पद ठूलो कि राष्ट्र ?
संविधान घोषणा गर्नका लागि दलहरूले एक वर्षअघि जनतासमक्ष गरेको वाचाको मिति नजिकिँदै गएको छ । माघ ८ गतेभित्र संविधान जारी गर्ने उनीहरूको आफ्नै प्रतिबद्धता पूरा गर्नका लागि अहिले उनीहरूलाई हम्मेहम्मे पर्न थालेको छ । समय बाँकी रहुञ्जेल खास परिणाम दिने गरी काम नगर्ने अनि समय घर्किने बेलामा हस्याङफस्याङ गर्ने शीर्ष नेताहरूको पुरानै बानी हो । अहिले पनि विवादका रूपमा रहेका मुख्य दुई विषयमा दलहरूले समयमै गम्भीरतापूर्वक छलफल गरेनन् वा गरे पनि परिणाम निकाल्न सकेनन् । वास्तवमा भन्ने हो भने अघिल्लो संविधानसभा विघटन हुँदा विवादका बुँदा जहाँनेर अड्किएका थिए, त्यसबाट अघि पाइला सर्न सकेनन् । मुख्यगरी शासकीय स्वरूप र संघीयताका बारेमा दलहरूका बीचमा हरेको दुरी यसबीचमा मेटिन सकेन । संविधासभामा कसैको पनि बहुमत छैन । त्यसैले कुनै एउटा दलले मात्र चाहे जस्तो संविधान बन्दैन । नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादीलगायत प्रत्येक दलले आ–आफ्ना एजेन्डा लिएर जनतासमक्ष गएका थिए । तर, उनीहरूमध्ये कसैलाई पनि एक्लै एजेन्डा कार्यान्वयन गर्ने गरी जनताले मत दिएनन् । यस अवस्थामा एजेन्डा मिल्ने दलहरूका बीचमा पहिलो सहमति र त्यसका आधारमा बाँकी दलहरूका बीचमा सहमति खोज्नुको विकल्प छैन । शासकीय स्वरूप र संघीयताका विषयमा निकट विचार रहेका कांग्रेस र एमालेबीच सहमति हुनु स्वाभाविक हुन्छ, जुन अहिले भइरहेको छ । यी शक्तिले दुई तिहाइ शक्ति ग्रहण गरेका छन् । यसकारण एमाओवादी र उसलाई सहयोग गरिरहेका मधेसी दलहरूले पनि बुझ्न जरुरी छ, अब यसमा बढी अवरोध सिर्जना गरेर जनताका नजरमा थप आलोचित हुनुभन्दा नयाँ संविधानमा आफ्नो पनि हिस्सेदारी बन्ने गरी सम्झौतामा जानु नै श्रेयस्कर हुन्छ । तर, आँखामा सत्ताको चश्मा लगाएका शीर्ष नेताहरूले शक्ति संरचनाको यस सरल तथ्यलाई पनि नजरअन्दाज गरेर आफूलाई जनताका नजरमा अझ तल खसालेका छन् ।
सतहमा संविधानको कुरा भए पनि सबैलाई थाहा छ, प्रमुख नेताहरूलाई संविधान बनेपछि आफ्नो स्थान के हुने भन्ने चिन्ताले यतिबेला सबभन्दा बढी पिरोलिरहेको छ । आकारमा तेस्रो भए पनि महत्त्वाकांक्षा र हुँकारका दृष्टिले सबभन्दा माथि रहेको एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल यतिबेला पदीय आकांक्षाको चरम छट्पटीमा छन् । किनभने, एकातिर उनको आफ्नै पार्टीभित्र निरन्तर रूपमा प्रतिकूल अवस्था सिर्जना भइरहेको छ भने अर्कातिर राष्ट्रिय रूपमा पनि उनको छवि झन्पछि झन् धुमिल भइरहेको छ । यतिसम्मकि, आफ्नो प्रचण्ड बहुमत हुँदाहुँदै पनि म अब सक्दिनँ, अध्यक्ष छोड्छु भन्ने घोषणा गर्न उनी बाध्य भएका छन् । यस्तो पराजित मनोदशाका साथ निर्वाचनमा जाँदा के हुन्छ भन्ने कुुरा दाहालले राम्ररी बुझेका छन् । त्यसैले अर्को निर्वाचनमा जानुभन्दा पहिला नै केही न केही रूपमा आफ्नो व्यवस्थापन होस् भन्ने पक्षमा उनी छन् । उता, सरकारको नेतृत्व गरिरहेका सुशील कोइरालालाई पनि राष्ट्रपति भएर बिदा हुने रहर छ भने एमाले अध्यक्ष केपी ओलीलाई कहिले माघ ८ आउला र सरकार परिवर्तन गरेर सिंहदरबार छिरौँला भन्ने हतार छ । यस्तो अवस्थामा प्रमुख दलका प्रमुख नेताहरूले आफ्नो सम्भावित पदलाई हेरेर सहमतिलाई बन्धक बनाइरहेका छन् भन्दा आरोप लगाएको मात्र ठहर्दैन ।
यतिबेला संविधान बनेपछिका पदका लागि नेताहरूबीच रस्साकस्सी चल्नु र त्यही अनुरूपका रणनीतिहरू बन्नुले सिंगो मुलुक आक्रान्त बनेको छ । हाम्रो राजनीतिक नेतृत्व कुनै कुराको समाधान दिने होइन, प्रतिक्रिया दिने कुरामा रमाइरहेको छ । अर्को नेतालाई तुच्छ शब्दमा प्रहार गर्ने, त्यही आधारमा आफ्ना कार्यकर्तालाई खुसी पारेर आत्मरतिमा रमाउने र कुनै समाधान ननिकाल्ने गरी मूल नेतृत्व अकर्मण्य बनेको छ । यस्तो अवस्थामा मुलुक एउटाबाट अर्को गोलचक्करमा फस्नुबाहेक कतै पनि पुगेको छैन । छिटोभन्दा छिटो यस गतिरोधलाई तोडेर नेताहरूले आफ्नो योग्यता प्रदर्शन गर्नुपर्छ र मुलुकलाई निकास दिनुपर्छ । किनभने, राष्ट्र र व्यवस्थाले ठीक रूपमा काम गर्न पाए भने यस्ता पद त आवधिक रूपमा सबैका सामु आउँछन् नै । यही तथ्यलाई ध्यानमा राखेर छिटो निर्णयमा पुग्नुपर्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply