एउटा घुम्तीमा बेच्दै आँसुहरू
एक दशकअघि, नेपाली साहित्य–वृत्तमा ‘मतवाली’ सर्जकहरू सार्थक हस्तक्षेप जमाउने उपक्रममा थिए । विभिन्न समूह, गुट र आन्दोलनका आवरणमा मंगोलियन स्रष्टाहरू आफ्नो सांस्कृतिक, जातीय पहिचानको आलाप फिँजारिरहेका थिए । अबको दशक सांस्कृतिक चेतना, भौगोलिक पहिचान र माटोको गन्धको वकालत गर्ने स्रष्टाहरूको दशक हुने उद्घोष पनि अनेक कोण र कुनाहरूबाट भइरहेको थियो ।
नेपाली साहित्यको मूल गोरेटोमा मंगोलियन पदचाप बाक्लो र तिख्खर हुँदै गइरहेको त्यो समय एक जना पूर्वेली मंगोलियन कवि भने सिर्जनाको धरातलबाट एकाएक हराउन पुगे । उनी बाल आवाराको नामले चिनिन्थे । र, कुनै समय कविता लेख्नुबाहेक अर्को उद्देश्य थिएन उनको । उनी कवि कम र परिकल्पनाकार धेरै थिए । नभए, कुनै दिन दूधकोसीदेखि हलेसीसम्मको बाटोलाई ‘बाल आवारा मार्ग’ घोषणा हुने सुखद् परिकल्पनामा उनी डुब्दैनथे र आफूलाई राष्ट्रले सोह्रौं विभूति घोषणा गर्नेमा मख्ख पर्दै यस्ता हरफहरू लेख्दैनथे :
‘तिमी जतिसुकै डाह गर
अब तिमीले डाह गरेर
केही हुनेवाला छैन
धनीहरू धन थुपार्दै जाऊ
जागिरेहरू पैसा कमाउँदै जाऊ
नेताहरू
मन्त्रीहरू
जेसुकै गर
म त
मेरै नामको राजमार्गमा
यात्रा गरिरहेछु मोटरबाट
कविता लेख्दै ।’
समय उनले परिकल्पना गरेजस्तो अनुकूल भएन, न त आफ्नो नाममा नामकरण गरिएको दूधकोसीदेखि हलेसीसम्मको सडक मार्गमा मोटरबाट गुड्दै कविता नै लेखे उनले । साठी सालतिर उनको लेखनमा एक्कासि ‘ब्रेक’ लाग्यो । ‘भक्तपुरको देश’ र ‘पाठकहरूको मृत्युमा’जस्ता दुई सशक्त कविताकृतिका यी स्रष्टा अचेल पनि मौन छन्, लेखनमा । उनीभन्दा एक वर्ष जेठा र लेखनमा दुई चार भोटो फटाएका र राजनीतिमा पनि दुई चार वटा नै भोटो फेरेका श्रवण मुकारुङ यतिखेर एकेडेमीको कुर्सीमा पुगेका छन् । तर, आवारा भने चाबहिलको गोपीकृष्ण हलभन्दा सय मिटरजति परको घुम्तीमा स्टेसनरी सामग्रीहरू बेच्दै आफ्ना ग्राहकहरूसित संवादमा मस्त र व्यस्त छन् यतिखेर ।
शनिबार बिहान संवादका क्रममा एउटा प्रश्न तेस्र्याएँ– ‘लेखनबाट किन एकाएक पछि हट्ने विचार आयो ?’ केही भावुक हुँदै उनले भने– ‘म कुनै रहरले पछि हटेको होइन । आर्थिक रूपले व्यवस्थित हुनका लागि लेखन क्षेत्रबाट पछि हटेको हुँ । कुनै बेला, आर्थिक रूपले म यति कमजोर थिएँ कि, भान्सामा चामल हुँदैनथ्यो । तर, आर्थिक रूपले समृद्ध हुँदै गएको छु र सबल भएपछि लेखनमा फर्किन्छु । अझै दुई वर्षसम्म म आफूलाई सबल बनाउन लाग्छु र त्यसपछि लेखनमा आउँछु ।’
एक दशक नै विश्राम लिएका आवारालाई सोधेँ– ‘अब लेखनमा फर्किदा धमाकेदार रूपमा फर्किने इच्छा हो ?’ उनले भने– ‘अब लेखनमा फर्किदा म फरक तरिकाले फर्किन्छु । अब म लामो आख्यान लेखनतिर लाग्नेछु । यो अवधिमा मैले जेजति अनुभव बटुलेँ । ती अनुभवहरूलाई आख्यानमा ढाल्दा मेरो लेखन समृद्ध हुन्छ भन्ने मलाई लागेको छ । तर, कवितालाई मैले जहिल्यै पनि माया गरेको हुँदा त्यस विधालाई परित्याग गर्ने त कुरै भएन ।’
पचासको दशकमा कविताका साथै गजल लेखनमा पनि राम्रो दख्खल राख्ने आवाराले अबका दिनमा लेखनमा फर्किंदा गजलसित भने पारपाचुके गर्नेछन् । किन त ? उनी भन्छन्– ‘म गजल लेख्न सक्दिनँ । गजल लेख्न गाह्रो छ । प्रायजसो मानिसहरू लेख्ने रहरले गर्दा गजल लेखिरहेका छन् । अहिले गजल लेखनमा बाढी आएको छ र बाढीलाई केही भन्न सकिँदैन पनि । तर, गजल लेखेको मेरो अनुभवले भन्छ– गजल लेख्न मुस्किल छ ।’
लेखनको मैदानमा खुट्टा नबजारे पनि उनले अचेल आफूलाई एक सचेत, क्रियाशील र खटालु पाठकका रूपमा भने स्थापित तुल्याएका छन् । आफ्नो हृदय र मन–मस्तिष्कले चयन गरेका सामग्रीहरू उनी रातै कटे पनि पढ्छन् । उनी भन्छन्– ‘म प्राय: साहित्य नै पढ्छु । तर, व्यक्तिले चर्चामा ल्याएका किताबहरू भने म पढ्दिनँ । लेखक स्वयम्ले टोपी, टिसर्टमा आफ्नो किताबको विज्ञापन गरेर जबरजस्ती चर्चामा ल्याइएका पुस्तकहरू मलाई पढ्न मन लाग्दैन । म आफंै चर्चित भएका पुस्तकहरू मात्रै पढ्छु ।’
पछिल्लो समय पच्चीस हजार प्रति बिक्री भएको भनिएको रुकमांगद कटवालको आत्मकथा उनले नपढ्ने पुस्तकको सूचीमा पर्छ । त्यस्तै, सौरभको ‘असहमति’ पढ्न मन नलागी–नलागी पढेको पुस्तक हो । भन्छन्– ‘कुनै पुस्तक पढ्दा दिमागमा तरंग ल्याउनुपर्छ । दिमागलाई केही दिने पुस्तक नै चाहिन्छ ।’ तर ‘सकस’ भने उनले दोहोर्याएर पढे भने विजयकुमारको ‘खुसी’ दसैंको बेला पढ्ने योजना बुनिरहेका छन् । उनी आफू मात्रै पढ्दैनन्, सिभिल इन्जिनियरिङको पढाइ प्रारम्भ गरेका छोरालाई म्याक्सिम गोर्कीको ‘मदर’ पढ्न लगाएका छन् ।
नयाँ लेखकहरूलाई पढ्ने र मूल्यांकन गर्ने काम पनि उनले उत्तिकै गरिरहेका छन् । नयाँ लेखकहरूप्रति उनी कुनै मोलाहिजा नगरी भन्छन्– ‘म नयाँ लेखकहरू छानेर पढिरहेको छु । स्वप्निल स्मृतिका कविता पढिरहेको छु । नयाँ उपन्यासकारहरूलाई पनि पढिरहेको छु तर चित्त बुझिरहेको छैन । अमर न्यौपानेको उपन्यास पुरस्कृत भएपछि पढेँ तर त्यो पुस्तकले पुरस्कार पाउनका लागि मात्रै पाएको जस्तो लाग्यो । राजन मुकारुङ बढी जातिवादी छन्, मलाई जातिवादी मन पर्दैन । उनको उपन्यास पढेपछि मैले धन्यवाद पनि दिइनँ र सराप्दा पनि सरापिनँ ।’
कहिलेकाहीँ उनको स्टेसनरी पसलमा कवि मञ्जुल आउँछन् । एक दिन त उनले मञ्जुललाई सिधै भनिदिए– ‘मलाई कवि मञ्जुल मन पर्दैन तर मञ्जुलले गर्ने व्यवहार भने मन पर्छ ।’ हुन पनि चालीसबाट दुई चार वर्षै उकालो लागिसकेका आवारालाई केही कुरा पनि लुकाएर राख्न मन लाग्दैन । प्रस्ट बोले पेट र मन सफा हुने मान्यतामा अडिएका यिनी केही कुरा पनि लुकाउन चाहँदैनन् । आफूलाई स्टेसनरी पसलले नै उँभो लगाएको बताउँदै उनी भन्छन्– ‘यो व्यवसाय मलाई यति फाप्यो कि, मैले कपनमा घर बनाएँ । अहिले आर्थिक तनाव छैन । ७२ हजारबाट सुरु गरेको यो व्यवसायले मलाई माथि उठायो ।’
अहिले पाठक र लेखक दुवैको संख्या बढेकोमा गर्व गर्ने आवारा नयाँ पुस्ताका लेखकहरूप्रति नतमस्तक छन् । भन्छन्– ‘नयाँ पुस्ताप्रति मलाई अत्यन्तै गर्व छ । जो कवि, उपन्यासकार भएर निस्किएका छन्, मलाई उनीहरूप्रति धेरै गर्व छ । एकरत्ति पनि डाह छैन ।’
तेह्र वर्षअघि उनले स्टेसनरी पसल सञ्चालनमा ल्याउँदा देश द्वन्द्वकै भुंग्रोमा पिल्सिरहेको थियो । कताकता देशमा शान्तिको सुनौलो किरण झुल्किने आशा भने निश्चित रूपमा बढेको थियो, त्यतिखेर । त्यही बेला, एउटा पत्रिका पसलेले गर्ने अनुभव उनले पनि बटुले र लेखे यस्ता हरफहरू :
‘मिर्मिरे बिहान
साँझमा परिणत भइसक्छ
र, फेरि साँझ मिर्मिरेतिर लम्किसक्छ
मलाई भने
केही थाहा हुँदैन
पसलमा बसेर
बेचिरहन्छु
माओवादी र सैनिकका लासहरू
युद्धविराम र वार्ताहरू
श्रद्धाञ्जली र आँसुहरू ।’
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply