बलियो बैङ्क बनाउने अभियान
देशमा राजनीतिक स्थिरता कायम नहुँदा त्यसले हरेक क्षेत्रलाई प्रभावित तुल्याउँछ नै । त्यसले सिंगो बैंक तथा वित्तीय संस्थाहरूलाई प्रभावित नतुल्याउने कल्पना गर्न सकिँदैन । तर, बैंक तथा वित्तीय संस्थाहरू फस्टाउनुमा राजनीतिक स्थिरताको अहम् भूमिका रहन्छ । केही वर्षदेखि देशमा राजनीतिक स्थिरता कायमै रहे पनि बैंकिङ क्षेत्रले आशातीत फड्को भने मार्न छाडेको छैन । यो यथार्थलाई नेपालको बैंकिङ क्षेत्रलाई करिब तीन दशकदेखि छेउबाटै नियालिरहेका नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल सहर्ष स्विकार्छन् ।
केही महिनापूर्व वाणिज्य बैंकका कार्यकारीहरूको साझा थलो नेपाल बैंकर्स संघको अध्यक्षको जिम्मेवारी सम्हालेका पौडेल बैंकिङ क्षेत्रबिना देशको अर्थतन्त्रको कल्पनासमेत गर्न नसकिने बताउँछन् । उनी भन्छन्– ‘बैंकिङ सेवा प्रवाह गर्ने जुनसुकै बैंक किन नहुन्, यी संस्थाहरू नभएका भए देशको बैंकिङ प्रणाली र सिंगो अर्थतन्त्रबारे हामीले आज परिकल्पनासमेत गर्न सक्दैनथ्यौं । आज बैंकिङ क्षेत्रले विभिन्न क्षेत्रमा लगानी गरेर अर्थतन्त्रलाई टेवा पुर्याइरहेको छ । यो अत्यन्तै सह्रानीय पक्ष हो ।’
बैंकिङ क्षेत्रले व्यापारिक तहमा व्यावसायिकताको जुन अवधारणा ल्यायो, नेपालमा व्यावसायीकरणको प्रारम्भ त्यही समयावधिदेखि भएको बताउँदै पौडेल भन्छन्– ‘देशको चलायमान, पारदर्शीयुक्त र अनुशासित क्षेत्र नै बैंकिङ क्षेत्र हो । तसर्थ यो क्षेत्र कसरी चलिरहेको छ र कसरी व्यवस्थापन भइरहेको छ भन्ने कुराले अरू क्षेत्रलाई कुनै न कुनै रूपमा दिशा निर्देश गर्छ ।’ सिंगो बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा कस्तो योगदान पुर्याउँदै आएको छ त ? पौडेल भन्छन्–‘बैंकिङ क्षेत्रकै माध्यमद्वारा देशको स्रोत, साधन परिचालित भइरहेको छ । राष्ट्रिय अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाहरूको जुन किसिमको देन रहेको छ, यसलाई अरू कुनै क्षेत्रसँग दाँज्न सकिँदैन ।’ त्यसो त, केही वर्षअघिसम्म नेपाल सिमेन्टमा परनिर्भर नै रहेको थियो । तर, अब त्यो स्थितिको अन्त्य भएको छ । र, पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूले सिमेन्ट उद्योगमा गरेको लगानीको प्रतिफल क्रमश: सतहमा उत्रिन थालेको छ । पौडेल भन्छन्– ‘अब सिमेन्टमा हाम्रो देश आत्मनिर्भर बन्न पुगेको छ । यस्ता कतिपय क्षेत्रमा नेपाल विस्तारै आत्मनिर्भर बन्दै गइरहेको छ । यी सबै बैंकिङ क्षेत्रबाट विभिन्न चरणमा लगानी भएर र त्यस्ता उद्योगहरूलाई प्रोत्साहित तुल्याउकै कारण भएको हो ।’
विगतमा बैंक तथा वित्तीय संस्थाहरूले हाउजिङ क्षेत्रमा लगानी गर्दा केही प्रश्नचिह्न उठ्न पुगेको थियो । तर, पौडेल भने त्यस्तो प्रश्नचिह्न उठे पनि त्यसलाई नकारात्मक दृष्टिबाट हेर्न चाहँदैनन् । उनी भन्छन्– ‘नेपालीहरूले बैंकबाट ऋण लिएर आफ्नो बासस्थान सुरक्षित तुल्याउन चाहन्छन् भने त्यसलाई नराम्रो मान्न मिल्दैन ।’ पछिल्लो समयमा बैंकिङ क्षेत्रले जनतालाई उच्चस्तरको सेवा प्रदान गर्न थालेकोमा भने उनी गर्व गर्छन् । भन्छन्– ‘आज टेलिफोनको बिल तिर्न टेलिफोनकै कार्यालयमा धाइरहनुपर्ने अवस्था छैन । हामीले परिकल्पना गरेभन्दा बढी नै सुविधा बैंकिङ क्षेत्रले जनतालाई दिन थालेको छ ।’
सुविधासम्पन्न सहर र बजारका जनतालाई बैंक तथा वित्तीय संस्थाहरूले सेवा र सुविधा उपलब्ध गराइरहे पनि अझै पनि देशका दुई तिहाइ जनता बैंकिङ पहुँचबाट टाढै छन् । तर, नेपाल राष्ट्र बैंकले बैंकहरूको शाखा विस्तारमा जोड दिएपछि मात्र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले काठमाडौं बाहिर शाखा विस्तार गर्न थालेको बताउँदै पौडेल भन्छन्– ‘आज पनि बैंकहरूप्रति बैंकहरूले दूरदराजमा होइन, सहरहरूमा मात्र आफूलाई केन्द्रित राखेको टिप्पणी नउठ्ने गरेका होइनन् । बैंकका नम्बरहरू बढ्न थालेको त अहिलेबाट नै हो । तर, विगतमा भने सरकारी बैंकहरूले पनि दूरदराजका आफ्ना शाखाहरू बन्द गर्नुपरेको यथार्थलाई हामीले बिर्सनु हुँदैन । अहिलेसम्म पनि कतिपय शाखाहरू पुन:स्थापना हुन सकेका छैनन् । दस बाह्र वर्षको खालीपनले समग्र बैंकिङ पहुँचमा नै खालीपन ल्याएको कुरालाई हामीले स्विकार्नुपर्छ ।’
विगतमा देशमा चम्किएको द्वन्द्वका कारण पनि बैंक तथा वित्तीय संस्थाहरू जुन हिसाबले ग्रामीण तहसम्म विस्तार हुनुपथ्र्यो, अपेक्षित रूपमा हुन सकेन । पौडेल द्वन्द्वका कारण बैंकहरू ग्रामीण क्षेत्रसम्म फैलिन नसकेको कुरा स्विकार्छन् । उनी भन्छन्– ‘द्वन्द्वपछिको समयमा ग्रामीण क्षेत्रहरूमा आर्थिक क्रियाकलापहरू अपेक्षित रूपमा हुन सकेनन् । त्यसरी, आर्थिक गतिविधिहरू हुन नसकेपछि मानिसहरू विस्तारै सहर आउने, सहरमा आएपछि विदेशतिर जाने क्रम बढ्यो । द्वन्द्वपछि ग्रामीण क्षेत्रहरूमा आर्थिक चहलपहल बढेको भए बैंकहरू पनि त्यस्ता ठाउँहरूमा शाखा खोल्न तयार हुन्थे होलान् । तर, आर्थिक क्रियाकलाप पनि नबढेको र जनसंख्या पनि ग्रामीण भेगमा नरहेका कारण बैंकहरू ती क्षेत्रमा जान सकेका छैनन् । त्यस्तै, विगतको द्वन्द्वको अवशेष ग्रामीण क्षेत्रहरूमा बाँकी नै रहेको हुँदा बैंकहरूलाई आत्मविश्वास अझै बढेको छैन । तर पनि, बैंकहरूले विस्तारै–विस्तारै आफ्ना शाखाहरू खोल्न थालेका छन् । व्यवसायको सम्भावना रहेका ठाउँहरूमा बैंकहरू पुग्न थालेका छन् । यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्ने हुन्छ ।’
१९ वर्षअघि स्थापना भएको एनएमबी बैंकलाई बितेको डेढ दशकदेखि कुशलतापूर्वक सञ्चालन गर्दै आइरहेका पौडेलले बैंकिङ क्यारिअरको सुरुआत भने सन् १९८६ बाटै गरेका हुन् । तत्कालीन ग्रिन्डलेज बैंकबाट बैंकिङ क्षेत्रमा पाइला राखेका उनले उक्त बैंकमा १४ वर्ष काम गरेपछि एनएनबीलाई हाँक्न तत्परता देखाएका हुन् । आफूले १५ वर्षदेखि नेतृत्व गरिरहेको एनएनबी बैंकले करिब दुई दशकको दौरानमा २ अर्ब ४० करोडको चुक्ता पुँजी जम्मा गरिसकेको छ भने निक्षेपतर्फ साढे २८ अर्ब, कर्जा प्रवाहतर्फ २४ अर्ब लगानी गरिसकेको छ । २९ वटा शाखामा विस्तारित उक्त बैंकका १ लाख ८० हजार ग्राहक रहेका छन् भने जलविद्युत्, सिमेन्ट उद्योग, आइरन स्टिल, घ्यू तेल, टेक्सटायल, पशुपालनलगायत क्षेत्रमा लगानी गरेको छ । देशका कतिपय जलविद्युत् क्षेत्रमा भने बैंक स्वयम्ले नेतृत्व गरेर लगानी गरेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply