अढाई वर्षमै कैलाशको परिपक्वता
पचासको दशकको सुरुआततिर बैंक तथा वित्तीय संस्था सीमित थिए । भएका पनि ठूला सहर–बजारमा केन्द्रित थिए । त्यही समय काठमाडौं उपत्यकामा केही फाइनान्स खुले पनि काठमाडौं बाहिरका प्रमुख सहरहरूमा भने ती पुग्न सकेका थिएनन् । तर, ०५० असोज १४ गते उपत्यका बाहिर पोखरामा पहिलो फाइनान्स कम्पनी खुल्यो–अन्नपूर्ण फाइनान्स । त्यही फाइनान्सले करिब अढाई वर्षअघि स्तरोन्नति हुँदै कैलाश विकास बैंकको रूप लिन पुगेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने विकास बैंकको रूपमा स्तरोन्नति भएको आफ्नो कम्पनीको विगत कोट्याउँदै भन्छन्– ‘त्यतिबेला फाइनान्स कम्पनीहरू काठमाडौं उपत्यकामा मात्र सीमित थिए । काठमाडौं बाहिर फाइनान्स खोल्नु चुनौती थियो । जनताले पत्याउन मुस्किल पथ्र्यो । तर, जनताको विश्वास आर्जन गर्दै फाइनान्सले फड्को मार्दै गयो र अहिले नेपालकै विश्वासिलो विकास बैंकका रूपमा उभिएको छ ।’ त्यतिबेला, पोखराका स्थायी बासिन्दा राजेन्द्र गिरीलगायतले ३५ लाख रुपियाँ लगानीमा उक्त फाइनान्स सुरु गरेका थिए ।
आफ्नो यात्राको झन्डै दुई दशकमा विकास बैंकमा उक्लिनुमा चुस्त र प्रभावकारी व्यवस्थापन मान्न सकिन्छ । प्रमुख कार्यकारी अधिकृत लामिछाने भन्छन्– ‘हामी आफ्नै दक्षताले राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएका हौं । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र कार्यविधि पूरा गर्दा हामीले धेरै कुरामा ध्यान दिएका छौं । अरु कुनै वित्तीय संस्थासित मर्जर भएर भएको होइन ।’
बैंकको चुक्ता पुँजी अहिले ९० करोड छ । साथै, बैंकमा ८ अर्ब रुपियाँ निक्षेप छ भने पौने ७ अर्ब रुपियाँ प्रवाहित कर्जा छ । गत आर्थिक वर्षमा २६ करोड खुद मुनाफा कमाउन सफल बैंकका प्रमुख कार्यकारी अधिकृत लामिछाने भन्छन्– ‘हामी विकास बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने र राज्यलाई बढी कर तिर्ने बैंकमा पर्छौं ।’ यसपालि बैंकले बोनस सेयर र लाभांश गरी २५ प्रतिशत प्रदान गर्ने टुंगोसमेत लगाएको छ ।
अहिले उक्त बैंकले २३ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ भने छिट्टै पोखरामा एउटा र कुनै दुई वटा ग्रामीण क्षेत्रमा शाखा खोल्ने तयारी भइरहेको छ । ‘हामीले ग्रामीण क्षेत्रको चाहिँ अहिल्यै टुंगो गरिसकेका छैनौं । ग्रामीण क्षेत्रमा खोलिने शाखामा हामीले कृषि क्षेत्रमा लगानी गर्ने मुख्य ध्येय सँगालेका छौं’– लामिछाने भन्छन् । अहिले बैंकमा ५० हजार सदस्य आबद्ध छन् । अहिले अरू बैंकहरूले उपलब्ध गराउँदै आएको सम्पूर्ण आधुनिक बैंकिङ सुविधामा बैंक सक्षम रहेको छ ।
वि.सं.०१८ सालमा कास्कीको लेखनाथ नगरपालिकामा जन्मिएका लामिछानेले ०३३ सालमा लेखनाथकै लक्ष्मी आदर्श माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि पश्चिमाञ्चलकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसलाई रोजे । त्यहाँबाट स्नातक अध्ययन पूरा गरेपछि उनले काठमाडौं आएर शंकरदेव क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । उच्च शिक्षा पूरा गरेपछि उनले ०४३ सालमा नेपाल बैंक लिमिटेडमा अधिकृत तहबाट आफ्नो बैंकिङ क्यारिअर प्रारम्भ गरे । २१ वर्षसम्म उक्त बैंकमा कार्यरत रहेका उनले साढे पाँच वर्षअघि अन्नपूर्ण फाइनान्स र त्यसपछिको कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएका हुन् । त्यसो त, उनले नेपाल बैंक लिमिटेडबाट बिदा लिँदा उक्त बैंकको नेपाली कर्मचारीहरूमा सबभन्दा माथिल्लो तहमा उनी नै कार्यरत थिए । उनी भन्छन्– ‘उक्त बैंकको व्यवस्थापन केही वर्ष विदेशीहरूले सम्हालेका थिए । तर, विदेशीले व्यवस्थापन सम्हाल्न छाडेर राष्ट्र बैंकले जिम्मा लिएपछि मैले पनि बैंक छाडेँ ।’ राष्ट्र बैंकको प्रमुख व्यवस्थापकबाट छाडेपछि उनले उक्त बैंकको प्रमुख कार्यकारी अधिकृत पाइला टेकेका हुन् । तर, बैंकको जिम्मेवारी सम्हालेपछि उनले नयाँ गति र स्फुर्तिका साथ कैलाश विकास बैंकलाई अघि बढाउन आफ्नो सम्पूर्ण अनुभव, सीप र दक्षता अर्पण गरे । भन्छन्– ‘मैले यो बैंक सम्हालेपछि निक्षेपमा चार गुणा वृद्धि भएको छ । नाफा पनि पाँच गुणाले बढेको छ । शाखा संख्या पनि पाँच गुणा नै बढ्यो । कर्मचारीको संख्या पनि पाँच गुणाले नै बढेको छ ।’ काठमाडौं बाहिर स्थापना भएको एउटा फाइनान्स कम्पनीले विकास बैंकको सिढी उक्लिँदै नेपालको बैंकिङ क्षेत्रमा सबल पहिचान दिन सक्षम भएकोमा लामिछाने गौरव गर्छन् ।
अहिले देशभरि ८३ वटा विकास बैंक छन् । उनी विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपालका अध्यक्ष पनि हुन् । उक्त संस्थाको दुईबर्से कार्यकाल रहेकोमा अहिले डेढ वर्ष गुज्रिसकेको छ । देशका ६३ जिल्लामा विकास बैंकहरूको पहुँच छ । ग्रामीण क्षेत्रहरूमा विकास बंैकहरूको धेरै शाखा रहेको बताउँदै लामिछाने भन्छन्– ‘विकास बैंकहरूका प्रवद्र्धकहरू त्यति धनाढ्य वर्गका छैनन् । यसका प्रवद्र्धकहरू ग्रामीण भेगका साना सहरका मध्यम वर्गीयहरू नै छन् र उनीहरूले नै सञ्चालन गरिरहेका छन् ।’ तर, केही दशकयता विकास बैंकले गर्ने काम पनि कमर्सियल बैंकले गर्न थालेपछि भने त्यसले केही समस्या उत्पन्न गरेको उनी बताउँछन् । ‘विकास बैंकहरूको कारोबारको आकार सानो छ । सानो–सानो कारोबार पनि कमर्सियल बैंकहरूले गर्न थालेपछि विकास बैंकलाई समस्या आउनु स्वाभाविकै हो’– उनी भन्छन् । त्यसैले बैंक तथा वित्तीय संस्थाहरूको क्षेत्र छुट्याइनुपर्ने लामिछानेको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाहरूको क्षेत्र छुट्याउनु पर्यो । होइन भने विकास भन्ने शब्द नै हटाउनुपर्यो । सबै बैंक एउटै हुनुपर्यो । वर्गीकरण गर्नु भएन । ठूला पुँजी हुनेले ठूलै कारोबार र सानाले सानै कारोबार गर्नेगरी छुट्टयाउनु पर्यो’– उनको कथन छ । त्यसो त अहिले बैंक तथा वित्तीय संस्थाहरूबीच भइरहेको मर्जरप्रति उनी सकारात्मक धारणा नै राख्छन् । तर, कमजोर–कमजोर संस्था मिलेर कुनै पनि संस्था बलियो नबन्ने उनको तर्क छ । भन्छन्– ‘बलियो संस्थासित कमजोर संस्था मर्जर भयो भने चाहिँ राम्रै हुन्छ ।’ तथापि, विगतमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लाइसेन्स जथाभावी बाँड्दा अहिलेको स्थिति उत्पन्न भएको लामिछानेको भनाइ छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply