शिल्पीका एक्ला शिल्पकार
घिमिरे युवराज, अरू सर्जकहरूजस्तै सपना देख्न माहिर थिए । सात वर्षअघि, उनले एउटा सुनौलो सपना देखेका थिए । ‘कुनै दिन काठमाडौंको कुनै भागमा एउटा नाटकघर उभ्याउने छु’ यस्तो सपना उनले देख्ने सीमित सपनाहरूका सूचिमा त्यतिबेलै चढिसकेको थियो । तर, सपना देखेपछि त्यसले कुनै दिन/क्षणमा मूर्त रूप लिन्छ नै । एक वषअघि उनको सपना पूरा भएको छ । र, काठमाडौंको बत्तीसपुतलीमा आफ्नै पहलमा खोलिएको शिल्पी थिएटरसँगै उनले उभ्याएका छन्–गोठाले नाटकघर । जहाँ, अहिले पनि हरेक साँझ एउटा न एउटा नाटक मञ्चन भइरहेको हुन्छ । यसलाई विज्ञापनको भाषा नमानियोस्, नेपाली नाटक लेखनका अग्रज पुस्ता गोविन्दबहादुर मल्ल ‘गोठाले’को सम्मानमा स्थापित गोठाले नाटकघरमा यतिखेर चलिरहेछ–कुमार नगरकोटीकृत ‘कोमा’ ।
साठीको प्रारम्भिक दशकसँगै नेपाली नाट्यकर्ममा पूरै भिजेका युवराजले गोठाले नाटकघर स्थापना गर्नुपूर्व केही तीता अनुभवहरू बाध्यताबस नै बटुल्नुपर्यो । तिनै तीता अनुभवहरूले नै उनलाई नाटकघर बनाउने तहसम्म ल्याइपुर्यायो । ०६४ तिर नाटकघर बनाउने सपना देखे पनि उनमा आँट भने पलाइसकेको थिएन । आइतबार बिहान शिल्पी थिएटरको प्रागंणमा नयाँ नाटकको निर्देशनमा तल्लिन युवराजले त्यतिबेलालाई स्मरण गर्दै भने– ‘मलाई नाटक मञ्चन गर्ने आफ्नै ठाउँ हुनुपर्छ भन्ने लागेको थियो । तर आँट भने गर्न सकेको थिइनँ ।’ तर, उनले केही वर्ष राष्ट्रिय नाचघर, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड र वल्र्ड ट्ेरड सेन्टरसँग सहकार्य गरेर नाटक मञ्चन गर्दा तीता क्षणहरू मात्रै टिप्न भ्याए । भन्छन्– ‘ती संस्थाहरूसँग सहकार्य गर्दा तीता अनुभवहरूमात्रै बटुल्यौं । हामीले आफूलाई निरुत्साहित भएको ठान्यौं । र, नाटकलाई व्यावसायिक रुपमा लैजाने र स्वतन्त्र रुपमा काम गर्ने हो भने आफ्नो छुट्टै नाटकघर चाहिन्छ भन्ने लाग्यो र हामीले यो नाटकघर सुरु गरेका हौं ।’
बत्तीसपुतलीको एक रोपनी जग्गामा फैलिएको उक्त नाटकघर पन्ध्र वर्षका लागि भाडामा लिएर सञ्चालनमा ल्याएका हुन् । भवन बनाउन लाग्यो–पचास लाख । कसरी जुट्यो त स्रोत ? युवराजको स्वीकारोक्ति छ–‘मैले केही गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेर नाटक मञ्चन गर्दा केही पारिश्रमिक प्राप्त भएको थियो । त्यही पैसा र शुभेच्छुकहरूको सहयोगमा यो नाटकघर ठडिएको हो ।’ बत्तीसपुतलीमा नाटकघर उभ्याउनुअघि उनले राजधानीका थुप्रै ठाउँ नचहारेका होइनन् । उनी भन्छन्–‘काठमाडौंमा कुनै खाली जग्गा देख्ने बित्तिकै म कस्तो कल्पना गर्थेँ भने, यो ठाउँ नाटकघर बनाउनका लागि उपयुक्त छ ।’ जेहोस्, उनको सपनाले साकार गोरेटो पहिल्याएको छ । तर, कति समयसम्म यो क्षेत्रमा भिज्न सकिने हो, अन्योलले पनि उत्तिकै गाँजेको छ उनलाई ।
पैतीस वर्षअघि मोरङको तत्कालीन इन्द्रपुर गाविसमा जन्मिएका युवराजको नाटक क्षेत्रसँगको साइनो विद्यालय पढ्दादेखि नै गाँसिएको हो । ६ कक्षामा अध्ययनरत रहेकै बेला भानुभक्तको घाँसीको भूमिकामा खेलेका उनले ०५४ सालमा आफ्नै लेखन र निर्देशनको ‘आमाको चिठी’ नाटकपछि चाहिँ नाट्य क्षेत्रमा आधिकारिक पाइला राखे । ०५३ मै राजधानी छिरेपछि नाट्यकर्ममा रमाउन थालेका उनले पेट पाल्नका लागि पत्रकारिता पनि गरे । तर, ०५६ सालमा राष्ट्रिय नाचघरमा नाटकको एक वर्षे कोर्स थालेपछि भने उनले नाटक क्षेत्रलाई नै आगामी जीवन–यात्राको मुख्य मार्गका रुपमा अपनाए । त्यतिबेला नाटक क्षेत्रमा चम्किएका पात्रहरू हरिहर शर्मा, सुनिल पोखरेल र वीरेन्द्र हमालले उनलाई एक वर्षसम्म प्रशिक्षित तुल्याए । एक वर्षको प्रशिक्षणबाट उत्रिएलगत्तै उनले आरोहणले सुरु गरेको ‘आरोहण शनिबार’मा काम थालिहाले । काठमाडौं आएपछि उनले खेलेको पहिलो नाटक थियो–‘कुमारी’ । त्यसमा उनले छोटो भूमिकामा चित्त बुझाए । आरोहणबाट खारिँदै गएका उनले सुनिल पोखरेलको पहलमा स्थापित गुरुकुलमा भने पाँच वर्ष नै बिताए । भन्छन्–‘त्यतिबेला आरोहण व्यावसायिक रुपमा चलेको थिएन । तर, गुरुकुल खुलेपछि भने नाटकले व्यावसायिक रुप ग्रहण गर्यो ।’
गुरुकुलबाट बिदा लिएपछि उनले शिल्पी थिएटर स्थापना गरेर आफ्नै समूह बनाए र लगातार नाटक निर्देशनमा उत्रिए । खासगरी, ०६२/६३ को जनआन्दोलनपछि नै उनले नाटक क्षेत्रमा झनै सक्रियता देखाउन थाले । शिल्पी थिएटरको सुरुवात नै पहिलो लोकतन्त्र स्थापनाको दिन भएको थियो । सुरुमा, जर्ज बर्नाड सको ‘एप्पल कार्ट’ निर्देशन गरेका उनले मधेसमा आगो बलिरहेका बेला ‘मधेस–तराई’ नाटक मञ्चन गर्दै हिँडे । तराई सल्किरहेको बेला जोखिम मोल्दै पश्चिमको बर्दियादेखि पूर्वको इलामसम्म उनले त्यो नाटक मञ्चन गरेका थिए । भन्छन्–‘जातीय आधारमा नेपालीहरू फुट्नु हुँदैन भन्ने सन्देश हामीले त्यो नाटकमार्फत् प्रवाहित गरेका थियौं । र, राजनीतिले जातीय विखण्डनको कुरा उठाए पनि नेपालीहरू मिलेर बसेका छन् भन्ने कुरामा हामीले जोड दिएका थियौं ।’ डा.अभि सुवेदीको ‘चिरिएका साँझहरू’को निर्देशनपछि भने उनी नाटकसम्बन्धी अध्ययन गर्नकै लागि डेनमार्कतिर सोझिए । डेनमार्कमा दुई वर्ष उनले फिजिकल थिएटरसम्बन्धी अध्ययन गरे । उनले डेनमार्कमा छँदा पाँच वटा नाटक पनि खेलेका थिए । भन्छन्–‘डेनमार्कमा अध्ययन गरेर फर्किएपछि मैले नेपालमा छँदा आफूले गरिरहेका कामहरू त्यति गुणस्तरीय छैन भन्ने बोध भयो । डेनमार्कको अध्ययनले मलाई परिमार्जित हुन र आफ्ना दृष्टिकोणलाई फराकिलो पार्न धेरै नै सघाउ पुर्यायो ।’
नेपाल फर्किएपछि उनले सत्यमोहन जोशीलिखित ‘मजिपा लाखे’को निर्देशन गरे । त्यसपछि उनले राजनीति व्यंग्यभावले भरिएको नाटक ‘ह्वाट टु डु’को निर्देशन गरे, जसमा उनलाई दुई फ्रान्सिली नाट्यकर्मीले सघाएका थिए । क्रमैसँग फूलमान बलको तामाङ भाषाको नाटक ‘म्हेन्दोमाया’, थारु भाषाको नाटक ‘दहितान ढेकी’ पनि उनले निर्देशन गरे । ‘म्हेन्दोमाया’ भने रंगमञ्चको नयाँ प्रविधि र मिथलाई मिश्रण गरिएको नाटक रहेको उनी बताउँछन् । अब केही दिनपछि नै भवानी भिक्षुको चर्चित कथा ‘हारजित’मा आधारित नाटक मञ्चनको तयारीमा उनी जुटिरहेका छन् । बिहान सात बजे नै शिल्पी आइपुगेर निर्देशन थाल्ने उनी राति ७/८ बजेसम्म सोही नाटकघरमा हुन्छन् । भन्छन्–‘मैले अहिले बाह्र घन्टा समय दिइरहेको छु । यो क्षेत्रमा लाग्नेहरूले पूरै समय दिनुपर्छ ।’
त्यसो त, नाट्यकर्ममा लागेपछि उनले एउटा अर्को अनुभव पनि टिपेका छन् । भन्छन्–‘जब मैले नाट्यकर्म थालेँ, त्यतिबेला सहरका सम्भ्रान्त वर्गहरूको प्राथमिकतामा नाटक पर्दैनथ्यो । उनीहरूका ध्यान बिलासीयुक्त सामान किनमेल गर्नेमा नै बढी हुन्थ्यो । कि त महंगा पेन्टिङहरू किन्थे र घरमा सजाउँथे, कि त फिल्म हेर्न नै चाहन्थे । तर, अहिले सहरिया समाजमा धेरै परिवर्तन आइसकेको छ । सहरका सम्भ्रान्त वर्गहरू पनि नाटक हेर्न आउन थालेका छन् । उनीहरू महंगा टिकट खरिद गरेरै भए पनि नाटक हेर्न चाहन्छन् ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply