के चाहेका थिए विप्लवले ?
काठमाडौं । ०३९ सालमा अनेरास्ववियु (छैटौं)मा आबद्घ भएर राजनीति सुरु गरेका नेत्रविक्रम चन्दले ३२ वर्षपछि गत हप्ता आफ्नै नेतृत्वमा नेकपा (माओवादी) गठन गरेका छन् । ३२ वर्षको राजनीतिक दौरानमा उतारचढाव झेलेका चन्दले ३ वर्षअघि आफ्नै पहलमा एमाओवादीबाट विभाजित भएर गठित नेकपा–माओवादीलाई आफैंले किन फुटाए भन्ने प्रश्नको चित्तबुभm्दो जवाफ न विप्लवले दिन सकेका छन्, न त विप्लवले के चाहेका थिए भन्ने कुराको भेउ मोहन वैद्य खेमाका नेताहरूले नै पाउन सकेका छन् ।
किन फुटाए त विप्लवले नेकपा–माओवादी ? विप्लवलाई नजिकबाट चिन्ने अधिकांशको जवाफ एउटै हुन्छ– ‘उनको महत्त्वाकांक्षा ।’ विप्लवको महत्त्वाकांक्षाको मात्र सिकार भएको हो त नेकपा–माओवादी ? मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीभित्र यस बारेमा नयाँ बहस सुरु भएको छ भने यसलाई हिजो विप्लवकै सहयोगीका रूपमा चिनिनेहरूले पनि बहसको विषय बनाएका छन् । उनले के चाहेका हुन् भन्ने कुराको भेउ पाउन नसकेकै कारण हिजोसम्म उनका भनिएका डा. ऋषिराज बराल, रामदीप आचार्यलगायतले साथ छाडेका छन् । एनेकपा माओवादीबाट फुटेर नेकपा–माओवादी गठनमा महत्त्वपूर्ण भूमिका खेलेका चन्दले त्यसबेला जुन उद्देश्यमा साथ वैद्यलाई सघाएका थिए, त्यो पार्टीले सामान्य उद्देश्य पनि पूरा नगरेकाले फेरि विभाजन गर्नुपरेको र यो आफ्नो निर्मम बाध्यता रहेको बताएका छन् । तर, उनको यो प्रस्टोक्तिलाई वैद्य नेतृत्वको नेकपा–माओवादीका नेता स्वीकार गर्दैनन् । विप्लवभित्र गडेर बसेको पदप्रतिको आशक्ति नै पार्टी विभाजनको मुख्य कारण रहेको उनीहरू बताउँछन् । नेकपा–माओवादीका केन्द्रीय सदस्य महेश्वर दाहाल भन्छन्– ‘मैले नजिकबाट विप्लवलाई चिनेको र संगत गरेको २५ वर्षभयो, मैले थाहा पाएदेखि नै उनी पदप्रति आशक्त थिए ।’ यद्यपि उनमा केही गरौं भन्ने भावना र गतिशिलता सकारात्मक पक्षका रूपमा रहेको पनि दाहालले बताए ।
एमाओवादीबाट अलग्गिएपछि पहिलो पटक बौद्घमा बसेको नेकपा–माओवादीको भेलामै उनले पदीय आशक्ति प्रकट गरेको बताइन्छ । उक्त भेलामा एमाओवादीमा हुँदाका तीन शीर्ष नेता वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेलमध्ये कसैलाई संयोजक बनाएर ६ महिनापछि महाधिवेशन गरौं भन्ने कुरा हलमा अधिकांशले उठाउँदा पनि विप्लवकै कारण उनलाई र देव गुरुङलाई सचिव बनाएर पदाधिकारी गठन गरिएको बताइन्छ । त्यति मात्र होइन, यसबीचमा चन्दले आफंैले नभने पनि आफू निकटस्थहरूमार्फत वैद्यलाई सल्लाहकार, थापालाई अध्यक्ष र आफूलाई महासचिव बनाउनुपर्ने कुरा उठाउँदै आएको माओवादी स्रोतले बतायो ।
०५५ सालको सेरोफेरोमा प्रचण्डसँग अत्यन्तै निकट रहेका विप्लवको प्रचण्डसँगको दूरी पनि पदकै कारण टाढा भएको बताइन्छ । क्रान्तिकारिताको जतिसुकै ठूला कुरा गरे पनि एनेकपा माओवादी र खासगरी प्रचण्डसँग दूरी बढ्नुको पछाडि पनि पदीय लालसाले नै काम गरेको बताइन्छ । हुन पनि शान्ति प्रक्रियामा आएपछि त्यो कालखण्डमा माओवादी संसद्मा सबैभन्दा ठूलो पार्टी थियो भने पटक–पटक सत्तासँग नजिक रह्यो । दुई पटक त सरकारको नेतृत्व नै गर्यो । तर, विप्लवले कहिल्यै लाभको पद पाएनन् । ०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पाबाट उठ्न चाहेका उनलाई नेतृत्वले माओवादी संगठन कमजोर रहेको कैलाली वा कपिलवस्तुबाट उठ्न भनेपछि उनी निर्वाचनमै गएनन् । न उनलाई समानुपातिकबाट सभासद् बनाइयो, न त मन्त्री नै । त्यही बेलाबाट प्रचण्डसँग चिढिएका उनकै विशेष भूमिकामा ०६९ मा एनेकपा माओवादी विभाजित भयो । धोबीघाट भेलापछि बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हुँदा मन्त्रीहरूको चयनमा कुरा नमिलेरै विभाजनको अन्तिम रेखा तानिएको थियो । त्यति मात्र होइन, पालुङटार भेलामा बैद्यहरूसँग फरकमतको सामना गरिरहँदा प्रचण्डले विप्लवलाई सरकारमा नलगेर ठूलो गल्ती गरेको बताएका थिए । विप्लवलाई मन्त्री बनाइदिएको भए पार्टीभित्र समस्या नै हुँदैनथ्यो भन्ने प्रचण्डको आशय थियो । वाम विश्लेषक मुमाराम खनाल उद्देश्यका हिसाबले विप्लवले लिएको बाटो पनि विफल हुने बताउँछन् । उनी भन्छन्– ‘आन्दोलनको नाम भजाएर एउटा नेतालाई अलिक शक्तिशाली बनाउन र मूलधारको राजनीतिमा अलिक बार्गेनिङ गर्ने हैसियतको बनाउने सफलता चाहिँ मिल्छ, उनले चाहेको त्यही मात्र हुन पनि सक्छ ।’
भारत र चीनका अधिकारीहरूसँग गुपचुपमा भेट गर्ने, काठमाडौंका सभ्रान्त मानिने राणा र ठकुरीहरूसँग हिमचिम बढाउने गरेका कारण बेलाबेलामा आलोचित बनेका विप्लवले ती भेटघाट र हिमचिमलाई स्वीकारेका पनि छन् । यस कारण पनि उनले उनीहरूले भनेजस्तो जनवादी क्रान्तिमार्फत सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्छन् भन्ने कुरा पत्याउन गाह्रो पर्छ । उनका ती भेटघाट हेर्दा उनी आफूलाई ‘सुपर नेता’का रूपमा चिनाउन चाहन्छन् भन्ने अनुमान लगाउन सकिन्छ ।
तर, माओवादीबारेमा राम्रो दख्खल राख्ने विश्लेषक मणि थापा भने महत्त्वाकांक्षा र पदीय लोभकै कारण विप्लवले पार्टी फुटाएका हुन् भन्ने कुरा मान्दैनन् । उनी भन्छन्– ‘युवा पनि भएकाले अलिक–अलिक महत्त्वाकांक्षा हुनु स्वाभाविक नै हो, तर त्यो नै पार्टी विभाजनको कारण होइन ।’ उनलाई अहिले पदलोलुपको आरोप लगाउनु त झन् उनीमाथिको ठूलो अन्याय हो ।’ ‘एमाओवादीमा रहँदा पनि प्रचण्डले उनलाई हरेक पटक मन्त्रीको प्रस्ताव गरे भने एक पटक त उपप्रधानमन्त्रीकै प्रस्ताव गरे तर उनैले मानेनन्’– थापा भन्छन्– ‘उनले चाहेको भए नेकपा–माओवादीको महासचिव बन्थे, वैद्यले नै त्यो प्रस्ताव गरेका थिए ।’
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply