टानमा धमलाद्वारा करोडौं हजम
काठमाडौं । नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)का अध्यक्ष रमेश धमलामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्नुपर्ने आवाज उठेको छ । नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार भएको भन्दै हिँडेका धमलाले टानभित्र दर्जनांै शीर्षकमा करोडौं भ्रष्टाचार गरेको खुलासा भएको छ ।
टानका पदाधिकारीले कुनै हिसाब नराखेर खर्च गरेर टानको बजेट सिध्याउने गरेको तथ्य सार्वजनिक भएको छ । टानका अध्यक्ष रमेश धमला, महासचिव सागर पाण्डे र कोषाध्यक्ष गोपालबाबु श्रेष्ठसहितको टोलीले जथाभावी रकम खर्च गर्ने गरेको तथ्य सार्वजनिक भएको हो । आफू नजिककालाई ‘डोनेसन’ दिने तथा कार्यालय प्रयोजनका सामग्री खरिद गर्ने, विदेश भ्रमण गर्ने गरेको पाइएको हो । यसरी खर्च भएको रकमबारे कार्यसमितिका अन्य सदस्यलाई कुनै जानकारी नदिइएको समितिका एक सदस्यले बुधबारलाई बताए ।
बैठक बसेका बेला माइन्युट नलेख्ने र पदाधिकारीलाई अनुकूल हुने समयमा कम्प्युटर टाइप गरेर बैठक पुस्तिकामा निर्णय टाँस्ने गरेको पनि कार्यसमितिका सदस्यहरूको आरोप छ । त्यसैगरी, टानका पदाधिकारी टानको खर्चमा अमेरिका, जापान, ल्हासा, सिक्किम घुम्न गएको भन्दै भ्रमणका बारेमा पनि विवाद सुरु भएको छ ।
अध्यक्ष धमला टानको खर्चमा जापान गएको, राजेन्द्र सापकोटा, पासाङ शेर्पालगायतको टोली अमेरिका गएको भन्दै पर्यटन व्यवसायीले प्रश्न उठाउन थालेका छन् ।
नेपाल पर्यटन बोर्डमा आर्थिक अनियमितता भयो भनेर आन्दोलनको नेतृत्व टानका अध्यक्ष रमेश धमलाले गरेका थिए । धमला टानमा निर्वाचित भएर आएको एक वर्षमा डीएफआईडीको करिब ५ करोड रुपियाँ र टानको करिब १ करोड गरी करिब ६ करोड रुपियाँ अनियमितता भइसकेको व्यवसायीको आरोप छ । डीएफआईडीले दिएको रकम धमलाले आफ्नो जिल्ला धादिङ लगेका थिए । गणेश हिमाल क्षेत्रको प्रचार–प्रसारका लागि भन्दै उक्त रकम खर्चिएको स्रोतको भनाइ छ । टानमा निर्वाचित भएर आएको एक महिना नपुग्दै ०७० माघ पहिलो हप्ता धमलाको टोली गणेश हिमाल क्षेत्र घुमेर उक्त रकम सिध्याएको थियो । आर्थिक मामिलामा पहिलादेखि नै विवादमा आउने धमलाले बोर्डको भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमाथि नै नैतिक प्रश्न उठ्न थालेको पनि व्यवसायीहरूको भनाइ छ ।
टानको कोषबाट खरिद गरिएका सामग्रीहरू समेत बेपत्ता बनाउने गरेको भेटिएको छ । टानको लेखापरीक्षण गरेको जे एन्ड एसोसियट्स कम्पनीले यस्ता सामग्रीको फेहरिस्त उल्लेख गरेको छ । टानको अध्यक्षमा रमेश धमलासहितको टोली आएपछि मात्रै ल्यापटप खरिद गर्ने, कम्युटर खरिद गर्ने, एसी खरिद गर्ने तथा कार्यालयको प्रयोजनका लागि खरिद गरिएको भनिएका थुपै्र सामानका बिल छन् तर सामान छैनन् । २०७० फागुन १४ गतेको भौचर नम्बर १ मा कार्यालय प्रयोजनका लागि फर्निचर लगायत सामाग्री १ लाख ७० हजार ७ सय ५० रुपियाँमा खरिद गरिएको उल्लेख छ । प्रकाश केसीद्वारा खरिद गरिएको भने पनि उनको ठेगाना भौचर र बिल भरपाइमा उल्लेख गरिएको छैन । सामान कार्यालयमा भेटिएका पनि छैनन् ।
त्यसैगरी, २०७० चैत २८ गते मर्कन्टाइल अफिस सिस्टमबाट ८० हजार रुपियाँको ल्यापटप तथा नोटबुकहरू २ लाख २६ हजार रुपियाँमा खरिद गरिएको थियो । टानको भौचर नम्बर २ मा उल्लिखित सामान कार्यालयका रेकर्डमा नभेटिएको लेखापरीक्षण कम्पनीले उल्लेख गरेको छ । लेखापरीक्षणका क्रममा टानले आयोजना गरेको एउटा कार्यक्रममा मदिरामा खर्चिएको रकमको हिस्सा देखेर चकित पर्नुपर्ने अवस्था छ ।
टानको उद्देश्य र क्षेत्राधिकारभन्दा बाहिरको उक्त कार्यक्रममा यति धेरै रकम खर्चिंदा पनि टानका कर्मचारी तथा अन्य सदस्य चुपचाप छन् । भौचर नम्बर ८ र ९ अनुसार १३ फागुन २०७० मा टानले मनाएको ल्होसार कार्यक्रममा २० लाख ९८ हजार ४ सय ५० रुपियाँ खर्चिएको छ । जुन कार्यक्रम पर्यटनसँग सम्बन्धित भए पनि टानको उद्देश्य र क्षेत्राधिकारमा पर्दैन । सांस्कृतिक कार्यक्रम टानको जिम्मेवारीमा पर्दैन । तर, सो कार्यक्रममा ब्रेकफास्ट, डिनर एन्ड स्न्यास्कमा १० लाख ७५ हजार ५ सय ३० रुपियाँ र हार्ड ड्रिंक्समा २ लाख ७९ हजार ८१ रुपियाँ खर्च गरेको छ । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रदर्शनका लागि ७ लाख ४३ हजार ८ सय ३९ रुपियाँ खर्च भएको उल्लेख छ । टानको लेखामा उक्त कार्यक्रमका लागि ५ लाख २७ हजार ४ सय १९ रुपियाँ आम्दानी भएको उल्लेख छ । तर, खर्च भने २० लाखभन्दा बढी गरेको छ । टानको अध्यक्षमा धमला आएलगत्तै गरिएको दोस्रो ठूलो, महँगो र टानको उद्देश्यविपरीत गरिएको कार्यक्रम थियो । उक्त कार्यक्रममा भएको केही खर्च हातले लेखिएको बिललाई आधिकारिक मानेर रकम भुक्तानी गरिएको लेखापरीक्षणमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
-
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply