होलान् भुवन केसी बेस्टसेलर ?
नेपाली सिनेवृत्तमा भुवन केसीलाई एक प्रभावशाली अभिनेताको रूपमा स्वीकार्नु सायदै अन्यथा होला । पचासको मध्य दशकसम्म अभिनेताका रूपमा नेपाली सिने जगत्मा रहलपहल स्थान लिइरहेका उनी त्यसयता ‘इतिहासका अभिनेता’ बनिसकेका छन् । नयाँ पुस्ताका निम्ति उनी सर्वथा अपरिचित पात्र हुन् । यद्यपि, नयाँ पुस्ताले उनलाई स्मरण गर्ने एउटा पक्ष के हो भने उनी नेपाली सिने क्षेत्रमा प्रारम्भिक कदम राख्दै गरेका नवनायक अनमोल केसीका पिता हुन् र उनी कुनै बेला नेपाली सिने क्षेत्रमा चम्किएका अभिनेता पनि हुन् ।
केही समयपूर्व, नेपाली मिडियाहरूले राम्रा/नराम्रा हर्कत गरेर आफूलाई चर्चा र परिचर्चाको परिधिभन्दा बाहिर जान नदिने तिनै अभिनेता केसीबारे एउटा खबर बाहिर ल्यायो । ‘केसी अहिले आफ्नो आत्मकथा लेख्न तल्लिन छन्’ सायद यस्तै खबर छापिएको थियो । केसीले आफ्नो जीवन–कथा बाहिर ल्याउनु कुनै आपत्तिको विषय होइन । अहिले हरेक क्षेत्र र तप्काका व्यक्तिहरू आत्मकथा लेख्न रुचाउन थालेका छन्, एक किसिमको होडबाजी नै चलेको छ र जसको सामाजिक/सार्वजनिक क्षेत्रमा केही योगदान छ र जसको सार्वजनिक चिनारी पनि छ, त्यस्ता व्यक्तिहरूले आफ्नो जीवनानुभवलाई सार्वजनिक गर्नु सकारात्मक पक्ष पनि हो । र, त्यस्ता व्यक्तिहरूका आत्मकथा सार्वजनिक हुनुलाई खुसीको विषय पनि मान्नु पर्दछ ।
तर, देश र समाजसामु परिचित अनुहार हुनेबित्तिकै आफ्नो आत्मकथा सबैका लागि सहजै स्वीकार्य हुने भ्रममा बाँच्नु चाहिँ कति उचित होला ? अभिनेता केसीकै प्रसंगमा जाऔं । उनी नेपाली चलचित्र जगत्मा कुनै बेला चम्किएका अभिनेता हुन्, यसमा सन्देह उब्जाउनुपर्ने कुनै ठाउँ छैन । तर, पछिल्ला समयमा केसीको छवि भने धमिलो छ । उनको नैतिक धरालत पुरै भास्सिएको हुँदा उनीप्रति धेरै नै नकारात्मक दृष्टिकोण निर्माण भएको छ, सिनेवृत्त र समाजमा पनि । प्राय: केटी काण्डहरुमा मुछिरहने उनलाई एउटा कलाकार भएको नाताले मात्र नेपाली समाजले धन्न छुट दिएको छ । सामान्य मानिसले भए स्त्रीसम्बन्ध प्रकरणमा त्यस्तो छुट पाउँथे ? निश्चय नै पाउँदैनथे ।
आत्मकथा कुनै पनि व्यक्तिको जीवन यात्राका क्रममा बटुलिएका उज्याला र अँध्यारा अनुभूतिहरूको खुलासा हो । त्यस्तो खुलासा कसैले इमानदारीको फेर समातेर गर्छन् भने कसैले आफ्नो ढोंगी र पाखण्डी चरित्रमा इमानको जलप लगाउने अभिप्रायका साथ गर्छन् । एकाध आत्मकथा लेखकलाई छाड्ने हो भने अधिकांशले आफ्नो गल्ती र कमजोरीलाई ढाकेर, आफ्ना उपलब्धिहरूलाई मात्र सिंगारपटार गर्ने माध्यम बनाएका हुन्छन्, आत्मकथालाई । अझ, धेरैजसोले त आत्मकथाको सुन्दर खोलभित्र घुस्रिएर आफ्ना गलत क्रियाकलाप र कर्महरूको स्पष्टीकरण दिने माध्यम समेत बनाएका छन्, आत्मकथा लेखनलाई । हुन त, आत्मकथा कुनै पनि प्रसिद्ध/प्रबुद्ध व्यक्तिको कर्ममय जीवनको आख्यान हुनुपर्ने हो, तर नेपालको सन्दर्भमा भने आत्मकथाको अर्थ, आफ्ना विरोधी र शत्रुको तहमा राखेका व्यक्तिहरूप्रति विष बमन ओकल्ने, कुण्ठा छरपष्ट पार्ने र गलत कामलाई ढाकछोप गर्ने माध्यमका रूपमा परिभाषित हुँदै गएको छ ।
अभिनेता केसीको आत्मकथा अहिलेसम्म सार्वजनिक नभएको हुँदा उनका बारेमा टिप्पणी गर्नु केही चाँडो नै होला । तर, एउटा प्रश्न उठाउन सकिन्छ– उनले भास्सिएको आफ्नो नैतिक धरातलप्रति आत्मकथा लेख्ने क्रममा शब्दहरू खर्च गर्लान् वा नगर्लान् ? प्रचार मोहका कारण आफूले बेलाबखत गरेका हंगामा आत्मकथाको पानामा भर्लान् वा नभर्लान् ? यदि उनले आफ्ना सबैखाले कर्मबारे लेखे पनि एउटा प्रश्न भने फेरि निश्चित रूपमा उठ्छ, केसीको आत्मकथा पढेर नयाँ पुस्ताले कस्तो शिक्षा ग्रहण गर्ला ? नयाँ पुस्तालाई मिल्ने नैतिक बल के हुनसक्ला ? अर्थात्, जुन व्यक्तिले मनोरञ्जन र बिलासितालाई आफ्नो जीवनको ध्येय बनाए, अरू व्यक्ति र सिंगो समाजलाई नै त्यस्ता व्यक्तिको आत्मकथाले कस्तो मार्गदर्शन गर्ला ?
केही वर्षपूर्व, नेपाली कलाक्षेत्रसँग आबद्ध हरिवंश आचार्यको आत्मकथाले बजारमा राम्रै प्रतिक्रिया पाएको थियो । साहित्यिक मूल्य र गुणवत्ताको तराजुमा नतौलिकन भन्नुपर्दा, आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’लाई अत्यधिक रुचाइएको कृतिका रूपमा लिइन्छ । त्यस्तै, सिने क्षेत्रकी चरित्र अभिनेत्री सुभद्रा अधिकारीको आत्मकथा पनि सार्वजनिक भएको छ । तथापि, अधिकारी आत्मकथा भने बजारमा त्यति जम्न सकेन । सम्भवत: ‘बोल्नेको पिठो बिक्ने’ मार्काका प्रकाशकको हालीमुहाली चलेको नेपाली प्रकाशन क्षेत्रमा उनको आत्मकथा त्यस्तै मार्काको प्रकाशकको हातमा पर्न सकेन र अपेक्षित चर्चा/परिचर्चा नपाएकै कारण कथित ‘बेस्टसेलर’को सूचिमा आबद्ध हुन सकेन ।
तथापि, नेपाली सिनेवृत्तका उच्च, नैतिकवान् तथा नेपाली सिने क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएका व्यक्तित्वहरूको आत्मकथा भने सार्वजनिक हुनु नितान्त जरुरी छ । नेपाली सिने क्षेत्रसँग गाँसिएका जीवन्त हस्तीहरूले आफ्नो आत्मकथा सार्वजनिक गर्ने हो भने त्यस्ता कृतिहरू नेपाली सिने क्षेत्रका निम्ति अमूल्य सम्पत्ति सावित हुन सक्छन् । भावी पुस्ताले पनि अग्रजहरूको आत्मकथा पढेर आफूलाई परिमार्जित, परिस्कृत र अझ सुसभ्य तुल्याउँदै आफ्ना कर्ममा सक्षम रूपमा उत्रिन सक्ने अपेक्षा राख्न सकिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply