कथा एउटा भिखारीको
संसारमा प्राय: सफल मानिसहरूका ‘कथा’ लेखिन्छन् । तर, अपवादस्वरूप कुनै असफल मानिसको पनि ‘कथा’ कोरिन्छन् । सन्तोष खरे, एउटा त्यस्ता पात्र हुन्, जसको ‘रिल लाइफ’ एउटा रह्यो र ‘रियल लाइफ’ अर्कै । धैरै मानिसको स्मृतिपटबाट हिन्दी चलचित्रका ती होनहार प्रतिभा हराइसकेका होलान् । तर, जिन्दगीको यात्रामा उनले भोगेका अनेक उतार–चढावले के संकेत गर्दछ भने मानिसको जीवन कुन मोडमा कसरी बदलिन्छ, त्यसको कुनै भविष्यवाणी गर्न सकिन्न ।
एकाध वर्षअघि सन्तोष खरे एक भिखारीको रूपमा देखिए । उनी उत्तर प्रदेशको राजधानी लखनउस्थित हजरतगन्जको हनुमान मन्दिर छेउछाउ भेटिएका थिए, पुरानो र च्यातिएको कपडामा । त्यो पनि भीख मागिरहेको स्थितिमा । मन्दिर वरिपरिका अरू भिखारीभन्दा उनी केही वृद्ध नै थिए ।
वास्तविक जीवनमा भिखारी रहेका खरे कुनै बेला ‘जमिन्दार’ थिए । साठीको प्रारम्भिक दशकमा हिन्दी जगत्मा खुबै चम्किएको चलचित्र ‘मदर इन्डिया’मा उनले जमिन्दारको भूमिका निर्वाह गरेका थिए । उनको अभिनय यति सशक्त थियो कि, अहिलेसम्म पनि उनलाई त्यतिबेलाकै त्यही सशक्त भूमिकाका रूपमा सम्झिनेहरू छन् । सन् १९५७ का० २५ अक्टोबरमा रिलिज भएको उक्त चलचित्रबाट उनलाई आशातीत सफलता मिलेको थियो ।
फिल्मी जगत्मा उनको प्रवेश पनि रोचक नै छ । साठीको दशकमा बान्दा जिल्लाको कटरास्थित आफ्नो निवासबाट एक दिन उनी भागे र पुगे त्यतिबेलाको बम्बे सहर । बान्दाबाटै बीकम उत्तीर्ण गरेपछि मुम्बई पुगेका उनी नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसनमा जुनियर कलाकारका रूपमा काम गर्न थाले र चलचित्रमा सानातिना भूमिका पनि खेल्न थाले । त्यतिबेला एउटा भूमिका लागि उनले दैनिक दस रुपियाँ पाउँथे । जुन सहरमा धेरै गैरबम्बेवालाहरू आफ्नो भविष्य चम्काउन पाइला बिसाउँथे । तिनैमध्ये एक थिए उनी पनि । बम्बे छिर्नेहरूका जीवन संघर्षमा बित्दथे । अझ, चलचित्र क्षेत्रमा प्रवेश गर्न चाहनेहरूले त अनगिन्ती पापड बेल्नु पर्दथ्यौ । तर, खरेलाई भनै सुरुमै ‘मदर इन्डिया’मा जमिन्दारको भूमिका प्राप्त भयो । उक्त हिट फिल्ममा सुनील दत्त, राजकुमार, राजेन्द्र कुमारले त खेलेका थिए नै, फिल्मलाई चर्चित तुल्याउन नर्गिसको नायिकाको भूमिका झनै अहम् रह्यो । जुन चलचित्र नर्गिसकै कथावस्तु वरिपरि घुमेको थियो । ग्रामीण भारतकी एक महिला वरिपरि घुमेको उक्त चलचित्रमा आजभन्दा करिब आधा शताब्दी पहिलेको ग्रामीण भारतको सजीव तस्बिर उतारिएको छ । जुन चलचित्रमा ऋण नतिरेपछि एउटी ग्रामीण महिलाका दुई बच्चाहरूलाई जमिन्दारले नराम्ररी पिट्छन् । र, ती बच्चाहरूले पनि जमिन्दारसित बदला लिन्छन् ।
तर, जमिन्दारको भूमिकामा जमेका ती पात्र अहिले भने मन्दिरआसपास एक कप चियाको लालसा राख्दै भीख माग्छन् । सत्तरी वर्ष टेकिसकेका उनी केही वर्षयता असक्त छन् । केही वर्षपहिले मातेर कार चलाएका कारचालकले ठक्कर दिएपछि उनी घाइते हुन पुगे ।
उनले विवाह गरेनन् । तर, जिन्दगीमा एउटी कनिष्ट कलाकारसित भने उनी प्रेममा डुबेका थिए । आफूले प्रेम गरेकी युवतीसित बिहे नभएपछि उनी जिन्दगीभरि नै ब्रम्हचारी बन्ने टुंगोमा पुगे । तर, मुम्बईमा चम्किरहेकै बेला उनले एकाएक फिल्मी जगत्बाट आफूलाई टाढा राखे र लखनउ आएर बस्न थाले । उनले आफ्नो आर्थिक स्थितिप्रति संकेत गर्दै भनेका थिए–‘बान्दामा मेरो घर खण्डहर भइसकेको छ । भाइले पनि कुनै मद्दत गर्दैन । तसर्थ, भीख मागेर जीवन चलाइरहेको छु ।’ हुन त, पहिला उनले सरकारद्वारा कलाकारलाई दिइने पेन्सनबाट गुजारा चलाइरहेका थिए तर पछिल्ला समयमा पेन्सन दिन बन्द गरेपछि उनी आर्थिक दूरावस्था झेल्न बाध्य भएका हुन् ।
चम्किन त उनी ‘मदर इन्डिया’को एउटा सानो भूमिकाबाटै चम्किएका थिए । त्यसपछि पनि उनले चर्चित हिन्दी चलचित्रहरूमा भूमिका निभाए । उनले त्यतिबेलाका चर्चित फिल्महरू मेरा नाम जोकर, यहुदी की लड्की, मुगले–ए–आजम, बारिस, पाकिजा र गुँज उठी सहनाइजस्ता फिल्म खेलेका थिए । अचेल उनी दिनभर भीख माग्छन् र रातचाहिँ पूर्वमन्त्री पारसनाथ मौर्यको घरको बाहिर बिताउँछन् । उनले आफ्नो एटीएम कार्ड पनि मौर्यलाई नै दिएका छन् । उनले एटीएमको पासवर्ड मौर्यलाई यसर्थ पनि दिएका हुन् कि, आफ्नो मृत्युपछि दाहसंस्कार गर्न कुनै आर्थिक समस्या उत्पन्न नहोस्, आफ्ने खातामा रहेको पैसाबाटै दाहसंस्कार होस् । तर, उनी लखनउप्रति धेरै नै कृतज्ञ छन् । लखनउका व्यक्तिको सहृदयी व्यवहारले उनलाई छोएको छ । र, त्यही व्यवहारले नै आफूलाई अहिलेसम्म बचाइरहेको उनको बुझाइ छ ।
‘जमिन्दार’बाट भिखारीमा बदलिएको एउटा जिन्दगी । यस्तै जिन्दगी नेपाली फिल्मकर्मीहरूले अहिलेसम्म भोग्नु परेको त छैन । तर, केही वर्षअघि दिवंगत भएका गोपाल भुटानीले पनि लगभग त्यस्तै जिन्दगी बिताए, दु:ख, अभाव र बेचैनीबीच । तथापि, लाखौं व्यक्तिहरूलाई मनोरन्जन, आनन्द र कला अर्पण गर्ने व्यक्तिको जीवन अत्यन्तै दु:खद, कारुणिक र मर्मस्पर्शी हुनु निश्चय नै कुनै पनि राष्ट्र, समाज र कलाप्रेमीहरूका निम्ति सोभनीय विषय होइन ।
One response to “कथा एउटा भिखारीको”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
लाखौं व्यक्तिहरूलाई मनोरन्जन, आनन्द र कला अर्पण गर्ने व्यक्तिको जीवन अत्यन्तै दु:खद, कारुणिक र मर्मस्पर्शी हुनु निश्चय नै कुनै पनि राष्ट्र, समाज र कलाप्रेमीहरूका निम्ति शोभनीय विषय होइन ।