ओलीको ध्यान सरकारतिर
काठमाडौं । माघ ८ मा संविधान आउला कि नआउला भन्ने अनिश्चितता बढिरहेका बेला एमाले अध्यक्ष केपी ओलीले एकाएक सक्रियता बढाएपछि धेरैको मनमा लागेको थियो– अब केही हुन्छ कि क्या हो † तर, सबैले ओलीतिर ध्यान दिइरहेका बेला ओलीको ध्यान चाहिँ सरकारतिर केन्द्रित भएको खुलेपछि फेरि निराशा छाएको छ ।
खासमा विपक्षी दलहरूसँग संवाद गरेर सहमति निर्माणको प्रयत्न सत्तारुढ गठबन्धनको नेताका रूपमा प्रधानमन्त्री सुशील कोइरालाले गर्नुपर्ने हो । तर, कुनै पनि विषयमा सक्रियता नदेखाउने र छलफलमा बस्दा पनि व्याख्या–विश्लेषण गरेर अरूलाई बुझाउन नसक्ने क्षमताका कारण प्रधानमन्त्री कोइराला निष्क्रिय जस्तै छन् । पार्टीभित्रको आन्तरिक किचलोका कारण कांग्रेस नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवै आ–आफ्नै धुनमा छन् । यस्तो बेलामा दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीले सक्रियता देखाउनुले उनका लागि त नेतृत्व देखाउने मौका दिने नै भयो, मुलुकलाई नै निकासतर्फ डोर्याउन सक्ने अपेक्षा थियो । पार्टी कार्यालय, संसदीय दल वा बाहिरभन्दा आफ्नै घरमा राजनीतिक छलफल र भेटघाटहरू गर्न रुचाउने ओलीले यसबीचका दुई साता आफूलाई त्यस्तै काममा साह्रै व्यस्त राखे । खासगरी, प्रमुख विपक्षी एमाओवादी र मधेसी दलका नेताहरूलाई दिनदिनै जस्तो भेटेर ओलीले राजनीतिमा एउटा तरंग पनि नल्याएका होइनन् । तर, त्यस्ता छलफलहरू संविधानका अन्तर्वस्तु, विवादित विषय र समाधानका विषयमा भन्दा सरकारमा बढी केन्द्रित रहेपछि संविधान निर्माण प्रक्रियामा कुनै योगदान पुगेन ।
प्रचण्डसँग तीन चरण छलफल
अध्यक्ष ओलीले प्रमुख विपक्षी एमाओवादीका नेताहरूसँग गोप्य रूपमा समेत धेरै चरण वार्ता गरिसकेका छन् । स्रोतका अनुसार, ओलीको आफ्नै निवास बाल्कोटदेखि एक व्यापारीको घरमा समेत दुई साताका बीचमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग तीन चरण छलफल भएको छ । स्रोतले भन्यो– ‘तर ती तीनै चरणका वार्तामा संविधान कसरी बनाउने भन्दा पनि सरकारकै बारेमा बढी छलफल भयो । संविधान जारी भएमा त्यसपछि कस्तो सरकार बन्ने, को राष्ट्रपति बन्ने, को प्रधानमन्त्री बन्ने भन्ने जस्ता विषयले बढी महत्त्व पाए ।’ एमालेका एक नेताले भने दाहालको मनोविज्ञान बुझेकै कारण ओलीले त्यस्तो कुरा गरेको बताए । उनले बुधबारसँग भने– ‘कहिल्यै पनि एमाओवादीको प्राथमिकता संविधान होइन । त्यो कुरा ओली कमरेडले बुझ्नुभएको छ । संविधान बनेपछि राष्ट्रपति तपाईंलाई बनाउँछौं भनेर सम्झौता गर्ने हो भने दाहालले दुई घन्टामा सहमति गरिदिन्छन् ।’
मधेसीलाई सत्ताको काउकुती
सदाबहार मन्त्री बन्ने मधेसी नेताहरू सरकारमा जान नपाउँदा छटपटिएको पीडा बुझेरै होला, ओलीले मधेसी मोर्चाका सबै नेताहरूलाई एक ठाउँमा राखेर औपचारिक रूपमै सरकारमा जान आग्रह गरेपछि हलचल पैदा भएको छ । आफूहरूमाथि लाग्ने गरेको सत्तालिप्साको आरोप पन्छाउन र संविधान निर्माणमा ध्यान छ भन्ने देखाउन मधेसी नेताहरूले तत्काल सत्तामा जान्नौं भने पनि भित्रभित्रै उनीहरूलाई सत्ताको काउकुती लागिसकेको छ । एमालेका अर्का एक नेताले भने– ‘व्यक्तिगत रूपमा कुरा गर्दा सबै मधेसी नेता सरकारमा जान सकारात्मक छन् । तर, सामूहिक रूपमा कुरा गर्दा सरकारमा जान्छौं भन्न डराएका छन् ।’ मधेसी नेताहरूले सरकारमा जान तत्परता नदेखाउनुका पछाडि माघ ८ मा संविधान बनेन भने त्यसको दोष आउने र त्यतिबेला सुशील कोइरालाको सरकार ढल्ने निश्चित भएका कारण छोटो अवधिका लागि किन जाने भन्ने कारणले पनि काम गरेको छ ।
गच्छदार साथ दिन तयार
यसबीचमा अध्यक्ष ओलीले महत्त्वका साथ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गर्नुभएको छ । घरमै बोलाएर मधेसी मोर्चाका नेताहरूलाई दिवाभोज दिनुअघि र पछि पनि उनीहरूबीच कुराकानी भएको थियो । २० दलीय मोर्चा बनाएर त्यसैका आधारमा ‘बार्गेनिङ’ गरिरहेका पुष्पकमल दाहाललाई बाध्य पार्नका लागि उक्त मोर्चा फुटाउने रणनीति अनुसार जतिसक्दो दलहरूलाई आफूतिर ल्याउने कोसिस ओलीको छ । त्यसक्रममा ओलीलाई गच्छदारले आफ्नो साथ रहने वचन दिएको स्रोतले बतायो । स्रोतले गच्छदारको भनाइ उद्धृत गर्दै भन्यो– ‘अहिल्यै सरकारमा जाने वातावरण मिल्छ, मिल्दैन भन्न सक्दिनँ । तर, २० दलीय मोर्चालाई म विभाजित गरिदिन्छु ।’ मोर्चाबन्दी गरेर कांग्रेस–एमालेलाई एक्ल्याउने प्रयासमा असहमति जनाउँदै परिवार दललगायत पाँच दलले असहमति जनाइसकेका छन् ।
प्रधानमन्त्री किन झस्के ?
अध्यक्ष ओली स्वयम्ले आइतबार एक अन्तर्वार्तामा आफ्नो कदमले प्रधानमन्त्री कोइरालासमेत झस्किएको बताएका छन् । आखिर किन झस्के त प्रधानमन्त्री ? यसका पछाडि माघ ८ मा संविधान बन्ने सम्भावना कम देख्न थालेका प्रधानमन्त्री कोइरालालाई संविधान नबनी आफूले सरकार छोड्नुपर्ला भन्ने डर लाग्न थालेको बुझ्न सकिन्छ । माघ ८ मा संविधान बनाएर सरकारबाट बिदा हुने सम्झौता कांग्रेस र एमालेले एक वर्षअघि नै गरेका थिए भने प्रधानमन्त्री कोइरालाले पनि त्यही कुरा दोहोर्याउँदै आएका छन् । तर, माघ ८ मा संविधान बनेन भने के हुन्छ भन्नेबारेमा कांग्रेस र एमालेबीच मतान्तर देखिएको छ । ओली कुनै पनि हालतमा त्यही दिनमै सरकार छाड्ने र नयाँ सरकार बनाउने योजनमा छन् भने कांग्रेसका नेताहरू संविधान बनेपछि छोड्ने सहमति भएको हो भन्ने तर्क गरेर सरकारमा बसिरहने चाहनामा छन् । मधेसी दलका एक नेताले दुई दलबीच भएको रस्साकस्सीमा टिप्पणी गरे– ‘प्रधानमन्त्रीजीलाई संविधान बन्दैन कि भन्ने चिन्ताभन्दा माघ ८ का लागि ओलीजीले नयाँ विकल्प तयार पार्नुभयो भन्ने चिन्ता बढी छ ।’
माघ ८ पछिको तयारी
ओलीले एकाएक बढाएको सक्रियतालाई अहिले सरकार परिवर्तनका लागि हो कि भनेर प्रधानमन्त्री झस्के पनि खासमा उनले माघ ८ पछिको वातावरण बनाउनका लागि काम गरिरहेको बुझाइ अरूको छ । पार्टीभित्रबाट समेत अहिले सरकारको चर्चा चल्नुलाई ‘बेमौसमको बाजा’को संज्ञा दिएर विरोध हुन थालेपछि ओलीले सरकार परिवर्तन होइन, विस्तारका लागि कुरा गरेको स्पष्टीकरण दिएका छन् । यसबाट पनि अहिलेदेखि वातावरण बनाएर माघ ८ पछि प्रधानमन्त्री बन्ने तयारीमा ओलीले गृहकार्य गरेको बुझ्न सकिन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply