गुएर्निकाहरू जन्मिन सकेनन्, किन ?
कुनै पनि सिर्जनशील धरातलमा रमाउनेहरूलाई युद्धले पक्कै पनि अथाह पीडा दिन्छ । युद्धका नगराहरू बज्न थालेपछि सिर्जनाको धरातल एकाएक खुम्चिन पुग्छ । र, प्राय: सर्जकहरूले युद्धको विपक्षमा आफूलाई उभ्याउने अथक प्रयत्न गर्छन्, गर्दै आइरहेका छन् । अझ, शक्तिको उन्मादमा डुब्नेहरूले आफूभन्दा निरीह, शक्तिहीन र कमजोरमाथि युद्ध थोपर्दा त त्यसको झनै तीव्र विरोध हुने गरेको छ । विगतमा भियतनामको युद्धको बेला होस् वा केही दशकअघि भएको खाडी युद्धको बेलाकै कुरा किन नहोस्, ती सबै शक्तिशालीले कमजोरमाथि थोपरिएका युद्धहरू थिए । र, तत्कालीन समयमा त्यस्ता युद्धहरूको विश्वव्यापी रूपमै विरोध भयो र अझै पनि ती युद्ध सिर्जना गर्नेहरूलाई विवेकशील मस्तिष्कहरूले दुत्कार्दै आइरहेका छन् ।
हरेक सर्जकका आफूलाई युद्धको विपक्षमा उभ्याउने बेग्लाबेग्लै तौरतरिका हुन्छन् । पिकासो एउटा त्यस्ता कलासर्जक थिए, उनले दोस्रो विश्वयुद्धलाई लल्कार्न एउटा बेजोड कलाकृति सिर्जना गरे । दोस्रो विश्व युद्धका बेला, ‘गुएर्निका’ माथि ठूलो क्षति पुग्यो । गुएर्निका, उत्तरी स्पेनको एउटा ग्रामीण बस्ती थियो । जुन गाउँले दोस्रो विश्वयुद्धसँग कुनै सरोकार राख्दैनथ्यो । तर, जर्मनी र इटालीको युद्धक विमानले उक्त गाउँमाथि बम बर्साए र पूरै ध्वस्त तुल्याइयो । तत्कालीन समयमा आफ्ना बेजोड कलाकृतिका कारण विश्वमै चर्चित भइसकेका पँब्लो पिकासोको सर्जक मन मस्तिष्क ‘गुएर्निका’ माथि प्रहार हुँदा कसरी शान्त हुन सक्थ्यो र ? आफ्नै धुरीमा आगो दन्किँदा कुन चाहिँ व्यक्ति हात बाँधेर बस्न सक्छ र ? दोस्रो विश्व युद्धले मानव जाति, सभ्यता, संस्कृति र सिंगो पहिचानमाथि नै पुर्याएको भयंकर एवम् दर्दनाक क्षति र कहिल्यै नटुगिंने गरी थोपरिएको क्रुरताका विरुद्ध पिकासोले ‘गुएर्निका’ नामक कला सिर्जना गरेका थिए । पिकासोकृत उक्त कलाकृतिले युद्धपिपासुहरूको युद्ध प्रेमलाई रोक्न त सकेन तर युद्धको अपरिहार्यतामा रमाउनेहरूलाई निश्चय नै नैतिक र आत्मिक झट्का भने दियो नै ।
जब एकदिन दोस्रो विश्वयुद्धका चर्चित पात्र हिटलरका एकजना सेना प्रमुखले गुएर्निकातिर नजर डुलाउँदै पिकासोलाई प्रश्न गरे–‘यो चित्र तिमीले बनाएका हौं ?’ पिकासोले सहज रूपमा जवाफ दिए–‘होइन, यो चित्र तिम्ले बनाएका हौं ।’वस्तुत: पिकासोको जवाफ सांकेतिक थियो । युद्धका सर्जकहरू तिनै शासकहरू नै थिए, जसले गुएर्निकालाई क्षति पुर्याउन विशेष भूमिका खेलेका थिए । र, ‘गुएर्निका’ माथिको प्रहार खप्न नसकेर नै पिकासोले त्यसलाई चित्रमार्फत् अभिव्यक्त गरेका थिए । हरेक सर्जकहरूले आफूले भोगेका, देखेका र खपेका विषयलाई नै आफ्ना अभिव्यक्तिका माध्यमहरूबाट व्यक्त गर्न चाहन्छन् र पिकासोले पनि तत्कालीन समयमा त्यही कार्य गरेका थिए । यदि, तत्कालीन समयका युद्धप्रेमीहरूले युद्धको मौलिक खेती नगरेका भए गुएर्निकाजस्ता चित्र सिर्जना गर्ने बाध्यता पिकासोलाई निश्चय नै आइ पर्दैनथ्यो । त्यसैले उनले सटिक जवाफ दिएका थिए–‘मैले होइन, यो चित्र तिमीले बनाएका हौ ।’
निश्चय नै, हरेक सिर्जनाको उत्पत्तिको पछाडि कुनै न कुनै वस्तुगत कारण जोडिएका हुन्छन् । कुनै पनि सिर्जना फगत् हावामा उत्पन्न हुँदैन । सिर्जनाका हरेक क्षेत्रमा यो कुरा लागू हुन्छ । संसारका प्रसिद्ध पेन्टिङ होस् वा उत्कृष्ट पुस्तक, वा कुनै चर्चित सिनेमा होस् वा सिर्जना अरू माध्यम । हरेकको सिर्जनाका पछि कुनै तथ्य, वस्तुगत कारण अवश्य नै उभिएका हुन्छन् । र, त्यस्ता सिर्जनाहरू एउटा निश्चित जगसहित उभिएका हुन्छन् ।
सिर्जनाको पछाडि वस्तुगत कारण हुनु वा जोडिनु सामान्य कुरा हो । तर, संसारका हरेक महान् होस् वा सामान्य स्रष्टाले नै किन नहोस्, सबैले आ–आफ्नै देश, समाज र आफू बाँचिरहेको वृत्तका प्रतिनिधि घटना र पात्रहरूलाई नै सिर्जनाको आधार बनाउँदै आएका छन् । आफू र आफू बाँचिरहेको समाज जुन राजनीतिक, सांस्कृतिक, आर्थिक समस्याहरूबाट गुज्रिरहेका छन्, सर्जकहरूले त्यही विषय, सन्दर्भ र पक्षहरूकै फेर समातेर आफ्नो सिर्जन धरातलमा उतार्दै आइरहेका हुन्छन् । त्यस्ता सिर्जनाहरूले नै आम मान्छेको हृदय र मस्तिष्कलाई तरंगित तुल्याउँछ वा तरंगित तुल्याउने क्षमता राख्दछ र जसमा तत्कालीन समाजका घटनाक्रमहरू, तनाब, उल्झन र उल्लासका पलहरू अंकित भएका हुन्छन् । र, त्यस्ता सिर्जनाहरू नै दीर्घकालसम्म मानव जातिको मनमस्तिष्कमा गहिरो प्रभाव छाड्न सक्षम हुन्छन् । विगतमा नेपाली जनतामाथि एक दशकसम्म युद्ध थोपरियो । तेह्र हजारभन्दा नेपालीले अकालमा मृत्युवरण गरे । अनगिन्ती सिउँदाहरू पुछिए र टुहुरा हुनेहरूको संख्यामा निकै बढोत्तरी आयो । त्यो अँध्यारो युगलाई भोग्ने सर्जकहरूले आफ्ना सिर्जनामा छिटपुट रूपमा विरोध पनि जनाए । देश युद्धको भुमरीमा फसिरहेको बेला शान्तिको आह्वान गर्दै उपलब्धिमूलक संगीत यात्रा र कलासिर्जनाहरू पनि भए । तर, युद्ध चम्किरहेकै बेला हाम्रा सर्जकहरूले भने ‘गुएर्निका’जस्ता कुनै सशक्त पेन्टिङ जन्माउन सकेनन् । एकाध किरण मानन्धरहरूले घन्टाघरमा पेन्टिङ प्रदर्शन गर्नुबाहेक अरू सर्जकहरूले युद्धलाई लल्कार्दै कुनै उल्लेख्य सिर्जना बाहिर ल्याउन सकेनन् । न त युद्धले क्षतविक्षत तुल्याएका मस्तिष्कहरूलाई रिंग्याउने साहित्य–सिर्जना नै हुन सक्यो ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply