यो सम्झिने मन छ…
राजनीतिको चटारो चलिरहेको छ । आशा, निराशा र सम्भावनाहरू उस्तै छ । आइतबार पनि चटारो उस्तै थियो । ललितपुरको लगनखेलमा आफ्नै निजी काम सकेर एमाले मुख्यालय बल्खु जाँदै थिएँ । पार्टी प्रचार विभागको तर्फबाट नयाँ वर्ष २०७२ को अवसरमा वैशाख १ गते आयोजना गरिने शुभकामना आदान–प्रदान कार्यक्रमको तयारी विषयमा छलफल गर्नु थियो । ठीक अपराह्न १:५७ मा सेतोपाटीका पत्रकार प्रकाश ढुंगानाको फोन आयो । सम्झें, ‘सधैंजस्तै कुनैसमाचारका लागि प्रकाशले फोन गरे होलान् !’ गाडी आफैं ‘ड्राइभ’ गरेको थिएँ । ट्राफिकलाई छलेर फोन उठाएँ । तर, प्रकाशको फोन सधैंजस्तो सामान्य समाचारका लागि होइन रहेछ । मैले पत्याउनै नसक्ने समाचार पुष्टिका लागि उनले फोन गरेका रहेछन् । ‘म बुझ्छु’ भनेर फोन राखें । तत्काल गाडी ‘साइड’ गरेर लेखनाथ पौडेल भाइलाई (रामनाथजीका भान्जा) फोन गरें । ‘डाक्टरले १ बजेर ४० मिनेटमा ‘डिक्लियर’ गर्यो दाइ’ भनेर उनले फोन राखिदिए । बल्खुतिर दौडाइरहेको गाडी एकान्तकुनाबाट मोडें । र, ग्रान्डी अस्पतालतिर लागें ।
कामरेडहरू, घनश्याम भुसाल र अरुण नेपाल पुतलीसडकमा हुनुहुन्थ्यो । उहाँहरूलाई लिएर अस्पताल हानिएँ । अस्पतालसम्म पुग्दा सयौं फोनहरू आए । सबैको प्रश्न थियो, ‘रामनाथ ढकालको निधन भएको हो ?’ ‘हो’ भनौं त मनले मानेको छैन, नभनौं सत्य त्यही थियो । अहो † सत्यसँग हार्नुपर्ने रहेछ । हो, त्यही सत्यसँग हारेर ‘रामनाथ ढकालको निधन’को खबरको पुष्टि गरें ।
प्रिय ! साथी रामनाथ
करिब तीन दशक रामनाथसँगै राजनीतिक यात्रा गरें । त्यो यात्रा लामो मात्रै थिएन, सुखद पनि थियो । त्यो हाम्रो समय अत्यन्त सुन्दर थियो । हाम्रो मित्रता असाध्यै हार्दिक र नजिक । सँगै खायौं । सँगै सुत्यौं । कैयन् पटक एकअर्काको जुठो खायौं । मैले उसको जुठो खाएँ, मेरो उसले । हामीलाई कुनै सीमाले छुट्याएन । दुवै जना आन्द्राभुँडी खोलेर कुरा गथ्र्यौं । हामीबीच लुक्नुपर्ने र लुकाउनुपर्ने केही थिएन । एउटै ज्यान र एउटै मुटुजस्तै भएर पनि समय बिताइयो । कतिपयले हाम्रो मित्रताप्रति इष्र्या र डाहा गर्थे । त्यो हामीलाई थाहा थियो । एउटा ट्रक–साहित्य छ, ‘जल्नेको मन जलिरहन्छ, मेरो गाडी चलिरहन्छ ।’ हो, हाम्रो मित्रता पनि त्यसरी नै चलिरह्यो । रामनाथ र मबीच ‘तपाईं’ होइन ‘तिमी’ र ‘र्तँ’को सम्बन्ध थियो । कहिलेकाहीँ औपचारिक बैठकमा पनि हाम्रो उही सम्बोधन हुन्थ्यो । यही सम्बोधनको कारण हामीले नेताहरूबाट आलोचनासमेत खेप्नुपरेको थियो । (यो स्मृतिमा पनि उही सम्बोधन छ ।)
खासगरी विद्यार्थी आन्दोलनमा रामनाथ र म लामो समय सँगै थियौं । रामनाथ अखिलको महासचिव हुँदा म सचिव थिएँ । उनी अध्यक्ष हुँदा म महासचिव । संगठनमा रहँदा कुनै दाउपेच थिएन हामीसँग । न कुनै षड्यन्त्र र असहयोग नै । हाम्रो एउटै लक्ष्य थियो, ‘आम रूपमा अनेरास्ववियुको गरिमालाई उचाल्नु ।’ त्यही लक्ष्यमा हामी अविचलित, अवनरत लाग्यौं ।
०५१ सालको संसदीय निर्वाचनमा रामनाथलाई गुल्मी क्षेत्र न. १ मा एमालेको उम्मेदवार बनाउन संगठनको तर्फबाट हामीले सशक्त ‘लबिङ’ गर्नुपर्यो । यही कारण गुल्मीको पार्टी र हामीबीच अलिअलि मनमुटाव पनि हुन पुग्यो । त्यसक्रममा नेता सिद्धिनाथ ज्ञवालीले हाम्रो सोचाइलाई साथ दिनुभयो । बागबजारस्थित पार्टी कार्यालयमा एक दिन तत्कालीन महासचिव कमरेड माधव नेपालले रामनाथलाई अखिलले चुनाव जिताउने ग्यारेन्टी माग्नुभयो । हाम्रो टिमले निसङ्कोच त्यो चुनौती स्विकार्यो । रामनाथले अत्यधिक मतले चुनाव जिते । त्यसबेला अखिलको केन्द्रदेखि स्थानीय तहसम्म साथीहरूले कडा मेहनत गरेका थिए ।
चुनावपछि फेरि बागबजारमा माधव कमरेडसँग भेट भयो । उहाँले हाम्रो प्रशंसा गर्नुभयो । मैले आनन्द महसुस गरें । सांसद भएपछि रामनाथले अखिलको जिम्मेवारीबाट बिदा लिए । त्यसपछि म अखिलको अध्यक्ष भएँ । तर, पार्टीको अन्तरविरोधले हामीलाई सँगै राख्न सकेन । ०५४ सालको विवादमा हामी अलग–अलग कित्तामा उभिन पुग्यौं । तर, मित्रता उस्तै रह्यो । हाम्रो बोलचाल र उठबस टुटेन । ०५८ सालको पार्टीको सातौं महाधिवेशनमा हामी दुवै माधव कमरेडका पक्षमा उभिन आइपुग्यौं । तर, आठौं र नवौं महाधिवेशनमा फेरि हाम्रो रोजाइ मिलेन । पार्टीभित्रको अन्तरविरोधलाई हल गर्न र नेताहरूबीचको दूरी घटाउँदै पार्टीको एकता कायम गर्न अनेकौं पटक हामीले संवाद गर्यौं । केही उपाय पनि निकाल्यौं । एक्लै र संयुक्त रूपमा नेताहरूसँग छलफल र संवाद गर्यौं । तर, ती सबै हाम्रो बसमा मात्रै थिएनन् नि ?
कुशल कमान्डर रामनाथ
रामनाथले एक मिलनसार, गतिशील र लडाकू स्वभावका युवा नेताका रूपमा परिचय बनाएका थिए । ०४८ को आमनिर्वाचनपश्चात् कांग्रेसमा उम्लिएको अहंकारका कारण दिनहुँजसो अखिल र नेविसंघबीच लडाइँ चल्थ्यो । त्यसक्रममा उनले सम्हालेका मोर्चाहरूमा आम रूपमा सफलता मिल्ने गथ्र्यो । रामनाथले कमान्ड गरेका मोर्चामा अखिलका कार्यकर्ताहरूले सुरक्षित महसुस गर्थे । मानिसलाई ‘कन्भिन्स’ गर्न सक्ने र आफ्नो पक्षमा परिचालित गर्न सक्ने विशेष क्षमता थियो रामनाथसँग ।
छोटो समयभित्र नै जनसंगठन, पार्टी संगठन, संसदीय मोर्चाको अनुभव लिनु र त्यसमा आफूलाई सफल बनाउन सक्नु सामान्य कुरा थिएन । जुन काम रामनाथले गरे । सायद आफ्नो जीवन छोटो छ ? भनेर उनले समयमै बुझेका थिए कि ? जुन कुरा उनले अरूलाई कहिल्यै पनि ‘सेयर’ गरेनन् । एकापसमा तिक्त सम्बन्ध भएका नेताहरूसँग एकै समयमा सबै नेताहरूको उत्तिकै विश्वासिलो बन्नसक्नु रामनाथको विशेषता थियो । कहिलेकाहीँ म आफैंलाई प्रश्न गर्छु, ‘के म यो गर्न सक्छु ?’ उत्तर सहज छ– असम्भव । नवौं महाधिवशेन सम्पन्न भएको केही समयपछि मैले रामनाथलाई बल्खु पार्टी कार्यालयमा भेटेको थिएँ । उसलाई देख्दा म खिन्न भएँ । फेसमा सदावहार उज्यालो र ‘चार्मिङ’ं देखिने उनको अनुहार त्यसदिन उदास र फुंग उडेको महसुस गरें । कता–कता हराइरहेजस्तो लाग्यो । र, मैले पुरानै मित्रताको शैलीमा भनें, ‘ए † तिमीलाई के भएको छ ? अनुहार त खस्केको छ नि ? बिरामी छौ कि क्या हो ?’ फटाफट मैले भनें, ‘राम्ररी जँचाऊ है, जिन्दगी लामो छ नि † धेरै चिज गर्नु छ यार † यो पार्टी तिमी–हामीले चलाउनु छ ।’
त्यतिखेर बल्ल थाहा भयो, ‘उनी त करिब एक महिना दिल्लीको मेदान्त अस्पतालमा उपचार गरेर आइसकेका रहेछन् ।’ उनीबाट यो कुरा सुनेपछि ठट्टा शैलीमा भनें, ‘यार, सुख नबाँडे पनि दु:ख बाँड्यो भने आधा निको हुन्छ भन्छन् बूढापाकाले । तिमीले त हामीलाई भन्दै भनेनौ, किन हो ? अर्कै गुटको भनेर हो कि ?’ यस्तै ठट्टा/मजा भयो । मैले हात मिलाउँदै फेरि थपें, ‘राम्ररी आराम गर ।’ कुनै दिन उसकै घरमा खाना खाएर लामो गफ गर्ने सल्लाह भयो । त्यसपछि म स्थायी समिति बैठकमा गएँ । उनी अरू साथीहरूसँग गफ गरिरहेका थिए । सँगै खाना खाने त्यो योजना बेवारिसे बनाएर उनले हामीलाई छाडेर गए ।
चैत १७ गते बिहानै मित्र ठाकुर गैरे र म ग्रान्डी अस्पताल गयौं । लेखनाथ पौडेलजीको सहयोगमा अस्पतालको लिफ्ट चढेर चौधौं तल्लामा पुगियो । अस्पतालको गाउन् र माक्स लगाएँ । भित्र जाँदा उनी बिछट्टै पीडामा छटपटाइरहेका थिए । मैले बोलाउन खोजें तर उनी अचेत थिए । मैले एक मिनेट पनि राम्ररी हेर्ने साहस गरिनँ । उनलाई कति पीडा भयो होला ? उनले पीडा बताउन पनि पाएनन् । सुमित्रा भाउजूका रसिला आँखासँग बिदा माग्दै हामी अस्पतालबाट बाहिरियौं ।
०००
अब रामनाथको भौतिक शरीर मेरो वरिपरि हुनेछैन । हुनेछन् त केवल सम्झना । उनीसँग बिताएका क्षण दिमागमा रिलजस्तै फनफनी घुमिरहेका छन् । सधैं घुम्नेछ, यसैगरी । किनभने, एउटा प्रिय मित्रको रूपमा मेरो दिमाग हल्लाएको छ । मन हल्लाएको छ । यो हल्लिएको मनले उनलाई सधंै सम्झिरहनेछ । नारायण गोपालले गाएको गीतजस्तै :
यो सम्झिने मन छ, म बिर्सुं कसोरी ?
तिमी नै भनी देऊ ए जाने निठुरी ।
चैत २२ गते साँझ ६ बजेतिर कालो चिया पिउँदै आफ्नै फेसबुकको भित्तामा लेखें
जिन्दगीको लामो यात्रामा सँगै भइयो । एक–अर्कालाई नजिकबाट बुझियो । आजदेखि तिमीले भौतिकयात्रा बिसायौ । अब तिमीबिनाको यात्रा हुनेछ । थाहा छैन तिमीजस्तै अर्को यात्री भेटिन्छ कि भेटिन्न ? तर पनि, यात्रा त गर्नु नै छ । यस्तै मुस्कान (उनको फोटो पनि राखेको छु) सदैव हेर्न पाइयोस् । तिम्रो आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धाञ्जली प्रिय मित्र रामनाथ † सम्झना अटुट रहनेछ ।
अलबिदा रामनाथ
(नयाँ पेज डट कमबाट)
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply