदर्शन हुँदैछ–‘सुपरहिट’ । र, ‘उमंग’मा पनि उनको अभिनय क्षमता देख्न सकिनेछ । यी दुई चलचित्रबाहेक अमेरिकी निर्देशक डेब्रा मेरोलाको निर्देशनमा एउटा नाटकमा पनि अभिनय गर्ने सुरसारमा उनी उभिएकी छन् । भन्छिन्– ‘गएको वर्ष कृषि कार्यमा लाग्दा कला क्षेत्रमा पर्याप्त समय दिन सकिनँ । अब भने समय दिनेछु । कृषि क्षेत्रमा लाग्दालाग्दै पनि कला क्षेत्रलाई समय दिन सकिन्छ । व्यवस्थापन गर्न सकिन्छ । अबको वर्ष भने म कला क्षेत्रमा नै केन्द्रित रहनेछु ।’ अहिले केही समय कृषि कर्ममा रमाए पनि भरतपुर, चितवनकी यी नायिका कलाक्षेत्रसित टाढा किन हुन्थिन् र ? उनको नशा–नशामा कला नै कला बगेको छ । चलचित्र क्षेत्रमा आउनुअघि अनेक म्युजिक भिडियोहरूमा अभिनय गरेका यी नायिकाले स्कुल तहदेखि नै कला क्षेत्र रोजेकी हुन् र भरतपुरमा छँदा त एउटा स्थानीय टेलिभिजन च्यानलबाट बालबालिकासम्बन्धी कार्यक्रम नै चलाउँथिन् ।
केही समयको विश्रामपछि कला क्षेत्रमा पुन: फर्किन लागिरहेकी यी नायिकाले अर्गानिक फार्मलाई अझ विस्तार गर्ने सोचलाई भने मारेकी छैनन् । दस रोपनी उनलाई थोरै महसुस भएको छ । र, वर्षान्ततिर नुवाकोट वा गल्छीमध्ये एक ठाउँमा कम्तीमा सय रोपनीजति जग्गा भाडामा लिएर अर्गानिक फार्मलाई अझै चम्काउने सुरमा छिन् । ‘हामी अहिले गृहकार्य गरिरहेका छौं । नुवाकोटमा हाम्रै पार्टनरको जग्गा पनि छ । त्यही गर्ने वा गल्छीमा गर्ने भन्ने टुंगो लागिसकेको छैन’– उनी भन्छिन् ।
अहिले हजारौं युवाहरू बिदेसिइरहेका छन् । विदेश जाने युवाहरूलाई उनको आह्वान छ– ‘हामी विदेश जानका लागि जति लगानी गर्छौं, त्यति नै लगानी नेपालको कृषि क्षेत्रमा गर्ने हो भने यही नै राम्रो आम्दानी छ । आफ्नै परिवारसित बसेर त्यति नै लगानीेले काम गर्न सकिन्छ । मैले त गरिरहेको छु भने अरू युवाहरूले गर्न नसक्ने भन्ने कुरै छैन ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply