लैनचौरमै नेम्वाङलाई बधाईको ओइरो
काठमाडौं । सोमबार छिमेकी भारतको ६६औं गणतन्त्र दिवसका अवसरमा लैनचौरस्थित भारतीय दूतावासमा नेपालका राजनीतिकर्मी, प्रशासक, कूटनीतिज्ञ, सुरक्षाविद्, व्यवसायी, उद्यमीलगायतको ठूलो जमघट थियो । साढे १२ बजेदेखि नै भेला भइरहेकाहरू झुन्ड–झुन्डमा आफूखुसी कुराकानीमा व्यस्त थिए । अलग–अलग भए पनि सबैको कुराको विषय एउटै थियो– आइतबार संविधानसभाले थालेको संविधान निर्माण प्रक्रिया । जब संविधानसभा अध्यक्ष नेम्वाङ १ बजे त्यहाँ पुगे, तब सबैको ध्यान उनीतिर केन्द्रित भयो । तँछाड, मछाड गर्दै उनीहरू सभाध्यक्ष नेम्वाङसँग हात मिलाउन र बधाई दिन तल्लीन रहेको दृश्य देखिन्थ्यो ।
तर, भारतीय राजदूत रञ्जित रायले भने हात मिलाएर स्वागत है भन्नुबाहेक उनीसँग केही कुरा गरेनन् ।
आफ्नै पार्टी पंक्तिभित्रबाट पनि परेको बेला खुट्टा टेक्दैनन् भनेर आलोचित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार बोल्ड अडान लिएर संविधान निर्माण प्रक्रिया अघि बढाएपछि बधाई पाइरहेका छन् । उनले भने– ‘सबैतिरबाट राम्रो रेस्पोन्स पाइरहेको छु । दलहरूका लागि मेरो कदम सहमतिको आधार बन्न सक्छ ।’ उनलाई भेटेर, फोन गरेर र एसएमएस पठाएर बधाई दिनेहरूको पंक्ति ठूलो छ ।
आइतबार बिहानभरि संविधानसभाको प्रक्रिया रोक्न सक्रिय भारतीय दूतावासको प्रांगणमै नेम्वाङले पाएको ‘रेस्पोन्स’लाई भारतीय गुप्तचरहरूले नियालिरहेका थिए । स्रोतका अनुुसार, त्यहाँ जमघट भएकामध्ये एमाओवादी नेता दीनानाथ शर्माले हात मिलाउँदै नेम्वाङलाई बधाई दिएका थिए भने सद्भावनाका नेता लक्ष्मणलाल कर्णले जे भयो, भइहाल्यो, अब यो पाँच दिनलाई उपयोग गर्नुपर्यो भन्ने आग्रह गरेका थिए । तर, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र दलहरूका बीचमा सहमति भाँड्नका लागि निरन्तर लागिरहेका बाबुराम भट्टराई भने नेम्वाङलाई छल्दै पल्लो कुनामा पुगेर कुनै भारतीयसँग हिन्दीमा कुरा गर्न व्यस्त थिए ।
यस पटक संविधानलाई प्रक्रियामा प्रवेश गर्न नदिनका लागि अन्तिम घडीमा भारतीय दूतावास निकै सक्रिय बनेको थियो । राजदूत रञ्जित रायले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओलीलगायतले भेटेरै एमाओवादी र मधेसी मोर्चाकै भाषामा ‘सहमतिमा जान, प्रक्रिया १० दिन रोक्न र बहुमतीय प्रक्रिया रोक्न’ आग्रह गरेका थिए । तर, राष्ट्रपति यादवबाहेक अरू दुवै नेताले उनका कुरा सुनेनन् मात्र होइन, एमाले अध्यक्ष ओलीले त उनलाई कूटनीतिक मर्यादासमेत सम्झाएरै पठाइदिएका थिए ।
स्रोतका अनुसार, सोमबार नेतालाई स्वागत गर्न उभिएका भारतीय राजदूत रञ्जित रायको अनुहार पूरै गिरेको जस्तो देखिन्थ्यो । नेपालका नेताहरूका बीचमा मात्र नभएर जनस्तरमा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्माण गरेको छवि ध्वस्त बनाएका रायले एमाओवादी र मधेसी नेताहरूसँग भने गला मिलाएको देखिन्थ्यो ।
उता, दुई तिहाइबाट भए पनि यस पटक संविधानसभाबाट संविधान बनाउने अभियानमा लागेका केही युवा सभासद्हरूले चाहिँ भारतीयहरूले सुन्ने गरी अब संविधान बन्छ भन्दै आपसमा कुराकानी गरिरहेको सुनिन्थ्यो ।
सम्बन्धित समाचार
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
-
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply