‘प्रभू’लाई साक्षी राखेर कांग्रेस–एमालेको सत्तोसराप
काठमाडौं । संविधानसभाबाट संविधान बनाउन छाडेर सडक आन्दोलनमा उत्रेको एमाओवादीका नेता खुलामञ्चबाट गाली गरेर नपुगेर भारतसम्म पुगेर कांग्रेस–एमालेको सत्तोसराप गर्नमा व्यस्त छन् । एमाओवादी आफंैले भन्ने गरको ‘प्रभू’लाई भेट्ने र उनीहरूलाई नै साक्षी राखेर नेपालका अरू राजनीतिक पार्टी र तिनका नेताहरूको सत्तोसराप गर्नमा नै यतिबेला सो पार्टीका नेता बाबुराम भट्टराई व्यस्त छन् । गत शनिबार खुलामञ्चबाट कांग्रेस र एमालेलाई ‘तिमीहरू स्याल हौ, हामी बाघ हौं’ भन्दै अराजनीतिक गाली–गलौज गर्दै त्यहीँबाट अर्का नेता कृण्णबहादुर महरालाई साथमा लिएर सिधै भारत हानिएका उनी हिजो चौथो दिन पनि ‘प्रभू’ को आशीर्वाद लिनमा व्यस्त रहे । आफ्नै पार्टीभित्र पनि ‘भारतीय एजेन्ट’को उपनामले बेलाबेलामा आलोचित हुने नेता भट्टराईले भारत पुगेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बढाउन हारगुहार गरेका छन् । उनले भारत बसाइका क्रममा सुरुमै भारतीय गुप्तचर संस्था र निकट सम्बन्ध भएका आफ्ना गुरु एसडी मुनीलाई भेटेर याचना गरेका थिए । सोमबार एउटा संवाद कार्यक्रममा नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरण र मुनीलाई दायाँ, बायाँ साक्षी राखेर कांग्रेस र एमालेको लिनुसम्म हुर्मत लिए । पार्टीको आलोचनामा होइन, उनले व्यक्तिगत रिसइवी जस्तै साँधेर प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीको नामै किटेर आलोचना गरे । कोइराला र ओलीले विगतमा भएका सहमति ग्रहण गर्न नसकेकाले नेपालमा अहिलेको जटिलता उत्पन्न भएको भन्दै पोल लगाउन भ्याएका भट्टराईले एमालेलाई भारत विरोधी देखाउन नयाँ र यतिबेलाको अप्रासंगिक कुरा पनि गर्न भ्याए । भारतमा विद्रोह मच्चाएर दु:ख दिइरहेको नक्सालवादीहरूसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको स्पष्टीकरण दिइसकेपछि उनले ‘बरु एमाले भन्ने पार्टी त्यही नक्सलवादी अभियानबाट जन्मिएको हो’ भन्न छुटाएनन् । जबकि अहिले त्यो कुराको कुनै सान्दर्भिकता नै छैन । उनले ओलीलाई ‘नयाँ राजा’ बन्न खेजेको आरोप लगाए । उनले भने– ‘संघीयता र समावेशी चाहिन्न, अब हामी शासक हौं भनेर आउन चाहेका विशेषगरी केपी ओलीका कारण डेडलक बढेको हो ।’ सो संवाद कार्यक्रममा उनले श्यामशरण, एसडी मुनीबाहेक पूर्वराजदूत शिवशंकर मुखर्जी, भारतीय जनता पार्टीको नेपाल सेल इन्चार्ज अजित कुमार, भारतका लागि बंगलादेशका पूर्वराजदूत तारिक करिम, वरिष्ठ सम्पादक भरत भूषण, पत्रकार प्रशान्त झा, द हिन्दू पत्रिकाका परराष्ट्र मामिला सम्पादक सहासिनी हैदर, इकोनम्स्टि म्यागेजिनका आदम रोवर्टस्लगायतलाई साक्षी राखेर नेपालका राजनीति दल र तीनका नेतालाई गाली गरेका थिए ।
‘प्रभू’का सामु उनले कांग्रेस र एमालेको हठले शान्ति प्रक्रिया अवरुद्ध भएको बताउँदै अवरुद्ध गाँठो फुकाउन भारतीय नेतासँग आग्रह गरेका थिए । उनले हिजो राष्ट्रपति प्रवण मुखर्जी, विदेशमन्त्री सुष्मा स्वराज, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेटेर पनि तिनै गुनासो पोखेका छन् । त्यसअघि पूर्व विदेशमन्त्री सलमान खुर्सिद, भारतीय जनता पार्टीका महासचिव राम माधव र भारतीय कांग्रेस पार्टीका नेता दिग्विजय सिंहलाई नेपाली दूतावासमा भेटेर कोइराला र ओलीको आलोचना गरेका थिए । जबकि, नेपालमा भएको राजनीति डेढलकको मुख्य कारण उनै भट्टराई भएको भन्दै उनको पार्टी भित्रैबाट आलोचना सुरु भएको छ । पार्टीभित्र पनि उनकै गुटका मानिने टोपबहादुर रायमाझी, प्रभू साहलगायतका नेताले पछिल्लो अवस्थामा उनले लिएको कदममा सार्वजनिक रूपमै असहमति प्रकट गरेका छन् । घरभित्र झगडा हुँदा छिमेकमा पोल लगाउन दगुरेर जाने यो कदमले भट्टराईको राष्ट्रवादलाई पनि उदांगो बनाएको छ ।
सम्बन्धित समाचार
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
-
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply