सिफारिससँगै दौडधुप सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा आफूअनुकुलका मानिसलाई चाँडोभन्दा चाँडो नियुक्त गर्नेतिर अर्थमन्त्री डा.रामशरण महतले तीव्र चासो दिइरहेकै बेला हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । समितिको संयोजकमा अर्थमन्त्री डा.महत र सदस्यहरूमा नेपालको पहिलो गभर्नर हिमालयशमशेर जबरा र अर्थविद् डा.पार्थिवेश्वर तिमल्सिना रहेका छन् । वर्तमान गभर्नर डा.युवराज खतिवडाको आगामी चैत ६ गते पाँचबर्से पदावधि सकिने भएपछि नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन भएको हो ।
गभर्नर सिफारिस समितिले राष्ट्र बैंकको ऐनअनुरूप बहालवाला एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नेछ । गभर्नर सिफारिस समिति गठन भएसँगै राष्ट्र बैंकको गभर्नर बन्न राष्ट्र बैंककै केही पूर्व डेपुटी गभर्नरसहित नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका व्यक्तिहरूसमेत दौडधुपमा जुटिसकेका छन् । तर, दौडधुपमा सामेल भएकाहरूमध्ये कसले बाजी मार्ने हुन् ? त्यो भने सिफारिस समितिले तीन जनाको नाम चयन गरेपछि छर्लंग हुने देखिएको छ ।
अहिले गभर्नर बन्ने दौडमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपाल र पूर्व अर्थसचिव युवराज भुसालको नाम अग्रपंक्तिमा रहेको बताइन्छ । डा.नेपाललाई प्रधानमन्त्री सुशील कोइरालालगायत कोइराला खेमाको आशीर्वाद रहेको छ भने भुसाललाई गभर्नर बनाउन उनका सम्धी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले लबिङ गरिरहेका छन् । पौडेलले गभर्नर बन्न डा.नेपालको उचाइ नपुग्ने भएको हुँदा अर्थसचिव भइसकेका आफ्ना सम्धीलाई बनाउन निकै जोडबल गरिरहेको बताइन्छ । यसबाहेक, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक राजनसिंह भण्डारी, पूर्व डेपुटी गभर्नर वीरविक्रम रायमाझीले पनि दौड जारी राखेका छन् ।
अर्थविद् डा.शंकर शर्मा र पूर्वसचिव रामेश्वर खनालको नाम गभर्नर बन्ने सूचीमा रहे पनि दौडमा सामेल अरू व्यक्तिहरूभन्दा उनीहरू पछि परिसकेको बताइन्छ । तर पनि, डा.शर्मा र खनालमध्ये एक जनालाई गभर्नर बनाउँदा अहिलेका वित्तीय चुनौतीलाई सामना गर्नसक्ने खुबी ती दुवै जनासँग भएको हुँदा उनीहरूको सम्भावना पनि नटरिसकेको बताइन्छ ।
प्रधानमन्त्रीले डा.नेपाललाई च्यापे पनि उनको कांग्रेसभित्रैबाट विरोध सुरु भइसकेको छ । कांग्रेसको आर्थिक विभागको सदस्यसमेत रहेका नेपाल कांग्रेसको खाँटी र भरपर्दा कार्यकर्ता भए पनि उनमा बैंकिङ अनुभव शून्य रहेको हुँदा विरोध हुने परिस्थिति सिर्जना भएको हो । गभर्नरले देशका वित्तीय संकट र भार थेग्न निकै महत्त्व भूमिका खेल्नुपर्ने भएको हुँदा वित्तीय प्रणाली नबुझेका नेपाललाई गभर्नर बनाउँदा समस्या आउने बताइन्छ । विगतमा सुजाता कोइराला परराष्ट्र मन्त्री हुँदा एकैचोटि सल्लाहकार बनाइएका नेपाल वित्तीय क्षेत्रको खासै अनुभवी नभएको हुँदा उनको पक्षमा प्रधानमन्त्री उभिए पनि विरोधको सामना गर्नुपरेको बताइन्छ । त्यस्तै, उपसभापति पौडेलले च्यापेका भुसाल पनि गभर्नर बन्न त्यति सक्षम मानिस नभएको बताइन्छ । विगतमा उनी राष्ट्र बैंकको बोर्डमा बस्दा सामान्य निर्णयसमेत गर्न नसकेर आलोचना खेप्नुपरेको थियो । त्यस्ता व्यक्तिलाई गभर्नरको जिम्मेवारी दिँदा राष्ट्र बैंकले अहिले लिइरहेको जस्तै गति लिन नसक्ने पनि अनुमान गरिन थालिएको छ ।
गभर्नरको दौडमा सामेल पूर्व कार्यकारी निर्देशक भण्डारी विगतमा विवादमा मुछिएका व्यक्ति हुन् । उनलाई वित्तीय प्रणाली नबुझेका व्यक्तिका रूपमा लिइन्छ । त्यस्तै, पूर्व डेपुटी गभर्नर रायमाझी भने विगतमा राष्ट्र बैंकमा रहेका बेला वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन हुँदा आर्थिक घोटाला गरेको कारण विवादमा तानिएका थिए । उनले गरेको आर्थिक घोटालाको चर्चा अझै पनि बैंकिङ क्षेत्रमा चल्ने गरेको छ । चार्टर्ड एकाउन्टेन्टको परिचय बनाएका रायमाझीलाई बैकिङ क्षेत्रमा मौद्रिक नीति नबुझ्ने व्यक्तिको रूपमा समेत चिनिन्छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply