बाबुरामको बदनामी कि देशको ?
एकीकृत नेकपा (माओवादी)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणबाट फर्किएका छन् । एमाओवादीसहितका विपक्षी दलहरू आन्दोलनमा लागिरहेको बेला भट्टराईले भारत पुगेर आफ्ना पक्षमा जनमत बनाउने खुबै मिहिनेत गरेको देखिएको छ । एमाओवादीभित्रैबाट बेलाबेलामा ‘भारतपरस्त’ भनेर आरोप खेपिरहेका भट्टराईको यसपटकको भ्रमणबाट उनी पूरै नांगिएको टिप्पणी भइरहेको छ । मुलुकको आन्तरिक मामिलामा यसै पनि चासो दिइरहेको भारतलाई उनले जसरी खुला रूपमा आमन्त्रण गरेका छन्, त्यसबाट आम जनमानसमा उनी भारतपरस्त नेता नै रहेछन् भन्ने प्रस्ट भएको छ । छिमेकी मुलुकसँग कूटनीतिक सम्बन्ध राख्ने, विदेशी मुलुकलाई आफ्नो देशको हितका पक्षमा सकारात्मक बनाउने र त्यसबाट फाइदा लिने कुरालाई कूटनीतिमा सामान्य मानिन्छ । तर, भट्टराईले भारतमा पुगेर सत्तारुढ कांग्रेस र एमालेका नेताहरूको उछितो काड्दै तिनीहरूलाई ठेगान लगाइदिन भारतीय पक्षसमक्ष खुलेआम दलाली गरेका छन् ।
विगत युद्धका बेला पनि जतिबेला बाबुरामाथि संकट पर्दथ्यो, त्यतिबेला भारतीय गुप्चतर संस्था र संस्थापन पक्षको सहयोगले उनी त्यसबाट मुक्ति पाउँथे । पार्टीभित्र उनी एक पटक ठूलो कारबाहीमा परे र ‘जनमुक्ति सेनाको सुरक्षा घेराभित्र बस्न पाउँदा असीम आनन्द आएको छ’ भन्दै आफ्नो गिरफ्तारीका बारेमा सार्वजनिक गरे । त्यस प्रकरणबाट मुक्ति पाउनका लागि पनि उनलाई भारतीय सहयोगबाहेक अरू कुनै उपाय भएन । पछि पार्टीभित्र साह्रै कमजोर अवस्थामा रहँदा पनि प्रधानमन्त्री बन्ने रहर साकार पार्नका लागि पनि उनलाई भारतबाहेक अरू केही सहारा भएन । अनेक चिरामा विभक्त मधेसी दलहरूलाई एउटै डालोमा हाल्न, पुष्पकमल दाहाललाई साइजमा राख्न र बाबुरामलाई प्रधानमन्त्री बनाउन भारतले गरेको लगानी कसैबाट लुकेको छैन । भारतीयहरूको हितमा बिप्पा सम्झौता गरेर उनले त्यसको उचित मूल्य पनि चुकाइसकेका छन् । यी सबै पृष्ठभूमिमा बाबुरामको भ्रमण त्यति अस्वाभाविक पनि देखिँदैन । तर, घरेलु राजनीति जटिल भइरहेका बेला, आफ्नै पूर्वमान्यताबाट पछि हटेर एमाओवादीले संवैधानिक प्रक्रिया मान्दिनँ भनिरहेका बेला र नेपालमा संविधान बन्छ कि बन्दैन भन्ने आशंका कायम रहेका बेला उनले भारतीय पक्षसँग जे जस्तो खुसामद गरेका छन्, त्यसबाट फेरि एक पटक उनको सक्कली अनुहार नेपाली जनताले हेर्न पाएका छन् । खुलेआम भारतीय पक्षलाई नेपालको आन्तरिक मामिलामा आमन्त्रण गर्नुलाई कुनै पनि कोणबाट उचित मान्न सकिँदैन ।
बाबुराम भट्टराईलाई भारत पुग्दा धेरै दिनपछि माइती फर्केकी चेलीलाई जस्तो अनुभूति हुने गर्दोरहेछ भन्ने
उनको हाउभाउ र चुरीफुरीले देखाउँछ । सामाजिक सञ्जालमा उनी स्वयम्ले सार्वजनिक गरेका तस्बिरहरूले उनी दिल्ली पुग्दा कति प्रफुल्लित हुँदारहेछन् भन्ने देखाउँछ । वास्तवमा अरू कुनै नेपाली नेताभन्दा डा. भट्टराईको जीवनकथा दिल्लीसँग अन्योन्याश्रित रूपमा जोडिएको छ । उनले उच्च शिक्षा भारतमै हासिल गरे, पीएचडी जवाहरलाल नेहरू विश्वविद्यालयबाट हासिल गरे । उनको राजनीतिक जीवनको सुरुआत पनि भारतीय भूमिबाटै भयो, विद्यार्थी संगठनमार्फत । त्यति मात्र होइन, व्यक्तिगत जीवनमा हालकी पत्नी हिसिला यमीलाई पनि उनले जेएनयूकै परिसरमा भेटाए । कुनै संयोग होइन, दिल्लीप्रति उनको मोह कति छ भन्ने कुरा उनले आफ्नी छोरी मानुषीलाई पीएचडी गर्नका लागि दूतावासमार्फत जेएनयूमै छात्रवृत्ति दिलाउनुले पनि देखाउँछ । पुरानो छात्राबास, पुरानो चिया पसल, पुरानो ढावा पसल र पुराना गुरुहरूलाई सम्झेर नोस्टाल्जिक हुँदै डा. बाबुराम भट्टराईले भारतीय मित्रहरूलाई एउटा आत्मीय सन्देश दिन खोजेका छन्– ‘म अरूभन्दा फरक छु, म अरूभन्दा निकट छु ।’
सँगै गएका आफ्नै पार्टीका महासचिव कृष्णबहादुर महरालाई फिर्ता पठाएर डा. भट्टराईले दिल्लीमा गरेका भेटहरूबाट उनले भारतीय पक्षको विश्वास जित्न कुनै कसर बाँकी राखेका छैनन् । कोसिसका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसके पनि त्यसबाहेक भट्टराईले भारतीय राजनीति र जनमत निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूलाई भेटेका छन् । खासगरी, भारतसँगको उनको लामो मित्रता, उठबस र विश्वासका कारण पदमा नभएका कुनै नेताले दिल्लीमा पाउनेभन्दा न्यानो आतिथ्य डा. भट्टराईले पाएका छन् । विदेशका राष्ट्रपति वा प्रधानमन्त्री आउँदा बिरलै देखिने जमघट इन्डियन इन्टरनेसनल सेन्टर (आईआईसी)मा देखिएको छ भने त्यसभन्दा बढी नेपाली प्रधानमन्त्रीको भ्रमणलाई समेत निकै कम महत्त्व दिने भारतीय मूलधारका समाचारपत्रहरूमा उनको कभरेज देखिएको छ । हिन्दुस्तान टाइम्स, द हिन्दु, फाइनान्सियल टाइम्स जस्ता नाम चलेका पत्रिकाहरूले डा. भट्टराईका विचारलाई प्राथमिकताका साथ स्थान दिएर नेपालको राजनीतिमा भारतीय रोजाइको सार्वजनिक सूचना सम्प्रेषण गरेका छन् ।
बाबुराम भट्टराई अपवाद होइनन्, उनले अतिरिक्त मिहिनेत मात्र गरेका हुन् । नेपालको राजनीतिमा पकड कायम गर्नका लागि भारतीय पक्षसँग न्यानो सम्बन्ध राख्ने प्रयत्नबाट नेपालका कुनै पनि नेता मुक्त छैनन् । फरक यति हो– कसैले त्यसलाई अलि राजनीतिक तहमा विकास गरेका छन् । नत्र भने भारतीय कर्मचारीतन्त्रदेखि खुफिया एजेन्सीसम्म याचनाको हात बढाउने उपक्रम चल्न थालेको अहिले होइन । कुनै बेला नेपालको मन्त्रिपरिषद् बैठकमै आफ्नो राजदूतलाई राख्ने भारतले आज त्यसका लागि आफ्नै देशको नागरिकताधारी मानिस राख्न आवश्यक पर्दैन । उसलाई चाहिएको सूचना टक्र्याउन हाम्रो कर्मचारीतन्त्रदेखि राजनीतिक वृत्तसम्म प्रतिस्पर्धामा छ । यस्तो बेलामा डा. बाबुराम भट्टराईले भारतले गएर के–के नै गरे भनिरहनु पर्दैन । विगतदेखि नै भारतसँगको सम्बन्धलाई लिएर पार्टीभित्र समेत आलोचित र आरोपित भट्टराईका भारतमा थुप्रै मित्र छन् । भारतीय खुफियातन्त्रमा विशेष अर्थ राख्ने प्राध्यापक एसडी मुनीदेखि १२ बुँदेका आर्किटेक्ट मानिने श्यामशरण र गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (रअ) का पूर्व प्रमुख पीके हर्मिज जस्ता व्यक्तिगत मित्र बनाउन अरू नेपाली नेताले सकेका छैनन् । ‘भारतका खास इच्छाहरूका विरुद्ध काम गर्ने छैनौं’ भनेर यिनी मित्रहरूको सहयोगमा एमाओवादीले सन् २००४ मै आन्तरिक गुप्तचर संस्था (आईबी)मार्फत अटलविहारी बाजपेयी प्रधानमन्त्री हुँदा कबुलियतनामा गरेको खुलासा त उनै मुनीले ‘नेपाल इन ट्रान्जिसन’ पुस्तकमा राम्रैसँग गरिसकेका छन् । माओवादी आन्दोलनको उद्भव र विकाससँग जोडिएका तथ्यहरू यति खुला हुँदाहुँदै डा. बाबुराम भट्टराईलाई मात्र दोष दिनु न्यायोचित नहोला ।
नेपालमा दलहरूका बीचमा मतभेद छन् । यही कारणले यिनीहरू एकअर्काको आलोचना पनि गर्छन् । स्वयम् भारतमा मात्र होइन, अरू विकसित देशहरूमा पनि एक दलले अर्को दलको आलोचना, खण्डन र प्रतिवाद गर्ने कुरा स्वाभाविक हुन्छ । नेपालमा पनि त्यो भइरहेको छ । दलका नेताहरूले एउटाका विरुद्ध अर्काले चर्को आलोचना र टिप्पणीहरू गरिरहेका छन् । कतिपय अराजनीतिक हर्कत पनि उनीहरूबाट भइरहेका छन् । त्यस पंक्तिमा भट्टराई अझ अगाडि छन् । यसलाई कसैले अन्यथा पनि मानेको छैन । तर, दिल्ली पुगेर दायाँ एसडी मुनी र बायाँ श्यामशरणलाई राखेर डा. भट्टराईले जसरी नेपालका राजनीतिक दलहरूको सत्तोसराप गरेका छन्, त्यो बिल्कुल अशोभनीय मात्र होइन, आपत्तिजनक पनि छ । अझ कांग्रेस र एमालेका नेताहरूको नामै किटेर उनले गरेको वक्तव्यबाजी भारतीय पक्षलाई खुसी पार्ने र आफू मात्रै उनीहरूको सच्चा हितचिन्तक हुँ भनेर पुष्टि गर्ने कोसिसबाहेक केही होइन । देशको आन्तरिक मामिलामा भारतीय पक्षलाई जबर्जस्त ल्याउने र थप विवादित बनाउने कोसिस देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले गरेका छन्, जुन एउटा स्वतन्त्र र सार्वभौम मुलुकका लागि लाजमर्दो कुरा हो ।
डा. भट्टराईले आफ्ना वक्तव्यहरूमा भारतलाई त्यसरी खुला रूपमा आमन्त्रण गर्नुका पछाडि ऊ शान्ति प्रक्रियाको ‘मुख्य हिस्सेदार’ भएको दलील पेस गरेका छन् । यदि सत्य त्यही हो भने समग्र माओवादी आन्दोलन, त्यसको उद्देश्य, सञ्चालन र योजनाकै बारेमा पुन:व्याख्या हुन जरुरी छ । १२ बुँदे सम्झौता सात दल र माओवादीबीच भएको थियो । आन्दोलन नेपालमा भएको थियो । संविधानसभाको निर्वाचन नेपालमा भएको थियो । अनि भारत त्यसको मुख्य हिस्सेदार कसरी हुन सक्छ ? होला, भारतले सद्भाव राखेको छ, १२ बुँदे सहमति गर्नका लागि सहज वातावरण बनाइदिएको छ । यही आधारमा उसलाई मुख्य हिस्सेदारी दिने हो भने यहाँका राजनीतिक नेताहरूको स्थान के हुन्छ ?
भारतको विश्वास जित्नका लागि कोसिस गर्ने र उसलाई खुसी पार्न न्वारनदेखिको बल लगाउने बाबुराम भट्टराई एक्ला नेता होइनन् । अरू नेताहरू पनि यस्तो मौका आयो भने छुटाउँदैनन् । भारतबाट कोही एउटा मध्यम तहको नेता त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा झर्न पाएको हुँदैन, दर्शनाभिलासीबीच उछिनापाछिन सुरु भइहाल्छ । पशुपतिनाथको दर्शन गर्न आएको कुनै भारतीय अधिकारीलाई नेपाली नेता भेटेर फुर्सत हुँदैन । नेताहरूको व्यवस्थापनदेखि उपचारसम्मको जोहो मिलाउँदा भारत पनि सम्भवत: हैरान होला । यस्तो बेलामा कुनै मुुलुकलाई दोष दिनुभन्दा हाम्रा नेताहरूतिरै औंला ठड्याउनुपर्छ: आफ्नो संकट टार्न दिल्ली दौडेर देशलाई थप संकटमा नपार्नुहोस् । त्यसबाट तपाईंलाई त फाइदा होला, देशलाई फाइदा हुँदैन र स्वयम् दिल्लीलाई पनि सानातिना नेताका स्वार्थमा सहयोग बन्दा दीर्घकालमा फाइदा हुँदैन ।
एमाओवादीले बेलाबेलामा भिर्ने गरेको राष्ट्रवादको मखुण्डो डा. बाबुराम भट्टराईको यसपटकको दिल्ली भ्रमणले नराम्ररी ध्वस्त बनाएको छ । खासगरी, नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपका लागि उनले गरेको खुला र गोप्य आमन्त्रणले प्रत्येक देशभक्त नागरिकलाई झस्काएको हुनुपर्छ । यसबाट भावी दिनमा अझ चर्को स्वरमा भारतको दलाली गर्ने र उसको विश्वास जित्नका लागि अझ बढी चाकरी गर्ने प्रवृत्ति देखा पर्न सक्छ ।
वास्तवमा बाबुरामले यति खुल्लमखुला भारतको चाकडी गर्नुका पछाडि के कारण होला त ? पहिलो कुरा त उनी अर्को वर्षदेखि नेतृत्व छोड्छु भनेर दाहालले दिएको आश्वासनप्रति साह्रै विश्वस्त छन् र त्यसपछि राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका बढ्ने आशामा छन् । त्यसका लागि अहिलेदेखि नै उनी भारतको विश्वास हासिल गर्न चाहन्छन् । दोस्रो, सहमतिका नाममा आफ्ना एजेन्डा लाद्नका लागि कांग्रेस र एमालेलाई दबाब दिन भारतले सक्छ भन्ने उनलाई गहिरो विश्वास छ र उनी त्यो काम भारतबाट गराउन चाहन्छन् । तेस्रो, नेपाली नेताहरूमध्ये भारतको विश्वासप्राप्त म नै हुँ भन्ने कुरा देखाएर उनी नेपाली राजनीतिमा आफ्नो पहुँच बढाउन चाहन्छन् ।
भारतबाट फर्केपछि देशभित्र भएका आलोचनालाई लिएर आक्रोशित बनेका भट्टराईले त्यसो गरेर आफूलाई बद्नाम गरिएको गुनासो गरेका छन् । तर, जुन तहमा उनको आलोचना भइरहेको छ, यसबाट के बुझ्नुपर्छ भने उनले चाहिं देशको बदनामी गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply